×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थोत्रो विमान क्रयासको नालीबेली, यात्रु सँधै जोखिममा किन ? दोषी को ? (भिडियो ब्रिफिङ)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

थोत्रो विमान क्रयासको नालीबेली, यात्रु सँधै जोखिममा किन ? दोषी को ? (भिडियो ब्रिफिङ)

Artha Sarokar

१० श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: ५ मिनेटभन्दा कम

काठमाडौँ । बुधबार बिहान हेर्दाहेर्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जहाज दुर्घटना भयो । प्राविधिक परीक्षणका लागि पोखरा जान लागेको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको रनवेबाट उडेको मात्रै के थियो ? दायाँतिर कोल्टे हुँदै विमानस्थलको पूर्वपट्टिको डाडाँमा बजारिन पुग्यो । निर्माण सामाग्री राखिएको कन्टेनरमा बजारिएको जहाज दुई टुक्रा भयो र दनदनी आगो बल्न थाल्यो । एकैछिनमा विमानस्थल वरपरको आकाश कालो धुँवाले भरियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र विमानस्थलका फायर फाइटरहरु आगो निभाउनतिर लागे । एकैछिनमा विमानस्थल वरपरको दृश्य फेरियो । कोही कराउन थाले, कोही चिच्याउन थाले, कोही रुन थाले, कोही प्रार्थना गर्न थाले ।

पछि थाहा भयो जहाज सौर्य एयरलाइन्सको ९एन–एएमई सिआजे २०० कलसाइनको जहाज थियो । जहाजमा सौर्य एयरलाइन्सकै कर्मचारीहरु सवार थिए । चालक दलसहित १९ जना सवार उक्त जहाज मर्मतका लागि भन्दै पोखरा लगिँदै थियो । सोही जहाजमा सौर्य एयरका प्राविधक मनुराज शर्मासँगै उनकी श्रीमती प्रिजा खतिवडा र उनीहरुका छोरा अधिराज शर्मा पनि सवार थिए । जसले सौर्य एयरको कहालीलाग्दो विमान दुर्घटनामा ज्यान गुमाएका छन् । त्यस्तै, विमान दुर्घटनामा परेका अमित मान महर्जन, सागर आचार्य, दिलिप बर्मा, अश्विन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासैन, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, उद्धब पुरी, यज्ञ प्रसाद पौड्याल, सन्तोष महतो, पुन्य रत्न शाही, एरिफ रेडाको–पाईलट सुशान्त कटुवालको मृत्यु भएको छ । विमानका क्याप्टेन मनिषरत्न शाक्यको भने जीवितै उद्धार गरिएको छ । हाल उनको केएमसी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धासुमन, परिवारजनमा गहिरो समवेदना । घाइते भएका क्याप्टेन शाक्यलाई शीघ्र स्वास्थ्य लाभको कामना ।

यसो त नेपालमा विमान दुर्घटना भएको यो पहिलो घटना भने होइन, यसअघि पनि आङ्गै सिरिङ्ग बनाउनेगरी भएका विमान दुर्घटनाका साक्षी तपाईं हामी स्वयम् नै छौँ । तर, बारम्बार यस्ता खालका त्रुटी किन भइरहन्छन् भन्ने विषयमा अब भने गहन रुपमा सोच्नुपर्ने बेला भएको छ ।

अब बुझौँ बुधबार दुर्घटनामा परेको सौर्य एयरको विमान कति पुरानो हो भन्ने तथ्य…
बुधबार मर्मत तथा जहाजको इन्जिन परीक्षणका लागि काठमाडौँबाट पोखरा उडेको सौर्य एयरको ९एन–ए.एमई कलसाइनको विमान रनवेबाट ‘टेक अफ’ गरेको २० देखि २२ सेकेन्डमा भुइँमा खसेर बजारिएको थियो । बम्बार्डियर सीआरजे २०० सिरिजको उक्त जहाज क्यानडाको मोन्ट्रियलमा बनेको हो । सुरुमा उक्त जहाज अमेरिकाको एट्लान्टिक कस्ट एयरलाइन्सले सन् २००३ मा किनेको थियो । सन् २००४ मा उक्त विमानको स्वामित्व अमेरिकाकै इन्डिपेन्डेन्स एयरले लिएको थियो ।

त्यसपछि सन् २००७ मा उक्त जहाज नाइजेरियाको एरिक एयरले किनेको थियो । एरिक एयरले करिब एक वर्ष उडाएपछि उक्त जहाज दक्षिण अफ्रिकाको साउथ अफ्रिकन एक्सप्रेसलाई सन् २००८ मा बेचेको थियो । सन् २००८ देखि २०१७ सम्म उक्त जहाज अफ्रिकन एक्सप्रेसले नै उडायो । त्यसपछि सन् २०१७ जनवरीमा उक्त जहाज अमेरिकाको लिजिङ कम्पनी एरोलिजले किनेको थियो । त्यसलगत्तै मार्च २०१७ मा उक्त जहाज नेपालको सौर्य एयरले खरिद गरेको थियो । सौर्यले यो विमान उडान थालेको ६ वर्ष भइसकेको छ ।

सरसर्ती हेर्दा यो विमान बनेदेखि २१ वर्ष ४ महिना उडिसकेको छ । एउटा यात्रुवाहक विमानको आयु २५ वर्षको हुन्छ । अर्थात बुधबार दुर्घटना भएको सौर्य एयरको विमान रिटायर हुन जम्मा ४ वर्ष बाँकी थियो । भलै छानविनमा यो विमान दुर्घटनाको कारण अरु नै देखिएला वा दखाइएला तर विमान दुर्घटना हुनुको एउटा मेजर कारण विमान थोत्रो हुनु पनि हो । विमानको इतिहासले पनि देखाउँछ, नेपालमा आएको सौर्य एयरको यो विमान फर्स्ट, सकेन्ड वा थर्ड ह्याण्ड होइन, ५ एयरलाइन्स कम्पनीले चलाइसकेपछि नेपाललाई बेचिएको विमान हो । यस्ता थोत्रा विमान ल्याएर चलाएपछि दुर्घटना हुनु के नौलो भयो र ? भोली अझै यस्तो दुर्घटना भए अन्यथा नमाने हुन्छ । मेसिनरी सामान हो, खिया लागेर नमक्किएसम्म चलाउँदा हुन्छ भन्ने मानसिकबाट कहिले बाहिरिने ?

अब नेपालमा भएका विमान दुर्घटनाका इतिहास पनि हेरौँ…
केही समय अघि मात्रै अर्थात सन् २०२३ जनवरीमा काठमाडौँबाट चालक दलका ४ र ६८ यात्रुसहित उडेको यति एयरलाइन्सको एटिआर ७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनामा पर्दा विमानमा सवार सबै यात्रुको मृत्यु भएको थियो । त्यसअघि सन् २०२२ मेमा पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको यात्रुवाहक ट्विनअटर विमान दुर्घटनामा परेको थियो । जुन दुर्घटनमा परी २२ जनाले ज्यान गुमाएका थिए ।

त्यसअघि सन् २०१९ अप्रिलमा सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा ठोकिँदा तीन जनाको मृत्यु भएको थियो । त्यसअघि सन् २०१९ फेब्रुअरीमा एअर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटना भएको थियो । जुन दुर्घटनामा परेर तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो । त्यस्तै, सन् २०१८ सेप्टेम्बरमा गोर्खाबाट काठमाडौँ आउँदै गरेको एल्टिट्यूड एअरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त भएको थियो । त्यसबेल पनि एकजना जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु भएको थियो ।

त्यस्तै, सन् २०१८ मार्चमा बंगलादेशबाट नेपाल आएको यूएस–बाङ्ग्ला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो । त्यसबेला विमानमा सवार ५१ जनाले ज्यान गुमाएका थिए । त्यसअघि सन् २०१६ फेब्रुअरीमा पोखराबाट जोमसोम उडेको तारा एअरको विमान दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी २३ जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै, सन् २०१५ मे मा पनि भूकम्पपछिको राहत तथा उद्धारकार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरीकोटनजिकै दुर्घटना भएको थियो । जुनबेला ६ जना अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र पाँच सर्वसाधारणको मृत्यु भएको थियो । त्यस्तै, सन् २०१५ जुनमै सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो । सन् २०१५ मार्चमै  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुका कारण टर्किश एअरको विमान धावन मार्गबाट चिप्लिँदा चार दिन विमानस्थल बन्द भएको थियो । त्यसअघि सन् २०१४ फेब्रुअरीमा पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा १८ जनाले ज्यान गुमाएका थिए ।

नेपालमा विमान दुर्घटनाको इतिहास यति मात्र होइन, सन् २०१२ सेप्टेम्बरमा काठमाडौँबाट लुक्ला उडेको सीता एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटना भएको थियो । त्यसबेला पनि विमानमा सवार १९ जनाको मृत्यु भएको थियो । त्यस्तै, सन् २०१२ मेमा भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एअरको विमान जोमसोम विमानस्थलनजिकै दुर्घटनाग्रस्त हुँदा १९ जनाले ज्यान गुमाएका थिए । त्यसअघि सन् २०११ सेप्टेम्बरमा माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा विमान काठमाडौँ नजिकै कोतडाँडामा दुर्घटना भएको थियो । जुनबेला नेपाली, भारतीय, र अन्य देशका नागरिकसहित १४ जनाको मृत्यु भएको थियो । त्यस्तै, सन् २०१० डिसेम्बरमा लामीडाँडाबाट काठमाडौँ उडेको विमान ओखलढुङ्गामा दुर्घटनामा पर्दा १९ यात्री र चालकदलका तीन सदस्यको मृत्यु भएको थियो । त्यसअछि सन् २०१० अगस्टमा पनि काठमाडौँबाट लुक्लातर्फ उडेको विमान दुर्घटनामा पर्दा १४ जनाको मृत्यु भएको थियो । त्यसअघि सन् २००८ अक्टोबरमा लुक्ला विमानस्थलमा अवतरण गर्ने बेलामा जहाज दुर्घटना हुँदा १० जनाले ज्यान गुमाउनुपरेको थियो । त्यस्तै, सन् २००६ मा पनि सङ्खुवासभाको घुन्सामा श्री एयरको हेलिकप्टर दुर्घटना हुँदा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्केसहित २४ जनाले ज्यान गुमाएका थिए ।

हुन त हवाई यात्रा सबैभन्दा सुुरक्षित यात्रा हो । तर, नेपालमा विभिन्न समयमा भएका विभिन्न जहाज दुर्घटनाका कहालीलाग्दा घटनाले जहाज चढ्न सोच्नुपर्ने अवस्था सृजना गरेको छ । अझ अन्य देशले प्रयोग गरेर थन्काएका जहाज किनेर रंगरोगन गरी चलाउने नेपाली वायुसेवा कम्पनीहरुको रबैयाले नेपालको हवाई सुरक्षामा गम्भीर प्रश्न उठाएको छ । दुईचार करोडको भाग पाए थोत्रो भएर नचल्नुपर्ने अवस्थामा पुगेका जहाज पनि ठिक छ भनेर सर्टिफाई गर्नेहरुकै कारण आज नेपाली आकाश दिनानुदिन बदनाम बनिरहेको छ । पटकपटक हुँदै आएका यस्ता खालका विमान दुर्घटनामा गम्भीर भएर सोचियोस् । नत्र नेपाली आकाशप्रतिको भरोसा अन्तराष्ट्रिय रुपमा पनि गुम्ने खतरा हुनसक्छ । (भिडियो)

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी