×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिउडी सहकारीमा हिसाब ‘गोलमाल’, बचतकर्ता भन्छन्- ‘पैसा पाइएन’, अध्यक्ष भन्छन्-‘दिँदैछौँ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिउडी सहकारीमा हिसाब ‘गोलमाल’, बचतकर्ता भन्छन्- ‘पैसा पाइएन’, अध्यक्ष भन्छन्-‘दिँदैछौँ’

१० श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । अछामको सिउडी सहकारीमा बचतकर्ताको हिसाब गोलमाल भएको छ । सहकारीमा रकम जम्मा गरेका सदस्य र सहकारीका कर्मचारीले राखेको हिसाबमा गडबड देखिएको हो । 

सहकारी डुब्ने जोखिम बढेपछि सहकारीका कर्मचारी बचतकर्ताको हिसाब गर्न टोलटोलमा पुग्दा हिसाबमा गडबड देखिएको सहकारीका बचतकर्ताले बताएका छन् । लामो समयदेखि सहकारीमा पैसा जम्मा गरेको तर कर्मचारीले पासबुकमा सही विवरण नराखेकै कारण हिसाब गोलमाल भएको सहकारीका एक बचतकर्ताले बताएका छन् । ‘मैले जति रकम सहकारीमा जम्मा गरेको छु, त्यसको हिसाब सहकारीसँग छैन ।’, सहकारीका एक बचतकर्ताले भने, ‘सहकारीका कर्मचारी हिसाब गर्न घरघरमा आएका छन् । तर, उनीहरुको हिसाब र हाम्रो हिसाब नै मिल्दैन ।’  

यसो त केही समयअघि सहकारी डुब्ने हल्लाले अछामको चौरपाटी गाउँपालिका तातेको थियो । सहकारीका सञ्चालक तथा कर्मचारीले मनपरी रुपमा कर्जा दिएको र उक्त कर्जा फिर्ता नभएपछि सहकारी जोखिममा परेको विषय बाहिरिएको थियो । तर, त्यसबेला सहकारीका अध्यक्षले सबैको बचत फिर्ता गर्ने भन्दै बचतकर्तालाई थुमथुमाएका थिए । 

तर, सहकारीबाट प्रवाह भएको ३६ लाख ऋण नउठ्ने देखिएपछि बचतकर्ताले सहकारीमा रकम फिर्ताका लागि ताकेता गर्दै आएका छन् । 

सिउडी सहकारीका बचतकर्ताका अनुसार सहकारीले केही बचतकर्ताको रकम फिर्तासमेत गरेको छ । तर, सँगै बचत सुरु गरेका केही र आफूहरुको हिसाबमा ठूलो अन्तर देखिएको बचतकर्ताको दाबी छ ।
उनीहरुले सहकारीका कर्मचारीले रकम संकलन गर्दा गलत विवरण राखेको, विवरण राख्न छुटाएको लगायतका कारण आफूहरुको हिसाब नमिलेको बताएका छन् । 

हाल सहकारीका बचतकर्ताहरुले सहकारीले हिसाबमा गोलमोल गर्नुका साथै आफूहरुलाई बचत गरेको रकमसमेत फिर्ता नगरेको गुनासो पोखेका छन् । 

अध्यक्ष भन्छन्- ‘बचत फिर्ता गर्दैछौँ, केहीको गरिसक्यौँ’
यता सहकारीका अध्यक्ष राम बहादुर थापाले सहकारीमा समस्या आउँदा बचतकर्ताको रकम फिर्ता गर्न नसकेको स्वीकारेका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै अध्यक्ष थापाले केही समयअघि सहकारीका व्यवस्थापक र कर्मचारी कार्यालयमा नआउँदा समस्या आएको तर अहिले नयाँ कर्मचारी राखेर असुली तथा बचत फिर्ताको काम सुरु गरिसकेको बताएका छन् । 

‘केही समयअघि सहकारीका व्यवस्थापक तथा कर्मचारी कार्यालयमा नआउँदा सहकारीको काम प्रभावित भएको थियो । त्यसबेला सहकारी डुब्न लाग्यो भन्ने हल्ला पनि चल्यो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै अध्यक्ष थापाले भने, ‘अहिले नयाँ व्यवस्थापक र कर्मचारी राखेका काम सुरु गरेका छौँ, सबै सुध्रिँदै छ ।’ 

त्यस्तै, अध्यक्ष थापाले सहकारीका बचतकर्ताको रकम पनि बिस्तारै बिस्तारै फिर्ता गर्न सुरु गरेका पनि बताएका छन् । उनले सहकारीबाट प्रवाह भएको ३६ लाखमध्ये ५ लाख रुपैयाँ उठिसकेको र त्यसमध्येबाट २ लाख रुपैयाँ फिर्ता गरेको र बाँकी फिर्ता गर्ने तयारीमा रहेको बताएका छन् । 

तर, सहकारीका सञ्चालकले संस्थाको रकम हिनामिना गरेका कारण सहकारी भित्रभित्र खोक्रो भइसकेको स्थानीयको दाबी छ । अहिले सहकारीले ऋण असुली र बचतकर्ताको हिसाब मिलानमा सक्रियता देखाए पनि खासमा सहकारी डुब्ने अवस्थामा पुगेको स्वयम् सहकारीका एक सञ्चालकले बताएका छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी