काठमाडौँ । चीनको आर्थिक विकाससँगै उच्च शिक्षित जनसंख्याको वृद्धि भएको छ । तर यसले ठूलो बेरोजगारी समस्यालाई जन्म दिएको छ । सन् २०२४ मा लगभग ११.७ मिलियन कलेज स्नातकहरू रोजगार बजारमा प्रवेश गर्ने तयारीमा छन् । जसले चीनको रोजगार स्थितिमा थप चुनौतीहरू ल्याएको छ ।
चीनको अर्थतन्त्र अहिले विभिन्न आर्थिक चुनौतीहरूको सामना गर्दैछ । जसले रोजगार अवसरहरूमा प्रत्यक्ष प्रभाव पारेको छ । आर्थिक मन्दीको कारण धेरै कम्पनीहरू नयाँ भर्ती गर्न असमर्थ छन् । यही कारण नवस्नातकहरू रोजगारीको लागि संघर्ष गर्न बाध्य छन् । बेरोजगारी दर बढ्दै गएकोले स्नातकहरूमा असन्तोष बढेको छ ।
अधिकांश चिनियाँ स्नातकहरूले राज्य क्षेत्रको रोजगारलाई प्राथमिकता दिने गरेको सर्वेक्षणले देखाएको छ । उच्च तलब, सुरक्षित भविष्य र थप सुविधा उपलब्ध हुने भएकाले धेरैले राज्य क्षेत्रको रोजागर रोज्ने गरेका हुन् । तर, ती स्थानमा रोजगारीको अवसर सीमित भएकाले प्रतिस्पर्धा तीव्र छ । सन् २०१५ मा राज्य क्षेत्रको औसत मासिक तलब निजी क्षेत्रको भन्दा १२ प्रतिशत बढी थियो । यो प्रवृत्ति निरन्तर रहँदा, राज्य क्षेत्रमा रोजगार प्राप्त गर्न असमर्थ स्नातकहरू निजी क्षेत्रतर्फ पनि जान थालेका छन् ।
सरकारले बेरोजगारी समस्यालाई समाधान गर्न नयाँ उद्योगहरूको स्थापना, स्वरोजगारको प्रवर्द्धन र स्नातकहरूलाई विभिन्न प्रकारका तालिम प्रदान गर्ने लगाएतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, यी प्रयासहरू पर्याप्त नभएको महसुस भइरहेको छ । सरकारको नीति र निजी क्षेत्रको समन्वयले मात्र यो समस्या समाधान गर्न सक्ने विश्वास छ ।
पछिल्लो समय चीनको बेरोजगारी संकट गहिरो हुँदै गएको छ । जसका कारण चीनको अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पर्न सक्ने देखिन्छ । स्नातकहरूलाई रोजगारको अवसर प्रदान गर्न सरकार र निजी क्षेत्रको संयुक्त प्रयास आवश्यक छ । भविष्यमा रोजगारीको क्षेत्रमा सुधार ल्याउन नवीन विचारहरू र रणनीतिहरू आवश्यक हुनेछ । यस बेरोजगारी संकटले चीनको आर्थिक, सामाजिक, र राजनीतिक अवस्थालाई कसरी प्रभावित गर्छ भन्ने हेर्न बाँकी छ । यसको समाधानका लागि ठोस नीतिहरू र कार्यान्वयन आवश्यक छ ।