×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डभित्रै कर्मचारीको बदमासी, सीआईबीको गोप्य पत्र सिधै व्यवसायीको हातमा ! (भिडियो ब्रिफ्रिङ) 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

धितोपत्र बोर्डभित्रै कर्मचारीको बदमासी, सीआईबीको गोप्य पत्र सिधै व्यवसायीको हातमा ! (भिडियो ब्रिफ्रिङ) 

Artha Sarokar

४ भाद्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: ७ मिनेटभन्दा कम

काठमाडौँ । मानौं एउटा गाउँमा राम बहादुर नाम गरेको पंच थियो रे । त्यो मुखियाले गाउँको एउटा डन साथीसँग मिलेर गाउँका केहि चेलीबेटीमाथि जबर्जस्ती गर्न खोजेछ । त्यतिमात्र होइन, गाउँका धेरैको अन्नबाली खोस्ने प्लान बनाएछ ।त्यो प्लानमा मुखियाले पनि साथ दिएछ । यो सब देखेर गाउँका केही जान्ने र अन्याय नसहनेहरु प्रहरीकहाँ गएछन् । प्रहरीले पनि यो गाउँमा पन्चले जे भन्छन् त्यहि हुन्छ भनेर पन्चलाई फलानो फलानो मिलेर गाउँमा बदमासी गरेका छन् रे के हो कुरो बताईदिनुपर्यो भनेर पत्र लेखेछन् । अव बदमासी गर्नेहरुलाई उनै पन्चको साथ भएकाले पन्च उनीहरुलाई बदमास देखाउने कुरै भएन । बरु प्रहरीलाई पन्च उल्टै बदमास भनिएकाहरु बदमास होइनन्, यीनले जे गरेका छन् कानुनसम्मत गरेका छन्, कुनै गलत काम गरेका छैनन्, गाउँमा अन्नबाली खोस्न खोजिएको होइन, अर्कोपटक बाली बढ्छ भनेर गाउँलेले नै दान गर्न खोजेका हुन्, गाउँका चेलीबेटीमाथि केहि गलत भएको छैन, यो उडीन्ठेउला ठिटाहरुको मित्था आरोप मात्र हो । पन्चको यस्तो पत्र आएपछि प्रहरीले कारवाही प्रक्रिया अगाडी बढाएन । अव तपाईं भन्नुस त यो काल्पनिक कथामा राम बहादुरले सोझा गाउँलेहरु माथि अन्याय गरेन ? प्रहरीले के ठिक गर्यो त ? के प्रहरीलाई नै आफ्नो बसमा राखेर पन्चको बदमासी हद भएन ? अव के त्यो गाउँमा गाउँलेहरु सुरक्षित हुने भए त ? पक्कै पनि, त्यो पन्चले गलत गर्यो, तर के गर्नु उ नै सबथोक भएपछि, उसैको हातमा डाडु पन्यु भएपछि उसले गाउँले माथि अन्याय गर्यो ।

अव यो कथालाई एकछिन साइड लगाएर रिलायन्स स्पिनिङ्ग मिल्सले निकाल्न लागेको आइपीओको कुरा गरौँ । रिलायन्स स्पिनिङ मिल्सले साह्रै अस्वाभाविक प्रक्षेपण गरेर आइपीओको आवेदन दियो । नेपाल धितोपत्र बोर्डले सो आवेदनलाई स्वीकृत गरिदियो । बुक बिल्डिङका नाममा संस्थागत लगानीकर्ताहरुसमेत प्रभावित भए । त्यसपछि कमजोर कम्पनीको मूल्य निकै महँगो तोकियो । यसमा घोटाला भयो भनेर लगानीकर्ताहरु सीआईबी गए, सीआईबीले के भएको हो भनेर सोही धितोपत्र बोर्डलाई सोध्यो । अव आफैँले स्वीकृति दिएको कुरालाई बोर्डले गलत कसरी पो भन्थ्यो र ? बोर्डले केही गलत भएको छैन, सबै ठिकै छ भनेर सीआइबीलाई पत्र लेख्यो । सीआईबीले बोर्डले भने अनुसार नै केस तामेलीमा राखिदियो । अर्थात, जसका बारेमा छानविन हुनुपर्ने थियो, छानविन गर्ने प्राथमिक कुरा नै उसैलाई सोधियो र उसैको जवाफ अनुसार केस तामेलीमा राखियो । र त लगानीकर्ताहरु यो काम प्राकृतिक न्यायको सिद्धान्त विपरित भएको भन्दै अदालत जाने तयारीमा छन् । यसमा सीआईबीको तर्क नियामकलाई सोध्ने भन्ने नै हो । तर धितोपत्र बोर्डले आफैंमाथि प्रश्न उठेपछि यस विषयमा स्वतन्त्र छानविन गर्नुपर्थ्यो । सीआईबीले पनि एक कदम माथि बढेर बोर्डका अधिकारीमाथि छानविन गरेको भए पनि हुन्थ्यो । तर, जसका बारेमा छानविन हुनुपर्थ्यो, उसैलाई जोगाउनेगरी, उसैलाई सोधेर बोर्डका केहि भ्रष्ट कर्मचारीहरुलाई जोगाउने काम भयो ।

रिलायन्सले गलत गरेको छ कि छैन, त्यो बुझ्न पहिला छानविन हुनुपर्थ्यो । तर छानविन हुनुपर्ने बोर्डलाई नै के गर्ने भनेर सीआईबीले सोध्यो र आफूमाथि छानविन हुने डरले बोर्डले सबै ठिक छ भनेर लेखेर दिएको प्रतिवेदनकै आधारमा सीआइबीले केसलाई तामेलीमा राख्यो । अव लगानीकर्ता अदालत जानेछन् । अदालतले के भन्छ, त्यो हेर्न बाँकी नै छ ।

अझ धितोपत्र बोर्ड नै अहिले अदालतले गरेको अगाडीको आदेशको अपव्याख्या गरेर जसरी पनि रिलायन्सको आइपीओ निकाल्न दिने तयारीमा छ । लगानीकर्ताले हालेको मुद्धामा अदालतको आशय, धितोपत्र बोर्ड नियामक भएकोले उसले छानविन गर्ने काम गर्दैछ, अहिले हामीले नै यो आईपीओ रोक्नु पर्ने अवस्था भएन भनेर रोक्नुनपर्ने आदेश दिएको मात्र हो । यो मुद्धाका अधिवक्ता मध्येका एक हरि केसीका अनुसार यहि कुरालाई अपव्याख्या गर्दै बोर्डले अदालतले क्लिन चिट दिएको भन्ने गलत व्याख्या गरेर प्राकृतिक न्यायको सिद्धान्त विपरित यो केसलाई ढिसमिस गर्ने खेल भईरहेको छ ।

अझ अचम्म लाग्दो कुरा त के छ भने धितोपत्र बोर्ड नियामक हो वा रिलायन्स ग्रुपले चलाएको कम्पनी हो भन्ने विषयमा नै कन्फ्युज्ड हुनेगरी काम गरेका छन् धितोपत्र बोर्डका कर्मचारीले । उदाहरणका लागि धितोपत्र बोर्डलाई सीआइबीले लेखेको पत्र बाहिर आएको विषयलाई लिन सकिन्छ । गत असार ३२ गते धितोपत्र बोर्डलाई सीआइबीले रिलायन्सको केस तामेलीमा राखिएको जानकारी गरायो । यो पत्राचार विशुद्ध बोर्ड र सीआइबी बीचको पत्र हो । तर बोर्डका अधिकारीहरुलेसमेत हेर्न नपाइ यो सूचना रिलायन्सका कर्मचारीसम्म पुग्यो र त्यहींबाट पत्रसमेत बाहिरियो ।
बोर्डकै अधिकारीहरुले सो पत्र बोर्डमा भन्दा पहिला मिडियामा देखेको स्वीकार गरेका छन् । बोर्डका प्रवक्ता डा. नवराज अधिकारीले आफुले पनि सो पत्र कार्यालयमा नभई अनलाइन मिडियामा देखेको स्वीकार गरेका छन् ।

बोर्डका प्रवक्ता डाक्टर अधिकारीले आफुले पनि पत्र मिडियामा हेरेको भनेको २ दिन अघि अर्थात शुक्रबार नै विभिन्न मिडियामा सो पत्र पुगिसकेको थियो भने रिलायन्सका कर्मचारीले आफुहरुले क्लिन चिट पाएको भन्दै विभिन्न संचारमाध्यममा समाचार बनाईदिन आग्रह गरिरहेका थिए । शुक्रबार रिलायन्सकै एक कर्मचारीले आफ्नो कम्पनीको सेयर १२०० सम्म पुग्ने भन्दै सीआइबीले क्लिन चिट दिएको खबर अर्थ सरोकारमा राखिदिन आग्रह गरेका थिए । यसले धितोपत्र बोर्ड र सीआईबी बीच हुने गोप्य पत्राचार नै व्यवसायीको हातमामा हुने आशंकालाई बढावा दिएको छ ।

आखिर कसले बाहिर ल्यायो बोर्ड र सीआईबीको पत्र ?
बोर्डका प्रवक्ता डा. नवराज अधिकारीले भने सीआईबीले संचारकर्मीलाई सो पत्र दिएको हुन सक्ने बताएका छन् । यता सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले भने सीआइबीले गरेको पत्राचार सीआइबीबाट कुनै पनि हालतमा बाहिर नजाने र सो पत्रको गोपनियता कायम गर्ने जिम्मा नेपाल धितोपत्र बोर्डको भएको बताएका छन् ।

बोर्डका प्रवक्ता र सीआइबीको कुरा सुनेपछि तपाईंहरुले पनि अनुमान लगाईसक्नु भयो होला यो पत्र बोर्डबाट कुन नियतका साथ बाहिरियो भनेर । बोर्डका कर्मचारीहरुले समेत हेर्न नपाई मिडियामा कसले पत्र पुर्यायो भन्ने कुरा प्रष्ट छ । किनकि हाम्रो सिष्टम नै भ्रष्ट छ ।

नेपाल धितोपत्र बोर्डमा साह्रै राम्रो काम गर्ने र सरकारले ठुलो सम्मान गर्नुपर्ने उच्च नैतिकवान कर्मचारी पनि धेरै छन् । तर बोर्डको उपल्लो तहमा बसेका केही ठालुहरुको बदमासीका कारण बोर्ड यतिबेला बदनाम छ । बोर्डका केही अल्छी कर्मचारीहरुलाई यति सम्म बेफुर्सद छ कि उनीहरु बोर्डको संचालक समितिका सदस्यहरुको विवरण वेव साइटमा अपडेट गर्न पनि भ्याईरहेका छैनन् । अहिले नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट निल बहादुर सारु मगर बोर्डका सदस्य छन् । तर, बोर्डले आइक्यानका उपाध्यक्ष भनेर संचालकको लिष्टमा प्रविन कुमार झाको नाम राखेको छ । जवकि प्रविन कुमार झा आइक्यानको अध्यक्ष बनिसकेका छन् र बोर्डका अध्यक्षले झालाई बधाईसमेत दिईसकेका छन् ।

अझ खास कुरा त के हो भने धितोपत्र बोर्डका केही कर्मचारीका कारण पुरै कर्मचारीतन्त्र नै बदनाम बनेको छ । क्लब हाउसमा जथाभावी बोल्नेहरुलाई कारवाही गर्नुको सट्टा बोर्डकै कर्मचारी फेक आईडी बनाएर क्लब हाउसको बहस सुनिरहेका हुन्छन् । फेक आइडीमार्फत धितोपत्र बजारमा गलत काम गर्नेलाई कारवाही गर्नुको साटो बोर्डकै कर्मचारीहरु फेक आईडी बनाएर अध्यक्षलाई गाली गर्ने र निश्चित कम्पनीको सेयर किन्न र बेच्न सल्लाह दिईरहेका छन् । अझ भाइबर र ह्वाट्सएप ग्रुप बनाएर पैसा उठाएर फलानो सेयर किन्ने र फलानो सेयर बेच्ने भनेर धन्दा चलाईरहेकाहरु खुलेआम बोर्डमा फलानो मान्छे मेरो आफन्त हो भनेर बदमासी गरिरहेका छन् । कारोबार समयमा युट्युब वा अन्य प्लेटफर्ममा बजार प्रभावित पार्ने बदनियत बोकेर आएकाहरुलाई कारवाही गर्नुको सट्टा धितोपत्र बोर्डकै कर्मचारीहरु पनि ट्वाइलेट गएर सोही लाइभ हेरिरहेका छन् । अनि यो हदसम्मको बदमासी भएपछि, अभिभावकले नै बाटो बिराएपछि कसको के लाग्छ ?

धितोपत्र बोर्डलाई हाम्रो बिनम्र अनुरोध छ । बाउ जड्याहा भयो भने छोरोले पनि जाँड खान सिक्छ । बजार बलियो बनाउन धेरै विज्ञप्तिबाजी वा रोईकराई धेरै केही गर्नु नै पर्दैन । फेक आईडी बनाएर बजार प्रभावित पार्नेको लिष्ट बनाउने र प्रहरीको साइबर ब्युरोलाई थप कानुनी प्रक्रियाका लागि पत्राचार गर्ने हो भने बाँकी काम प्रहरीले गरिहाल्छ । डराउनु यति कुरामा भएन कि यसो गर्दा बोर्डकै मान्छे वा तिनका आफन्तको हातमा पनि हतकडी लाग्न सक्छ । यो काम ठुलो पनि छैन । समय पनि धेरै लाग्दैन । तपाईंहरुको फुर्सद छैन भने हामी नेपाल धितोपत्र बोर्डलाई निशुल्क यो काममा सहयोग गर्न सक्छौँ । बजारमा हामीले फेक आइडी बनाएर मनपरी गर्नेको १०० हाराहारीको सुरुवाती लिष्ट बनाईसकेका छौँ । र हामी चाहान्छौं प्रहरीमार्फत उनीहरुलाई कानुनी कठघरमा पुर्याउने काम बोर्डले गर्नुपर्छ र गरोस् । दिउँसै लाइभमा आएर यो सेयर किन्नु वा बेच्नु भन्नेहरुको त अनुहार पनि त्यहीं देखिन्छ, अनुहार नदेखिए उनीहरुको फोन नम्बर देखिन्छ, त्यो पनि नदेखिए प्रहरीलाई आइडीको लिंक दिएपछि बाँकी प्रहरीले गरि नै हाल्छ । तर हामीलाई के थाहा छ भने, यस्तो गलत धन्दामा स्वयम् बोर्डमा कार्यरत कर्मचारीका आफन्त छन् । छानविनको आँट र अनुरोध धितोपत्र बोर्डले गर्ने हो भने हामीले धेरै रिसर्च गरिसकेका छौँ, हामी बोर्डलाई यो मानेमा सहयोग गर्न सक्छौँ ।

तर हामीलाई थाहा छ, यस्तो गर्दा बोर्डका हाकिमलाई कमिसन आउँदैन । त्यही भएर उनीहरु यो काम गर्न तयार हुँदैनन् । तयार भएको आशयसहितको अनुरोध पाउँ, फेकेहरु लिष्टसहित, १० कित्ते धर्केहरुको मनपरीको प्रमाणसहित एक हप्ताभित्र हामी बोर्डमा सहयोग गर्ने कडीसहित हाजिर हुनेछौँ । धितोपत्र बोर्डज्यू, छ हिम्मत ? हिम्मत भए सम्पर्क पाउँ ।

धितोपत्र बोर्ड अभिभावक हो, उसले गलत गर्नु हुँदैन । रिलायन्सको सबै कुरा ठिक छ भने उसले आइपीओ जारी गर्न पाउनुपर्छ भन्ने कुरामा कुनै समस्या रहेन, रहनुहुँदैन । तर देखादेख निकै अस्वाभाविक रिपोर्ट बुझाएर, लगानीकर्ताको आँखामा छारो हाल्न खोजेको देखिनेगरी भईरहेको काम गलत छ । यसलाई सच्याएर अघि बढ्न सकिन्छ, तर पेलेर लगानीकर्ता डुबाउने काम गलत नै हो । यसै पनि सेयर बजारमा सोझासाझा फस्ने हुन् । सोझाहरुलाई, केही थाहा नपाएकाहरुलाई हो बुल र बियर, खेलाडीहरुलाई त सधैं बुल हो यो बजारमा । सरकार र नियामक आम जनताका लागि हुनुपर्छ, न कि स्वार्थ समूह र निश्चित व्यापारीहरुका लागि । बर्षौं पूराना बाँसबारी छाला जुत्ता कारखानाका केस त बाहिरिए भने यति ताजा घटना जनताले छिट्टै बिर्सिंदैनन् । पछि जेल गएर पछुताउनुभन्दा बोर्डका हाकिमहरुले अहिले गलत हुनै नदिएको राम्रो हो नि, होइन र ? बाँकी त डाक्टर सापहरुलाई हामीले के सम्झाउनुपर्छ र ?

धितोपत्र बोर्ड र सीआइबीको पत्र व्यवसायीको हातमा कसले पुर्यायो छानविन हुनुपर्छ । रिलायन्सको सेयर कसरी महँगो भयो र त्यसमा कसले कसले गलत गरे छानविन हुनुपर्छ । कुन नियतका साथमा साह्रै बढी व्यापारको प्रक्षेपण गरियो र भोलि त्यसो नहुँदा कसले जिम्मा लिने हो, वारपार हुनुपर्छ । जनता फसाउने काम भएको छैन भन्ने तथ्य तर्क र प्रमाणसहित खोजिनुपर्छ, सोधिनुपर्छ । दिनेले दिनुपर्छ, बुझुनुपरने लगानीकर्ताले पनि बुझ्नुपर्छ । यदी जनताका लागि जनताको हित गर्नुपर्छ भन्ने लाग्छ भने धितोपत्र बोर्डले सचेत भएर समयमै लगानीकर्ताका पक्षमा काम गर्नुपर्छ । होइन भने त, सक्नेले जे पनि गर्ने र सोझा जनता फस्ने मात्र हो भने त नेपालको सेयर बजारमा राम राम, बाबुराम भन्न बाहेक के भन्न सकियो र, होइन र ? (भिडियो) 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी