काठमाडौं । नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो भारत-नेपाल स्टार्टअप कनेक्ट: स्टार्टअप महाकुम्भ २०२५ को उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ ।
उद्धघाटन कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा गोलमेच बैठक आयोजित गरिएको थियो, जसमा भारत सरकारको उद्योग तथा आन्तरिक व्यापार प्रवर्धन विभाग, स्टार्टअप इन्डिया, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च, नेपाल सफ्टवेयर तथा सूचना प्रविधि सेवा कम्पनी संघ, फिनटेक अलायन्स अफ नेपाल, रोबोटिक्स एसोसिएसन अफ नेपाल, नेपाल हब, एशियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्स, त्रिभुवन विश्वविद्यालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय तथा विभिन्न नेपाली स्टार्टअपहरूका प्रतिनिधिहरू सहभागी थिए ।
कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालले सूचना प्रविधि क्षेत्रको विकास गर्दै लगेको तथा यसले स्टार्टअपहरूलाई नयाँ अवसरहरू सिर्जना गरिरहेको उल्लेख गरेका थिए । उनले भारत-नेपाल सम्बन्धलाई विशेष र मजबुत बताउँदै दुबै देशका नागरिकहरूका लागि एकअर्काको मुलुकमा सहज व्यवसायिक वातावरण रहेको जानकारी दिए । उनले नेपाली स्टार्टअपहरूलाई स्टार्टअप महाकुम्भ २०२५ मा सहभागी हुन प्रेरित गरे ।
साथै, नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले उद्धघाटन सत्रमा भारतमा स्टार्टअप संस्कृतिको व्यापक स्वीकृति प्राप्त भएको र डिजिटल प्रविधिको अभूतपूर्व विकासले यसलाई प्रवर्द्धन गरिरहेको बताए । डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरको विकासले भारतमा डिजिटल परिवर्तनलाई तीव्र बनाएको र यसले भारत-नेपालबीच स्टार्टअप सहकार्यका अवसरहरू सिर्जना गरेको उनले उल्लेख गरे । नेपालका फोनपे र भारतका युपीआइ बीचको अन्तरसञ्चालनको सफलताका कारण मार्च २०२४ पछि मात्रै चार लाखभन्दा बढी व्यापारी लेनदेन भएको तथ्य उनले प्रस्तुत गरे ।
भारत सरकारका उद्योग तथा आन्तरिक व्यापार प्रवर्धन विभागका संयुक्त सचिव सञ्जीवले स्टार्टअप महाकुम्भ २०२५ को बारेमा विस्तृत जानकारी प्रस्तुत गरे । स्टार्टअप महाकुम्भ २०२५ मा ३ हजार भन्दा बढी प्रदर्शक, १० हजार भन्दा बढी स्टार्टअप, एक हजार भन्दा बढी लगानीकर्ता, इन्क्युबेटर तथा एक्सेलेरेटरहरू रहने तथा ५० हजार भन्दा बढी व्यवसायी सहभागी हुने अपेक्षा गरिएको छ ।
कार्यक्रम अन्तर्गत D2C, फिनटेक, AI, डीपटेक, साइबर सुरक्षा, रक्षा तथा अन्तरिक्ष प्रविधि, कृषि प्रविधि, वातावरण प्रविधि, बायोटेक तथा हेल्थकेयर जस्ता विविध क्षेत्रका नवीनतम प्रविधिहरू विशेष प्राविधिक मण्डपहरू मार्फत प्रदर्शन गरिनेछ ।
नेपाल औद्योगिक उद्यम विकास संस्थानका कार्यकारी निर्देशक उमेश कुमार गुप्ताले नेपालमा स्टार्टअप नीति र सरकारी पहलहरूबारे प्रस्तुति दिए । साथै, IIT मद्रास प्रवर्तकका नयाँ परियोजनाहरू प्रमुख राजेन्द्र मुथाले प्रविधि विकास तथा उद्योगसँगको सहकार्यका माध्यमबाट स्टार्टअप प्रवर्द्धन गर्ने IIT मद्रास प्रवर्तकको योगदानबारे जानकारी गराए ।
कार्यक्रममा दुईवटा प्यानल छलफल भएका थिए । पहिलो प्यानल छलफलमा नेपाल र भारतका प्रविधि स्टार्टअपहरूका लागि उपलब्ध अवसरबारे छलफल गरिएको थियो । टेकXR का सीइओ प्राशान्त मिश्राले भर्चुअल रियालिटी मार्फत नयाँ पर्यटन अनुभव सिर्जना गर्न सकिने बती । F1 Soft का सह-संस्थापक असगर अलिले नेपालमा नागरिक सेवाहरू सहज बनाउन ‘नागरिक एप’ को प्रभावबारे जानकारी गराए ।
त्यस्तै, खल्ती वालेटका संस्थापक अमित अग्रवालले नेपालमा डिजिटल भुक्तानी प्रणालीको वृद्धिबारे प्रकाश पारे । दोस्रो प्यानल छलफलमा सामाजिक प्रभावका लागि डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरको भूमिकाबारे छलफल भएको थियो । वृद्दि सञ्चालका सीइओ सिक्सित भट्टाले नेपालमा डीपीआइ निर्माणमा भइरहेको प्रयासबारे जानकारी गराए ।
नेपाल क्लियरिङ हाउस लिमिटेडका सीइओ निलेशमान प्रधानले नेपाल पे जस्ता फिनटेक कम्पनीहरूका लागि डिजिटल रेलहरूबारे चर्चा गरे । काठमाडौं विश्वविद्यालयका कम्प्युटर विज्ञानका प्राध्यापक डा. बालकृष्ण बालले डिजिटल पब्लिक गुड्स विकासमा विश्वविद्यालयको योगदानबारे जानकारी गराए ।
नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोबिन्द बहादुर कार्कीले विशेष सम्बोधन दिँदै छलफलहरूको समापन गरेका थिए । कार्यक्रमका प्रमुख निष्कर्षहरूमा भारत र नेपाल दुबै देशका स्टार्टअपहरूका लागि आदर्श अन्तर्राष्ट्रिय बजार रहेको, नेपाल र भारतका स्टार्टअपहरूले प्रविधिको प्रयोग गरेर सामाजिक चुनौतीहरू समाधान गर्ने नवीन प्रयास गरिरहेका, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर (DPI) को विकास स्टार्टअपहरूका लागि नवीन अवसर सिर्जना गर्ने महत्त्वपूर्ण आधार बन्न सक्ने तथा भारतमा सफल देखिएको DPI मोडल नेपालमा पनि अगाडि बढाउन सकिने उल्लेख गरियो ।
नेपाल-भारतबीचको स्टार्टअप सहकार्यलाई अझ मजबुत बनाउने उद्देश्यसहित सम्पन्न यस कार्यक्रममा दुबै देशका उद्यमी, प्रविधि विशेषज्ञ तथा सरकारी प्रतिनिधिहरूको उत्साहजनक सहभागिता देखियो। स्टार्टअप महाकुम्भ २०२५ ले नेपाल-भारत स्टार्टअप सम्बन्धलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।