×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘डिजिटल गभर्नेन्स राजनीतिक एजेन्डा हो, नीति निर्माणदेखि बजेट विनियोजनसम्म प्रतिबद्धता चाहिन्छ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘डिजिटल गभर्नेन्स राजनीतिक एजेन्डा हो, नीति निर्माणदेखि बजेट विनियोजनसम्म प्रतिबद्धता चाहिन्छ’

Artha Sarokar

१२ फाल्गुन २०८१, सोमबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । सरोकारवालाहरुले डिजिटल गभर्नेन्स राजनीतिक मुद्दा भएकाले यसको कार्यान्वयनमा राजनीतिक स्तरमा प्रतिबद्धता आवश्यक भएको बताएका छन् । आइतबार काठमाडौँमा मार्चिङ एन्ट्सको आयोजना तथा द एसिया फाउण्डेसनको सहकार्यमा आयोजित टेकगभ नेपाल, २०२५ मा उनीहरुले राजनीतिक नेतृत्वले नीति तथा ऐन निर्माणदेखि कार्यान्वयनका लागि बजेट विनियोजनसम्म प्रतिबद्धता जनाउनुपर्ने बताएका हुन् ।

सूचना प्रविधि उच्च स्तरीय आयोगका तत्कालीन उपाध्यक्ष समेत रहेका सूचना प्रविधि विज्ञ मनोहर भट्टराईले इस्टोनिया, भारत, यूएई, सिंगापुर तथा दक्षिण कोरियाको उदाहरण दिँदै नेपालमा पनि डिजिटल गभर्नेन्समार्फत मुलुकको आर्थिक रुपान्तरण गर्न सकिने धारणा व्यक्त गरे । मुलुकको विकासमा डिजिटल गभर्नेन्स जरुरी भएको उल्लेख गर्दै यसले आर्थिक विकासमा सहयोग पुग्नुपर्नेमा जोड दिए ।

‘डिजिटल गभर्नेन्स मात्रै भनेर हुँदैन, यसले आर्थिक विकासमा सहयोग गर्नुपर्छ, यसमार्फत रोजगारी सृजना हुनुपर्छ, कृषि तथा पर्यटनलगायतका क्षेत्रको विकासमा नयाँपन दिन सक्नुपर्छ’, उनले भने । साथै, शिक्षा र स्वास्थ्यलगायतका आधारभूत क्षेत्रमा सबैको पहुँच स्थापित गर्दै सामाजिक समावेशीकरणमा पनि यसले सहयोग गर्नुपर्ने उनको भनाइ थियो । डिजिटल गभर्नेन्सले पारदर्शी शासन तथा कार्य क्षमता बढाउने उनले बताए । यद्यपि डिजिटल गभर्नेन्सको पूर्ण कार्यान्वयनका लागि वृहत नीति निर्माणदेखि त्यसको कार्यान्वयनमा राजनीतिक तहबाटै बलियो प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ थियो ।

‘डिजिटल गभर्नेन्सको आवश्यक महसुस भएर मात्रै पनि हुँदैन, राजनीतिक नेतृत्वको प्रतिबद्धता चाहिन्छ र यो नीति निर्माणदेखि बजेटमा समेत देखिनुपर्छ, यसको कार्यान्वयनका लागि स्पष्ट खाका आवश्यक हुन्छ’, उनले भने ।

ई-गभर्नेन्स बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपेश बिस्टले डिजिटल गभर्नेन्स राजनीतिक मुद्दा भएको बताए । उनले डिजिटल गभर्नेन्स सुशासनका साथै आर्थिक विकाससँग पनि सम्बन्धित भएकाले यसको कार्यान्वयनका लागि राजनीतिक प्रतिबद्धता जरुरी भएको उल्लेख गरे । उनले व्यवस्था परिवर्तनसँगै अवस्था परिवर्तनका लागि डिजिटल गभर्नेन्स जरुरी भएको तर्क गरे । ‘जब डाटा दौडन थाल्छ, सेवाग्राहीहरु कम दौडिए पनि काम बन्छ, एउटै सेवा लिनका लागि पटक पटक डाटा बुझाउनुपर्ने बाध्यता हट्नुका साथै कम समयमा प्रभावकारी सेवा प्रवाह गर्न पनि सकिन्छ’, उनले भने । विस्टले इस्टोनियाको उदाहरण दिँदै डिजिटल गभर्नेन्सकै कारण उक्त मुलुकले सन् २०२४ मा मात्रै २ हजार ५९९ वर्किङ आवर बचत गरेको बताए । डिजिटल गभर्नेन्समार्फत कम समयमा प्रभावकारी सेवा प्रदान हुने भएकाले यो सुशासनका लागि पनि निकै जरुरी भएको बताए ।

उनले यसका लागि डाटा एक्सचेञ्ज प्लेटफर्म जरुरी रहेको बताए । हाल विद्युतीय सुशासनका लागि ब्लुप्रिन्ट तयार भइ छलफलका क्रममा रहेको उल्लेख गर्दै उनले आर्थिक रुपान्तरणका लागि पनि यो निकै जरुरी भएको बताए ।
सूचना प्रविधिसँग सम्बन्धित कानुनका जानकार प्रवीन सुवेदीले वैदेशिक रोजगारीमा जानेलाई पनि ई गभर्नेन्सबारे जानकारी हुन आवश्यक रहेको उल्लेख गरे । ‘वैदेशिक रोजगार विभागले विद्युतीय शासनमार्फत वैदेशिक रोजगारीमा जानेहरुका लक्षित गरी विभिन्न प्रकारका सेवा प्रवाह गरिरहेको छ, त्यसैले उनीहरुले पनि यसबारे राम्रोसँग जानकारी आवश्यक छ’, उनले भने ।

वैदेशिक रोजगारीमा जानेहरुका लागि जब अर्डर, स्वास्थ्य जाँचदेखि बीमालगायतका सुविधाबारे जानकारी लिन अहिले अनलाइनबाटै सम्भव भएको र त्यो आधिकारिक पनि हुने उनको भनाइ थियो । उनले नेपालबाहेक भारत र फिलिपिन्सलगायतका देशले पनि वैदेशिक रोजगारीमा जानेलाई लक्षित गरी डिजिटल गभर्नेन्समार्फत विभिन्न सेवा उपलब्ध गराइरहेको चर्चा गरे ।

ई-गभर्नेन्स बोर्डका इन्जिनियर केदार भण्डारीले डिजिटल गभर्नेन्सबारे चर्चा गर्दै बोर्डका उपलब्धिबारे जानकारी गराएका थिए । उनले हाल विद्युतीय सुशासनको मार्गचित्रका रुपमा ब्लुप्रिन्ट तयार भइसकेको र हाल यो छलफलका चरणमा बताए । उनले ब्लुप्रिन्टको उठाएका विषयबारे चर्चा गर्दै यसको आवश्यक र महत्वबारे प्रस्तुतिकरण दिएका थिए ।

डिजिटल गभर्नेन्समा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

सोही अवसरमा आयोजित समूहगत छलफलका क्रममा वक्ताहरुले डिजिटल गभर्नेन्सको विकास र कार्यान्वयनका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण भएको बताए ।

सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले सरकारले सुरुआत गरेका डिजिटल गभर्नेन्सलगायतका सेवाबारे तल्लो तहसम्म जानकारी दिने माध्यम सञ्चारमाध्यम भएकाले उनीहरुको महत्वपूर्ण भूमिका रहने बताए । ‘सरकारले आफ्ना सबै सेवाहरु सञ्चारमाध्यममार्फत नै नागरिकमाझ पुर्याउने हो, सञ्चारमाध्यमले सरल र सहज भाषामा सेवाबारे जानकारी दिनु कर्तव्य पनि हो’, उनले भने । उनले डिजिटल गभर्नेन्समा सरकार, व्यवसाय र नागरिक एकापसमा आबद्ध गराउनका लागि सञ्चारमाध्यमको भूमिका उल्लेख्य हुने धारणा राखे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले डिजिटल गभर्नेन्सबारे जानकारी दिने काम सञ्चारमाध्यमको भएको उल्लेख गर्दै सञ्चारकर्मीहरुले पनि यसबारेमा जानकारी हुनुपर्नेमा जोड दिइन् । ‘पत्रकार आफै पनि यसबारेमा जानकार हुनुपर्छ, कतिपय अवस्थामा सञ्चारकर्मीहरुलाई पनि अभिमुखिकरण जरुरी हुन्छ’, उनले भनिन् । वरिष्ठ पत्रकार बबिता बस्नेतले डिटिजल गभर्नेन्स कायम गर्नका लागि डिजिटल साक्षरता बलियो हुनुपर्नेमा जोड दिइन् । उनले लोकतन्त्रको सुदृढीकरण र शासकीय व्यवस्थालाई प्रभावकारी बनाउन पनि डिजिटल गभर्नेन्स आवश्यक रहेकामा जोड दिइन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी