काठमाडौँ । भारतले पाकिस्तान र पाकिस्तान-अधिकृत जम्मु-कश्मीरमा रहेका नौवटा आतङ्कवादी शिविरहरूमा गरेको सटीक हवाई आक्रमण ‘अपरेसन सिन्धुर’ लाई विश्वका प्रमुख नेताहरूले समर्थन जनाएका छन् । २०२५ अप्रिल २२ मा पहलगाममा भएको आतङ्कवादी हमलाको प्रतिउत्तरस्वरूप गरिएको यो कारबाहीलाई धेरैले आत्मरक्षा र आतंकविरुद्धको वैध कार्य भन्दै समर्थन गरेका हुन् ।
बेलायतका पूर्व प्रधानमन्त्री ऋषि सुनकले ‘कुनै राष्ट्रले आफ्नो भूमिमा बाह्य आतङ्कवादी आक्रमण सहनु नपर्ने’ बताउँदै भारतको कारबाहीलाई उचित ठहर गरे । बेलायती सांसद प्रीति पटेलले भारतको आत्मरक्षाको अधिकार स्पष्ट रूपमा समर्थन गरिन्। यता, बेलायती विदेश सचिव डेभिड लेमीले भने संयमता अपनाउन आग्रह गर्दै द्विपक्षीय संवादको आवश्यकता औँल्याए ।
फ्रान्सका विदेशमन्त्री ज्यान-नोएल बारोले २२ अप्रिलको आक्रमणलाई ‘क्रूर आतङ्क’ भन्दै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा यसको निन्दा गर्ने प्रस्तावमा समर्थन जनाएका थिए । फ्रान्सले भारतसँग आतंकविरुद्ध पूर्ण एकता जनाएको छ ।
इजरायलका भारतस्थित राजदूत रेभेन अजारले भारतको आत्मरक्षाको अधिकारलाई समर्थन गर्दै आतंककारीहरूलाई ‘कहीँ पनि लुक्ने ठाउँ नहुने’ कडा सन्देश दिएका छन् । यता, नेदरल्याण्ड्सका सांसद गेर्ट विल्डर्सले ‘कश्मीर १००% भारतको हो’ भन्दै भारतको कदमको समर्थन गरेका छन् ।
अमेरिकी कांग्रस सदस्य श्री थानेदारले ‘आतङ्क सहन सकिंदैन, र यसलाई सजाय दिनैपर्छ’ भन्दै भारतको कदमको समर्थन जनाएका छन् । अर्का कांग्रस सदस्य राजा कृष्णमूर्तिले भने “पहलगामको आतंककारी आक्रमणपछि हिंसा रोक्न र आतंकविरुद्ध अझै कडाइ आवश्यक भएको” बताएका छन् ।
यस किसिमको खुला समर्थन सधैँ पाइँदैन, विशेष गरी दुई आणविक शक्तिहरूबीच सिमापार सैन्य कारबाही हुँदा प्रायः संयमताको आह्वान गरिन्छ । तर हाल भारतसँगको विश्व समुदायको सम्बन्ध सुदृढ भएकाले र पाकिस्तानमा पलाइरहेको आतङ्कवादप्रति बुझाइ प्रष्ट भएका कारण, प्रमुख पश्चिमी मुलुक र नेताहरू भारतको पक्षमा खुलेर उभिएका छन् ।
बुधबार बिहान १:०५ देखि १:३० बजेसम्म भारतीय थल, जल र वायु सेनाको समन्वयमा गरिएका यी कारबाहीहरूमा लश्कर–ए–तैयबा, जैश–ए–मोहम्मद र हिज्बुल मुजाहिदीनसँग सम्बन्धित संरचनाहरू ध्वस्त पारिएको भारतीय अधिकारीहरूले जानकारी दिएका छन् । पाकिस्तानमा चार र PoJK मा पाँच आतङ्कवादी शिविरहरू लक्ष्य गरिएका थिए ।
दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव विक्रम मिस्री, कर्नल सोफिया कुरैशी र विङ कमान्डर व्योमिका सिंहले कारबाहीको उद्देश्य, रणनीति र सफलताबारे विवरण दिएका थिए। ‘अपरेसन सिन्धूर’ केवल एक सैन्य कारबाही मात्र होइन, अब अन्तर्राष्ट्रिय सहयोगका साथ भारतको आतंकविरुद्धको दृढताप्रति समर्थनको एक स्पष्ट संकेत बनेको छ ।