काठमाडौँ । बुङ्गल हाइड्रो लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ । कम्पनीले ८३ करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको हो । यसमध्ये, ८ लाख ३० हजार ८२४ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरिँदैछ, जसको कुल मूल्य ८ करोड ३० लाख रुपैयाँ छ ।
कम्पनीले ६५ प्रतिशत शेयर अति प्रभावित क्षेत्र अर्थात सुदूरपश्चिमको बझाङ जिल्लाको बुङ्गल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट गाविस वडा नं. ४, ५, ७) र वडा नं. ७ (साविक कफल्सेरी गाविस वडा नं. १०) का बासिन्दाका लागि छुट्याइएको छ । ३५ प्रतिशत शेयर सामान्य प्रभावित क्षेत्र अर्थात बुङ्गल नगरपालिका वडा नं. १, २, ३, ४, ५, ८, ९, १० र ११ का बासिन्दाका लागि वितरण गरिनेछ ।
त्यस्तै, कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात २ लाख ७ हजार ५०० कित्ता (२ करोड ७ लाख ५० हजार रुपैयाँ बराबर) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गर्दैछ । आवेदन न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म दिन सकिनेछ ।
आयोजना प्रभावित बासिन्दाले लागि छिटोमा साउन ११ गते र ढिलोमा साउन २६ गतेसम्म आईपीओका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने साउन ११ गतेभित्र अनिवार्य आवेदन दिनुपर्नेछ ।
बुङ्गल हाइड्रो लिमिटेडले १०.७० मेगावाटको माथिल्लो सानिगाड जलविद्युत आयोजना निर्माण गरेको छ । जसको कुल लागत ३ अर्ब २ करोड रुपैयाँभन्दा बढी रहेको छ । प्रतिमेगावाट लागत २८ करोड २५ लाख रुपैयाँ पुगेको छ । आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रमा अझै २६ वर्ष १० महिना बाँकी छ । लगानी फिर्ता हुने अवधि ९.८५ वर्ष र छुट लगानी फिर्ता हुने अवधि २२.२९ वर्ष छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (केदारस्यू–१), कृषि विकास बैंक (बुङ्गल नगरपालिका), ग्लोबल आइएमई बैंक (जयपृथ्वी नगरपालिका) लगायत आयोजनास्थलबाट आवेदन दिन सक्नेछन् भने आवेदन शुल्क २ रुपैयाँ तिर्नुपर्नेछ । आईपीओ निष्कासनका लागि कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।
विदेशमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखाहरूबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।