- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सुजन महर्जन (नाम परिवर्तन) आफ्ना दाइसँग जागिरकै सिलसिलामा काठमाडौँमा डेरा गरी बसेका छन् । पालै पालो सेवा दिने बैंकले बनाएको नियम अनुसार विहीबार टेलरमा बसेर काम गर्ने जिम्मा उनको थियो । जागिरको सवाल छ, काम गर्न जान नदिने कुरै भएन । उनी बाहिर हिँडेको देखेपछी घरभेटीलाई पनि छिमेकीले यस विषयमा सोधेछन्, केहिले गाली पनि गरेछन् ।
बैंकको जागिर सकिएपछि उनी घर आए । उनी कोठामा पुगेकामात्र के थिए । दुई आँखामात्र देखिनेगरी सबै मुख छोपेर घरभेटीले माथिबाटै कराए । ‘यस्तो बेलामा कहाँ हिँडेको ? कसैले नखाएको जागिर खाएर हुन्छ ? छिमेकीले समेत गाली गरे । कि बैंकमा काम गर्न छोड्नु, कि कोठा छोड्नु ।’ उनीसँग केहि उत्तर थिएन । यहिबेला हातमा पन्जा छुटेछ । घरभेटीले फेरि गाली गर्दै सोधे, ‘खोइ पन्जा ?’ हाम्रो घरमा केटाकेटी छन् । बुढा बुढी छन् । एउटालाई कोरोना लाग्यो भने को जिम्मा ? तपाईंको बैंकले दिन्छ क्षतिपूर्ति ?’ उनी समस्यामा परे । शुक्रबार उनको पालो छैन । शनिबार बिदा नै छ । तर फेरी उनको पालो आउनेछ ? कसरी बैंकमा जाने ? के गर्ने ? यहि दोधारका बीच उनले अर्थ सरोकारकर्मीसँग आफ्नो गुनासो राखे ।
‘घरभेटीको कुरा पनि गलत होइन’
‘यसो त घरभेटीलाई दोष दिने ठाउँ पनि छैन । आखिर साच्चै बैंक कोरोना संक्रमणको उच्च जोखिममा छ। लक्ष्मी बैंकका स्टाफका काकालाई कोरोना संक्रमणको पुष्टी भएको खबर पढेर बैंकमा काम गर्न जान कम्ति गाह्रो छैन । बैंकमा को खोक्दै आउँछ, को रुघा लागेको मान्छे आउँछ, कहाँको मान्छे आउँछ, पत्तो छैन । ४-५ वटा कारोबारमात्र छन् । तर जागिर त खानु नै छ ।
अर्थ सरोकारले निरन्तर बैंकरका पक्षमा लेखिरहेको बताउँदै उनले भने, ‘अर्थ सरोकारले यो विषयलाई थप लेखिदिनुपर्यो । यस्तै हो भने अहिले प्रशासनको डरले पनि घरभेटीले केहि नभन्लान्, तर स्थिति केहि सहज भएपछि डेरा नै नपाइएला जस्तो भएको छ । यो विषयमा सबैको ध्यान गए हुन्थ्यो ।’
पीडीत बैंकरको अनुरोधमा उनको नाम, ठेगाना र उनी काम गर्ने बैंकको नाम गोप्य राखिएको छ ।