काठमाडौँ । नयाँ बानेश्वरका चित्रकुमार पौडेल (नाम परिवर्तन)ले अर्थ सरोकारको कार्यालयमा फोन गरेर सोधे ।’त्यो नागरिक (नाम परिवर्तन) बैंकमात्र खुल्ला हो कि सबै बैंक खुल्ला हो ?’
हामीले स्थितिबारे बतायौं । केहि शाखा केहि समयका लागि खुलेका छन् ।
उनले प्रश्न गरे, ‘किन खोलेको ? सरकारले घरबाट ननिस्कनु भनेको छ, को आउँछ र ?’
हामीसँग जवाफ थिएन । ‘अत्यावश्यक सेवा भनेर बैंक खोलिएको छ ।’
उनले फेरी प्रश्न गरे । अत्यावश्यक परेर एउटा कोरोना संक्रमित बैंक आयो भने ? मेरी छोरी बैंकमा काम गर्छिन् । रुँदै आमालाई भर्खर फोन गरिन्। ‘काउन्टरमा छु, कोहि नआइदिए हुन्थ्यो, मर्छु भन्ने डर लाग्या छ मम्मी ! बेकार बैंकर भएछु मामु… हजुरलाई सम्झेर रुँदै काम गर्दैछु…’ भन्दैथिइन् । आमा छोरीको कुरा सुनेर झन् रुँदैछिन् । किन यस्तो लापरवाही ?
हामीसँग उनको आक्रोशको उत्तर थिएन । उनी सहि थिए । काउन्टरमा बस्नेहरु त्राहिमाम छन् । सीइओहरु घरमा बसेर आराम गरिरहेका छन् । गरिबका छोराछोरीहरु काउन्टरमा छन् ।
‘तपाईंहरुको न्युज हेरिरहेको हुन्छु । तपाईंहरुले अलि ठोकेर लेखिदिनुपर्यो । ती सीइओहरुका छोराछोरीहरुलाई ल्याएर काउन्टरमा बस्नु भन्नुपर्यो । तीनलाई काउन्टरमा बसाउनुपर्यो ।’ उनको आक्रोशमा छोरीको माया मात्र होइन, कुरामा दम थियो ।
हुन पनि यो संकटको बेला हो । यस्तो बेलामा नियामक राष्ट्र बैंकले उचित निर्देशन दिन सक्नुपर्थ्यो । कोरोन संक्रमण यहींबाट सुरु भयो भने के गर्ने ? कसैसँग पनि उत्तर छैन ।
उनले फेरी सोधे, ‘यो बैंकर्स संघको अध्यक्ष को छ ?’ हामीले भुवन दाहालको नाम भन्यौँ ।
कुन बैकको हो त्यो ?’ उनले झर्किएर सोधे । हामीले सानिमा बैंक भन्यौँ ।
उनले उत्तर फर्काए, सानिमा बैंक चलाउनेहरुले सानी आमा र आमाहरुको पीडा बुझून्। यो गलत भयो भनेर लेखिदिनू ।’
कार्यालयमा सबैलाई बिदा दिइएको छ । घरमै बसेर काम गर्नु भनिएको छ हाम्रो कार्यालयमा । त्यसपछि म (सम्पादक) आफैंले यति लेखें । अरु केहि लेख्न सकिन ।