×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली परीक्षार्थीको डरलाग्दो जालो, ‘पुलिसले भेटिहाल्यो भने २ दिन जेल बस्ने न हो, ३ घन्टाको ३० हजार कमाइ हुन्छ’

PRIME CA

नक्कली परीक्षार्थीको डरलाग्दो जालो, ‘पुलिसले भेटिहाल्यो भने २ दिन जेल बस्ने न हो, ३ घन्टाको ३० हजार कमाइ हुन्छ’

२० असार २०७५, बुधबार

पढ्न लाग्ने समय: < ५ मिनेट

  • अर्थ सरोकार इन्भेष्टिगेसन ब्यूरो 
काठमाडौँ – घटना केहि दिन अघिको हो । काठमाडौँको एक परिक्षा सेन्टर । ३ बर्षे बिबिएस अन्तर्गत दोश्रो बर्षको एकाउन्टस् विषयको परिक्षा थियो । केहि बर्ष अघि नै माष्टर्स पास गरिसकेका एक व्यक्ति परिक्षा केन्द्रभित्र छिरे । हातमा परिक्षाका लागि चाहिने प्रवेशपत्र थियो । ३ घण्टापछि उनी हाँस्दै बाहिर निस्किए । नजिकै रहेको चिया पसलभित्र छिरे । प्रवेश पत्रबाट आफ्नो फोटो उक्काए र पर्समा राखे । अर्का व्यक्तिले झोलाबाट एक बिटो पैसा निकाले । दुवै जनाले हात मिलाएर र घर फर्किए । 
यो त एउटा प्रतिनिधि घटनामात्र हो । त्रिभुवन विश्वविद्यालयको कमजोर अनुगमनका कारण अहिले नक्कली परीक्षार्थी ह्वात्तै बढेका छन् । विशेषगरी गाह्रो विषयका परिक्षाहरुमा यस्तो चलखेल ठुलै हुने गरेको तथ्य हामीले यसअघि पनि प्रकाशन गरेका थियौं । यसो त यसअघि आरआरकि एक विद्यार्थीले १२००० लिएर अरुको नक्कली परिक्षा दिएको प्रमाणसहित उजुरी पनि परेको थियो । तर उनले नक्कली परिक्षा दिएको प्रमाणित हुँदा पनि सामान्य सोधपुछपछि उनलाई सचेत गराएर छोडियो भन्ने खबर बाहिर आएपछि अहिले यस्तो धन्दा गर्नेहरुको मनोबल झन् बढेको छ । यसो त केन्द्राध्यक्षकै मिलेमतोमा यस्तो गैरकानुनी काम हुने र यसको कमिसन विश्वविद्यालयका कर्मचारीसम्म जाने आरोप पनि बेला बेलामा लाग्ने गरेको छ । तर त्रिभुवन विश्व विद्यालयले समयमा नै यस्तो गलत कामलाई रोकथाम गर्न नसक्दा नक्कली परीक्षार्थीको बिगबिगी बढेको छ । 
एउटा घटना जसले गलत गर्नेहरुको मनोबल बढाएको थियो 
त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शिक्षा संकायको परिक्षामा खेताला बनेर अरुको नक्कली परिक्षा दिएको प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आरआरकि एक विद्यार्थीविरुद्ध केहि बर्ष अघि उजुरी परेको थियो । त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न शंकायका परिक्षामा खेताला बनेर अरुको नक्कली परिक्षा दिएको प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको खबर बाहिरिए पनि उक्त परीक्षार्थीलाई खास कारवाही नभएको सबैले थाहा पाएपछि यस्ता नक्कली परीक्षार्थीको मनोबल झनै बढेको हो । तत्कालीन समयमा रत्नराज्य क्याम्पसमा एमए दोश्रो बर्ष अध्ययन गरिरहेकी र नेपाल ल क्याम्पसमा एलएलबी दोश्रो बर्ष अध्ययन गरिरहेकी एक विद्यार्थी विरुद्ध अख्तियारमा नक्कली परिक्षा दिएको प्रमाण सहित उजुरी परेको हो । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता नम्बर ११९६४ मा परेको उजुरीमा केन्द्राध्यक्षको मिलेमतोमा गत असारमा सञ्चालित परिक्षामा अरुको नक्कली परिक्षार्थी भएर गैरकानुनी काम गरेको उल्लेख गरिएको थियो । त्रिभुवन विश्वविद्यालयले तत्कालीन असारमा संचालन भएको स्नातक दोश्रो बर्षको परिक्षा अन्तर्गत मिति २०७३ असार २८ गते मंगलबार हिमालय कलेज कोटेश्वरमा संचालित परिक्षामा अरुको प्रवेशपत्रमा आफ्नो तस्विर टाँसी शिक्षा संकाय अन्तर्गतको ’पोलिटिकल साइन्स एडुकेसन गभरमेन्ट एण्ड पोलिटिक्स अफ नेपाल’ विषयको परिक्षा दिएको र उक्त परिक्षामा केन्द्राध्यक्षको समेत मिलेमतो रहेको भन्दै उनी र केन्द्राध्यक्षलाई कार्वाही गरी पाउँ भनी उजुरी परेको थियो । यसरी उनीविरुद्ध उजुरी परेको छ भन्ने थाहा पाएपछि धेरैले त्यतिबेला यस्तो काम गर्न रोकेका थिए । धेरै जना डराएका पनि थिए । तर यो घटना सामसुम भएपछी फेरि नक्कली परीक्षार्थीहरु सल्बलाउन थालेका छन् । 

परीक्षाको भाउ बढ्यो, पहिला १२००० मा परिक्षा दिने भेटिन्थे, अहिले ठ्याक्कै ३० हजार ! 
विद्यार्थीले नक्कली परिक्षा दिएको खबरपछि सम्बन्धित विद्यार्थीलाई कारवाही हुन्छ भन्ने धेरैको अपेक्षा थियो । तर ठुलो कारवाही गर्ने स्पष्ट कानुन नहुँदा समस्या भयो । बढीमा कारवाही भयो र प्रहरीले सुराकीका आधारमा समात्यो नै भनेपनि २ दिन जेल बस्ने हो, फुत्कियो भने ३० हजार पाक्यो भन्दै अझ उच्च मनोबलका साथ नक्कली परीक्षार्थीहरु यस्तो धन्दामा लाग्न थालेका छन् । सोहि घटनालाई देखाएर अहिले यस्ता नक्कली परीक्षार्थीहरु सलबलाएका हुन् । यसो त यसरी अरुको परिक्षा दिएर काठमाडौँमा जिविको चलाउनेहरुको संख्या ठुलै रहेको स्रोतको दावी छ । स्रोतका अनुसार यसरी अरुको परिक्षा दिंदा पहिला १० हजारदेखि ५० हजारसम्मको ’डिल’ हुने गरेको थियो भने अहिले रेट बढेर ३० हजार देखि ६० हजारसम्म पुगेको छ । ’व्यवस्थापन संकाय अन्तर्गत बिबिएस र एमबिएसको रेट महँगो छ भने एलएलबी, बिए र बीएडको रेट केहि सस्तो छ ।’ स्रोत अगाडी भन्छ, ’बिबिएसको परिक्षा दिनेले एकाउन्ट्स. फाइनान्स, जस्ता विषयको परिक्षा दिंदा प्रति परिक्षा ३० हजारदेखि ५० हजारसम्म लिने गरेका छन् । यता बिएतर्फको परिक्षा दिँदा भने प्रति परिक्षा पहिला १० हजारदेखि २० हजारसम्मको ’डिल’ हुने गरेको थियो भने अहिले हाराहारी २० हजारदेखि ३० हजारसम्म लिने गरिएको छ ।
क्याम्पसकै विद्यार्थीले गर्छन् दलाली, सोझा देखिने महिला विद्यार्थीहरु झन् सलबलाउँदै !
’यसरी अरुको परिक्षा दिने र दिलाउने दलाली क्याम्पसकै विद्यार्थीहरुले गर्ने गरेका छन् ।’ स्रोत अगाडी भन्छ, ’विशेषगरी काठमाडौँको आरआर, मिनभवन क्याम्पस, शंकरदेव क्याम्पस, र नेपाल ल क्याम्पसमा यस्ता दलालीहरु भेटिने गरेका छन् । दलालीहरुले केहि रकम लिएर परिक्षा दिने र दिलाउनेबीच संयोजन गरिदिने स्रोतको दावी छ । ’दलालले दुवैतर्फबाट कमिसन लिने गरेका छन् । परिक्षा दिएर पैसा लिनेसँगपनि कमिसन लिने र परिक्षा दिलाएर पैसा दिन लगाउनेसँग पनि यसरी कमिसनको खेल हुने गरेको छ । यसरी नक्कली परीक्षार्थीमा देख्दा सोझा देखिने र ट्यालेन्ट विद्यार्थीहरु प्रयोग हुने स्रोतको दावी छ । ’देख्दा सोझो देखिनेहरुलाई यसरी परिक्षामा प्रयोग गरिन्छ । उनीहरुपनि पहिलो पटक डराएपनि केहि नभएपछि दोश्रो पटकदेखि निस्फिक्री यस्तो धन्दा गर्ने गरेका छन् ।’ स्रोत अगाडी भन्छ, ’आरआरमा पढ्ने एक सोझी विद्यार्थीले अर्को संकायको परिक्षा दिन थालेको ३ वर्षजति भयो होला । उनलाई अझैपनि कुनै पनि निकायले छुन सकेको छैन । झट्ट हेर्दा उनले अरुको परिक्षा दिन्छिन् भन्ने पत्याउननै गाह्रो छ ।’
कमजोर कानुनको फाइदा उठाउँदै नक्कली परीक्षार्थीहरु  !
यसो त नेपालमा नक्कली परिक्षा दिएको प्रमाणित भएमा समेत त्यस्तो ठुलो कारवाहीको व्यवस्था छैन । बढीमा बढी सामान्य केरकार गरेर केहि दिन जेल राखिने र त्यसपछि छोडिने स्रोतको दावी छ । ‘एउटा परीक्षाको ३० हजार आउँछ भने विद्यार्थीले किन अरुको परिक्षा दिंदैन र ? कसैले सुराकी लगाउने सम्भावना एकदम कम हुन्छ । लगाईहाल्यो भनेपनि २ दिन जेल बस्ने हो, के समस्या हुन्छ र ? यता ३० हजार पाक्छ । काठमाडौँमा यसरी अरुको परिक्षा दिएर पेट पाल्नेहरुको संख्या पनि ठुलो छ । परिक्षा सेन्टरहरु निकै ‘लुज’ हुँदा समेत यस्तो समस्या आउने गरेको छ ।’ स्रोत अगाडी भन्छ, ‘कतिपय ठाउँमा त परिक्षा चलिरहेका बेला केन्द्राध्यक्ष नै नजाने चलन पनि छ । गएकाहरु पनि आधिकांस कसले चिट चोर्यो भन्ने कुरामा मात्र ध्यान दिन्छन् । कसैले अरुको परिक्षा दिइरहेको छ कि हेर्ने चलन पनि छैन । झट्ट हेर्दा फोटो उप्काएर उस्तै टाँसीएको हुन्छ । त्यसैले शंका गर्ने ठाउँ पनि निकै कम हुन्छ । सुराकी गर्दा पनि खास ठुलो कारवाही हुँदैन । यसले नक्कली परीक्षार्थीहरुको मनोबल झन् बढाएको छ ।’ 
केन्द्राध्यक्षकै मिलेमतो हुँदा झन् समस्या ! 
यसो त २०७३ सालमा भएको एक यस्तै प्रकरणबारे हामीले त्रिभुवन विश्वविद्यालयका तत्कालीन परिक्षा नियन्त्रक केशव राज बास्तोलालाई सोधेका थियौं । ’हामीले विश्वास गर्ने भनेको केन्द्राध्यक्षलाई हो । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने कुनैपनि परिक्षामा नक्कली परिक्षार्थी भेटिए तुरुन्त त्यसको जानकारी विश्वविद्यालयमा दिनुपर्ने नियम छ । तर केन्द्राध्यक्षकै मिलेमतो भने अचम्मको कुरा सुनिएको छ । यस विषयमापनि अनुसन्धान गर्न सकिन्छ । देशमा नियमनकारी निकाय छ ।’ उनले भनेका थिए । तर यस्तो काममा धेरै ठाउँमा केन्द्राध्यक्षसम्म पनि कमिसन पुग्ने गरेको छ । कसैले सुराकी लगाएको थाहा पाएमा केन्द्राध्यक्षले नै कमिसनको लोभमा सम्बन्धित विद्यार्थीलाई बचाउने गरेको स्रोतको दावी छ । यसो त यस्ता घटना सीआइबी नपुगेका पनि होइनन् । तर केहि समय अगाडी सीआइबीमा यस्तो उजुरी लिएर जाँदा त्यहाँका प्रहरी निरीक्षकहरुले आफुहरुले व्यक्तिवादी मुद्धा नहेर्ने बताएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: