
- सुरज घिमिरे
काठमाडौँ । पछिल्लो समय पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै ५१ वटा कम्पनीहरुको सेयर मूल्य चलखेल गरेर वृद्धि भएको जानकारी दियो । विगतको एक वर्ष अवधिमा सूचीकृत संगठित संस्थाहरूको मूल्य वृद्धि ३०० प्रतिशत र सो भन्दा बढीले वृद्धि भएका, मूल्य आम्दानी अनुपात १०० र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋृणात्मक भएका, प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिशेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमता समेतका आधारमा ती कम्पनीहरु हाल जोखिम युक्त देखिएको बोर्डको ठहर हो । बोर्डको यस्तो सूचनाले पूँजी बजारमा सूचिकृत ५१ वटा संगठित संस्थाका सेयरहोल्डरहरुमा त्रास उत्पन्न गरायो ।
बैंक ब्याजदरमा गिरावट आउनु, लकडाउनका कारण लगानीको क्षेत्र साँघुरिँदै जानु, बजारमा नयाँ लगानीकर्ताहरुको प्रवेश हुनु, रेमिट्यान्स आयमा वृद्धि हुनु, विदेशबाट समेत नेपालीहरुले सेयर बजारमा लगानी गर्नु र सेयरको अनलाईन कारोबार गर्न सहज हुँदै जानुले शेयर माग बढ्न गई बजार मूल्य पनि तीब्र गतिमा उक्लिदैँ गएको समयमा धितोपत्र बोर्डबाट यस्तो किसिमको प्रेस विज्ञप्तीले दुई कुरामा प्रश्न चिन्ह खडा गरेको छ । पहिलो बजार अर्थतन्त्रमा माग र आपूर्तिले मूल्य निर्धारण गर्न पाउने स्वतन्त्रताको हनन् गर्न बोर्डले मिल्छ कि मिल्दैन ? र दोस्रो प्रश्न भनेको बोर्डले आफैले स्विकृति दिई सूचिकृत गरेका कम्पनीहरु खराब र लगानीका लागि जोखिमयुक्त हुन् भने त्यसलाई सुधार गर्न धितोपत्र बोर्डले किन पहल कदमी लिएन र एक्कासी विज्ञप्ति नै निकाल्यो ? काम कुरो एकातरि कुम्लो बोकी ठिमी तिर भनेझैँ बजारमा सन्त्रास उत्पन्न गराउने काममा बोर्ड लागिपर्नुु पूँजी बजारको लागि सुखद विषय पक्कै होइन ।
नियामक निकायले छानविन गर्ने, समस्या समाधान गर्नतिर लाग्ने र लगानीकर्ताहरुमा आश जगाउने काम गर्नुपर्ने ठाउँमा बजारमा त्रास उत्पन्न गर्न मिल्दै मिल्दैन । यही कारणले एक जना अधिवत्ताले यही विषयलाई लिएर सर्वोच्चमा रिट समेत दायर गरेको खबर छ । धितोपत्र बोड आफू सच्चिन ढिलाइ गर्नु हुँदैन ।
सेयर कर्नरिङ भएकै हो त ?
न्यून पूँजी लगानी भएका होटल, हाइड्रोपावर, माइक्रोफाइनान्स, फाइनान्स र विकास बैंकमा अहिले बुल आएको छ । तर, अधिक पूँजी भएको हुँदा बाणिज्य बैंकहरुको सेयर अपेक्षित रुपमा बढेको छैन । यसबाट बजारमा सेयर कर्नरिङ भएको हो कि भन्ने अर्काे प्रश्न खडा गरेको छ । ठूलो मात्रामा घाटा व्यहोरिरहेका, ऋणत्मक ईपियस भएका र अत्यधिक पिई रेसियो भएका कम्पनीहरुको सेयर किन बढिरहेको छ? अधिक पूँजी भएका राम्रा कम्पनीहरुको सेयर मूल्य किन बढ्न सकेको छैन? यी प्रश्नहरुले हाल नेपालको पूँजी बजारमा सेयर कर्नरिङ भएको हुनुपर्छ भन्ने तर्कलाई मलजल गरेको देखिन्छ । यसको खोज अनुसन्धान गरी सेयर कर्नरिङको अपराधमा संलग्न व्यक्तिहरुलाई करवाहीकोे दायरामा ल्याउन धितोपत्र बोर्डले अब सयम लगाउनुहुँदैन ।
नेपालमा मार्केट क्याप्टलाइजेसन र जिडिपिको सम्बन्ध छ ?
एकथरि पूँजी बजार समीक्षकहरुको भनाई के छ भने अहिले नेप्से जसरी उकालो लागि रहेको छ, त्यसबाट भएको मार्केट क्याप्टलाइजेसनले देशको जिडिपिबराबर बनाउन थालिसक्यो र यो जिडिपिभन्दा बढि हुनु अर्थतन्त्रका लागि राम्रो संकेत होइन । उनीहरुले यसो भने पनि नेपालको सन्दर्भमा भने यो सत्य छैन । अहिले जिडिपिमा मार्केट क्याप्टलाईजेसन करिब ९५ प्रतिशत पुगिसेको छ । नेप्सेमा सुचिकृत करिब ८० प्रतिशत अंश बैंक तथा वित्तीय संस्थाहरुको नै छ । त्यसैले यसले उत्पादनमूलक क्षेत्रको प्रतिनिधित्व गर्न नसकेको हुँदा जिडिपिसँग मार्केटक्याप्टलाईजेसनको तुलना गर्नु नेपालको सन्दर्भमा खासै सान्दर्भिक देखिँदैन । नेपालको शेयरबजार अन्तर्राष्ट्रिय शेयर बजारभन्दा भिन्दै किसिमको छ । शेयरबजारमा बैंक तथा वित्तीय संस्थाहरुको बाहुल्ययता रहेको हुँदा नेप्से बडिरहे पनि यसले वास्तविक अर्थतन्त्रलाई प्रतिविम्बित गर्न सक्दैन ।
पूँजी बजारमा बूल आएकै हो त ?
पूँजीबजारमा बूल आएको भन्ने तर्क पनि त्यति न्यायसंगत छैन । अहिले हाइड्रोपावर, माइक्रोफाइनान्स, वित्त कम्पनी र विकास बैंक सूचक मात्र बढेको छ । बैंकलाई यो वृद्धिले खासै छुन सकेको छैन । अघिल्ला बुलहरुमा कुनै बैंकको सूचक १४÷१५ सय पुगेकोमा अझै पनि त्यस्ता कम्पनीहरुको सूचक ५ सय हाराहारी मात्र घुमिरहेको छ । त्यसैले अहिले बजार बुलको यात्रामा होला, तर बुलसम्मको विन्दुमा पुगिसकेको छैन भन्दा फरक पर्दैन । जब बैंकिग परिसूचक पनि बढ्दै जान्छ, अनि बल्ला साँचो अर्थमा पूँजी बजारमा बूल आएको भन्न मिल्नेछ ।
धितोपत्र बोर्डको प्राथमिकता के हुनुपर्छ ?
बजारलाई मजबुत गर्न सेयर कर्नरिङ नियमित बाच गरी राख्ने, कम्पनीहरुलाई थप पार्दर्शी बनाउने, नयाँ लगानीकर्ताहरुलाई बजारको जोखिमका बारेमा सुशिक्षित बनाउने, थप ब्रोकरहरुलाई लाइसेन्स दिने, सञ्चार माध्यमहरुमा पूँजी बजार सम्बन्धि चेतनामूलक सूचना प्रवाह गर्ने, टियमएस अपग्रेडमा जोड दिने, उत्पानमूलक क्षेत्रलाई बजार भित्र्याउने जस्ता पूँजी बजार दीगो र बलियो बनाउने काममा धितोपत्र बार्डको चिन्ता र चासो हुनुपर्छ । अहिले सेयर बजार कारोबार नेप्सेमात्र एक इन्डेक्स छ । अब निजी क्षेत्रबाट पनि अर्काे इन्डेक्स भित्र्याउने विषयमा धितोपत्र बोर्डले छलफल चलाउनु पर्दछ र कमोडिटीज मार्केटलाई मुर्त रुप दिन ढिला गर्नु हुँदैन । पूँजी बजारमा उत्पादनमूलक क्षेत्र भित्र्याउन सके नेप्से वास्तविक क्षेत्रतिरसँग नजिक हुन्थ्यो र यसले वास्तविक अर्थतन्त्रको प्रतिनिधित्व गर्न सक्थ्यो । त्यसै गरी निजी क्षेत्रबाट अर्काे इन्डेक्स सञ्चालनमा ल्याउन सकेन प्रतिस्पर्धात्मक लाभ प्रप्त भई स्वयम् नेप्सेको पनि सुधार र विकास अपेक्षित हुन्थ्यो । सोही गरी कमोडिटीज बजारको स्थापनाले लगानीको दायरा वृद्धि भई पूँजी बजारको विकासमा कोषेढुङ्गा सावित हुनसक्थ्यो ।
नयाँ लगानी कर्ताहरुले के गर्ने ?
अहिले बजार परिसूचक नेप्सेले दिन प्रतिदिन नयाँ नयाँ उचाइ कायम गरिरहेको छ । बजार बुलतिर गइरहेको अवस्थामा पूराना लगानीकर्ताले कमाएको देखेर उनीहरुले जे भन्यो त्यसैमा विश्वांस गरी उनीहरुले भनेकै स्क्रिप्टमा लगानी गर्ने भूल नयाँ लगानी कर्ताहरुले गर्दै गर्नु हुँदैन । यसो भन्दैमा अरुले भनेको सुन्दै नसुुन्नु भनेको पनि होइन । सबैको सुन्ने र सूचनाहरु संकलन गर्ने तर आफूले विश्लेषण गर्ने र निर्णय पनि आफैले नै लिने गर्नु जरुरी हुन्छ । नयांँ लगानीकर्ताहरुले त झन् बजारबारे नबुझी लगानी गर्न हतारिनुहुँदैन । बरु इन्डक्सको ट्रेन्ड एनालइसिस गर्ने र फन्डामेन्टली मजबुत भएका कम्पनीहरुमा थोरै थोरै लगानी गर्दै जानु राम्रो हुन्छ । बजारमा एउटाले कमाउँदा अर्काेले गुमाइरहेको हुन्छ भन्ने कुरा लगानीकर्ताहरुले विर्सनु हुँदेन । बजारबारे सचेत हुनु पर्दछ । रगत पसिनाले कमाएको पैसालाई सेयर बजारमा भावनात्मक आवेगमा होइन सोचेर, सम्झेर, बुझेर अनि विचार गरेर लगानी गर्नु आवश्यक छ । पूँजी बजारमा कमाउन जति समय लाग्छ, त्यो भन्दा बढि छिटो गुमाउने सम्भावना पनि उत्तिकै छ भन्ने कुरा विर्सनु हुँदैन । (लेखक नेपाल बैंक लिमिटेड, पाल्पा शाखाका शाखा प्रबन्धक हुन्)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्