×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एउटा दूधे बच्चाले ‘भैया’ र ‘तिमी’ भनेर सम्वोधन गर्न कसरी सिक्दछ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एउटा दूधे बच्चाले ‘भैया’ र ‘तिमी’ भनेर सम्वोधन गर्न कसरी सिक्दछ ?

Artha Sarokar

१९ भाद्र २०७२, शनिबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

केहि समयअघि काठमाडौँको एउटा गल्लीमा घरतिर लाग्दै गर्दा उहि सडक अल्लि परको कुनाबाट एउटा ८/१० बर्षको बालकले साइकलमा टोकरी डो-याएर फलफुल बेच्ने लगभग मेरा पिताजीको उमेरका बृद्ध जो मभन्दा केही अगाडि थिए उनलाई बोलाएको सुनेँ, “भैया, स्याउ यता लेऊ !” बूढा उतै गए । गेटमा पुगेपछि एउटी अधबैँसे महिलाले सोधिन्, “कसरी दिन्छस्, भैया स्याउ ?” बूढाले के जवाफ दिए कुन्नि मैले सुनिन । महिलाको आवाज फेरि सुनेँ, “लैजा तेरो स्याउ ।” बूढा अघि बढे । म अल्लि छिट्टो हिँडेर उनलाई भेट्टाएँ र बूढालाई म बस्ने घरको गेटभित्रै ल्याएँ फलफुल राख्न। मेरी प्रियाले स्याउ किनिन् । पैसा तिर्ने बेलामा प्रियाले अन्तिम “बार्गेनिंग” गर्दै भनिन्, “१२० मा देऊ है भैया !” बूढाले भने, “तपाईँ मेरो सधैँको ग्राहक । हुन्छ, हजूर १२० नै दिनोस् । तर मान्नोस्, मलाई खास फाइदा छैन ।”
मेरो मनमा एउटा जबरजस्त प्रश्न उठ्यो । यी हाम्रा बाउका उमेरका व्यक्तिले काठमाडौंमा सामान्य लोकाचारको आदर किन पाउँदैनन्? एउटा दूधे बच्चाले ‘भैया’ र ‘तिमी’ भनेर सम्वोधन गर्न कसरी सिक्दछ ? बाउको उमेरका व्यक्तिलाई ती महिलाले कसरी सहजै ‘तँ’ भन्न सकेकी ? मेरी प्रियाले पनि ‘भैया’ र ‘तिमी’ भनिन् ।
म ढाँट्न सक्दिन । मलाई साह्रै खसखस लाग्यो । मैले बूढालाई एकछिन रोकेर ऊनी सँग कुराकानी गरेँ । उनले घरतिर खेत जमिन नभएकोले यो ब्यापार गर्न थालेका रे । १० कलास पास गरेको छोरो काठको मिस्त्री काम गर्छ रे । उनीहरु तराईका नेपाली । पूर्वी जिल्लाका । परिवारमा सबैको नेपाली नागरिकता छ । बूढा काठमाडौँ आएकै २०/२५ बर्ष भएछ । बर्षमा १/२ पटक घर फर्कदा रहेछन् । पछिल्लो पटक होलीमा घर गएका रहेछन् । मलाई सोध्न गाह्रो लागेको तर जान्न चाहेको प्रश्न मैले सोधी छाडेँ ।
“तपाईँलाई काठमाडौँका मान्छेले नेपाली नै भन्छन् कि अरु केही ?”
“हामीलाई यहाँ सबैले मधिसे भन्छ हजुर । इन्डियन ठान्छ । म एक बात बताऊँ हजुर । मैले आजसम्म इन्डिया टेकेको छैन ।”
बूढालाई अल्मलाएकोमा माफी माग्दै मैले उनलाई सधन्यवाद बिदा गरेँ । मनमा झनै कुरा खेले । मन बिगततिर पुग्यो ।
२०३५ सालतिर सुर्खेतको फिनीकाँडा स्कुल पढ्दा हेडसर हुनु हुन्थ्यो रुपकान्त झा । पूर्वी तराईवासी । सायद सिराहाका । मैले जिल्ला बिर्सेँ । मैथिली मिसिएको बोलीमा २/३ कलासमा गणित पढाएको मेरो कानमा अझै गुन्जन्छ । तर स्कुलमा सबैले “देशी” भन्थे वहाँलाई । देशी भन्नाले भारतीय बुझिन्थ्यो/बुझिन्छ ! तर त्यो बेलामा को कसरी “देशी” हुन्छ मलाई थाहा थिएन ।
४ कलास पढ्न काठमाडौँ आएपछि म स्वयं नै केही काठमाडौँवालाका लागि “देशी”, “धोती” भएँ । कारण थिए मेरो कालो वर्ण, तराईतिरकाले प्रयोग गर्ने शब्दोच्चारण, “यार” थेगो आदि । त्यसो त काठमाडौँले तराईबाट नै आएका थुप्रै साथीलाई निर्धक्क धोती, देशी बनाएको थियो । मैले जीवनमा सायदै भुल्न सकुँला स्कुलको एउटा घटना काठमाडौँको म पढ़ने स्कुलमा । एकजना तराईमुलका शिक्षक हुनुहुन्थ्यो । वहाँ कलासमा छिर्नु अघि ब्ल्याकबोर्डमा कोही उटपट्यांग केटोले ‘धोती’, ‘कौवा’ यस्तै यस्तै लेख्यो । सर आएपछि देख्नुभयो । वहाँले रुँदै आफ्नो जन्मदेखि त्यस बखतसम्मको आफ्नो कठोर जीवनबारे हामीलाई बताउनु भयो । वहाँले ती अपमानजनक शब्द कसले लेख्यो न पत्ता लगाउने प्रयास गर्नुभयो, न गाली गर्नुभयो । ती घृणाजनित शब्द डस्टरले आफै मेटेर रुँदै हामीलाई पढाउनु भयो । वहाँ विद्वान हुनुहुन्छ । बहुप्रतिभाशाली । नेपालको शिक्षा क्षेत्रको प्रशासनमा उच्च पदमा पुगेर सेवानिवृत हुनुभएको छ वहाँ हाल। अहिले मलाई लाग्छ, वहाँले त्यो लेख्नेलाई क्षमा दिनुभयो किनभने वहाँलाई थाहा थियो, यो अपमान कुनै केटाको उट्पट्यांग भन्दा पनि विभेदी राज्य र समाज सिर्जित सामाजिकिकरणको प्रतिविम्व थियो/हो । र यो समस्या वा मुद्दालाई राज्यले गम्भिरताका साथ बुझ्न सकेको छैन वा चाहेको छैन ।
यति लामो भुमिकापछि मलाई भन्न मन लागेको विषय के हो भने हामी के कुरामा स्पष्ट हुन जरुरी छ भने हाम्रा तराईबासीहरुका खरा, वास्तविक र खास खास समस्या एकातिर छन् भने अर्कातिर “भाइ फुटाएर गाउँ लुट्न” विदेशीद्वारा सिर्जित कृत्रिम समस्या पनि छन् । र हाम्रा नेता, नागरिक अगुवा र बुद्धिजिवीमा यो वा त्यो विषम् ध्रुवमा रहेर एकलकाटे दृष्टिकोण बनाउने दोषी चरित्र हावी छ । काठमाडौँमा बसेर सत्ता चलाउनेले र तराईमा बसेर अधिकारका लागि लड्नेले यी दुबै कुरा बुझ्नै पर्दछ । तराईका केही नेतालाई “विश्वास लागे झैँ, वा जनतालाई भ्रम परे जस्तो भारत तराईबासीको पक्षमा छँदै छैन । उसले त तराईबासीलाई उपयोग गर्न चाहन्छ ।
माथि सुरुमा मैले प्रसंग उठाएका केही सत्य घटनाले प्रतिविम्वित गरे झैँ तराईबासी र राज्यको बिचमा मात्र दुरी छैन, तराई र पहाडका जनताबिचमै पनि छ । पुस्तौँदेखि नेपालमै बसेका र नेपाली नागरिकता बोकेकालाई काठमाडौँ र पहाडले नेपाली नमान्नेमात्र होइन, मुस्किलले ‘मान्छे’ ठान्दछ । यो व्यवहारमा हामी नागरिकले नै परिवर्तन ल्याउनै पर्दछ ।
मलाई लाग्दछ, तराईवासीलाई चाहिएको संधीयता वा स्वायत्तता होइन । यो विद्यमान सामाजिक विभेदले गर्दा जनताले राजनितिक समाधान खोजेका हुन् । सामाजिक समस्याको समाधान सामाजिक नै हुन्छ । राजनितिक समस्याको समाधान राजनितिक हुन्छ । हाम्रा तराईका दाजुभाइ दिदीबहिनीलाई चाहिएको स्वाभिमान हो, आत्मसम्मान सहितको जीवन हो । सबै नेपालीले आत्मसम्मान सहितको जीवन जिउन पाउनैपर्दछ ।
एकपटक हामी सबैले तराईवासी भएर सोचौं त ! वहाँहरुको आत्मसम्मानमा पुगेको चोट महसुस गरौं । त्यस्तै व्यवहार आफूलाई गरिए कस्तो अनुभव होला ? तराईवासीलाई पहाडीको र पहाडीलाई तराईवासीको सहानुभूति चाहिएको पानी हैन । यहाँ चाहिएको समानुभूति र सम्मान हो । समादर हो । म तराइका सहर र गाउँहरु पुगेको छु । मलाई तराईवासीले “ए ! पर्वते/पहाडे यता आइज !” भनेर कहिल्यै भनेका छैनन् न त अरुलाई भनेको सुनेकोछु । कसैको “नियोजित खेल”लाई सामान्यीकरण गरेर तराईवासीले पहाडीलाई घृणा गर्छन् भन्ने हल्लालाई आधार मानेर तर्क गर्नु विदेशीको स्वार्थ नबुझ्नु हो ।
एउटा नेपालीले अर्को नेपालीको स्वाभिमान र आत्मसम्मानलाई आदर गरौँ । रंग, भेष, बोली र रितलाई आधार गराएर कसैलाई नहोच्याऔँ। हामीले नेपाल बहुसँस्कृतिको मुलुक हो भन्ने मनन गर्न नसिके हामीले कहिल्यै प्रगति गर्न सक्ने छैनौँ । घरपरिवारभित्रै रडाको मच्चाउनेको घरमा कसैको उन्नति हुँदैन, छरछिमेकलाई मनोरन्जनमात्र हुन्छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी