तातोपानी र रसुवागडी नाकाबाट गरिँदै आएको चीनसँगको व्यापार तराईका भन्सारबाट सुरु भएको छ । भूकम्पले चीनसँगको प्रमुख नाका तातोपानी जोड्ने अरनिको राजमार्ग क्षतिग्रस्त भएपछि व्यापारीहरुले तराईका भन्सारबाट सामान भित्र्याउन थालेका हुन् ।
भूकम्पले कमजोर बनाएको सडकको ठाउँ–ठाउँबाट पहिरो गईरहेकाले दसैंका सामान पनि तातोपानी नाकाबाट नआउने निश्चित भएको छ । त्यसैले दशै नजिकिदै गएकाले यतिबेला अधिकांश व्यापारी सामान अर्डर गर्न चीन गएका छन् । तातोपानी नाकाबाट सय भन्दा बढी व्यापारीका र्फमले सामान आयात गर्दै आएका थिए । नेपाल हिमालय सीमापार बाणिज्य संघका महासचिव अर्जुन गौतमले चिनियाँ बस्तु तराईका नाकाबाट भित्रन थालेको जानकारी दिए । चीनबाट तयारी पोसाक, कपडा, जुत्ता, स्याउ, फर्निचर, ब्ल्याङेट, सिरक, खेलौना, व्याग, उद्योगका कच्चा पदार्थ, कम्प्युटरपार्टसलगायतका सामान तातोपनी नाकाबाट भित्रने गरेको थियो ।

सामान विराटनगर, विरगञ्ज, काकडभिट्टालगयतका नाकाबाट आउन थालेको व्यापारीहरुले वताएका छन् । दसैंका लागि झण्डै हजार कन्टेनर सामान चीनको विभिन्न बजारमा अर्डर भैसकेको छ । सीमापारका सचिव निरज राईका अनुसार खासाको वाटो भन्दा समुन्द्रबाट भारतहुँदै तराईको नाका प्रयोग गर्दा आयातका लागि धेरै समय खर्च हुने छ । खासाको वाटो प्रयोग गर्दा चीनको विभिन्न सहरबाट २०–२५ दिनमा सामान तातोपानीमा आईपुग्छ । ‘समुन्द्रको वाटो ल्याउँदा ४०–४५ दिन लाग्छ,’ राईले भने । तराईबाट सामान आयत गर्दा लागत र समय बढी खर्च हुने भएकाले उत्तरी नाकाबाट आएसरहको सामानको परिमाण नआउने व्यापारीहरु वताउँछन् । तर दसैंका लागि सामान आपूर्तिमा समस्या हुँदैन, राई भने, लगानी बढाउनुपर्ने भएकाले साना व्यापारीलाई भने विस्थापित हुने खतरा रहन्छ ।
यसैबीच तातोपानी र रसुवागडीको प्रयोग अनिश्चित देखिएको छ । पहिरो जाने क्रम नरोकिएकाले तातोपानी नाकाबाट दसै अगावै व्यापार हुने संभावना छैन । यो नाकाबाट सामान ल्याउन कम्तिमा एक महिना अगावै चीनमा अर्डर पठाउनुपर्छ । नाकामा चीनको सहयोगमा यातायात सञ्चालनको प्रयास भैरहेपनि अघिल्लो दिन खुलेको यातायात भोलिपल्टै बन्द हुने गरेको छ । गत शनिबारदेखि चिनियाँ र नेपाली सेनाले पहिरो पन्छाएर सडक खलाउने प्रयास गरिरहेको छ । मंगलबार सडक खेलेको भनिएपनि तातोपानीको दशकिलो भन्ने स्थानमा ठूलो पहिरो गएर आवतजावतनै बन्द भएको थियो । तातोपानी भन्सार मात्र होईन यो क्षेत्रका सवै सरकारी कार्यालय बन्द छन् । स्थानीय घर छाडेर सुरक्षित स्थानमा गएका छन् । अहिले चिनियाँ टोलीले राजमार्गको यातायात सञ्चालन गर्न सय भन्दा बढीको प्राविधिक समूह कार्यरत छ ।
व्यापारीहरुले भने सरकारले रसुवा र तातोपानी खुलाउन चासो नदिएको गुनासो गरेका छन् । रसुवाबाट व्यापार गर्न अहिले कुनै समस्या छैन, महासचिव गौतमले भने, ‘किन चासो नदिएको हो वुझ्न सकिएन ।’ रसुवामा पुरिएका सामानसहितका कन्टेनरसमेत झिक्न सकिएको छैन, उनले भने । भूकम्पले सामान वोकेको कन्टेनर पुरिएको थियो । उनका अनुसार पाँच सय बढी कन्टेनर साममान खासाको गोदाममा छ, उनले भने । खासामा सुरक्षा निकायबाहेकलाई प्रवेश दिइएको छैन । सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरुनै नबसेपछि त्यहाँबाट कसरी व्यापार हुन सक्छ, गौतमले भने ।
वर्षेनी छ करोड राजश्व संकलन हुने तातोपानी भन्सारमा ताला लगाईएको छ । यो नाका भएर चीनबाट वाषिर्क करिव २० अर्बको सामान आयात हुँदै आएको थियो । निर्यात भने तीन अर्ब हाराहारीमा हुने गरेको छ । नाका बन्द भएपछि हजारों बेरोजगार भएका छन् । तातोपानी भन्सार प्रमुख दिव्यराज पोखरेलले भने, वर्षादका कारण पहिरो जाने क्रम नरोकिएकाले व्यापार सञ्चालन गर्न कठिन भएको छ । यसको असर यातायताय र होटल व्यवसायमा सवै भन्दा बढी परेको छ । तीन सय साना र हजार बढी कन्टेनरले काम पाएका छैनन् । भूकम्प गए लगत्तै बन्द भएको नाकामा अझै त्रास भएकाले तातोपानी, लिस्ती, फुलपिङकट्टी, गातीलगायतका गाउँबाट स्थानीय अन्यत्र गएको आजको कान्तिपुर दैनिकमा समाचार छ ।