सहकारीमा ऐन, कानुन फितलो भएका कारण अपराध बढेको सरोकारवालाहरुले बताएका छन् । नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको ‘सहकारी क्षेत्रको बित्तीय कारोबार कसरी सुरक्षित गर्ने’ विषयक सहकारी सम्बाद कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारी ऐन २०४८ ले सहकारीको ठूलो कारोबार र अपराधबारे उल्लेख नगरेका कारण सहकारीका ठगी मौलाएको बताएका हुन् ।
सहकारी विभागका उपरजिष्ट्रार विष्णु घिमिरेले सहकारी ऐन २०४८ संशोधन हुन नसक्नु राज्यको ठूलो कमजोरी भएको बताए । सहकारी अभियान बाध्य भएका कारण पनि सहकारी ऐन संशोधन गर्न एंव सहकारी नियमावली २०४९ संशोधन गर्न नसकिएको बताए । सहकारीकर्मीले सहकारी क्षेत्रमा गर्दै आएको राज खोसिने डरले सहकारीकर्मीले कानुन ल्याउन रोकेको उपरजिष्ट्रार घिमिरेले बताए । ‘ऐन बनाउदाँ आफैलाई डाम्छ भन्ने मानसिकताले केही सहकारीकर्मीले ऐन, तथा नियमावली ल्याउन रोक्ने गरेका छन्, यो अभियानलाई नै घातक छ’ उनले भने ।
सरकारले २०६८ सालमा सहकारी मापदण्ड लागु गरेपनि मन्त्रीपरिषद्बाट निर्णय गराउन नसकेकाले मापदण्ड अक्षरश पालना गराउन समस्या परेको उनको भनाइ थियो । ‘मन्त्रीपरिषद्बाट निर्णय गराएर मापदण्डको ठाउँमा निर्देशिका बनाएको भए प्रभावकारी हुने थियो, त्यसतर्फ ध्यान पुगेन’ उनले भने । सहकारी स्वनियमनमा चल्ने संस्था भएपनि सहकारीमा अनुशासन हराउँदै जान थालेकाले सहकारीमा समस्या बढेको उपरजिष्ट्रार घिमिरेले बताए । ‘सहकारी स्वनियमनमा चुके, स्वनियममा ध्यान नदिने सहकारीलाई कडा नियमन गर्न आवश्यक छ’ उनले भने । सहकारी अनुगमन गर्न कानुन नभएकाले अनुगमन प्रभावकारी नभएको उनको भनाई छ ।

राष्ट्रिय सहकारी संघका उपाध्यक्ष मीनराज कडेलले पल्र्स मनिटरिङ मोडेलमा सहकारी सञ्चालन गर्न सके कुनै पनि सहकारी धराशायी नहुने बताए । पल्र्स, पोलिसी र प्यानिङमा सही विश्लेषण गरी सहकारीले कारोबार गर्नुपर्नेमा उनको जोड थियो । सहकारीको जोखिम न्यूनीकरण गर्न युनिफिकेशन माध्यममा जानुपर्ने उपाध्यक्ष कँडेलले बताए ।
अब बन्ने संविधान सहकारी मैत्री बनाउनुपर्नेमा उनको जोड थियो । राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले सहकारी संख्यात्मक रुपमा बढेपनि गुणात्मकमा चुकेको बताए । ‘हामी बित्तीय क्षेत्रमा जोखिम न्यूनिकरण गर्न सचेत भई कारोबार गर्दै आएका छौं’ उनले भने ।
सहकारीमा देखिएका समस्या समाधानका लागि सहकारी बोर्ड, विभाग र अभियान सम्मिलित छुट्टै संयन्त्र आवश्यक भएको उनको भनाई थियो । नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ(नेफ्स्कुन)का उपाध्यक्ष नानीबाबु बुढाथोकीले सहकारीमार्फत आर्थिक रुपान्तरण गर्न सकिने भएकाले सहकारीलाई सबल खम्बाका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए । नीति र सिद्वान्तमा चलेका सहकारी नडबुेको उनको भनाई थियो ।
जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईले सहकारीका नाममा उठाइएको पैसा नीजी कम्पनीमा लगाउने गरेकाले सहकारीमा समस्या बढेको बताए । निजी क्षेत्रले सहकारी माथि नउठोस भन्ने चाहेकाले सहकारीले प्रगति गर्न नसकेको उनको भनाई थियो ।