×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चार दिनपछि अन्तर्राष्ट्रिय उडान ‘बन्द’ हुने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चार दिनपछि अन्तर्राष्ट्रिय उडान ‘बन्द’ हुने

१० आश्विन २०७२, आईतवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौं- नेपाल आयल निगमले चार दिनभित्र पर्याप्त पेट्रोलियम पदार्थ व्यवस्था गर्न सकेन भने काठमाडौं आइरहेका अधिकांश अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका उडान लगभग ‘बन्द’ हुने निश्चित भएको छ।

नेपालमा नयाँ संविधान जारी भएका विषयमा भारतले अघोषित नाकाबन्दी लगाएका कारण पेट्रोलियम पदार्थ आयात ठप्प भएको छ। यसको गम्भीर असर दैनिक उपभोग्य सामग्री आयातदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा देखिन थालेको छ।

आयल निगमसँग हवाईजहाजलाई आवश्यक इन्धन ‘एयर टर्बाइन फ्युल’ (एटिएफ) अब चार दिन धान्ने परिमाणमा मात्र छ। भारतबाट पेट्रोलियम पदार्थ आउन बन्द भएपछि निगमले आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई सकेसम्म कम इन्धन प्रयोग गर्न आग्रह गरेको छ।

‘बढीमा चार दिनसम्म मात्र पुग्ने हवाई इन्धन स्टक रहेको भन्दै आयल निगमले अन्तर्राष्ट्रिय जहाजलाई सकेसम्म काठमाडौंमा तेल कम भर्न आग्रह गरेको छ,’ नेपाल उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको संगठन ‘वायुसेवा सञ्चालक समिति–नेपाल’ (एओसिएन) का अध्यक्ष भरतकुमार श्रेष्ठले शनिबार नागरिकसँग भने, ‘यहाँ तेल भर्न नपाउनु भनेको उडान बन्द गर्नु नै हो।’

उनका अनुसार आयल निगमले आगामी बुधबार (असोज १३ गते) सम्मका लागि मात्र हवाई इन्धन स्टक रहेको जानकारी दिएको छ। अन्तर्राष्ट्रिय जहाजले सकेसम्म यहाँ इन्धन कम प्रयोग गरे भने थप केही दिन (बढीमा एक साता) इन्धन स्टक रहने निगमले जनाएको छ।

‘जुन जहाजले आफ्नो देश फर्कने बेलासम्म पुग्ने इन्धन लिएर आउँछन्, तीमात्र काठमाडौंसम्म आउन सक्छन्,’ उनले भने, ‘त्यसबाहेक अन्य वायुसेवाका जहाज नेपाल आउन सक्दैनन्।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल १४ देशबाट २८ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आइरहेका छन्। तिनले अहिले दैनिक करिब ६० वटासम्म उडान–अवतरण गरिरहेका छन्। यसअघि दैनिक ८५ उडान–अवतरण हुने गरेको थियो।

विमानस्थल व्यवस्थापनका अनुसार २८ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी अधिकांशले सानो आकार (न्यारो बडी) जहाज ल्याउने गरेका छन्। यस्ता जहाजमा १ सय ५० देखि बढीमा २ सय सिट क्षमता हुन्छन्। अधिकांशले युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित ‘ए३२०’ र अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित ‘बि७३७’ सिरिजका न्यारो बडी जहाज काठमाडौं ल्याइरहेका छन्।

एसोसिएसनका अध्यक्ष श्रेष्ठले न्यारो बडी जहाजलाई चारदेखि साढे घन्टा दुरीबाट काठमाडौं आउदा एकतर्फी १५ देखि १६ टन इन्धन आवश्यक पर्ने बताए। त्यसपछि यहाँबाट फर्कंदा त्यति नै परिमाणमा इन्धन चाहिन्छ।

‘हामीले काठमाडौंबाट फर्कंदा ११ देखि १२ टन हवाई इन्धन भरेनौं भने जहाज उड्दैन,’ उनले भने, ‘तर, आयल निगमले त्यति परिमाणमा इन्धन उपलब्ध गराउन नसकिने जनाएपछि उडान बन्द गर्नुको विकल्प छैन।’

उनका अनुसार बढीमा साढे चार घन्टा दुरीका गन्तव्यबाट आउने जहाजले दुईतर्फी उडानलाई पुग्ने इन्धन ल्याउन सक्दैनन्। दुईतर्फी पुग्ने इन्धन भरेर ल्याए यात्रु वा कार्गो कम बोक्नुपर्ने बाध्यता हुन्छ। यसले गर्दा अधिकांश जहाजले एकतर्फी उडानका लागि पुग्नेमात्र लिएर आउँछन् र फर्कंदा त्रिभुवन विमानस्थलमा आयल निगमले भरिदिने गरेको छ।

‘आयल निगमको पछिल्लो जानकारीपछि नेपाल आइरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी अन्योलमा छन्,’ श्रेष्ठले भने, ‘हामीले समितिमार्फत सबैको केन्द्रीय कार्यालयमा पछिल्लो घटनाबारे जानकारी गराइसकेका छौं। यदि चार दिनभित्र इन्धन सहज भएन भने सबै अन्तर्राष्ट्रिय उडान बन्द हुन्छन्।’

उनका अनुसार खाडी राष्ट्रहरुसहित टर्की र कोरियाबाट आइरहेका जहाजलाई यसबाट प्रत्यक्ष प्रभाव पर्नेछ। खाडीबाट इतिहाद एयरवेज, फ्लाइ दुबई, ओमान एयर, एयर अरेबिया र कतार एयरवेज तथा टर्कीबाट टर्किस एयरलाइन्स र दक्षिण कोरियाबाट कोरियन एयर आइरहेका छन्। मलेसियाबाट आइरहेका मलेसिया एयरलाइन्स, एयर एसिया र मालिन्दो एयरलाई पनि समस्या पर्ने छ। तीमध्ये टर्किस, कोरियन र कतारले ठूलो आकार (वाइड बडी) जहाज ल्याउँछन्।

‘ठूला जहाजलाइ पनि दुईतर्फी पुग्ने इन्धन ल्याउन समस्या हुन्छ,’ श्रेष्ठले भने, ‘काठमाडौंमा इन्धन भर्न नपाउने हो भने उनीहरुले यहाँ आइपुग्नु अघि नै अन्य विमानस्थललाई ट्रान्जिट बनाएर इन्धन भर्नुपर्ने हुन्छ तर, यसो गर्नु व्यवहारिक रूपमा कठिन काम हो।’

उनका अनुसार भारतबाट आइरहेका एयर इन्डिया, इन्डिगो एयरलाइन्स, जेट एयरवेज, स्पाइसजेट लगायत वायुसेवाका जहाजलाई मात्र काठमाडौंमा इन्धन नभर्दा समस्या हुँदैन। भारतका नयाँदिल्ली, मुम्बई, कोलकाता लगायत नजिकको गन्तव्यबाट आउने जहाजले उतैबाट दुईतर्फी उडानलाई पुग्ने गरी इन्धन ल्याउन सक्छन्। ‘इन्धनको समस्या तुरुन्तै समाधान नभए हजारौं यात्रु आफ्नो गन्तव्य पुग्न असमर्थ हुनेछन्,’ श्रेष्ठले भने।

आयल निगमले आन्तरिक वायुसेवा कम्पनीहरूलाई पनि सकेसम्म उडान कटौती गर्न र इन्धन कम प्रयोग गर्न आग्रह गरेको छ। त्रिभुवन विमानस्थल सामान्य दिनमा बिहान ६ बजे खुल्ने गर्छ भने राति साढे १२ बजे बन्द हुने गर्छ। यहाँ दैनिक करिब ३० देखि ३५ अन्तर्राष्ट्रिय उडान र त्यत्ति नै अवतरण हुने गर्छ भने २ सय ५० देखि ३ सयसम्म आन्तरिक उडान–अवतरण हुने गर्छ।
नेपालमा नयाँ संविधान जारी भएका विषयमा भारतले अघोषित नाकाबन्दी लगाएका कारण पेट्रोलियम पदार्थ आयात ठप्प भएको छ। यसको गम्भीर असर दैनिक उपभोग्य सामग्री आयातदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा देखिन थालेको छ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: