×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बाबुरामको धम्कीमात्र हो, केही समयमै फर्कन्छन्’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘बाबुरामको धम्कीमात्र हो, केही समयमै फर्कन्छन्’

Artha Sarokar

१० आश्विन २०७२, आईतवार

पढ्न लाग्ने समय: ७ मिनेटभन्दा कम

पार्टीभित्र र बाहिर नयाँ शक्तिको बहस चलाएका बाबुराम भट्टराईले अन्ततः भत्केको पार्टीमा बस्न नसक्ने निष्कर्ष सुनाउँदै एमाओवादी पार्टी परित्यागको घोषणा गरेका छन् । ०४८ मा पार्टी एकता संयोजन समिति गठनपश्चात् प्रचण्डसँग एउटै पार्टीमा रहेर त्यसयताका जनसंघर्ष, जनयुद्ध, जनआन्दोलन, शान्तिवार्ता, सरकार र संविधानसभालगायतका मोर्चामा प्रचण्डसँगै काँधमा काँध मिलाउँदै आएका बाबुरामले २५ वर्षपछि सिंगो पार्टी र अध्यक्ष प्रचण्डसँगको सम्बन्धलाई विधिवत् अन्त्य गराएका छन् ।

०४८ यताको २५ वर्षे उतारचढावपूर्ण राजनीतिक यात्रामा अध्यक्ष प्रचण्डले पार्टीबाट जे जति निर्णय गरे र गराए त्यसमा प्रचण्डपछि सबैभन्दा बढी सल्लाह र हिस्सेदारी बाबुराम भट्टराइकै रहँदै आयो । त्यतिमात्रै होइन यसबीच सबैभन्दा बढी अन्तरविरोध र बहस पनि बाबुरामसँगै रह्यो । सायद सयौँ तितामिठा अनुभव दुवै नेतासँग छन् । प्रचण्डसँग सबैभन्दा नगिच रहेर निर्णय गर्दा वा दुईलाइन संघर्ष चर्काउँदा बाबुराम जहिल्यै राजनीतिको केन्द्रभागमै रहे । जनयुद्धका क्रममा भएका कारबाहीको सफलता वा असफलता मात्रै होइन, १२ बुँदे सहमति, दोस्रो जनआन्दोलन, बृहत् शान्तिसम्झौता, अन्तरिम व्यवस्थापिका संसद हुँदै संविधानसभाको सबैभन्दा ठूलो दल बनेर सरकारमा जाँदा पनि बाबुराम प्रचण्डका प्रमुख सारथी नै बने । माओवादीको तर्फबाट अर्थमन्त्री र प्रधानमन्त्री बन्ने सौभाग्यसमेत बाबुरामले पाए ।

पहिलो संविधानसभाको असफलतासँगै माओवादी पार्टी फुटेर टुक्राटुक्रा बन्यो । दोस्रो संविधानसभामा शर्मनाक हार व्यहोरेर तेस्रो पार्टी बन्नु पर्यो । संविधानसभामा आफ्नो न्युन उपस्थितिका बाबजुद लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, सामाजिक न्याय, धर्मनिरपेक्षता जस्ता एमाओवादीले उठाउँदै आएका एजेन्डा नयाँ संविधानमा संस्थागत गरियो । आफैँ खुम्चिएको अवस्थामा सबै एजेन्डा लागु गराउन सकिन्न भन्ने एमाओवादीले राम्रैसँग बुझेको थियो । केही बुँदामा नोट अफ डिसेन्टसहित प्रचण्ड–बाबुराम सँगै उभिएर नयाँ संविधानको अन्तिम मस्यौदा पारित गर्न हस्ताक्षर गरे । तर नयाँ संविधान जारी भएको एक हप्ता पुग्दा नपुग्दै बाबुरामले आफूलाई पार्टीवाट अलग भएको घोषणा गरेर सबैलाई अचम्मित तुल्याएका छन् ।

अहिले एमाओवादी पार्टी खुम्चिएको, संगठनात्मक गतिविधि पुरै अस्तव्यस्त बनेको, कार्यकर्ता पंक्ति निरास बनिरहेको एवम् पार्टी भत्केर चिराचिरा बनेको अवस्थामा यही पार्टीलाई मलजल गरेर पुनर्जीवन दिनुपर्ने आवश्यकता थियो । तर बाबुरामले भत्केको पार्टी आफ्ना लागि उपर्युक्त ठानेनन् । यही पार्टीभित्रको पुरानो शक्तिले मात्रै केही गर्न सक्छ भन्ने विश्वास पनि बाबुरामलाई रहेन र नयाँ शक्ति निर्माणको मार्गप्रशस्त गर्न पार्टीको साधारण सदस्यताबाटै राजीनामा दिन पुगे ।

हो, यतिखेर बाबुराम कुनै कम्युनिष्ट वा गैरकम्युनिष्ट पार्टीको सदस्य छैनन् । पार्टी छाड्दा उनले अर्को समूहसमेत बनाउन चाहेनन् । आफूले सामान्य नागरिकसरह जीवन बिताउने बताएका बाबुरामले राजनीतिबाट सन्यास लिन एमाओवादी छाडेका भने पक्कै होइनन् । नेपालको कम्युनिष्ट आन्दोलनमा ४० वर्ष र माओवादी आन्दोलनमा २५ वर्ष शीर्षनेतृत्व तहमै रहेर बिताएका बाबुराम पार्टी छाडेर केही नगरी लेख लेखेर बस्लान् भन्ने अनुमान गरिन्छ भने त्यो ठूलो भ्रम मात्र हुनेछ ।

बाबुरामले पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गरिरहँदा पार्टीभित्र उनीसँगै रहेका, एउटै विचार समूहको नेतृत्व गरिरहेका धेरैले अचम्म मानिरहेका थिए । यहाँसम्म कि बाबुराम पक्षका उनी पछिका नेता टोपबहादुर रायमाझीले समेत यो कुरा १५ मिनेट पहिले मात्रै थाहा पाएको बताए । रुसको भ्रमणमा रहेकी माओवादीकी प्रभावशाली नेतृ बाबुराम पत्नी हिसिला यमीले त सामाजिक सञ्जालबाट यो खबर पाएको सुनियो । पार्टी परित्याग गर्नुभन्दा केही समय पहिले प्रचण्डलाई बुझाइएको राजीनामापत्रमा समेत पार्टी छाड्नुपर्नाको कुनै कारण खुलाइएको छैन ।
बाबुरामको पार्टी परित्यागको घोषणासँगै विभिन्न अडकलकाजीसमेत भइरहेका छन् ।

कतिपयले उनलाई विगतदेखि पार्टीभित्र दोस्रो दर्जाको जस्तै सौतेनी व्यवहार गरिएकाले पार्टी त्यागेको बताएका छन् । कतिपयले मधेसको आन्दोलनमा समर्थन गर्न जान खोज्दा पार्टीवाट राजीनामा गरेर आऊ भनिएकाले राजीनामा गरेर आन्दोलनको नेतृत्व गर्न हिँडेको टिप्पणी गरेका छन् । कतिपयले त उनी विगतदेखि नै भारतको विश्वासपात्र रहँदै आएको र अहिले भारतकै डिजाइनमा पार्टी छाडेकोसम्म आरोप लगाएका छन् । कतिपयले हिजो पार्टी ठूलो हुँदा उनी प्रधानमन्त्री, मन्त्री भए, सबै पाउने जति पाए । अब पार्टी सानो हुँदै गएर टुक्राटुक्रा बनेपछि भत्केको पार्टीको के काम भन्दै हिँडेको भन्दै टिप्पणीसमेत गरे ।
Govinda Acharya

गोविन्द आचार्य

केहीले भारतले संविधान निर्माणमा गरेको असहयोग र अघोषित नाकाबन्दीको मतियार बनेको भनेका छन् त कतिले नेपालमा राष्ट्रवादी आन्दोलन कमजोर बनाउन विदेशीको चालका रुपमा चित्रण गरेका छन् । जे होस्, पार्टी छाडिसकेपछि उनीमाथि कुनै आरोप लगाउनु वा चरित्र हत्या गर्नु त्यति उचित हुँदैन । उनले एमाओवादी परित्याग गरेकै कारणले उनी ठीक वा बेठीक भन्ने र हिजो पार्टी निर्माण र आन्दोलनका सन्दर्भमा मात्रै होइन, राष्ट्र र जनताका पक्षमा बाबुराम भटट्राईले खेलेका योगदानलाई भुल्ने काम गर्नु हुँदैन ।

पार्टीमा रहँदासम्म महान् नेता भन्ने र पार्टी छाड्नासाथ गद्धार करार गर्न लागिपर्ने परम्पराको हामीले पनि अन्त्य गर्नै पर्छ । उनको विगतको भूमिका खुला किताबसरह छन्, जसको मूल्याकंन गर्न सबै स्वतन्त्र छन् । भावी दिनमा पनि बाबुरामले गर्ने कर्म र व्यवहारबाटै धेरै कुरा स्पष्ट हुँदै जानेछन् र कैयौँ अनुत्तरित प्रश्नको समेत जवाफ मिल्नेछ ।
यतिखेर बाबुरामले अब के गर्लान् त भन्ने प्रश्न धेरैको मनमा उब्जेको छ । पछिल्लो पटक ०४७ मा मोहनविक्रम सिंहको मसालबाट विद्रोह गरेर प्रचण्ड नेतृत्वको मसालसहितका शक्तिसँग एकता गरेका बाबुरामको यहाँसम्मको यात्रा साँच्चै संघर्षपूर्ण, रोमाञ्चक, जोखिमयुक्त र ऐतिहासिकसमेत रह्यो । अबको बाबुरामको यात्रा भने कस्तो रहने हो, स्वयं उनी आफैँले पनि स्पष्ट नगरेको अवस्थामा यसै गर्लान् भनेर ठोकुवा गर्न त गाह्रो छ, तर उनीसामु रहेका केही विकल्पबारे भने चर्चा गर्नु अन्यथा हुने छैन ।

(१) पार्टी बाहिरको पंक्ति जुटाउँछन्, नयाँ शक्ति बनाउँछन्:
अहिले बाबुरामले पार्टी परित्याग गर्दा विगतदेखिको परम्परागत अभ्यासलाई तोडेका छन् । कम्युनिष्ट वा काँग्रेसका नेताहरुले पार्टी छाडेपछि आफूनिकटका पार्टीभित्रैका केही नेतालाई राखेर सानो समूह बनाउने र त्यसैलाई नयाँ पार्टीका रुपमा स्थापित गर्ने कसरत गर्दै आएका हुन् । यसरी पार्टीको अल्पमत हिस्सा ल्याएर गठन भएका कुनै पनि पार्टीले आफ्नो अस्तित्व बचाउन सकेनन् । केशरजंग रायमाझीदेखि मोहन विक्रम, सीपी मैनाली, वामदेव गौतम, मणि थापा, मातृका यादव, तुलसीलाल अमात्य, मोहन वैद्य, विप्लवलगायतको अवस्था हामी सबैले देखे भोगेकै छौँ । यो कुरा राम्रैसँग बुझेका बाबुरामले आफूनिकटका केही नेता–कार्यकर्ता बोकेर छुट्टै समूह बनाउनु उचित ठानेनन् ।

उनले यसरी निस्कदा एकातिर पार्टी वा संसदमा ४० प्रतिशत नपुग्ने जसका कारण अवैधानिक भइने र विद्रोह गरेपछि पनि पुरानै शक्तिभित्रको एउटा गुटमात्रै बन्ने अवस्था थियो । उनले आफू बसिरहेको घर भत्केको छ भन्ने बुझेपछि पहिले सुरक्षित डेरा तयार पार्न आफू एक्लै निक्लिए, जब डेरा तयार हुन्छ । त्यसपछि पार्टीभित्रको आफ्नो टिमलाई अलग गराउने सोच बनाएको बुझ्न सकिन्छ । बाबुरामले मधेससहित असन्तुष्ट पक्षको सहानुभूति बटुल्ने, त्यसैको आधारमा पार्टीबाहिरको एउटा पंक्ति तयार पार्ने र पार्टीभित्रकासमेतलाई लिएर नयाँ शक्ति बनाउने अभ्यास गर्न खोजेको देखिन्छ ।

यसका लागि बाबुरामले मधेस र सामाजिक क्षेत्रमा क्रियाशील तथा विभिन्न पार्टीमा सक्रियसँग अझै केही समय छलफल, अन्तत्र्रिmया गर्ने तथा विभिन्न माध्यमवाट आफ्नो विचार र नयाँ शक्तिको आवश्यकताबारे बहस चलाउने छन् । यसो गर्दा कम्युनिष्ट मात्रै नभएर अरुलाई पनि आकर्षित गर्न सकिन्छ र विभिन्न पार्टीमा रहेका तथा समाजमा स्थापित ठूलो पंक्तिलाई ल्याएर नयाँ शक्ति निर्माण गर्न सकिन्छ भन्ने बाबुरामलाई विश्वास हुन सक्छ ।

(२) संयुक्त मोर्चा बनाएर आन्दोलनको नेतृत्व सम्हाल्नेछन्:
अहिले मधेस आन्दोलनका कारण डेढ महिनादेखि असहज अवस्था सिर्जना भइरहेको छ । नयाँ संविधानलेसमेत मधेस, थारु, जनजातिलगायत समुदाय, क्षेत्र र वर्गका जनताको चित्त बुझ्न सकेको छैन भन्ने कुरा बाबुरामले गहिरो बुझेका छन् । नेपालको राजनीतिमा नगिचबाट हस्तक्षेप गर्दै आएको भारतलेसमेत संविधान निर्माणप्रति खुलेआम असन्तोष व्यक्त गर्दै आएको कुरा कसैबाट छिपेको छैन । मधेसको आन्दोलनप्रति भारतको समेत साथ र समर्थन रहेको कुरा पनि कसैवाट लुके छिपेको छैन ।

नेपालको आधा जनसंख्या रहेको मधेसको समर्थन पाउने शक्ति नै भोलिका दिनमा राजनीतिमा हाबी हुन सक्छ र ऊ दक्षिणी छिमेकीको सिकार समेत हुनु पर्दैन भन्ने बुझाई नेपालका मधेसवादी दलमा छ । विगतमा गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका प्रचण्डलाई एउटा सेनापति हटाउन नदिएर कसरी भारतले सत्ताच्यूत गर्यो र दोस्रो पटक संसदबाट प्रधानमन्त्री चुनिन खोज्दा १७ पटक निर्वाचन हुँदा पनि प्रचण्डलाई मधेसी दलको मत किन परेन र आफू उम्मेदवार बन्दा किन मधेसीले समर्थन गरे भन्ने कुरा बाबुरामले राम्रैसँग बुझेका छन् ।

अहिले उनले एमाओवादीवाट विद्रोह गरेर मधेसमा जाँदा त्यहाँ उनको भव्य स्वागत हुने र मधेसी–जनजाति आन्दोलनको सर्वस्वीकार्य नेता बन्न सक्ने अवस्था हुन सक्छ । त्यसो भयो भने आन्दोलनलाई केन्द्रिकृत गर्ने, त्यसको नेतृत्व लिने र आन्दोलन सफल बनाएर त्यसैको जगमा नयाँ पार्टी बनाउने बाबुरामको योजना हुनसक्छ भन्ने केहीले अनुमान गरेका छन् । आपसमै अविश्वास गरिरहेका, फरक फरक उद्देश्य बोकेका, विभिन्न फरकफरक शक्तिकेन्द्रको प्रभावमा परेका मधेसी, थारु, जनजाति, दलितलगायतका समुदाय एवम् राजनीतिक, धार्मिक शक्तिले यति छिट्टै बाबुराम भट्टराईलाई विश्वास गरिहाल्छन् र संयुक्त मोर्चा नै बनाएर नेतृत्व सुम्पलान् भन्ने अनुमान गर्न गाह्रो छ ।

(३) बाबुरामको धम्कीमात्र हो, केही समयमै फर्कन्छन्:
बाबुरामको पार्टी परित्यागलाई लिएर एमाओवादीभित्रकै केही नेताले यसलाई उनको धम्की मात्र भएको बताउँदै केही समयपछि पार्टीमै फर्कने बताउने गरेका छन् । पार्टीअध्यक्ष प्रचण्ड स्वयंले समेत आफूले बाबुरामलाई ३० वर्षदेखि राम्रैसँग चिनेको र भोग्दैसमेत आएकाले उनी पुनः पार्टीमै फर्कने आशा व्यक्त गर्ने गरेका छन् । राजीनामा गर्नुअघि आफूले थाहा पाएको भए बाबुरामलाई रोक्न सक्ने दाबीसमेत प्रचण्डले गर्ने गरेका छन् । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णवहादुर महराले पनि बाबुरामलाई पार्टीमै फर्कन र सबै मिलेर भत्केको घरलाई नयाँ घरमा वदल्न आग्रह गरिरहेका छन् ।

एमाओवादीका कतिपय नेता जनयुद्ध सुरुवातअघि एकपटक र जनयुद्ध सुरु भएपछि पाँचपटक बाबुरामले प्रचण्डलाई लिखित राजीनामा बुझाएर हिँडेको तथा दर्जनौँ पटक त राजीनामा दिन्छु भन्दै धम्क्याएर हिँडे पनि अन्तिममा पार्टीमै रहेकाले अहिले पनि यो राजीनामा धम्कीमात्रै भएको बताउने गरेका छन् । बाबुरामलाई पार्टी अध्यक्ष बनाइदिने र उनले उठाएका कुरा समेट्ने हो भने पार्टीमै फर्कन्छन् भन्ने केहीको विश्वास छ । तर, खुलारुपमा घोषणा गरेरै बाबुराम पार्टीबाट बाहिरिएको तथा उनको दिमागमा आफ्नो योजनासमेत बनिसकेकाले उनी अब यही पार्टीमा फर्कने सम्भावना अत्यन्तै न्युन छ ।

राजनीतिमा हरेक सम्भावना हुन्छन्, हामीले पनि झिनो आशाका साथ आग्रह गरौँ बाबुराम स्वयंले गम्भीर आत्मसमीक्षा गरुन् र पुनः यही पार्टीको नेतृत्वमा फर्किउन् । जे होस्, अहिले बाबुराम भट्टराईले आफू २५ वर्षदेखि नेतृत्वमा रहँदै आएको पार्टीको साधारण सदस्यताबाटै राजीनामा गरेका छन् । उनले राजिनामा गर्नुका पछाडि उनको निश्चित उद्देश्य, योजना र खास खास कारण अवश्यै छन् होला । जुन कुरा आगामी दिनमा देखिने नै छ । तर, उनले राजीनामाका लागि जुन समय रोजे र जुन परिस्थितिमा पार्टी छाडे । यसले एमाओवादी पार्टी, उनी स्वयं र उनका समर्थक एवम् राष्ट्रलाई समेत ठूलो घाटा पु¥याएको छ । आगे बाबुराम कमरेडको जो इच्छा ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी