×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डले गरेका ५ सही र ५ गलत निर्णय

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रचण्डले गरेका ५ सही र ५ गलत निर्णय

३१ भाद्र २०७२, बिहीबार

पढ्न लाग्ने समय: ६ मिनेटभन्दा कम

माओवादी विद्रोह र जनआन्दोलनको करिव १ दशक वित्न लाग्दा देशले नयाँ संविधान पाउने करिव करिव निश्चित भएको छ । भवितव्य र तिलस्मी घटना केही भएन भने अव असोज ३ गते देशले नयाँ संविधान पाउने छ । करिव १ दशक लामो प्रसव पीडापछि देशले संविधान पाउने अवस्था आएको हो । चुनाव जितेर पहिलो दल बन्दा होस् वा चुनाव हारेर तेश्रो दल बन्दा होस् यहाँ सम्म आइपुग्दा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालीको राजनीतिको केन्द्रमा छन् । संविधानसभाको दोश्रो निर्वाचनपछि उनी जति कमजोर देखिनु पर्थ्यो वा बन्लान भन्ने आँकलन गरिएको थियो त्यति बनेनन् । बरु संविधान जारी गर्ने अवस्था सम्म आइपुग्दा उनलाई विपक्षी दलका नेताहरुले समेत राजनेताकोरुपमा स्वीकार गर्दै प्रसंसा गरेका छन् ।

एउटा सम्बोधनले प्रचण्ड रातारात हिरो

क्षेत्रीय उत्पीडिन, कतिपय जातीय उत्पीडन र कतिपय धार्मिक सामाजिक तथा आर्थिक उत्पीडनविरुद्धको विद्रोहमा उनको श्रेय छ । देशमा भएका सबै उत्पीडिन विरुद्ध विद्रोह गर्न सिकाउने पहिलो गुरु थिए प्रचण्ड । उनले नेतृत्व गरेको जनयुद्धको समयमा देशभरी नै राजनीतिक चेतनाको स्तर उच्च शिखरमा पुग्यो ।

प्रचण्डले सँधै सही निर्णय गरेर यहाँ आइपुगेका हुन् त ? यो गम्भिर समीक्षाको विषय छ । नेपालमा रक्तपातपूर्ण युद्धको शुरुवातकर्ता प्रचण्डमाथि धेरैको भरोसा थियो र छ । तर प्रचण्डसँग सबै खुसी छैनन् । विपक्षीहरुले प्रसंसा गर्ने अवस्था सम्म आइपुग्दा उनले गरेका सही र गलत निर्णयका लामा फेहरिस्त नै तयार भैसकेका छन् ।

प्रचण्डले गरेका सही निर्णय

१ हतियार बिसाउनु र शान्ति प्रक्रिया शुरु गर्नु

१० वर्ष सम्म हतियारबन्द युद्ध गरेर देश हल्लाएका प्रचण्डले दुनियाँलाई जति आश्चर्यामा पारे उनले शान्ति प्रक्रियामा आएर पनि त्यति नै चकित तुल्याइदिए । राजधानीबाहेक राज्यको उपस्थिति हुन छोड्ने अवस्थामा पुर्‍याउने उनी नेतृत्वको जनयुद्धको राप र ताप उचाइमै रहेको समयमा प्रचण्डले हतियार विसाउने निर्णय गराएर हजारौं हतियारधारीलाई अनुशासनपूर्ण शान्ति सम्झौतामा हस्ताक्षर गरे र शान्तिपूर्ण राजनीतिक यात्रा शुरुवात गरे । प्रचण्डको यो निर्णय यस मानेमा सबैभन्दा सही किन थियो भने यसले देशमा जारी भयानक रक्तपात मात्र रोकेन युद्धका कारण तहस नहस भएको देशमा आशाको सञ्चार भयो ।

prachanda and girija
शान्ति सम्झौतामा हस्ताक्षर भएपछि तत्कालीन प्रधानमन्त्री गिरिजा कोइरालासँग प्रचण्ड

२ पहिलो संविधानसभाको चुनाव

शान्ति प्रक्रियामा आएपछि पनि पार्टीमा देखिएका देखिएको लडाकु मानसिकता र विद्रोहको चेतलाई कायम राख्दै बुलेट होइन ब्यालेटमार्फत मुखरित गर्न सफल भए प्रचण्ड । उनकै साहसिक र सुझबुझपूर्ण निर्णय नै नेपालमा संविधानसभाको चुनाव सफल हुने कारण बन्यो । त्यही संविधानसभामा एमाओवादी पहिलो ठूलो दल बन्यो र देशभरी माओवादीको लहर देखियो । भलै चुनावी परिणामलाई प्रचण्ड र उनको पार्टीले अपेक्षित उपलब्धीमुलक बनाउन सकेन र संविधानसभामा ठूलो दल रहेकै समयमा संविधान नदिइकन विघटन गराउने अवस्था सम्म पुग्यो । तर पनि नेपालमा संविधानसभाको चुनाव भएर मुद्धाहरुलाई शान्तिपूर्ण बहसको माध्यमबाट समाधान गर्ने परिपाटी शुरु गर्नमा प्रचण्डको निर्णयको मुख्य हात छ ।

३ रेग्मी सरकार र दोश्रो संविधानसभा

प्रचण्डले आफू ठूलो पार्टी भएको र शक्तिशाली भएकै समयमा विघटन भएको संविधानसभापछि अर्को चुनाव गर्नका लागि बहालवाला प्रधानन्यायाधीश नेतृत्वको सरकार बनाउने प्रस्ताव राखेर सबैलाई मान्न बाध्य बनाए । त्यही संविधानसभाबाट आफू तेश्रो दल बन्दा पनि सम्हालिएर संविधान जारी गर्नका लागि लागि परे र देशलाई ८ वर्ष सम्मको अन्यौलबाट मुक्त हुने मार्ग सम्म ल्याउन निर्णायक भूमिका खेले । यो सन्दर्भमा यो निर्णय प्रचण्डको ब्यक्तिगत र पार्टी जीवनमा जे सुकै भएपनि देशका लागि सार्थक बन्ने देखिन्छ ।

४ संविधान जसरीपनि जारी गर्ने निर्णय

संविधानसभाको दोश्रो निर्वाचनपछि बहुमतको आधारमा पेल्न खोजेका कांग्रेस एमालेसँग प्रचण्ड ब्यक्तिगत र मोर्चागतरुपमा भिडे । उनले यस्तो माहौल बनाए कि आफूहरुका एजेण्डा स्वीकार नगरी कांग्रेस एमालेले धरै पाएनन् । पार्टीको कमजोर उपस्थिति र विपक्षीले पेल्ने अवस्थामा पनि प्रचण्ड संविधानसभाका हरेक निर्णयमा हावी भए र अहिले आफूसँग हिँजो सहकार्य गरेका मधेशी जनजाति नेताहरु आफूसँग टाढिने अवस्था आउँदा पनि देशलाई निकाश दिन एक पटक जोखिम उठाउनै पर्ने भनेर प्रचण्डले गरेको पछिल्लो निर्णय देशलाई राजनीतिक तरलताबाट अर्को कोर्समा लैजान सबैभन्दा महत्वपूर्ण छ । प्रचण्डकै कारण यो देशले संविधान पाउने अवस्था बनेको छ भन्दा अत्तियुक्ति हुँदैन किन भने उनले नचाहाँदा यस्तो प्रक्रिया लम्बिने र विघटनमा जाने अवस्था पनि आउन सक्ने उत्तिकै सम्भावना थियो ।

५ नेतृत्वमा सौहार्दता प्रदर्शन

संविधानसभाको दोश्रो चुनावपछि केही समय रन्थनिएका प्रचण्ड सम्हाल्नका लागि धेरै समय लगाएनन् । उनले शुरु देखि नै कांग्रेस एमालेलाई खुला सन्देश दिएकि बहुमतको बलमा संविधान जारी गर्न खोजियो भने सैह्य हुँदैन । शुरुमा उनको र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सार्वजनिक मनमुटावको र भनाभनको अवस्था समेत देखियो । तर १६ बुँदे सहमति हुँदै संविधान जारी हुने समय सम्म आइपुग्दा उनले आफूलाई राष्ट्रिय नेताकोरुपमा स्थापित मात्र गरेनन् आफूसँग मनमुटाव रहेको भनिएका ओलीलाई समेत आफ्नो प्रशंसा गर्ने अवस्थामा ल्याए ।

संविधानसभामा मतदानको प्रक्रिया शुरु गर्ने समारोहमा मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले संविधान निर्माणको अहिलेको अवस्था ल्याउनलाई विशेष भूमिका खेलेको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डलाई विशेष धन्यवाद दिए । सिटौलाले भने ‘ आजको दिनमा प्रचण्डलाई म विशेष धन्यवाद दिन चाहन्छु । शान्ति सम्झौताका २ हस्ताक्षरकर्ताकोरुपमा गिरीजा बाबु नभएपनि प्रचण्ड आजपनि संविधानसभामा उपस्थित हुनुहुन्छ । हतियारको समायोजन देखि यताका सबै निर्णयमा पार्टी फुटाउँदा पनि उहाँले गिरिजासँग गरेको प्रतिबद्धता कायम राख्नु भो । सहमतिलाई पुरा गरेरै छोड्नु भो ।’ राजनीतिक नेतृत्वमा सौहार्दता स्थापित गर्ने प्रचण्डको निर्णय पनि निक्कै प्रशंसनीय छ ।

ओली र प्रचण्डले भारतलाई झुक्याएकै हो ?

प्रचण्डले खुला राजनीतिमा आएपछि सँधै सही निर्णय मात्र गरेका छैनन् । उनका निर्णयले पार्टी फुट्ने अवस्था देखि सत्तामा रहेको समयमा सत्ताबाट हट्नु पर्ने सम्मका अवस्था आएका छन् । प्रचण्ड आफूले गल्ती गरेका कुरा सबैभन्दा छिटो स्वीकार गर्ने नेता पनि हुन् । उनले आफ्नो आत्मआलोचना खुलारुपमा गर्ने गरेका छन् । उनले गिरीजालाई राष्ट्रपति बनाउन नखोज्दा देशको राजनीति नै विग्रिएको समेत पटक पटक स्वीकार गरेका छन् ।

प्रचण्डले गरेका गलत निर्णय

१ पालुङटारमा विद्रोहको कार्यदिशा

प्रचण्ड संविधानसभाको पहिलो चुनावमा देशभरी माओवादी माहौल बनाउन सफल भए । सबैभन्दा ठूलो दल बनेर संसद र संविधानसभामा गए र गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री बने । तर उनले आफू स्वीकार गरे कि उनी देशको प्रधानमन्त्री हुन् कि विद्रोहको नेता अलमलमा छन् । त्यही अलमलकाबीच उनले पालुङटार विस्तारित बैठकमा प्रधानमन्त्री भएकै समयमा पार्टीमा मोहन बैद्यले अघि सारेको विद्रोहको प्रस्ताव पार्टीबाट अनुमोदन गराए । यो निर्णयले माओवादीको अलमले नीति प्रष्टियो भने उनको ब्यापक आलोचना भयो र कालान्तरमा अल्पायुमा सत्ता ढल्ने कारण बन्यो ।

२ कटवाल प्रकरण र राजिनामा

प्रचण्डले प्रधानमन्त्री भएको समयमा परिपक्व ब्यवहार प्रस्तुत गर्न सकेनन् । पार्टीबाट हाडलाइनरको प्रतिनिधित्व गर्दै रक्षामन्त्री बनेका रामबहादुर थापा बादल र बैद्य लगायतको उक्साहटमा उनले तत्कालीन प्रधान सेनापति रुकमाङ्गत कटुवालमाथि कारवाही गरे । यो निर्णय प्रचण्डको प्रधानमन्त्रित्वमाथि नै प्रश्न चिन्ह लगाउने निर्णय सावित भयो । यही काण्डमा उनले राजिनामा दिए । उनले यो निर्णय गलत भएको र पदमुक्त हुन लागेको प्रधान सेनापतिलाई कारवाही गर्नु गलत भएको पटक पटक बताएका छन् ।

३ पशुपति पुजारी काण्ड, भारतीय प्रभु र सुस्ता काण्ड

प्रचण्डले शान्ति प्रक्रियामा आएर प्रधानमन्त्री बनिसक्दा पनि सबैभन्दा कमजोरी देखाएको विषय परराष्ट्र सम्बन्ध र विशेषगरी भारतसँगको सम्बन्ध रह्यो । उनले प्रधानमन्त्री बनेपछि क्रमभंग गर्ने भन्दै चीन हान्निए र काठमाडौं फर्किएर राजनीतिक भ्रमण भारतकै गर्ने अभिब्यक्ति दिए । प्रधानमन्त्री भएको समयमा पशुपतिनाथ मन्दिरका भारतीय पुजारी हटाउने निर्णय गरे र असफल बने । प्रधानमन्त्री खुस्किने कटुवाल काण्डपछि उनले देशको प्रधानमन्त्री बनिसकेको हैसियत विर्सिएर भारतविरुद्ध आक्रामक अभिब्यक्ति दिए र भारतीय प्रभुसँग नझुक्ने बताए । उनी त्यसलगत्तै भारतले सीमा मिचेको त्रिवेणी सुस्ताक्षेत्र सम्म जाने कार्यक्रम तय गरेपछि उनी भारतको आँखामा विजाउन पुगे । जुन उनको दीर्घकालीन राजनीतिका लागि ठूलो ढुंगा सावित भयो । त्यो सम्बन्ध सुधार गर्न उनी अहिले पनि संघर्षरत छन् ।

४ लडाकु समायोजन्

प्रचण्ड चुकेको एउटा ठूलो विषय मध्ये पार्टीका लडाकु सेनामा समायोजन गर्नका लागि गरेको कमजोर सम्झौता हो । आफ्नै पार्टीका बाबुराम भट्टराई प्रधानमन्त्री रहेको समयमा छापामार शैलीमा सेना पठाएर आफ्नै पार्टीका लडाकुका शिविर नियन्त्रणमा लिएपछि प्रचण्डप्रति पार्टीका कार्यकर्ता र लडाकुहरुको ठूलो शंका उत्पन्न भयो । समायोजन सम्म आइपुग्दा ढिक्कै सुरक्षा निकायमा जान भनेर बसेका तिनै लडाकुले २-४ लाख लिएर घर जाने बाटो रोजे । लडाकु समायोजनमा देखिएको असन्तुष्टीसँग एमाओवादी विभाजित मात्र भएन यसको नकारात्मक प्रभाव पार्टी संगठन हुँदै संविधानसभाको दोश्रो चुनावसम्म आइपुग्दा भयानक देखियो ।

५ चुनावी परिणाम अस्वीकार गर्नु

चुनावी परिणाम जे आएपनि स्वीकार्य हुने भन्दै संविधानसभाको दोश्रो निर्वाचनमा होमिएका प्रचण्ड चुनावी नतिजा प्रतिकुल भएपछि भने तिल्मिलाए । जनताले दिएको मत अस्वीकार गर्दै मतगणना बहिस्कार गर्ने र धाँधली छानविनको माग गर्दै मध्यरातमा पत्रकार सम्मेलन गर्नुले प्रचण्डको छविमा गम्भिर धक्का लाग्यो । यो निर्णयले प्रचण्डलाई लामो समय सम्म धक्का लाग्यो । तर यही संविधानसभाबाट जसरी संविधान जारी गर्ने भनेर अड्डी लिने अवस्थामा आइपुग्दा उनको छवि रिकभर पनि भएको छ ।

प्रचण्डले गरेका सही र गलत निर्णयको विश्लेषणपछि पनि पछिल्लो राजनीतिक प्रक्रियासम्म उनको केन्द्रीय र निर्णायकारी भूमिका तथा राजनेताको शैलीमा उनले देखाएका ब्यवहारले प्रचण्डको राजनीति अव एक पटक फेरि पुनर्स्थापित हुने टिप्पणी भैरहेका छन् । संविधानसभाको अन्तिम सम्वोधनले प्रचण्डको समग्र छविमा फेरबदल आएको महसुस गरिएको छ । उनी एक पटक पुनः पुरानै छविको प्रचण्ड बन्न सक्छन् कि सक्दैनन् त्यो भने उनले आगामी दिनमा गर्ने सही र गलत निर्णयले निर्धारण गर्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: