×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजारमा कति छ मौज्दात ? पेट्रोलियममा दु:ख, खाद्यान्न, नुन र तरकारी पर्याप्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बजारमा कति छ मौज्दात ? पेट्रोलियममा दु:ख, खाद्यान्न, नुन र तरकारी पर्याप्त

१४ आश्विन २०७२, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

भारतले अघोषित नाकाबन्दी गरे पनि नेपालमा कम्तीमा तीन महिनासम्म पुग्ने दैनिक उपभोग्य वस्तु मौज्दात छ । पेट्रोलियम पदार्थ भने बढीमा १५ दिनसम्मका लागि पुग्नेछ ।

आगामी तीन महिनासम्मलाई पुग्ने गरी दैनिक उपभोग्य वस्तुको मौज्दात रहेको सरकारका व्यापारिक संस्थान तथा निजी क्षेत्रले जनाएका छन् । पेट्रोलियम पदार्थ भने अबको १५ दिनसम्मलाई मात्रै पुग्ने नेपाल आयल निगमले जनाएको छ ।

नेपाल खाद्य संस्थानका अनुसार तीन महिनालाई पुग्ने खाद्यान्न मौज्दात छ । संस्थानसँग अहिले २९ हजार मेट्रिकटन खाद्यान्न मौज्दात छ । संस्थानको मौज्दात, बजारमा भएको उपलब्धतालगायतले सामान्य अवस्थाको मागमा तीन महिनासम्म आपूर्ति गर्न पुग्ने संस्थानका प्रवक्ता श्रीमणि खनालले बताए ।

त्यस्तै, नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनसँग करिब आठ महिनालाई पुग्ने नुन मौज्दात छ । कर्पोरेसनले आफ्ना सबै गोदाममा गरी करिब एक लाख ३० हजार बोरा नुन मौज्दात रहेको जनाएको छ । यसले नेपालको सामान्य अवस्थामा हुने मागअनुसार आठ महिनासम्म पुग्छ । करिब १२ हजार मेट्रिकटन चिनी, थोरै परिमाणमा चामल र पिठो पनि मौज्दात रहेको कर्पोरेसनकी सहायक महाप्रबन्धक भगवती राणाले बताइन् ।

आयल निगमले प्रतिदिन एक सय किलोलिटर पेट्रोल र दुई सय ५० किलोलिटर डिजेल वितरण गरिरहेको निगमका कार्यकारी निर्देशक गोपाल खड्काले जानकारी दिए । उनका अनुसार यही परिमाणमा वितरण गर्दा पेट्रोल सात दिनलाई र डिजेल १५ दिनलाई पुग्नेछ । निगमले सकेसम्म पेट्रोलियम पदार्थको प्रयोग कम गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।

अहिले तरकारीको आपूर्तिमा ठूलो समस्या नरहेको कालिमाटी फलफूल तथा तरकारी बजारका बजार व्यवस्थापक रमेश डंगोलले बताए । ढुवानीका कारण आपूर्ति व्यवस्थापन चुस्त हुन नसके पनि बजारमा तरकारीका उपलब्धता पर्याप्त रहेको उनको भनाइ छ ।

‘सामान्य अवस्थामा कालीमाटी तरकारी बजारमा दैनिक ६ सय मेट्रिकटनदेखि ६ सय ५० मेट्रिकटनसम्म तरकारी भित्रने गरेको छ,’ डंगोलले भने, ‘अहिले पनि दैनिक करिब पाँच सय मेट्रिकटन तरकारी भित्रिरहेको छ ।’
नाकाबन्दीले तरकारीको आपूर्तिमा समस्या नपर्ने पनि डंगोलले बताए । भारतबाट नेपालमा तरकारीअन्तर्गत प्याज र आलु मात्रै बढी आयात हुन्छ । अफसिजनको वेलामा नेपालमा ७० प्रतिशत प्याज र आलु भारतबाट आयात हुन्छ । तर, सिजनका वेला भने ९० प्रतिशत आलु–प्याज स्वदेशी उत्पादनबाटै आपूर्ति हुन्छ । तर, मंगलबार भारतबाट चार ट्रक आलु र प्याज कालीमाटीमा आइपुगेको छ । अब आलु र प्याजको कुनै समस्या नहुने डंगोलले बताए ।

अत्यावश्यक वस्तु स्कर्टिङ गरेर राजधानी ल्याइने
काठमाडौंका सिडिओ एकनारायण अर्यालको अध्यक्षतामा बसेको आपूर्ति व्यवस्थापन समिति बैठकले अत्यावश्यकीय वस्तुको आपूर्ति नियमित र सहज बनाउन तराईमा रहेका मालबाहक ट्रक स्कर्टिङ गरी ल्याउने निर्णय गरेको छ

 नेपाल आयल निगम, वाणिज्य विभाग, खाद्य संस्थान, पेट्रोलियम डिलर्स एसोसिएसन, खुद्रा व्यवसायी संघ तथा सुरक्षा निकायका प्रतिनिधिसमेत संलग्न समितिको बैठकले अभावको मौका छोपी मूल्यवृद्धि नगर्न व्यापारीलाई आग्रह गरेको छ । नियमित अनुगमन र मूल्यवृद्धि गर्नेलाई कारबाहीको निर्णय समितिको छ । पेट्रोलियम पदार्थ, ग्यासजस्ता वस्तुको कृत्रिम होल्ड नगर्न व्यवसायीलाई सजग बनाउने, अत्यावश्यक वस्तु आपूर्तिमा प्राथमिकता दिने, ग्यास र पेट्रोलियम पदार्थका उद्योगको सुरक्षामा दिने निर्णय पनि समितिको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: