×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कस्तो चल्छ पूर्वसभासदको ब्युटिपार्लर ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कस्तो चल्छ पूर्वसभासदको ब्युटिपार्लर ?

Artha Sarokar

१६ आश्विन २०७२, शनिबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

अचेल पूर्वसभासद शान्ता चौधरीको दौडधूप खुबै बढेको छ । उनी महिनामा आधा समय काठमाडौं र आधा समय दाङमा हुन्छिन् । मुलुकको विषम परिस्थितिमा सद्भाव, शान्ति तथा भ्रातृत्वको सन्देश छर्न उनले विभिन्न कार्यक्रममार्फत योगदान पुर्‍याइरहेकी छिन् ।
शान्ताकै अगुवाइमा थुप्रै शान्ति र्‍याली सम्पन्न भएका छन् । उनी मुलुकका कुनाकुना पुगेर फुटेर होइन, जुटेर बसौं भन्ने सन्देश बाँडिरहेकी छिन् ।
तीन महिनादेखि ट्विटरमा सक्रिय शान्ताको लोकप्रियता पनि निकै बढिरहेको छ। उनका विचारहरू युवा पुस्ताले निकै रुचाएको पाइन्छ । सामाजिक सञ्जाल तथा विभिन्न कार्यक्रमहरूमार्फत शान्ताले सबैलाई जात, जाति, धर्म, समुदायभन्दा माथि उठेर नेपाली बन्न जोड दिइरहेकी हुन्छिन् ।
त्यही सकारात्मक सोच, विचारका कारण उनले आमसञ्चार–माध्यमहरूमा प्राथमिकता पाइरहेकी छिन् । शान्तालाई ट्विटर चलाउन ९ कक्षा पढ्ने उनका छोरा अनिल चौधरीले सुझाएका थिए ।
‘छोराले ट्विटर–ट्विटर भनेको सुन्थें,’ उनले भनिन्, ‘छोराले विचार आदान–प्रदान गर्न यो बढी महत्त्वपूर्ण छ भनेपछि चलाउन थालें ।’ सामसुङको ट्याबबाट फेसबुक, ट्विटर चलाउने शान्तालाई अहिलेको समयमा सामाजिक सञ्जाल निकै महत्त्वपूर्ण लाग्छ।
‘अब त मिडियाभन्दा सामाजिक सञ्जाल बढी शक्तिशाली हुँदै गएजस्तो लाग्छ ।’ चौधरी भन्छिन्,-‘तुरुन्तै समाचार आउने, आफ्नो विचार पनि अभिव्यक्त गर्न पाइने । एकदमै सजिलो र प्रधावकारी साधन भएको छ ।’
सकारात्मक बाटो हिंड्दाहिंड्दै उनको फेसबुक, ट्विटर र मोबाइलमा कतिपयले धम्की दिँदै म्यासेजहरू पठाइ रहन्छन्। थारुविरोधी भनेर आरोप लगाउँदा उनलाई नमज्जा लाग्छ । बरु आफ्नो गल्ती कहाँ छ, त्यो औंल्याइदिए हुन्थ्यो भन्ने हुन्छ ।
बिहान चार बजे आँखा खुले पनि शान्ताले ओछ्यान छोड्दा पाँच बज्छ । दाङमा हुँदा उनी गाउँतिर मर्निङ वाकमा निस्कन्छिन् । राजधानी हुँदा भने त्यस्तो मौका जुर्दैन । बिहानीपख डुल्दा शरीरमा स्फूर्ति जाग्छ । घर फर्किएपछि उनी चिया, कफी आफैं बनाउँछिन् ।
शान्ता फुर्सदको समय करेसाबारीमा फूल रोप्न, गोडमेल गर्न रुचाउँछिन् । उनी कहिल्यै तरकारी किन्दिनन्, आफैं फलाउँछिन् । दुई सन्तानकी आमा शान्ता दाङको उच्च मावि डाँडागाउँमा कक्षा ८ मा अध्ययनरत छिन् । राजधानीमा उनका एक छोरा ९ र छोरी कक्षा ७ मा पढ्दैछन् ।
शान्ता पहिलो दिन कक्षाकोठा पस्दा सबै जना विद्यार्थी उठे । विद्यार्थीहरूतिर हेर्दै उनले भनिन्, ‘म त अबदेखि तिमीहरूसँगै पढ्ने साथी हो ।’ शान्तिको कुरा सुनेर धेरै जना छक्क परे । उनी नियमित रूपमा स्कुल जान भने पाउँदिनन् ।
उनका जिम्मेवारीहरू धेरै छन्, राजनीतिकर्मी, अभियानकर्ता, आमा । घरी राजधानी, घरी दाङ र घरी अन्य जिल्लाहरूतिर दौडँदा निरन्तर स्कुल जान नपाए पनि पढ्ने अठोट भने त्यागेकी छैनन् । सभासद बन्दा आफ्नो नाम लेख्न पनि उनलाई पाँच मिनेट लागेको थियो ।
राष्ट्रपतिको निर्वाचनमा त हस्ताक्षर गर्न पनि उनलाई अरूले नै सघाइदिएका थिए । कतिले टिप्पणी गर्थे– ‘औंठा छाप सभासद्हरूले के संविधान बनाउलान् र ? यस्तै पीडाका कारण जसरी पनि पढाइ पूरा गरेरै छाड्ने प्रतिबद्धता उनले आफैंसँग गरिन् ।
सभासद छँदा प्राकृतिक स्रोत व्यवस्थापन समितिको सभापतिको अनुभव बटुलेकी शान्ताले एक वर्ष लगाएर लेखेको पुस्तक ‘कम्लरीदेखी सभासद्सम्म’ चर्चामा रह्यो । यो पुस्तकमा उनले १८ वर्ष कम्लरी बस्दा भोगेका दु:ख, पीडा, संघर्ष, विवाह, राजनीतिक यात्रादेखि सभासद्सम्मको कथाका बारेमा लेखेकी छन् ।
संघर्षका दिनहरू सुरुमा डायरी र पछि कम्प्युटरमा टाइप गर्दा कैयौं पटक उनले आँसु बगाइन् । ‘जीवनमा सुखले कहिल्यै छोएन ।’ भावुक मुद्रामा उनले मुख खोलिन्, ‘सानोमा पाएको दु:ख, अन्याय, अत्याचार भुल्नै नसकिने रहेछ ।’
७ वटा घरमा कम्लरी बसेकी शान्ताले कम्ती दु:ख पाइनन् । बिहानै ४ बजे उठेर काम गर्नुपर्ने, भारी बोक्नुपर्ने, गल्ती गर्दा पिटाइ खानुपर्ने, पेटभरि खान, जीउ ढाक्न कपडा नपाइने, एक वर्षको ज्याला ७ सय रुपैयाँमा चित्त बुझाउनुपर्ने यस्ता अनेकौं कष्ट उनले भोगिन् ।
उनको बुझाइ छ, नदेखिने रूपमा ‘बेचिएकी चेली हो, कम्लरी’। कम्लरीका पक्षमा थालेको उनको अभियानले बिस्तारै परिवर्तन ल्याइरहेको छ । सरकारले दुई वर्षअघि कम्लरी मुक्त घोषणा गरेपछि अहिले मानिसहरू कम्लरी राख्न डराउँछन्, राखे पनि पढाउने, पारिश्रमिक दिने काम गर्छन् ।
शान्तालाई थारु समुदायका सिन्की, चोखा (आलु पोलेको), चिचर तथा भात मन पर्छ । थारु पहिरन लगाउन रुचाउने शान्ता कुर्ता–सुरुवालमा सहज अनुभव गर्छिन् । सारी पनि उनलाई मन पर्ने पहिरन हो । सिन्दूर, पोत, चुरा लगाउँदा उनी आफैंलाई काटुर्न भएजस्तो लाग्छ ।
कानमा गहना र हातमा औंठी, बाला भने छुट्दैन । कमैलाई जानकारी छ– उनी ब्युटिसियन पनि हुन् । उनले आफ्नै घरमा एक वर्षदेखी ब्युटिपार्लर सञ्चालन गरिरहेकी छिन् । कुनै तालिमबिना सुरु गरेको यो काममा अलिअलि अनुभव बटुलिसकेकी शान्ताको गुजारा अहिले ब्युटिपार्लर र कस्मेटिक पसलबाटै चलिरहेको छ ।
सबैसँग भेटघाटको थलो पनि त्यही बनेको छ । शान्ता बेलुका आठ बजे टेलिभिजन वा रेडियोको समाचार सुन्न छुटाउँदिनन् । सामान्यत: ११ बजेतिर सुतिसक्छिन् । निद्रा नलाग्दा इन्टरनेटमा समय बिताउने, पुस्तक पढ्ने र ट्विट लेख्ने काम गर्छिन्- नेप्लिज डट वआर्जी
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी