
जननेता भण्डारीलाई राष्ट्रलाई माया गर्ने महान नेता भएको भन्दै उनीसँग आफूले कार्यगत एकता समेत गर्न खाजेको बताएका छन् । अत्यन्त हार्दिक र अन्तरंग सम्वन्ध रहेको भन्दै जननेता भण्डारीले त्यो बेला आफ्नै घरमा आएर डिनर लिने र संगै बसेर धेरै पटक रक्सी खाएको पनि खुलाएका छन् । प्रस्तुत छ बाँकी कुरा उनकै शब्दमाः
२०४७ सालको परिवर्तनलाई संस्थागत गर्ने राष्ट्रिय एजेन्डा बनाएर राजनीति अघि बढ्न थाल्यो । जनताका अपूर्व उत्साहसँगै आकांक्ष र अपेक्षा पनि आकासिएको थिए । क्रियाशील सांसद्,बहुमत प्राप्त नेपाली काँग्रेसको सरकार अनि बलियो प्रमुख प्रतिपक्ष नेकपा (एमाले) संसदीय व्यवस्थाको दोस्रो अभ्यासका खम्बा बनेका थिए । नेपाली कांग्रेसका सभापति एंव अन्तरिम कालका प्रधानमन्त्री भए पनि चुनाव हारेका मगनमस्ती नेता कृष्णप्रसाद भट्टराईको पार्टी संगठनमा पकड थिएन ।
पार्टीमा बलियो प्रभाव भएपनि प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले सभापतिको सहयोग पाउनु भएन । प्रधानमन्त्री कोईरालाबाट जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहलाई उपेक्षित र अपमानित गर्न थालिएको थियो । त्यसैले प्रत्येक उकाली ओरालीमा बीपी कोईरालालाई एकलव्य भएर साथ दिएका निराश गणेशमान आफैले स्थापित गरेको कडा परिश्रमबाट देशको प्रमुख दल बनाएको नेपाली कांग्रेसमा सम्मान जोगाएर बस्न नसक्ने पीडाबोध गर्न थाल्नुभएको थियो ।
पार्टी र सरकारबीचको द्वन्द्वले जनताको अपेक्षा अनुसार सरकारले काम गर्न सकिरहेका थिएन । त्यस्तो अवस्थामा नेपाली जनता र सद्भाव राख्ने विश्व समुदायको ध्यान नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा केन्द्रित भयो । आकर्षक व्यक्तित्व,जनतामा लोकप्रिय,ज नसमूहलाई आफ्नो आवाजसँगै उभ्याउने ओजस्वी वक्ता अनि देशको दोस्रो ठूलो दलमा पूर्ण पकड भएका महासंचिव मदन भण्डारीलाई नेपालको राष्ट्रिय नेताको रुपमा हेर्न थालियो । आत्मविश्वास र दूरगामी सोचयुक्त उहाँका भाषणहरु पढे पनि मेरो देखादेख भएको थिएन तर देशले खोजेको राष्ट्रिय नेताको संभावित व्यक्तिको रुपमा मेरो दिमागले उहाँको मूल्याङ्कन गर्न थालेको थियो । त्यसैबीच मलाई ०४९ साउन २९ गते चिनिँया राजदूत साओ जिअङचुले आफ्नो निवासमा दिवाभोजका लागि आमान्त्रण गर्नुभयो ।
नीजि दिवाभोज अथवा रात्रिभोजकालागि मेरो घरमा आउने अथवा म जाने चार–पाँच जना राजदूतहरुमध्ये उहाँ एक हुनुहुन्थ्यो । त्यसैले राजदूतको त्यो आमन्त्रणलाई मैले सहज रुपमा लिएको थिए । भवनको ढोकामा राजदूतले स्वागत गर्नुभयो । त्यहाँबाट भित्र पसेर दक्षिण मोडिएपछि कोठमा पुग्न आधा मिनेट लाग्दथ्यो । त्यही छोटो समयमा हिड्दाहिड्दैं उहाँले भन्नुभयो – ‘आज म तपाईलाई एक राष्ट्रबादी नेतासँग भेटाउदैंछु । तपाईहरुको मित्रता नेपालको हितमा हुनेछ ।’ उहाँको यस्तो अनपेक्षित कुरा सुनेर म छक्क परे । थप केही सोध्न नपाउँदैं हामी कोठाभित्र पुगिहाल्यौं ।
पश्चिमपट्टिको सोफामा मदन भण्डारी बस्नुभएको थियो । राजदूतले हामीलाई एकअर्काको परिचय दिनुभयो । म मदनसँगै बसें । राजदूतलाई मेरो मनपर्ने ड्रिङ्स थाहा थियो । उहाँले मेरो अगाडी जिन, टनिक र बरफका टुक्रा भरिएको गिलास राख्नुभयो । मदन भण्डारीको चाहाना अनुसार उहाँका लागि पनि त्यस्तै ड्रिङ्स ल्याईयो । राजदूतले बियर लिनुभयो । तपाईहरुको मित्रताका लागि भनेर उहाँले गिलास उठाउनुभयो, सुखद र सहज वातावरणमा तिनवटा गिलास आपसमा जोडिए ।
त्यसपछि एकैछिनमा आउछु भनेर राजदूत कोठाबाट बाहिरिनुभयो । कोठामा हामीमात्र भयौं । मैले नियालेर हेरे – कालोटोपी मुनी मोटो चस्मा अनि त्यसभित्र उत्सुक आखाँ, हँसिलो अुनहार । पहिलो भेटमै मलाई ति कम्यूनिष्ट नेता निष्कपट, लक्ष्यप्रति प्रस्ट र आत्मविश्वासले बलवान लाग्यो । उहाँले कुरा सुरु गदैँ भन्नुभयो – ‘पाण्डे जी, मैले तपाईबारे धेरै सुनेको छु । हामीविच राष्ट्रवादी सोचको समानता छ । सवै नेपाली मिलेर काम गरे पक्कै हाम्रो राष्ट्र जोडिन्छ, बलियो हुन्छ, थोरै समयमै विकसित हुन्छ । यसैले राजदूतले तपाईसँग भेटाउने कुरा गर्दा मैले खुशीसाथ स्विकार गरेको हुँ । तपाईसँग भेट भएकोमा म खुशी छु । तपाईको के विचार छ ?’
मैले भने–‘तपाईलाई भेट्न पाएकोमा प्रशन्न छु । तपाईसँग मिलेर नेपालको राष्ट्रिय हितका काममा सहभागी बन्न म तयार छु ।’ हामीबीच पुर्नस्थापित बहुदलीय प्रजातन्त्रसामु देखिएका जोखिमबारे कुरा भयो । समान चिन्ता र परिस्थितिबारे एकै किसिमको विश्लेषण । केही बेरपछि फर्किएका राजदूतले दिवाभोजका लागि अर्को कोठमा जान आग्रह गरेपछि मदनले भन्नुभयो – ‘म तपाईसँग बसेर विस्तृत कुरा गर्न चाहान्छु ।’ मैले तुरुन्तै भने–‘अनुकुल भए भोलि बेलुकि डिनर मेरो घरमा गरौं ।’ उहाँ सहमत हुनुभयो । भोलिपल्ट साँझ ७ बजे मदन भण्डारी मेरो घरमा डिनरका लागि आउनुभयो ।
बिस्तारै हाम्रो सम्वन्ध घनिष्ट हुन थाल्यो । सामान्यत ः महिनामा दुई पटक हामी डिनरमा भेट्थ्यौँ । उहाँ बस्नुहुन्थ्यो, राति उहाँलाई ल्याउने र पु¥याउने काम मेरो जेठो छोरा निश्चलले गर्थे । हाल सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक तथा कोलम्बोस्थित रिजनल सेन्टर फर स्ट्रटिजिक स्टडिजका बोर्ड सदस्य रहेका डा. निश्चलनाथ पाण्डे त्यस बेला कलेजका विद्यार्थी थिए । बाटोमा मदन निश्चल सित युवा पुस्ताको सोँच र परिस्थितिको मूल्यांकन बारे कुरा गर्नुहुन्थ्यो रे । यसबाट युवा पुस्तासित चिन्तनको दुरि नहोस भन्ने उहाँको सर्तकता प्रष्ट हुन्थ्यो । अरुको कुरा ध्यान दिएर सुन्ने, आफ्नो कुरा प्रष्टसँग भन्ने तर सधै गम्भिर वचनका पक्का ।
मसँग कुरा हुदाँ उहाँ सधै डायरि पल्टाएर बस्नुहुन्थ्यो, त्यसमा पहिलेनै टिपेका प्रश्न गर्नुहुन्थ्यो, मनपरेको विचार टिप्नुहुन्थ्यो । वचन दिने तर पालन भने नगर्ने दुर्गुणको बन्दी बनेका नेपाली नेताहरुको भिड अहिले पनि कायमै छ । नेपालमा राष्ट्रिय नेताको खडेरी परेर नै जोखिमपूर्ण संक्रमणकाल लम्बिदैं गएको हो तर मदन अपबाद हुनुहुन्थ्यो । उहाँको परिपक्व चिन्तन, दुगामी सोच र अठोटसँग परिचित तुल्याएर बर्तमान र भविष्यका नेपालीलाई प्रेरित गर्ने उहाँको डायरी प्रकाशनमा ल्याउने जाँगर नेकपा (एमाले) वा मदनका परिवारले देखाउन उचित हुुन्छ । त्यो डायरिमा नेपालको भविश्यको मार्गचित्र र सायद आफुले भेटेका महत्वपूर्ण व्यक्तीहरुबारे मूल्यांकन तथा उनीहरुसँग भएका सहमती र असहमति लेखिएको हुनुपर्छ ।
संङ्गठानात्मक क्षमता, फराकिलो सम्पर्क बनाउने स्वभाव, आत्मविश्वासका धनी भण्डारीको नेतृत्वमा दक्षिण एसियामै कम्युनिष्ट पार्टी पहिलो पटक जनताको मतदानबाट बैकल्पिक राष्ट्रिय राजनीतिक शक्तिको रुपमा स्थापित भएको र नेपाली जनताको सामुहिक अन्तर चेतनाको बलियो आवाज बन्न थालेकाले मदनमा भारत र पश्चिमी देशहरुको ध्यान केन्द्रित हुन थालेको थियो । राष्ट्रिय राजनीतिमा पनि मदन भण्डारीको शक्तिशाली व्यक्तित्वको प्रभाव निरन्तर बढिरहेको थियो । संसदमा उहाँसँग प्रतिस्पर्धा गर्न सक्ने अर्को नेता नभएको मात्र होइन, राष्ट्रिय राजनीतिमै पार्टी र जनतामा पकड भएको, अन्तराष्ट्रिय समुदायले सम्मान गर्न थालेको अर्को नेता थिएन । असोज २३ राती पढ्ने कोठामा हामी कुरा गर्दै थियौं । मदनले भन्नुभयो–‘एमाले सबै देशभक्तहरु अटाउने बलियो राष्ट्रिय शक्ति बनोस् भन्ने म चाहान्छु । अहिले नै एमाले देशको सवैभन्दा संगठित र जुझारु पार्टी छ, तर प्रचलित अर्थको राजनीतिक पार्टीको तहबाट माथि, धेरैमाथी उठेर एमाले सबै प्रजातन्त्रवादी र देशभक्तहरुको साझा संगठन बनोस्, यसमा सबै जागँरिला युवा, परिश्रमी श्रमिक, अनुभवी व्यक्तित्वहरु अटाउन् भन्ने मेरो सोच छ ।’
राष्ट्रिय हितमा केन्द्रित उहाँको दुरगामी महत्वको विचार सुनेर म प्रभावित भए । हिजको धङधङी र आजको अहङ्कार भोलीप्रति उदासिन रहने नेताहरुको भिडमा नेपाली समाज अहिलेसम्म पनि अलमलिइरहेको छ । २३ बर्ष अघिनै त्यस्तो फराकिलो ह्ृदय र दुरगामी सोच भएका नेताको रुपमा मदन भण्डारीलाई पाएपछि मैले प्रसन्न भएर भने–‘जोखिमपूर्ण भैगोलिक अवस्था भएको हाम्रो कमजोर, सानो देशको सुरक्षा र उन्नतिकालागि यो नै अचुक विधि हो । भर्खरै स्थापित प्रजातन्त्रलाई यही माध्यमबाट मात्रै स्थायित्व दिन सकिन्छ । तपाईको यस्तो परिपक्व र मैलिक सोँच सुनेपछि हामी इतिहासले रोजेको पुस्ता बन्ने कुरामा म विश्वस्त छु ।’
उहाँले आफ्नो सोच कार्यान्वयन गर्ने विधिबारे प्रकाश पार्नु भएन । मंसिर २२ राति खाना खादैं थियौँ, मदनले भन्नुभयो –‘अव तपाई चुप लागेर बस्नु हुदैन । राष्ट्रियताको सवालमा यसै हप्ता म सर्वदलीय बैठक बोलाउँछु, तपाईलाई खबर पठाउछु, आउनुस् ।’ बहुदलीय व्यवस्थाको पुर्नस्थापना पछि मदन भण्डारीकै निमन्त्रणामा ०४९ पुस २ गते म पहिलो पटक सिंहदरबार पसेको थिए । दिउँसो १ बजे नेकपा (एमाले)को संसदीय दलको कार्यालयमा भिड भियो । म भित्र पस्ता जनमोर्चाका बाबुराम भट्टराई बोलिरहनुभएको थियो । सोफामा बसिरहनुभएका मदन भण्डारीले मलाई आफु र मनमोहन अधिकारीकाबीच राख्नु भयो । बैठक संचालन गरिरहनुभएका माधवकुमार नेपालले मजदुर किसान पार्टीका नारायणमान बिजुक्छेलाई बोल्न बोलाउनुभयो । उहाँ पछि कम्युनिष्ट नेता निर्मल लामा बोल्नुभयो ।
मदनले बिस्तारै भन्नुभयो – ‘अब तपाईलाई बोलाइनेछ ।’ बैठकमा धेरै सांसद र कम्युनिस्ट नेताहरु थिए । मैले आफ्नो संक्षिप्त भाषणमा भने –‘राष्ट्रवाद र राष्ट्रिय सम्मानमा रहेको नेपाली जनताको पुख्यौंली संवेदनशीलताप्रति आत्मसाथ गर्ने राजनीतिले मात्र प्रजातन्त्रलाई सुदृढ बनाउँछ, प्रजातन्त्र र राष्ट्रवादलाई सँगसँगै लान सकिएन भने देश दुर्घटनामा पर्नेछ । यसैले राष्ट्रियताको पक्षमा सबैलाई मिलाएर राष्ट्रिय शक्ति निर्माण गर्ने यो प्रयाशलाई मैले नेपालको हितमा उल्लेखनीय शुभारम्भ ठानेको छु । ’
मदन भण्डारी अन्तराष्ट्रिय सम्बन्धको संवेदनशिलता बुझ्नुहुन्थ्यो । नेपालको भूस्थापनलाई कसरी राष्ट्रिय हितमा उपयोग गर्ने भन्ने बारे परिपक्व, संयमी र दुरगामी सोच थियो । उहाँको सोँच र अभिव्यक्ति राष्ट्रिय हितबाट निर्देशित रहन्थे ।उहाँले परराष्ट्र मामिलामा कहिल्यै असन्तुलित र व्यक्तिगत लाभ हानिबाट लोभिएर बोल्नुभएन । बैदेशिक मामिलामा हामीबीच कुरा हुन्थ्यो, नेपाललाई असर पार्ने बिषयमा टेलिफोनमा पनि मेरो राय सोध्नुहुन्थ्यो। विदेशी कूटनीतिज्ञहरुसँग रुचि लिएर, गम्भीरतासाथ कुरा गर्ने उहाँको बानी थियो । राष्ट्रिय हितको बिषयमा उहाँ अडिग रहनुहुन्थ्यो ।
दलको नेतृत्व लिन वा बालुवाटारमा बास पाउन विदेशीलाई रिझाउने रोगसँग मदनलाई घृणा थियो । मसँग कुरा हुँदा मात्र होईन, सार्वजनिक अभिव्यक्ति र अडानमा पनि उहाँ राष्ट्रिय राजनीतिको स्वामित्वमा प्रतिबद्ध हुनुहुन्थ्यो । यसको एउटा स्मरणीय उदाहरण प्रम गिरिजाले गर्नुभएको टनकपुरसम्वन्धि विवादास्पद सम्झौँतासँग सम्बद्ध छ । भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव तथा मदनका मित्र हरकिसन सिंह सुरजितले ‘नेपालका कम्युनिस्ट नेताहरुलाई टनकपुर सम्झौताको समर्थन गर्न सार्वजनिक रुपमै सल्लाह दिनुभएको थियो ।’ त्यो सल्लाह प्रति प्रतिक्रिया व्यक्त गर्दै मदन भण्डारीले भन्नुभयो–‘सुरजितको यो सल्लाह उपयुक्त भएन । हामी उहाँको विचारसँग सहमत छैनौं । हामीले के गर्नुपर्छ, के गर्नु हुँदैन भन्ने कुराको फैसला गर्ने अधिकार हामीसँग सुरक्षित छ ।’
०५० बैशाख २२ गते राति मदन भण्डारी मेरो घरमा आउनुभयो । त्यो भेट दुई कारणले मेरा लागि सधैँ स्मरणीय छ । पहिलो, सधैझँै दिनभरिका व्यस्त कार्यक्रमहरु सकेर आएको भए पनि उहाँ तनावहीन र ताजा देखिनुहुन्थ्यो । तर आमचुनावपछि बनेको निर्वाचित सरकारले जनतालाई उत्सहित तुल्याउन सकिरहेको थिएन । देशको बिग्रँदो अवस्था, जनतालाई सुशासन खोजेको तर भ्रष्टाचारमा लिप्त हुन थालेर जनताबाट सरकार टाढिँदै गएकोमा चिन्तित हुनुहुथ्यो ।
यी बिषयसँगै नेपाललाई असर पर्ने अन्तर्राष्ट्रिय घटनाक्रमबारे हामीबीच कुरा भयो । मदन भण्डारी एमालेको संङ्गठनात्मक सामथ्र्य बढाउन सक्रिय हुनुहुन्थ्यो ।
उहाँले मलाई पटकपटक भन्नुभएको थियो–‘नेपाली काँग्रेसले सरकार चलाउन सक्तैन । काँग्रेसको आन्तरिक विवादले देशले चाँडै चुनावमा जानुपर्ने हुन्छ ।’ उहाँको भनाईथियो–‘पाण्डेजी,तपाई जस्ता देशभक्त व्यक्तित्वहरुलाई मैले समेट्ने विचार गरेको छु । तर तपाईहरु एमालेमा प्रवेश गर्न चाहनुहुन्न, मलाई पनि पार्टीमा तपाईहरुलाई सम्मानपूर्ण स्थान दिन सजिलो छैन । तपाईहरु आफैं पार्टी चलाउन पनि सक्नुहुन्न । त्यसैले बाहिर बसेर तपाईहरुले संङ्गठित रुपमा राष्ट्रिय हितका मुद्दाहरुमा एमालेसँग सक्रिय सहकार्य गर्न सक्नेबीचको बाटो बनाउन थालेको छु ।’ उहाँले एमालेको फराकिलो छातामुनी सबै प्रजातन्त्रवाद, देशभक्त अटाउने योजना बनाएको र मजस्तै केही व्यक्तिहरुको सुची बनाईसकेको अनुभूति मलाई भएको थियो । साँच्चै, मदन भण्डारी राष्ट्रिय हितमा दूरदृष्टि राख्ने, ठूलो छाती भएका आत्मविश्वासका धनी नेता हुनुहुन्थ्यो – देशप्रति समर्पित,प्रजातन्त्रमा प्रतिबद्व ।
दोस्रो, त्यो सुखद भेटको सम्झना पनि मेरा लागि पीडादायी छ, किनभने त्यसपछि ती विलक्षण प्रतिभायुक्त नेतासँग फेरि भेट भएन । ११ दिनपछि रहस्यमय दासढुङ्गा दुर्घटनामा आफ्ना सहकर्मी जीवराज आश्रितसँगै उहाँको निधन भयो । नेपालको राष्ट्रवादी आन्दोलन कमजोर बनाउने यो दुर्घटनाप्रति आमजनतामा विभिन्न आशङ्का अझै व्याप्त छन् । दुई दशक बित्दा पनि यो आशङ्का मेटिएको छैन, प्रश्न थपिँदै छ, आशङ्का पत्यारिलो भईरहेको छ ।
आफ्नो महासचिव गुमाउनुपरेकोमा नेकपा एमाले स्वभाविक रुपमा आक्रोशित भयो । जुलुसहरु निस्किए, संसद् अवरुद्व भयो, दुर्घटना होईन हत्या भन्दै देशभित्र र बाहिर औंला ठड¥याईयो । जनताको दबाब बढ्दै गएपछि सरकार र पार्टी दुबैले जाँच आयोगहरु गठन गरे । एमालेले त्यसलाई ‘हत्या’ नै ठह¥याउँदै जनतासामु उभ्याएर सजाय दिने प्रतिबद्धता जनतासमक्ष व्यक्त ग¥यो । त्यसको केही महिनापछि भएको मध्यावधि निर्वाचनमा जनताले जिताएर एमालेको एकमना सरकार बन्यो । एमाले अध्यक्ष प्रधानमन्त्री र महासचिव उपप्रधानमन्त्री भए । मदनको रहस्यमक मृत्यु भएपछि एमाले आठवटा सरकारहरुमा सम्मिलित भयो, तीमध्ये तिनवटा सरकारको नेतृत्व पनि ग¥यो, चारपटक गृह मन्त्रालय समात्यो । स्वयं मदनकी पत्नी पटकपटक मन्त्री र पार्टीको उपाध्यक्ष हुनुभयो । तर ‘हत्यारालाई जनतासमक्ष उभ्याएर सजाय दिने एमालेको संस्थागत प्रतिबद्धता पुरा भएन, प्रयास पनि भएन । मैले संसद्मा पनि यो विषय उठाएँ, सरकार र एमालेको ध्यान आकर्षित गर्ने प्रयास गरेँ तर सफल भइँन । एमालेले पनि मदनको प्राण लिने रहस्यात्मक दुर्घटना बिर्सियो । यसरी किन बिर्सियो भन्ने धारिलो प्रश्नले नेकपा एमालेलाई सधैँसधैँ पछ¥याईरहनेछ ।
०५१ जेठ २९ गते नेकपा एमालेका नयाँ महासचिव माधवकुमार नेपाल र नेता बामदेव गौतम मेरो घरमा पहिलो पटक आउनुभयो । उहाँहरुसँगकोे भेटमा मलाई मदन भण्डारीको विशिष्ट कार्यशैली र पार्टी सङ्गठन सञ्चालनको परिष्कृत एवं लोकतान्त्रिक ढाँचाबारे जानकारी प्राप्त भयो । त्यस बेलासम्म कसैले पनि थाहा नपाएको मदन र मेरो सम्वन्ध कसरी स्थापित भयो र कुन दिशातिर उन्मुख थियो भन्ने कुरा उहाँहरुले बताएपछि एमाले र मेरो सम्वन्ध फेरी जीवन्त भयो । आफ्ना शीर्षस्थ सहयोगीहरुसँग पनि कुरा लुकाउने एकलकाँटे नेताहरु भोगिरहेको नेपालमा मदन भण्डरी बिल्कुलै भिन्न हुनुहुँदो रहेछ भन्ने मलाई खुलस्त भयो । यस्तै विशेष गुणहरुका कारण मदन भण्डारीले कहिल्यै नेताको स्वाङ गर्नु परेन, नेता बन्न मरिहत्ते गनु परेन । उहाँ नेता हुनुहुन्थ्यो, ईतिहासले खोजेको राष्ट्रिय नेतृत्व नेपालले उहाँबाट पाउनै लागेको थियो ।
मदन भण्डारी जीवित रहेको भए नेपालले दुरदृष्टि भएको, बचन पक्का, राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान पाएको र सहयोग लिन सक्ने लोकप्रिय नेतृत्व पाएर दोस्रो पटक स्थापित संसदीय प्रजातन्त्रले असफलता भोग्नुपर्ने थिएन । नेपालको इतिहासै जोखिममा परेको अहिलेको अत्यासलाग्दो अवस्था पनि भोग्नुपर्ने थिएन भन्ने मेरो अन्तस्करणको आवाज हो । मदन समयलाई निर्देश गर्ने, विरोधीको पनि सम्मान पाउने, जनताले विश्वास गरेका, आड मानेका, विश्व समुदायले आदर गरेका जननेता हुनुहुन्थ्यो । यसैले उहाँको सम्झना र सारगर्भित विचारको हेक्काले हामी सवै नेपालीलाई नेपालका लागि बाँच्न प्रेरित गर्छ । संसद्मा रहेको बहुमत समाल्न नसकेर गिरिजाले देशमाथी मध्यावधि चुनाव थोपर्नुभयो । मदनको रहस्यपूर्ण निधनपछि कार्यवाहक महासचिव भएका माधवकुमार नेपाल एमालेलाई विजयी बनाएर नेपालमा पहिलो कम्युनिस्ट पार्टीको नेतृत्वको सरकार बनाउन सक्रीय हुनुभयो । यो लक्ष्य हासिल गर्ने निकै गाह्रौं अभिभारामा सानो सहयोग गर्ने अवसर मैले पनि पाएको थिँए ।
०५१ साउन २६ बिहान म कोटेश्वरस्थित महासचिव नेपालको पुरानो निवासमा थिएँ । हामी एमालेको चुनाव घोषणापत्रको अन्तिम मस्यौदा अध्ययन गदैँ थियौँ । ‘बेरोजगारीको बढ्दो समस्या र रोजगारीको सीमित अवसर मात्रै सिर्जना गर्न सकिने अवस्थामा रहेको नेपालमा विदेशीहरुलाई श्रम स्वीकृति अनिवार्य गर्ने प्रतिवद्धता चुनाव घोषणापत्रमा लेख्नै पर्छ भन्ने कुरामा म जोड दिइरहेको थिएँ । अचानक बामदेव गौतम कोठामा प्रवेश गर्नुभयो । उहाँ पनि विदेशीका लागी श्रम स्वीकृति अनिवार्य गर्ने पक्षमा हुनुहुन्थ्यो । त्यो प्रतिबद्धता एमालेको घोषणापत्रमा समावेश गरियो । ‘आगामी सरकार एमालेको, देशभक्त र प्रजातन्त्रवादीको’ भन्ने आकर्षक नारासहित जनतासमक्ष गएको एमाले ०५१ कात्तिक २८ गते सम्पन्न मध्यावधि चुनाव जितेर सबैभन्दा ठूलो दल भयो । सत्तारुढ नेपाली काँग्रेस पाराजित भयो । धेरैले भने–‘नेपाली काँग्रेस आफैले आफैलाई पराजित ग¥यो । ’
यसरी नेपालमा प्रजातान्त्रिक विधिबाट व्यक्त जनताको चाहाना बमोजिम पहिलो पटक कम्युनिस्ट सरकार बन्यो । बामदेव गौतमलाई ‘महासचिवका सम्पूर्ण कार्यकारी अधिकार प्रत्यायोजन गरी’ उपमहासचिव नियुक्त गरियो । मदन भण्डारीको रहस्यमय दुर्घटनामा भएको मृत्युबारे जाँच गर्न गठित एक सदस्यीय आयोगको कामले जनतालाई सन्तुष्ट पार्न सकेको थिएन । तर आफ्नै अध्यक्षको नेतृत्वमा अध्यक्ष र महासचिवसमेत सम्मिलित एकमना सरकार बनाएपछि पनि एमालेले यो रहस्यको पर्दाफास गर्ने प्रतिज्ञा पालन गरेन ।
इतिहासमा मदन भण्डारीको रहस्यमय मृत्यु रहस्यकै ै गर्भमा बस्यो । आठ पटक सत्तामा पुगेर पनि एमालेले आफ्नो नेताको मृत्य ु‘हत्या, दुर्घटना वा नियोजित घटना के थियो’ भन्ने प्रश्नको अन्तिम उत्तर खोज्न सकेन, रुचि लिएन अथवा थाहा पाएर पनि जनतालाई बताउने साहास गरेन । प्रधानमन्त्रीहरु मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल नेतृत्वको सरकारले पनि त्यसबारे वास्ता गरेन । झलनाथ खनालले प्रधानमन्त्री भएपछि सार्वजनिक वक्तव्य दिँदै भन्नुभयो–‘म देशको प्रधामन्त्री छु, दासढुंगा दुर्घटना रहस्यमय छ, अनुसन्धान गर्नुपर्छ ।’ तर सार्वजनिक प्रतिबद्धता गरेपनि उहाँले सत्यतथ्य पत्ता लगाउने जाँगर नदेखाएपछि रहस्य झन् गहिरियो । एमालेकै तिन जना प्रधामन्त्रीहरुले खोतल्ने आँट गर्न नसकेपछि यो रहस्य सामान्य दुर्घटना थिएन भन्ने आशङ्का अझ बलियो भयो ।
(कुटनीति र राजनीति पुस्तक बाट)
– See more at: http://www.nepalese.org/article/2015/10/01/28121/#sthash.PFH0WJ6u.dpuf