×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नीक कम्पनीको ट्रान्सफर्मरले विद्युत् क्षमता धान्न सकेन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नीक कम्पनीको ट्रान्सफर्मरले विद्युत् क्षमता धान्न सकेन

२२ पुष २०७२, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

चालू आर्थिक वर्ष २०७२/०७३ को साढे पाँच महिनाको अवधिमा नेपालमा सबैभन्दा बढी नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रालि (नीक)ले बिक्री गरेको ट्रान्सफर्मर जलेको पुष्टि भएको छ । नीकको ट्रान्सफर्मरमा विद्युत्को भार धान्ने क्षमता कमजोर रहेको कारण धमाधम जलेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । भारतले लगाएको अघोषित नाकाबन्दीको कारण बाहिरबाट ट्रान्सफर्मर आउनसकेको छैन भने यही बेला नीकले दिएका अधिकांश ट्रान्सफर्मर जलेको कारण विद्युत् सप्लाईमा अझै ठूलो समस्या आउने देखिएको छ । पेट्रोलियम इन्धनको आपूर्ति सहज नभएको कारण विद्युत्को माग बढ्दा ट्रान्सफर्मर अझै जल्ने आशंका प्राधिकरणको छ । नेपालमा नीकसहित पाँचवटा नेपाली कम्पनीले ट्रान्सफर्मर उत्पादन गरेर प्राधिकरणलाई बिक्री गर्दैै आएका छन् । तीमध्ये सबैभन्दा बढी ट्रान्सफर्मर नीकले दिएको छ भने नीककै ट्रान्सफर्मर धेरै जलेको कारण समस्या अझै जटिल बन्ने देखिएको हो । ‘साउनदेखि पुस १४ गतेसम्म नीकले दिएका एक सय १५ वटा ट्रान्सफर्मर जलिसक्यो’, प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप–कार्यकारी निर्देशक रामचन्द्र पाण्डेयले भने, ‘साउनदेखि पुस १४ गतेसम्मको अवधिमा चार सय ४६ ट्रान्सफर्मर जलेकामा एक सय १५ नीकको जलेको छ भने दोस्रोमा चीनको एक सय छवटा र तेस्रोमा भारतको ४२ वटा ट्रान्सफर्मर जलेको छ ।’
‘भोल्टेज रेसियो’ र ट्रान्सफर्मरको क्षमता परीक्षण गरेर नीकसँग प्राधिकरणले ट्रान्सफर्मर खरिद गरे पनि केही बढीको भार धान्ने क्षमता नभएको कारण पछिल्लो साढे पाँच महिनामा नीक कम्पनीको मात्रै एक सय १५ वटा ट्रान्सफर्मर जलेको हो । प्राधिकरणका अनुसार नीकले दिएको ट्रान्सफर्मरमध्ये साउनमा १३ वटा, भदौमा २८ वटा, असोजमा १८ वटा, कात्तिकमा २१ वटा, मंसिरमा २४ वटा र पुस १४ गतेसम्म १२ वटा गरी एक सय १५ वटा जलेको हो । पुस १४ पछि पनि नीकका धेरै ट्रान्सफर्मर जलिसकेको प्राधिकरणले जनाएको छ । नीकपछि अर्को नेपाली कम्पनी ‘नेपेक’ले दिएको ६० वटा ट्रान्सफर्मर जलेको छ । नेपेकको साउनमा ११, भदौमा १४, असोजमा सात, कात्तिकमा सात, मंसिरमा १५ र पुसको १४ गतेसम्म छवटा ट्रान्सफर्मर जलेको समेत प्राधिकरणले जनाएको छ । 
त्यस्तै, पछिल्लो समयमा ठूलो क्षमताको ट्रान्सफर्मर उत्पादन गर्ने घोषणा गरेको अमूल श्रेष्ठको ट्रान्सवेल्ड कम्पनीको ट्रान्सफर्मर पनि धमाधम जल्नथालेको छ । काठमाडौंको धापासीमा रहेको ट्रान्सवेल्ड कम्पनीको ट्रान्सफर्मर पछिल्लो साढे पाँच महिनामा २० वटा जलिसकेको छ । ट्रान्सवेल्डका ट्रन्सफर्मरहरु साउनमा तीनवटा, भदौमा छवटा, असोजमा दुईवटा, कात्तिकमा चारवटा, मंसिरमा तीनवटा र पुसको १४ गतेसम्म दुईवटा जलिसकेको छ । त्यस्तै, हिको र हिट्स नामक दुई नेपाली कम्पनीको क्रमशः तीन र एउटा ट्रान्सफर्मर जलेको छ । ती दुई कम्पनीले न्यून आपूर्ति गरेको कारण कम जलेको हो । नीकको ट्रान्सफर्मर नेपाली बजारमा धेरै भएको र यही क्रमले जल्ने हो भने कैयौं गाउँ र सहर नै अन्धकार हुने देखिएको छ । प्राधिकरणसँग ट्रान्सफर्मर स्टक छैन भने नीकका मालिक कुशकुमार जोशीले पनि कम्तीमा दुई महिना ट्रान्सफर्मर दिन नसक्ने जानकारी प्राधिकरणलाई दिएको प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जानकारी दिए । ‘स्टक नभएको र उत्पादन गर्न समस्या भएको भन्दै नीकले अझै दुई महिना ट्रान्सफर्मर दिन सकिन्न भन्ने जानकारी गराएको छ’, कार्यकारी निर्देशक काफ्लेले भने, ‘भारतीय नाका नखुलेसम्म स्थलमार्गबाट ट्रान्सफर्मर ल्याउन नसकिने र नेपालको ठूलो कम्पनी नीकले दुई महिनासम्म दिन नसकिने जानकारी दिएको कारण ठूला क्षमताका ट्रान्सफर्मर जले भने नसोचेको समस्या आउँछ ।’
प्राधिकरणका अनुसार चालू आवको साढे पाँच महिनामा चीनका विभिन्न कम्पनीका एक सय छवटा ट्रान्सफर्मर जलेका छन् । प्राधिकरणका अनुसार साउनमा चिनियाँ कम्पनीको १७ वटा, भदौमा १७ वटा, असोजमा १० वटा, कात्तिकमा २१ वटा, मंसिरमा २६ वटा र पुसको १४ गतेसम्म १५ वटा ट्रान्सफर्मर जलिसकेको छ । यस्तै, भारतीय कम्पनीका ७६ र एईची जापानको ४२ वटा, एन्ड्रिवेल युकेका १० वटा, एसइसी थाइल्याण्डका पाँच, कोरियाको पाँच, इङ्ल्याण्डको एक तथा जेनसोन वेस्ट इन्डिजको दुईवटा ट्रान्सफमर जलिसकेको छ । प्राधिकरणको बानेश्वर वितरण केन्द्रका प्रमुख टेकनाथ तिवारी भने पछिल्लो समयमा ट्रान्सफर्मर जल्नुको मुख्य कारण खपत बढी हुनु रहेको बताउँछन् । ‘कमजोरभन्दा पनि क्षमताभन्दा धेरै गुणा माग बढेको कारण त्यसलाई धान्न नसकेर ट्रान्सफर्मर जलेको हो’, तिवारीले भने । -आर्थिक दैनिक 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: