×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उद्योगपति मुरारकामाथि करोडौं रुपैयाँ ठगेको अभियोग

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

उद्योगपति मुरारकामाथि करोडौं रुपैयाँ ठगेको अभियोग

२० पुष २०७२, सोमबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

आधा दर्जनभन्दा बढी उद्योग, बैंक तथा बित्तीय संस्थामा लगानी भएका यहाँका उद्योगपति अशोक मुरारकालाई कीर्ते गरेर करोडौं रुपैयाँ ठगेको अभियोग लागेको छ । वर्षौंदेखिका उनीनिकट साझेदार आफैं कानुनी प्रक्रियामा गएपछि मुरारकाको कीर्ते अभियोग अस्तित्वमा आएको हो।

२०५३ सालदेखिका पार्टनर कृष्ण प्रसाईंले साझेदारीको नियमविपरीत मुरारकाले कीर्ते गरेर जग्गा बिक्री गरेको अभियोग लगाउँदै जिल्ला प्रहरी कार्यालय झापामा निवेदन दिएका छन्। दर्ता भइसकेको उक्त निवेदन प्रक्रियामा गइसकेको झापा प्रहरीले जनाएको छ । 
झापाका प्रहरी प्रमुख एसपी ठाकुर ज्ञवालीका अनुसार मुरारकाविरूद्धको निवेदन कानुनी प्रक्रियामा गइसकेको छ । ‘हामी कानुनी प्रक्रियामा गइसकेका छौं, अभियोगकर्तालाई खोज्ने काम भइरहेको छ,’ ज्ञवालीले सेतोपाटीसँग भने।
जाहेरवाला तथा विभिन्न स्रोतबाट प्राप्त जानकारी अनुसार उद्योगपति मुरारकाले १८ करोड बराबरको जग्गा कीर्ते सहीछाप गरी बिक्री गरेका छन् । झापा धाइजन वडा नम्बर १ स्थित अबनिश एग्रिग्रेट नामको क्रसर उद्योगको नाममा रहेको कित्ता नं. १२०१ को एक बिगाहा, कित्ता नं. ३५३ को दस कठ्ठा, कित्ता नं. ११९९ को १५ कठ्ठा र कित्ता नं. १२०० रहेको १ बिगाहा १० धुर जग्गा कानुनविपरीत बिक्री गरेको अभियोग मुरारकामाथि लागेको छ । 
ठगीको अभियोग लागेका मुरारका विराटनगरमै रहे पनि प्रहरीले खोजी गर्न चासो नराखेको भन्दै निवेदकले असन्तुष्टि व्यक्त गरेका छन् । तर मुरारका भने सम्पर्कबाहिर रहेको दाबी प्रहरीले गरेको छ। 
‘मैले सबै प्रमाण राखेर निवेदन दिएको छु, निवेदन प्रक्रियामा गइसकेको प्रहरीले बताएको छ,’ प्रसाईंले भने, ‘तर अभियोग लागेका व्यक्ति खुलमखुल्ला भए पनि प्रहरीले पक्राउ गरेको छैन ।’ साझेदारको हकहिस्सा मेटाउने किसिमले मुरारकाले फरक–फरक मितिमा आफ्नो कीर्ते सहिछाप गरी बिक्री गरेको प्रसाईंले आरोप लगाएका छन्। 
‘साझेदारी फर्मका नाममा रहेको जग्गा जमिनलाई साझेदारको हकहिस्सा मेटाउन मेरो आधा हक हिस्साको सम्पत्ति खाने पचाउने कुनियत चिताइ अपराध गर्ने अपराधकर्ता (अभियुक्त) मध्येका मुख्य अभियुक्त फर्मका साझेदार अशोककुमार मुरारकाले विभिन्न फरक–फरक मितिमा अन्य मानिसहरुका नाममा कित्ताकाँट गरी बिक्री गरेको भन्ने कुरा विभिन्न मानिसमार्फत सुन्न आएकोमा के भएको रहेछ भन्ने शंका लागि मालपोत कार्यालय झापा चन्द्रगढीबाट मिति २०७२/५/१५ मा नक्कल सारी लिँदा जानकारी हुन आयो,’ प्रसाईंले अभियोगपत्रमा उल्लेख गरेका छन्, ‘जानकारी भएपछि उक्त व्यहोराको यथार्थ जानकारी ईमेलमार्फत विभिन्न व्यापारिक संघ, सँस्था उद्योग वाणिज्य महासंघ, नेपाल बैंकर्स एसोसिएसन गराइसकेको छु।’ 
फर्मका नाममा मिति २०६६/११/३० मा रजिष्ट्रेशन नम्बर १०६२७, १०६२५ र १०६२६ (क) समेत जम्मा ३ (तीन) वटा राजिनामा लिखतहरूबाट धाइजन–१ स्थितका ती जग्गा लिएको प्रसाईंले बताए। 

के हो साझेदारी ऐन ?
साझेदारी ऐन २०२० अन्तर्गत दफा ३ को उपदफा (१) मा साझेदारी भन्नाले कुनै व्यक्तिहरूले एउटै नाम राखी बण्डा लगाउने गरी सबै साझेदारहरूले प्रत्येक साझेदारका लागि सबै कारोबारमा भाग लिन आपसमा कबुलियत गरी यस ऐन बमोजिम नेपाल सरकारको लगतमा दर्ता गराएको कुनै कारोबार सम्झनुपर्छ उल्लेख छ । उक्त ऐनको दफा ३ को उपदफा (२) मा कबुलियत गर्ने व्यक्तिहरूलाई एक अर्काको सम्बन्धमा साझेदार र सबै साझेदारलाई फर्म र जुन एक नामबाट कारोबार चल्दछ त्यसलाई फर्मको नाम भन्नुपर्छ र ऐनको दफा ३ को उपदफा (३) मा साझेदार बाहेक साझेदारी फर्म व्यक्ति हँुदैन भन्ने स्पष्ट कानुनी व्यवस्था रहेकोछ । 
‘उक्त कानुनी व्यवस्थाअनुसार साझेदारी फर्मका साझेदार भनेका एका सगोलका अंशियार जस्ता हुन् र साझेदारी फर्मका नाममा रहे भएको चलअचल सम्पत्ति संगोलको सम्पत्ति हो भन्ने कुरा प्रमाण ऐन २०३१ को दफा ६ (ख) समेतले पुष्टि गर्ने आधार प्रमाणभित्रको सम्पत्ति हो भन्ने सम्झनु पर्दछ र यस्तो सम्पक्ति विक्री वितरण हक हस्तान्तरण लगायतका काम कार्य गर्दा साझेदारको सहमति स्वीकृति र जग्गा पास गर्दा राजिनामा रजिष्ट्रेशन लिखतमा घर सारको तथा कार्यालयको रोहबरमा समेत सहिछाप र सनाखतसमेत भएको हुनुपर्छ,’ ऐनमा उल्लेख छ । 
मुलुकी ऐन कीर्ते ठगीको अभियोगमा मुरारकालाई हदैसम्मको कारबाही होस् भनी निवेदनमा माग गरिएको छ । उक्त ऐन अनुसार ठगी गर्नेलाई ठगी लिएको बिगो कायम भएमा हक पुग्नेलाई बिगो भराई बिगो बमोजिम र बिगो कायम नभएमा पचास हजार रूपैयाँसम्म जरिवाना र पाँच बर्षसम्म कैद हुने व्यवस्था छ । 
स्रोतका अनुसार प्रसाईं कानुनी प्रक्रियामा जानुअघि विराटनगरमा साझेदारीको विवाद मिलाउन मध्यस्थकर्ता समिति बनेको थियो । समितिले दुबै पक्षलाई राखेर छलफल गराए पनि कुरा नमिलेपछि प्रसाईं कानुनी प्रक्रियामा गएका हुन् । मध्यस्थकर्ता समितिमा उद्योगपति नन्दकिशोर राठी, राजेन्द्र राउत, किशोर प्रधान र प्रदीप मुरारका थिए । ‘हामीले धेरै प्रयास गरेका हौं विवाद मिलाउन तर दुई पक्ष मिल्न सकेनन्,’ एक मध्यस्थकर्ताले भने। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: