
‘वित्तीय आतंक’का रूपमा चर्चित बैंक घोटाला प्रकरणमा एक अर्ब २० करोड जरिबाना र डेढ वर्ष कैदसजाय तोकिएका बैंक सञ्चालक पवनकुमार कार्कीलाई अमेरिकाबाट पक्राउ गर्न इन्टरपोलमार्फत ‘रेड कर्नर नोटिस’जारी गरिने भएको छ।
क्यापिटल मर्चेन्ट बैंकका सञ्चालक रहेका कार्कीलाई पुनरावेदन अदालत पाटनको वाणिज्य इजलासबाट बैंकिङ कसुर मुद्दामा गत वर्ष वैशाख २९ गते जेल र जरिबानासहित अन्तिम फैसला भएको थियो। फर्जी फर्मका नाममा धितो प्रवाह गरेर बैंक डुबाएको अभियोगसहित उनीविरुद्ध नेपाल राष्ट्रबैंकको जाहेरीअनुरूप ४० थान मुद्दा दायर गरिएको थियो।
प्रत्येक मुद्दामा डेढ वर्ष कैद सजाय तोकिएको छ। सबै कैद जोड्दा ६० वर्ष हुन आउँछ । एउटै अभियोगमा माथिल्लो कैद भुक्तान गरेपछि बाँकी मिनाहा हुने कानुनी प्रावधान छ।
कार्कीलाई अदालतबाट कुल एक अर्ब २० करोड ९३ लाख ९७ हजार एक सय ४१ रुपैयाँ ५४ पैसा जरिबाना तोकिएको छ। मुद्दा चलेदेखि नै फरार रहेका कार्की अमेरिकामा लुकेर बसेको सुराक पाएपछि उनीविरुद्ध रेड कर्नर नोटिस जारी गर्न लागिएको हो।
नक्कली फर्म खोलेर सम्धी, छोरी, ज्वाइँ, साला, जेठानलगायत आफन्तका नाममा करोडौं ऋण प्रवाह गरेर घोटाला गरेको अभियोग कार्कीविरुद्ध थियो। काठमाडौं जिल्ला अदालतको फैसला कार्यान्वयन दस्ताको आग्रहअनुरूप नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कार्कीलाई पक्राउका लागि इन्टरपोलसँग लिखित आग्रह गर्ने भएको छ।
‘कार्कीका नाममा रेड कर्नर नोटिसको तयारी छ’, काठमाडौं जिल्ला अदालतका फैसला कार्यान्वयन अधिकारी देवप्रसाद योगीले भने, ‘दुईतीन दिनमै उपलब्धि होला । फैसला कार्यान्वयन सफल बनाउन र अपराधी निरुत्साहित गर्ने प्रक्रिया अघि बढेको छ।’ योगीले फैसला कार्यान्वयन दस्ताको आग्रहअनुरूप नै सीआईबीमार्फत इनटरपोललाई आग्रह गरिने बताए।
स्रोतका अनुसार कार्कीले अमेरिकामा ग्यास उद्योग खोलेर बसेको सूचना प्राप्त भएको छ। बैंक घोटाला प्रकरणमा कार्कीसँगै मुछिएका उनका भिनाजु अमेरिका जाने क्रममा गत महिना अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए।
गत मंसिर २२ गते काठमाडौं जिल्ला अदालतले कार्कीका नाममा पक्राउ पुर्जी जारी गरेको थियो। ‘तपाईं प्रतिवादीको हकमा अन्तिम फैसला भई बेरुजु लगत कायम रहेकोमा तपाईं हालसम्म फरार रहनुभएको हुँदा,’ कार्कीका नाममा अदालतले जारी गरेको पुर्जीमा लेखिएको छ, ‘दण्डजरिबाना असुलउपर गर्न खटिएको कर्मचारीले तपाईंलाई फेला पारेमा उपरोक्त फैसला एवं बेरुजु लगत कार्यान्वयनका लागि डोर कर्मचारीका साथ लागिआउनु हुन यो पक्राउ पुर्जी जारी दिइएको छ।’
उनको स्थायी घर काठमाडौं महानगरपालिकाको वडा नम्बर १० मा पर्छ। पक्राउका लागि कार्कीको खोजी गर्ने क्रममा अमेरिकामा लुकेको सूचना प्राप्त भएपछि इन्टरपोलमार्फत झिकाउने प्रक्रिया अघि बढेको हो।
वाणिज्य इजलासका तत्कालीन अधिकृत वेदप्रसाद उप्रेतीले कार्कीले फैसलाउपर सर्वोच्चमा पुनरावेदन नगरेका कारण अदालती बन्दोबस्तको २०८ नम्बरअनुरूप कार्यान्वयन नरोकिने बताए। कार्कीसँगै बैंक ठगी प्रकरणमा पाँच करोड रुपैयाँ जरिबाना र चार वर्ष १० महिना कैद तोकिएका मधुसूदन अर्याल र उनकी पत्नी कल्पनालाई पनि पक्राउ गर्ने तयारी भइरहेको छ।
भक्तपुर कौशलटार निवासी उनीहरू पनि अमेरिकामै लुकेर बसेको जनाइएको छ । बैंक ठगी अभियोगमा कैद सजायका लागि २०६० साल वैशाख ११ गते अदालतबाट अन्तिम फैसला भएको थियो।
अग्रवाल पनि सूचीमा
यसैबीच फैसला कार्यान्वयन दस्ताको आग्रहअनुरूप भ्रष्टाचार र अवैध विदेशी विनिमय मुद्दामा सजाय तोकिएका उद्योगपति आनन्द अग्रवाललाई पनि भारतबाट सुपुर्दगीको प्रयास भइरहेको छ।
ब्राइटर टुथपेस्ट उद्योगका सञ्चालक रहेका अग्रवाललाई अदालतबाट झन्डै १० करोड जरिबानासहित जेल सजाय तोकिएको छ। २०६४ चैत ३ गते उक्त सजाय तोकिएको थियो।
फरार अग्रवाल भारतको दिल्लीमा लुकेर बसेको सूचनाका आधारमा कूटनीतिक तबरबाट भारत सरकारसँग सुपुर्दगीका आग्रह गरिने तयारी भइरहेको छ। उनीसँगै भ्रष्टाचारमा मुछिएका अर्का व्यापारी रामकुमार अग्रवाललाई पनि भारतबाट फिर्ता गराउने तयारी भइरहेको जनाइएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्