
- ज्योति दाहाल
१.अल्पाइन बैंकको ८ लाख २० हजार कित्ता हकप्रद संकलन केन्द्र साँगा, नारायणगढ, हेटौंडा र एनएमवि क्यापिटल काठमाडौं गरि ४ वटा मात्र तोकिएको छ । काभ्रेको साँगा जस्तो अपायक ठाउँ केन्द्र तोक्ने धितोपत्र वोर्डलाई के भन्ने ? अनि काठमाडौं जस्तो राजधानीमा जम्मा एउटा केन्द्र ?
२.कसमस बैंकको हकप्रद शेयर आवेदन गर्दा खण्डितलाई कि पूर्ण कित्ता भर्न दिइएन ? बैंकले वोर्डबाट स्वीकृत पाएको विवरण पत्रमा भएको यो वाक्य हेर्नुस ‘साथै उपरोक्त अनुपातमा शेयर जारी गर्दा शेयरधनीहरुको हिस्सामा खण्डीकरण हुन गएमा खण्डीकृत शेयरलाई वोनस शेयर जारी गर्दा आएको खण्डीकृत शेयर जोडी पुरा एक कित्ता हुने सम्म थप गरी आवेदन दिन सकिनेछ ।
बाँकि रहने खण्डीकृत शेयरहरुलाई शेयर लिलामि वा अन्य प्रकृयाद्धारा समूहगत घटबढ नहुने गरी पूरा गरिने छ ।‘ यो व्यवस्था लगानीकर्ताको हितमा छ कि कम्पनीको हितमा ? वोर्डले के उत्तर दिन्छ ? अनि बैंकलाई हकप्रद संकलन गर्न तोकिएको केन्द्र पनि उसकै कार्यक्षेत्र रहेको गोरखा जिल्ला र काठमाडौंमा सिभिल क्यापिटल मात्र तोकिएको छ । साधारण शेयर जारी गर्दा देशभर केन्द्र दिने हकप्रद लिने बेला गोरखा र काठमाडौं मात्र ? काठमाडौंमा एउटा मात्र ? सिभिल क्यापिटलको साख कति छ जनमानसमा वोर्डलाइ थाहा होला नि ! मर्चेन्ट बैंकमा सबभन्दा बदनाम नै यहि हो के यो कुरा वोर्डलाइ थाहा नभएकै हो ?
३.मिथिला लघुवित्तको हकप्रदमा पनि घोटाला भएको छ । ०.४९ सम्मले तल्लो कित्ता पाउने व्यवस्था गरिएको छ। यो पनि लगानीकर्ता माथि घात हो कि हैन ? काठमाडौंमा एउटा मात्र संकलन केन्द्र छ । यो पनि घात हैन ?
४.रिडी हाइड्रोले गुल्मी र पाल्पाको लागि संकलन केन्द्र तोकेन के यो कार्य घात हो कि हैन ? वोर्डलेनै गुल्मी र पाल्पालाई आरक्षित शेयर बेच्न तीन वर्ष अघि स्वीकृति दिएको हैन तर अहिले हकप्रद भर्न चाहिँ केन्द्र तोक्नुपर्दैन ? अनि काठमाडौंमा दुइटा केन्द्र मात्र तोक्ने ? देशका अन्य भागमा चाहिन्न ? वोर्डले के जवाफ दिन्छ ?
५.एनआइसी एसिया बैंकले हकप्रदमा ठूलो घात गर्दाको साक्षी वोर्ड आफैँ हैन ? शेयरधनीको ०.९९ खण्डित आएकोलाइ समेत पूर्ण एक कित्ता बनाउ नभनेको हैन ?
६.सिटिजन बैंक र एनआइसी एसिया बैंकले वार्षिक वित्तीय विवरण निकाल्दा अर्को घात गरे । कम्पनीहरु के के जाति विधिबाट हिसाब गरेको भन्दै पत्रिकामा भनेर पन्छिए तर वोर्डले एक शब्द बोलेन ।
यी त केहि उदाहरण मात्र हुन, यस्ता उदाहरण कयौं छन् जुन धितोपत्र वोर्डलाइ राम्रो थाहा छ । अहिले त्यही वोर्ड मनपरी बोल्दै हिड्न सुहाउँदो हुन्छ कि हुन्न ?
- कालो र सेतो धन लगानी भयो भन्दै कोहोलो हाल्नुपर्ने जरुरत किन परेको ? कालो धन हेर्न सम्पति शुद्धीकरण विभाग र कानुन समेत छ ।
- सूचक गणना कसरी हुन्छ भनेर आजसम्म लगानीकर्तालाई जानकरी गराएको छ ? सूचक धेरै भो र थोरै भो यसको मापन के ?
- साना र ठूला लगानीकर्ता छुट्टयाउने आधार के ? वोर्डले यस्तो निर्देशिका बनाएको छ ?
- बजारमा छिरेपछि साना र ठूला हैन सबै लगानीकर्ता र शेयर व्यापारी हुन । सानाको नाम लिएर कसको सेवा गरेको ?
साना लगानीकर्ताको कुरा गर्दा कुकुरको एउटा सानो प्रसंग उल्लेख गर्नु सान्दर्भिक ठान्छु ।
हामी सबैले कुकुर देखेका पालेका छौं । शहरमा कुकुर घरको शोभा बढाउने जन्तु मात्र हो तर हाम्रो गाउँघरको लागि असल सहयोगी र सूचनादाता हो । त्यसैले कुकुरले पछ्याएको राम्रो मानिन्छ भने घर छाडेमा अशुभ मानिन्छ अझ कुकुर रुनु त झन अशुभ मानिन्छ ।
घरमा पालेको कुकुरलाई मालिकको जग्गा जमिन कहाँ छ राम्रै थाहा हुन्छ त्यसैले कुकुर बारीतिर घुम्न गइरहन्छ। कहिलेकाहीँ बारीमा कुनै जन्तु पसेर बाली खाएको देखेमा टोकेर चिथोरेर धपाउने काम पनि गर्छ । सामान्यतया यो कुकुरको काम हैन तैपनि गर्छ र यति गरेपछि खुशी हुँदै घर आउँछ र मालिकको अगाडी आएर लड़िबुढी गर्दै खुट्टा उचालेर नमस्कार जस्तो पनि गर्छ । र मालिकलाई माया गर्छ र आफुले गरेको काम देखाउन तान्दै लान्छ ।
वोर्ड पनि यहि कुकुर झैं केके न गरें भनेर लगानीकर्तासामु आएर चुइकेर नमस्ते गरे जस्तै गरिरहेको छ । धितोपत्र वोर्डको कार्य कहिलेकाहीँ कुकुरले गरेको यहि कार्य जस्तो भएको छ । वोर्डको नियमित कर्तव्य आफुले नियमन गर्नुपर्ने कम्पनीको सहि नियमन गरेर सहि सूचना सहि समयमा लगानीकर्तालाई दिन लगाउनु हो यति गराउन लगाए लगानीकर्तालाइ अरु केहि चाहिन्न र वोर्ड र लगानीकर्ताको सम्बन्ध सदा सुमधुर रहन्छ ।
- कम्पनीले तीन/तीन महिनामा निकाल्नुपर्ने वित्तीय विवरण कतिले निकाल्छन् थाहा छ ? साधारणसभा पुष महिनाभित्र कति कम्पनीले गर्छन थाहा छ ? नेशनल हाइड्रो, राष्ट्रिय बिमा कम्पनीले लेखापरीक्षण नगरेको कति भो थाहा छ ?
- सम्पूर्ण कम्पनीलाई अभौतिकिकरण गरिएको शेयर मात्र कारोबार गराउने सूचना दिने वोर्डलाई कति कम्पनीले अभौतिकिकरण गरेका छैनन् थाहा छ ? अभौतिकिकरण गरेर कारोबार नगराउने कम्पनीलाई के कारवाही गरियो ? प्राइम लाइफ र एभरेष्ट बिमा कम्पनी कुन हालतमा छन् थाहा छ ?
- बिमा कम्पनीको भाउ एक्कासी बढ्दा मुखमा पट्टी बाँधिएको थियो ? त्यी बेला ३०० रुपैयाँ रहेको शेयर भाउ १५०० पुग्यो । अहिले बैंकको भाउ बढ्दा किन यति धेरै कोहोलो ? के वोर्ड बैंक विरोधी हो ?
- कम्पनीको प्रतिशेयर आम्दानी कति हुनुपर्ने हो ? आम्दानी भएन भन्नेले बरुण, अपि रिडिको आम्दानी कति छ हेरेको छ ?
वोर्डले यो बेला किन त्यो बेला बेच भन्ने पनि हैन शेयर १२ महिना ३६५ दिननै किन्न र बेच्न सकिन्छ। आम्दानी बढे नबढेको हेर्ने पनि वोर्डले हैन हामी शेयरधनी आफै हेर्छौ । कहिले किन्ने कहिले बेच्ने पनि हामी आफै हेर्छौ ।
सामान्यतया आर्थिक वर्ष समाप्त भइ नयाँ आर्थिक वर्ष लागेपछिको ६ महिनासम्म अलि बढी शेयर किनबेच हुने समय हो यस्तो बेला अलि बढी कारोबार हुन्छ ।
यो स्वाभाविक हुँदाहुँदै बेतुकको लेख लेखेर चर्चामा आउन रहरै लागेको हो त वोर्डको अध्यक्षलाई ? के वोर्ड अध्यक्षलाई चर्चा मात्र चाहिएको हो ? सक्छ भने वोर्डले कम्पनीमा सुशासन भएको छ कि छैन दिनुपर्ने सूचना बेलैमा सरोकारले पाए कि पाएनन त्यता पट्टी ध्यान दिनु आवश्यक छ । सहि अर्थमा नियमन भनेको यो हो ।
अन्त्यमा, अकबर वीरबलको एउटा कथासंगै बिट मार्छु ।
एकपटक वादशाह अकबर र बिरबल घुम्दै बगैंचामा पुगेछन । अकबर त्यहाँ रोपिएको बैगनको बोटको छेउमा पुगेर एउटा बैगन सुमसुम्याउन थालेछन र बिरबलतिर फर्केर भनेछन – ‘हेर त बिरबल कति राम्रो सलक्क परेको चिल्लो काँचै खाउँ जस्तो लाग्ने रहरलाग्दो अनि भेट्नु हेर्यो भने मुकुट जस्तो छ । तरकारीको राजा यहि रहेछ ।’
बिरबलले पनि सहमति दिँदै हो महाराज यो त उत्तम तरकारी हो भनेछन ।
त्यसपछि दुबै त्यहाँबाट अन्तै लागेछन र अलि पर पुगेर रोकिएछन त्यहाँ पनि बैगनकै बोट रहेछ तर त्यहाँको बैगन पहिलाको जस्तो रहेनछ ।
अकबरले भनेछन – ‘हेर त बिरबल कति रद्दी बैगन बाँगो खस्रो किरा लागेर जताततै प्वालैप्वाल । बैगन जति रद्दी तरकारी अरु के होला ?’
बिरबलले पनि हो महाराज बैगन त सबैभन्दा रद्दी तरकारी हो भनेछन ।
अकबर – ‘पहिल मैले राम्रो असल भन्दा असल राम्रो भन्यौ अहिले खराव भन्दा पनि खराव नै भन्छौ त किन ?’
बिरबल – ‘महाराज म हजुरको सेवक हुँ बैगनको हैन’ ।
धितोपत्र वोर्ड पनि बिरबल जस्तै छ । धितोपत्र बोर्ड आफू राम्रो नराम्रो केही चिन्दैन । शेयर किनबेच गर्दा क्रेता बिक्रेताले तिर्ने ०.०१५ धितोपत्र शुल्क हामीसँग उठाएर हाम्रो हितमा काम गर्नुपर्नेमा अकबर (कम्पनी) ले जे भन्यो त्यही सहि भन्छ ।
धितोपत्र वोर्डले ‘अकबरको सेवा’ गर्न नछाडेसम्म पूँजीबजार शुद्ध र सुदृढ हुनसक्दैन । सुचिकृत कम्पनीले हरेक तीन महिनामा अनिवार्य सार्वजनिक गर्नुपर्ने वित्तिय प्रतिवेदन प्रकाशन गर्न लगाउँदैन ढिलो प्रकाशन गर्नेलाइ कुनै कार्वाही गर्दैन । कम्पनीले गरेका नितिगत निर्णय लगानीकर्तालाइ थाहै हुन्न ।
धन्य हो, पशुपतिको कृपाले पूँजीबजार चलेको छ जस्तै लाग्छ ।