
काठमाडौं – कांग्रेसँगको सहकार्यमा बुधबार प्रधानमन्त्री निर्वाचित हुन लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अहिले आफ्ना पार्टीबाट मन्त्री बन्ने आकांक्षी व्यवस्थापनको चटारो छ ।
मन्त्री बन्न माओवादीभित्रका नेताहरूले जोडबल गरिरहेका छन् । प्रचण्डनिवास धाउने र सचिवालयलाई खुसी बनाउनका लागि नेताहरू लागिरहेका छन् । पार्टीभित्रका नेतामात्रै होइनन्, साना पार्टीका नेताहरू पनि अहिले लाजिम्पाटसँग सम्बन्ध बलियो बनाउन थालेका छन् ।
माओवादीमा नारायणकाजी श्रेष्ठ समूह र रामबहादुर थापा बादलबीचको समूहमा मन्त्री कसलाई पठाउने भन्ने विषयमा तीव्र मतभेद छ । समानुपातिक सूचीका सांसदहरूले फलानो समूहबाट भन्दै मन्त्री बन्ने आकांक्षा राखेपछि साउन १३ गते बसेको माओवादी केन्द्रको कार्यालय समिति बैठकले मन्त्रीका लागि मापदण्ड नै बनाएको थियो । बादल समूहको दबाबका कारण प्रचण्डले मन्त्री छान्न मापदण्ड बनाएपछि काजी समूहले त्यसमाथि पनि असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।
माओवादीबाट विभिन्न क्षेत्रको प्रतिनिधित्व गरी सरकारमा जान हानथाप गर्नेको ठूलै समूह छ । कसलाई मन्त्री बनाउने भन्ने विषयमा भने कुनै निर्णय भएको छैन । विवादले उग्ररूप लिएको खण्डमा प्रचण्ड बोल्ड निर्णय गर्ने तयारीमा छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारमा पार्टीबाट मन्त्री पठाउँदा पनि तीव्र विवाद भएपछि प्रचण्डले एकल निर्णयबाट मन्त्री छानेका थिए । अहिले पनि तीव्र विवाद भएको खण्डमा मापदण्डका आधारमा प्रचण्डले एकल निर्णय लिन सक्ने लाजिम्पाट स्रोतले जनायो ।
माओवादीबाट मधेसको प्रतिनिधित्व गरी प्रभु शाह वा शिवकुमार मण्डल सरकारमा जाने दौडमा छन् । महिलाबाट रेखा शर्मा दोहोरिने सम्भावना प्रबल छ । यदि, ओली सरकारमा सहभागी मन्त्रीलाई पुन: दोहोयाउने विषयमा विवाद उत्पन्न भएमा महिला र दलित कोटाबाट सीता नेपाली सरकारमा जाने लगभग पक्का छ । दलित कोटाबाट भने दलजित श्रीपाली जान तयार छन् । उनी प्रचण्ड निकट हुन् ।
ओली नेतृत्वको सरकारमा प्रचण्डले उनलाई राज्यमन्त्री बनाउने तयारी गरेको थियो । महिला कोटाबाट सरकारमा जान दौडधुप थालेकी कमला दोङलाई राज्यमन्त्री बनाई थन्क्याउने प्रचण्डको तयारी छ ।
त्यसैगरी माओवादीबाट हितराज पाण्डे भने मन्त्री बन्ने पक्का छ । लामो समय शिक्षण पेसामा आबद्ध भई माओवादीमा लागेका पाण्डेलाई मन्त्री बनाउनुपर्नेमा माओवादीभित्र एकमत छ । कर्णाली क्षेत्रको प्रतिनिधित्व गर्न टेकराज शाही, महेन्द्र शाही दौडधुपमा छन् ।
उनीहरूबीच कसलाई मन्त्री बनाउने भन्ने विषयमा माओवादीभित्र अन्योल कायमै छ । बाबुरामले पार्टी छाडेपछि विरासत समाउन टोपबहादुर रायमाझीसँग हानथापमा रहेका राम कार्की पनि मन्त्री बन्ने पक्कापक्की छ । स्रोतका अनुसार कार्कीलाई मन्त्री बनाउनेमा प्रचण्ड र अन्य शीर्ष नेता सहमत छन् । १ नम्बर प्रदेश इन्चार्ज रहेका कार्कीलाई त्यहाँका नेता कार्यकर्ताले मन्त्री बनाउनुपर्ने माग राखी प्रचण्डलाई भेटेका पनि छन् । कार्कीलाई पर्यटन वा शिक्षा मन्त्री बनाउनैपर्ने अडान राखेका छन् ।
पछिल्लो समय माओवादीबाट सरकारमा कसले प्रतिनिधित्व गर्ने विषयमा समेत मतभेद सुरु भएको छ । ओली सरकार ढाल्न प्रमुख भूमिका निभाएका कृष्णबहादुर महरालाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको जिम्मेवारी दिने प्रचण्डको तयारी थियो । तर, पछिल्लो समय माओवादी केन्द्रका अर्का नेता जनार्दन शर्माले गिरिराजमणि पोखरेललाई उचाल्दै पार्टीबाट सरकारको नेतृत्व लिन घचघच्याइरहेका छन् ।
तर, गिरिराजमणिलाई दोहो¥याएर सरकारमा पठाउन नहुने भन्दै काजी समूहले विरोध जनाउन थालेका छन् । गिरिराज पहिले काजी समूहमा थिए । पछिल्लो समय उनी काजी समूहबाट प्रचण्ड समूहमा लागेका हुन् ।
ओली सरकारमा उपप्रधानमन्त्रीसहित गृहमन्त्रालय कसले सम्हाल्ने भन्ने विषयमा महरा र शर्माबीच मतभेद भएपछि प्रचण्डले टोपबहादुर रायमाझीलाई उपप्रधानमन्त्रीसहित ऊर्जामन्त्राय र शक्तिबहादुर बस्नेतलाई गृहमन्त्रीको जिम्मेवारी दिई विवाद टुंग्याएका थिए । आजको जनप्रहार साप्ताहिकमा खबर छ ।