×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७४ सालमै गुणस्तरहीन प्रमाणित भएको थियो अर्घाखाँची सिमेन्ट, ४,९०,००० बोरा गुणस्तरहीन सिमेन्ट बजारमा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०७४ सालमै गुणस्तरहीन प्रमाणित भएको थियो अर्घाखाँची सिमेन्ट, ४,९०,००० बोरा गुणस्तरहीन सिमेन्ट बजारमा !

Artha Sarokar

३ मंसिर २०७५, सोमबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पटक-पटक गुणस्तरहीन प्रमाणित भएर पनि अर्घाखाँची सिमेन्टलाई कारवाही नभएको प्रमाण अर्थ सरोकार डटकमले फेला पारेको छ । अर्थ सरोकार डटकमलाई प्राप्त मिति २०७४ मङ्सिर १ गते नेपाल गुणस्तर तथा नापतौल विभागको पत्र संख्या नि.शा ९२ चलानी नम्बर ८७२ को पत्रमा अर्घाखाँची सिमेन्ट प्रालिका नाममा विभागका तत्कालीन निर्देशक आलोक कुमार मिश्रले हस्ताक्षर गरेको पत्रमा सिमेन्ट गुणस्तरहीन भएपछी स्पष्टीकरण पेश गर्न परिपत्र भएको छ ।
उक्त पत्रमा मिति २०७४ साला भाद्र ४ गते बजार अनुगमनका क्रममा पन्चमेश्वर हार्डवेर स्वयम्भू -१५ काठमाडौँबाट संकलित र अर्घाखाँची सिमेन्टले उत्पादन गरेको ब्याच नम्बर ७४-४२५ जी नमुना परिक्षण गराउँदा गुणस्तरको मापदण्ड विपरित रहेकाले सो ब्याचका सम्पूर्ण ओपीसी बजारबाट फिर्ता लिन निर्देशन दिइएको छ । उक्त पत्रको बुँदा नम्बर ‘घ’मा नेपाल गुणस्तर प्रमाण चिन्ह नियमावली २०४० को नियम (१६) अनुरुप उद्योगलाई प्रदान गरिएको इजाजत पत्र रद्ध किन नगर्ने ? कुनै कारण भए १५ दिनभित्र आफ्नो सफाइको सबुत प्रमाण सहित पेश स्पष्टीकरण गर्न हुन भनिएको छ ।
सो पत्रको जवाफमा मिति २०७५ साल ३-२० गते सिमेन्ट उद्योगले स्पष्टीकरण त दिएको छ तर उक्त सिमेन्ट बजारबाट फिर्ता ल्याईएको छ कि छैन, त्यसपछि के गरियो भन्ने केहि उल्लेख गरेको छैन । उसले घुमाउरो पाराले आफ्नो गल्ती स्वीकारेको छ तर भविष्यमा उक्त विषयलाई गम्भीरतापूर्वक लिई आगामी दिनमा नियन्त्रण प्रयास गरिने व्यहोरा स्पष्टीकरण पत्रमा उल्लेख गरेको छ ।
तर स्पष्टीकरण पेश गरेको ठिक अघिल्लो दिन अर्थात मिति २०७५ भाद्र ०८ गते पुन विभागले गरेको अनुगमनका क्रममा  पुन: सिमेन्ट गुणस्तरहिन भेटिएको छ । मिति २०७५ असार १९ गते गरिएको अनुगमनमा श्री सन्तोष निर्माण सामाग्री सेन्टर भी न पा-३ दोलखाबाट संकलित सिमेन्ट गुणस्तरको नियमानुसार नभएको भन्दै २०७५ साल ०५-०८ गते विभागले पुन उक्त ब्याचका सबै सिमेन्ट फिर्ता गर्न निर्देशन गरेको छ । विभागका निर्देशक राम किसुन गिरीको हस्ताक्षर रहेको उक्त पत्रको हालसम्म सिमेन्ट उद्योगले स्पष्टीकरण जवाफ  पेश गरेको छैन ।
यी त अर्थ सरोकार डटकमले विशेष स्रोतबाट पाएका प्रमाणहरु मात्र हुन् । यसरी अरुपटक पनि सिमेन्टलाई विभागले पत्र काटेको हुन सक्छ । माथिका २ पत्रलाई मात्र आधार बनाउने हो भने पनि सिमेन्ट २ पटकसम्म गुणस्तरहीन प्रमाणित भएको छ तर उद्योगलाई कुनै पनि कारवाही गरिएको छैन । यसले विभाग र उद्योगबीच केहि न केहि मिलेमतो पक्कै छ भन्ने बुझ्न गाह्रो नहुने विभागकै केहि कर्मचारीहरुको दावी छ ।
विभागका डीजी भन्छन्, ‘इजाजत नवीकरण गरिएको छैन’
यता उद्योग विभागका डीजी विश्वबाबु पुडाशैनीलाई हामीले यस सिमेन्टको बदमासीका बारेमा सोधेका थियौं । ‘स्टाफको लापरवाही अलि बढी नै छ अर्घाखाँची सिमेन्टमा । उनीहरु इजाजत नवीकरणका लागि पनि आएका थिए । तर हामीले नवीकरण दिएनौं । पछिल्लो समय मागिएको स्पष्टीकरणको जवाफ आएको छैन । त्यसैले हामीले नवीकरण रोकेका छौं ।’ उनले अर्थ सरोकार डटकमसँग भने । ‘तपाईंको निर्देशन उद्योगले टेरेको छैन, गुणस्तरहीन सिमेन्ट बजारबाट फिर्ता पनि भएको छैन, किन कारवाही भएन ?’ भन्ने हाम्रो प्रश्नमा उनले प्रयोग भइसकेका सिमेन्ट फिर्ता ल्याउन सम्भव नरहेको बताए । ‘हामीकहाँ कानुन नै फितलो छ । कि इजाजत नै खारेज गर्नु पर्यो, अरु कारवाहीका कुनै पनि व्यवस्था छैन । हामीले अर्घाखाँची सिमेन्ट पटक-पटक गुणस्तरहीन भएको प्रमाण फेला पारेका छौं । हाललाई इजाजत नवीकरण रोकेका छौं ।’ उनले भने । साथै उनले विभागले नमुना परिक्षण गरी कैफियत भेटिएका ब्याचहरुमा उत्पादित सिमेन्ट प्रयोग गरिएका संरचना कमजोर हुने स्पष्ट पारे । ‘मैले फोन गरेर नै उनीहरुलाई लापरवाही अलि बढी नै भयो भनेर भनेको छु । हेरौं अव केस कसरी अगाडी बढ्ला ।’ उनले भने ।   

सम्पर्कमै आउन चाहादैन अर्घाखाँची सिमेन्ट 
यस विषयमा हामीले पटक-पटक सिमेन्ट उद्योगमा फोन गरेका थियौं । त्यहाँ फोन गर्दा मिडियाको सवालमा महेन्द्र कोइराला बोल्नुहुन्छ भनिन्छ । तर महेन्द्र कोइरालालाइ पटक पटक फोन गर्दा पनि उनले फोन उठाएका छैनन् । अर्थ सरोकार डटकमले सिमेन्टका कर्तुतबारे प्रमाणसहित पटक पटक फलोअप गरेपछि उनी यस विषयमा बोल्न चाहिरहेका छैनन् । सोमबार पनि हामीले विभाना ९ बजेर ५८ मिनेट जाँदा उनलाई फोन गरेका थियौं । तर उनको मोबाइल अफ थियो । अर्घाखाँची सिमेन्टले पछिल्लो समय इजाजत नवीकरण समेत नगरी धमाधम सिमेन्ट उत्पादन गरिरहेको छ । अर्घाखाँची सिमेन्टकै तथ्यांक पत्याउने हो भनेपनि दिनमा करिव ३५ हजार बोरा सिमेन्ट उत्पादन हुन्छ । विभागका डिजीका अनुसार एक ब्याच भनेको लगभग एक हप्ताभित्र उत्पादन भएका सिमेन्ट हुन् । यहि तथ्यांकलाई आधार मान्ने हो भने पनि २ पटकका ब्याच गरी (३५०००X ७=२४५०००X २=४९००००) बोरा गुणस्तरहीन सिमेन्ट बजारबाट फिर्ता ल्याइएको छैन । कति प्रयोग भएर ढल्न ठिक्क परेका होलान् । मानव जीवनमा यति ठुलो असर गर्ने काम भएपनि सिमेन्टलाई कारवाही गरिएको छैन ।

(यस विषयमा तयार गरिएको भिडियो सामाग्री हामी छिट्टै नै प्रकाशन गर्दैछौं ।- सम्पादक)      

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी