- रत्न राज बज्राचार्यसँग ‘ती दिनहरु’को सम्झना
रत्न राज बज्राचार्य । हाल सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत । नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का पूर्व अध्यक्ष । नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) का पनि पूर्व अध्यक्ष, आरआर बज्राचार्य एण्ड कम्पनीका पूर्व संचालक, म्याक कन्सल्टेन्सीका पूर्व निर्देशक । इतिहासका पानामा थुप्रै सफलताका रेखाहरु कोरेका छन् उनले । र त आज सबैजसो ‘प्रोफेसनल’का प्रिय पात्र बनेका छन् उनी । भारतीय चार्टड एकाउन्टेन्ट्स संस्था (आइसीएआइ) बाट सिए उतिर्ण गरेका उनले नेपालमा नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेका छन् । नेपालको चार्टड एकाउन्टेन्ट्स ऐन बनाउने काममा होस् वा नेपाल राष्ट्र बैंकका महत्वपूर्ण किताबी दस्तावेज तयार गर्न, उनको भूमिका उल्लेखनीय छ । हुन त अहिले पनि धेरैले रत्नराज धेरै ‘खरो’ छ, उस्तै पर्यो भने मान्छे पिट्न सक्छ भनेर चर्चा पनि गर्छन् धेरै ठाउँमा । तर काममा खरो उनी, व्यक्ति भने शालीन छन् । गतिलो बैंकरको लिष्टमा उनको नाम पहिलो नम्बरमा लिनेहरु धेरै छन् । ‘कम्प्लाइन्स’मा रत्नराजजति राम्रो काम गर्ने सीइओ कम छन् भन्नेहरुको संख्या पनि ठूलो छ । आज हामीले उनको त्यहि अनुभवलाई सुन्ने-बुझ्ने प्रयास गरेका छौं । अर्थ सरोकार डटकमको साप्ताहिक स्तम्भ ‘ती दिनहरु’मा आज हामी चार्टड एकाउटेन्टसमेत रहेका रत्न राज बज्राचार्यका पूराना दिनहरु खोतल्ने प्रयास गर्दैछौं ।
‘खरदार’लाई चार्टड एकाउन्टेन्ट हुन बाट रोकें’
त्यो बेला नेपालमा चार्टड एकाउन्टेन्ट सम्बन्धि कुनै पनि ऐन आएको थिएन । यो ऐन ल्याउन खुब मेहेनत गरेको छु मैले । तर ऐन बनाउँदा केहि साथीहरुले खुब चलखेल गर्न खोजे । सरकारी सेवामा १५ बर्ष बिताएपछि सिधै चार्टड एकाउटेन्ट बन्ने नियम खुसुक्क हालिएको रहेछ । मैले त्यसको डिफेन्ड गरें । साथीहरु मसँग बाझे । तर मलाई त्यो नियम कुनै पनि हालतमा स्वीकार्य थिएन । मैले ‘नोट अफ डिसेन्ट’सहित उक्त ड्राफ्टमा हस्ताक्षर गरें । पछि आर्थिक समितिमा पनि मैले यो कुराको ‘डिफेन्ड’ गरें । महालेखाका साथीहरु कुनै पनि हालतमा यो नियम पास हुनुपर्छ भनेर लागेका थिए । तर मेरो त्यसमा स्वीकृति हुने कुरै थिएन । त्यसपछि सरकारी सेवामा १५ बर्ष बिताएपछि सिधै सिए हुने व्यवस्थाको बुँदालाई हटाएर उक्त ड्राफ्ट राष्ट्रिय पन्चायत पुग्यो । केहि रजिष्टर्ड अडिटर साथीहरु र केहि सरकारी कर्मचारीहरु मसँग खुब रिसाए पनि । त्यसपछि विष्णु प्रसाद केसी महालेखा परिक्षक भए । चार्टड एकाउन्टेन्ट्स ऐन बनिसकेपछि पनि ७ बर्षसम्म उनले लेखापरिक्षण ऐन खारेज गरेनन् । अहिले ती दिनहरु सम्झंदा लाग्छ, मैले त्यति नगरेको भए अहिलेको जस्तो सिएहरुको इज्जत हुने थिएन । १५ बर्ष सरकारी काममा रहेकाहरु सिए हुन्थे ।
‘१० जना सिए मिलेर अघि बढ्छन् भन्ने सोच थियो तर…’
नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाको काउन्सिलको ‘स्टक्चर’पनि बनाउन पनि खुब मेहेनत गरियो । अहिले पनि काउन्सिलमा १० जना सिए, ४ जना आरए, र ३ जना सरकारी प्रतिनिधिको काउन्सिलमा प्रतिनिधित्व हुने गर्छ । यो कुरामा पनि साथीहरुले खुब चलखेल गर्न खोजेका थिए । तर मैले मानिन । मैले सोचेको थिएँ, ‘१० जना सिए मिलेपछि त यहाँ जे पनि गर्न सकिन्छ ।’ अहिले कहिलेकाहीं ती १० जना सिए पनि नमिलेकाले ४ जना आरएहरु ‘किङ मेकर’ भएको देखेर अचम्म लाग्छ । त्यो बेला हामी १०० जना पनि सिए थिएनौं । त्यहि बेला हजारौं आरएहरु थिए । खुब दबाबका बीच हामीले काउन्सिलमा हाम्रो जित गराएरै छोड्यौं । खासखुस गर्दै मेरो विरुद्धमा अर्थमन्त्रीकहाँ कुरा पुगेछ । यहि कुरालाई लिएर त्यो बेलाका अर्थमन्त्री राम शरण महतले मलाई बोलाए । उनीकहाँ पुगेपछि म आफैं छक्क परें । किनकि उनले उक्त ड्राफ्टमा के-के मिलेको छैन आफैं मिलाउनु भनेर अर्हाए । बल्ल म खुसी भएँ । अर्थमन्त्रीलाई मलाई चित्त नबुझेको बुँदामा ‘कन्भिन्स’ पनि गरें । उनी पनि कन्भिन्स भए । त्यसपछि आइक्यानको काउन्सिल सदस्यमा १० जना सिए हुने, ४ जना आरए हुने र ३ जना सरकारी प्रतिनिधि हुने नियम पास भयो ।
‘विष्णु प्रसाद केसीको त्यो उर्दी र चुनाव हार्दाको त्यो पल’
आइक्यानमा १० जना सिए भएपछी के हुँदैन र भन्ने सोचेर १० जना सिए हुने व्यवस्था गर्न भूमिका खेलेको थिएँ । आइक्यानको दोश्रो काउन्सिलमा ‘तपाईं अध्यक्ष हुनुपर्यो’ भनेर साथीहरुले मलाई उठाए । तर जसलाई पनि सिए नबनाएको झोक बिष्णु बहादुर केसीले त्यो बेला फेरे । उनले सबैलाई मलाई भोट नहाल्न उर्दी जारी गरे । उनले बिके अग्रवाललाई अध्यक्षमा उठाउन पहल गरे । अर्को एक जना सिएले मलाई भोट हालेनछन् । त्यसपछि सिए तर्फ हामी ८ भयौं । उता नौ जना भए । मैले चुनाव हारें । साथीहरु मिलेर अगाडी बढ्छन् भनेर त्यति दु:ख गरेर काउन्सिलको ‘फर्मेसन’ बनाएको खास काम लागेन । पछि चौथो काउन्सिलमा म अध्यक्ष भएँ । मेरो कार्यकालमा सरकारी प्रतिनिधिमा पनि रामेश्वर खनाल, सुरेन्द्र प्रधान लगायत आउनुभयो । त्यो बेला राम्रो काम गर्न सकियो । तर आइक्यानमा अध्यक्ष हुन अहिले पनि आरए र सरकारी प्रतिनिधिको चाकडी गर्ने चलन बिकसित भयो । सबैलाई सिए नबनाएको झोंकमा ७ बर्षसम्म लेखापरीक्षकले खुब राजनीति गरे । त्यो बेला बिष्णु प्रसाद केसीले थुप्रैलाइ रजिष्टर्ड अडिटरको लाइसेन्स बाँडे । २५०० को हाराहारीमा रहेका आरएहरु ७-८ हजार भए । त्यहि भएर अहिले लेखापरीक्षणसम्बन्धि केहि नजानेकाहरु पनि आरए छन् ।
‘मलाई सिए बनाउनुपर्यो’ भन्नेलाई ‘जाँच पास गरेर आउनु भनेर पठाउँथें’
म अध्यक्ष भएको बेला पनि आरएहरुलाई सिए बनाउने दबाब आउंथ्यो । तर मैले ‘सिए हुने भए जांच पास गरेर आउ’ भन्थें । यहि कुरामा धरै मसँग रिसाएका छन् । तर त्यति मेहेनतले १० जना काउन्सिलमा पुर्याएको दिन सम्झंदा र अहिले आरएअह्रुको दबदबा देखेर चित्त बुझ्दैन । त्यो बेला नै ५ जना आरए ५ जना सिए गर्ने कुरा पनि केहिले उठाएका थिए । त्यसो गरेको भए त इन्स्टिच्युट त्यहि बेला नै खत्तम भइसक्थ्यो । यहि कारणले पनि त्यतिबेला नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)लाई क्लबका रुपमा मात्र भएपनि जोगाएर राख्नुपर्छ भन्ने मेरो मान्यता थियो । त्यहि अनुरुप एक्यान अहिले पनि छ । १० जना आइक्यानमा कसलाई पठाउने भन्ने कुरा एक्यानले भूमिका खेल्छ भन्ने मेरो अनुमान थियो ।
‘भारतको जस्तै नियम बनाएकोमा पछुतो छ’
त्यो बेला १० जना सिए कसरी काउन्सिलमा पुग्छन् भन्ने कुरामा भारतमा ‘प्रोपोर्सेनेट’ व्यवस्था थियो । नेपालमा पनि त्यहि गरियो । केहि जिम्मेवार साथीहरुले यसै गरौँ भने । पछी गएर यो व्यवस्थाले कस्तो समस्या ल्याउँछ भन्ने कुरा सोच्ने सकिन । त्यहि नियमका कारण अव सिनियर सिएले आइक्यानमा जित्ने अवस्था छैन । ६०-७० जना सिए हातमा लियो भने चुनाव जितिने भइयो । त्यो नियम बनाएकोमा खुब पछुतो छ । अझ पछिसम्म पनि यो हिसाव हामीले गर्न जानेनौं । भवनाथ दाहाल त्यसका एक्स्पर्ट हुन् । उनले जसो जसो भन्थे, हामी त्यसै त्यसै मान्थ्यौं । तर यस्तो व्यवस्थाले सबैको प्रतिनिधित्व हुन्छ जस्तो लाग्दैन । यो नियम परिवर्तन गर्न पनि खुब प्रयास गर्यौं । तर अहिलेसम्म त्यो नियम बदलिएको छैन ।
‘१९९४मा एक पेज परामर्श दिएको डेढ लाख फी लिन्थें, बार्षिक डेढ करोड बढीको कारोबार थियो’
त्यो बेला कन्सल्टेन्सीमा मेरो कम्पनी सार्है चलेको थियो । सबैले मलाई नै काम दिन्थें । एक पेजको कन्सल्टेन्सी सेवा दिएको डेढ लाख फी लिन्थें । त्यो बेला पनि म अडिटभन्दा कन्सल्टेन्सीमा जोड दिन्थें । मेरो कम्पनीको कारोबार त्यो बेला नै वर्षको डेढ करोड बढी थियो । किताब नै तयार बनाएर पनि मैले करोडौं रुपैयाँ फी लिएको छु । नेपाल राष्ट्र बैंकको काम गर्दा किताबको काम गरेर मैले डेढ करोडसम्म फी लिएको छु । अहिलेको कमाइ त खास केहि होइन । त्यो बेलाको कन्सल्टेन्सीको क्रेज नै फरक थियो । कतिपयले त मलाई नै काम दिनुपर्छ भनेर जिद्दी पनि गर्थे । रत्नराज बाहेक यो काम अरुले गर्न सक्दैन भन्नेहरु पनि धेरै थिए ।
‘साथीहरुले अख्तियार गुहारे, मैले सफाई पाएँ’
मेरो कन्सल्टेन्सी यतिसम्म ‘ब्रान्डेड’ थियो वा मलाई सबैले यतिसम्म विश्वास गरेका थिए कि राष्ट्र बैंकले मलाई बिना टेन्डर काम दिएको थियो । यहि कारण केहि आफ्नै साथीहरुले अख्तियारमा मेरो विरुद्ध उजुरी गरे । तर काम राम्रो हुनुपर्ने भएकाले र कन्सल्टेन्सी भनेको आवश्यकता अनुसार टेन्डर नगरेपनि हुन्छ भन्ने फैसला आयो । त्यो बेला पनि रत्न राज बज्राचार्यले जस्तो राम्रो काम कसैले गर्न सक्दैन भन्ने थियो । त्यसपछि पनि मैले धेरै काम गरें । पछि त बैंकिङमा आएँ । फर्म चलिरहोस् भन्ने थियो । मेरो कम्पनी पनि चलिरहोस् भन्ने थियो । तर ‘नाम मेरो गाउँ तेरो’ जस्तो हुनेभयो । त्यसपछि त्यसलाई बन्द गरें । पछी त सिएहरुलाई एक व्यक्ति एक पेशाको नीति लाग्यो ।
‘आइक्यानको कामदेखि सन्तुष्ट छैन’
अहिले आइक्यान रेगुलेटर भन्दा पनि बढी विद्यार्थी पढाउने कलेजजस्तो भयो । बर्षमा २-३ चोटी बोलाउँछन्, जान्छु । त्यति हो । साथीहरु भव्य कार्यक्रम गर्यौं भन्छन् तर संस्थाले निकालेको ‘म्यागजिन’ पनि सबैलाई राम्रोसँग बाँड्दैनन् । कतिपटक त मैले नै पाएको छैन । म्यागजिनलाई बिज्ञापन माग्न चाहिं आउँछन् फेरि । अहिले त ‘ओभरसाइट बडी’को कुरासमेत आइसकेको छ । अनुसासन समितिमा आफ्नै साथीहरु छन् भनेर कारवाही गरेको देखिएन । यसले हामीलाई नै कमजोर बानाएको छ । हामी त खोट देखाएर पनि पैसा पाउने पेशामा छौं । पेशा सम्मानित छ । हाम्रो साख जोगाउनुपर्ने हामीले नै हो । यसमा सबैले ख्याल गर्नुपर्छ ।
‘बैंकिङमा खुसी छु’
केहि समययता बैंकिङमा छु । यसमा खुसी पनि छु । बैंकर्स संघमा पनि सकेको गरें । अहिले सनराइज बैंकले पनि राम्रो गरिरहेको छ । नेपाल राष्ट्र बैंकको अनुभव भएकाले पनि धेरै कुरामा सजिलो भएको छ । आफ्नो प्रोफेसनका साथीहरुको राम्रो होस् भन्ने चाहना राख्छु । मैले कुनै बेला सिकाएका भाइहरु, साथीहरु अहिले ठुलो अहोदामा हुनुहुन्छ । निकै खुसी छु । उदाहरणका लागि मैले सिकाएको बिबेक झा अहिले नेपाल लाइफमा सीइओ छन् । सिटिजन्स बैंकमा भर्खर सीइओ छोडेर राजन सिंह भण्डारी पनि मैले सिकाएको मान्छे हो । महाप्रसाद अधिकारीले पनि मसँगै काम गरेको हो । मैले सिकाएको अपच यादब अहिले मसँगै छ । यसमा गर्व लाग्छ । मैले दिएको प्लेटफर्मबाट उठेर साथीभाइ राम्रो ठाउँमा पुगेका छन्, खुसी लाग्छ ।
प्रस्तुती : सुरज प्याकुरेल
(अनुभवको कुनै मूल्य हुँदैन । हामीले अनुभव लिएकाबाट धेरै कुरा सिक्नु छ । यहि कुरालाई मध्यनजर गर्दै आर्थिक क्षेत्रमा लागेका केहि अनुभवी व्यक्तिका ‘ती दिनहरु’ सम्झने प्रयास हो हाम्रो ।- सम्पादक)