×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकमा बदमासीको हद नाघ्यो, इन्टरनल अडिट रिपोर्टसहित बैंकका गोप्य डकुमेन्टहरु बाहिरिए… दोषी को ?

PRIME CA

सनराइज बैंकमा बदमासीको हद नाघ्यो, इन्टरनल अडिट रिपोर्टसहित बैंकका गोप्य डकुमेन्टहरु बाहिरिए… दोषी को ?

१४ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सनराइज बैंकमा सीइओ जनक शर्मा पौड्याल र संचालक समितिको टसल अनियन्त्रित रुपमा अगाडी बढ्न थालेको छ । पाँच संचालकले हस्ताक्षर गरेर ६ बुँदे अभियोगसहितको पत्र अध्यक्षलाई बुझाएपछि यो विवादले चर्को रुप लिएको थियो । कर्मचारीमाथि असमान व्यवहार गरेकोदेखि सम्झौताअनुसार काम गर्न नसकेको, लगायतका गम्भीर आरोप उल्लेख गर्दै सीइओलाई संचालकले पत्र लेखेपछि स्थिति फरक भएको थियो । बैंकको सञ्चालक समितिका सदस्यहरु मालचन्द दुगड, शैलेन्द्र गुरागाईँ, ओमकृष्ण जोशी, शारदा शर्मा पुडासैनी र बच्छराज तातेडले हस्ताक्षर गरेको उक्त पत्रमा लगाईएका आरोपहरुबारे सीइओ पौड्यालले स्पष्टीकरण दिइसकेका छन् ।
स्थिति नियन्त्रण बाहिर !
स्थिति यतिसम्म नियन्त्रणबाहिर जान थालेको छ कि बैंकका कतिपय गोप्य डकुमेन्टहरु मिडियालाई पत्राचार भएका छन् । बैंकको आन्तरिक लेखापरिक्षण रिपोर्ट मिडियालाई पत्राचार गर्नेसम्मको हर्कत भएको छ । आन्तरिक लेखापरिक्षणको प्रतिवेदन आन्तरिक लेखापरीक्षकले व्यवस्थापनलाई बुझाउने प्रतिवेदन हो । जसमा बैंकका कैफियतहरु उल्लेख गरिएको हुन्छ । आन्तरिक लेखापरिक्षणमा बैंकभित्र भएका अपरेशनल त्रुटीको चाङ मात्र छैन, जनविश्वास माथि प्रश्न उठ्नेगरी केहि ‘कैफियत’हरु छन् ।
sunrise*****gopya@gmail .com मार्फत मिडियामा पठाइएको आन्तरिक लेखापरिक्षण प्रतिवेदनमा बैंकभित्र भएका अनेक गल्तीहरु समावेश गरिएको छ । विभिन्न ब्रान्चका डकुमेन्टका कैफियतलाई बटुलबाटुल गरेर मिडियाहरुमा पत्राचार गरिएको रिपोर्टमा ब्रान्चका थुप्रै कैफियतहरु उल्लेख छ । यसो त यो सबैजसो बैंकमा हुन्छ । लेखामा के ठिक छ, के छैन भनेर तयार गरिएको प्रतिवेदन व्यवस्थापनलाई दिने हो । तर त्यहि रिपोर्ट मिडियालाई पत्राचार गरिएको छ । उक्त रिपोर्टमा ब्रान्चको त्रुटीलाई संचालकसँग जोडेर इमेल पठाइएकोले पनि यो कतै सीइओकै निर्देशनमा संचालक खुइल्याउने काम त होइन ? भन्ने प्रश्न उठेको छ । तर पत्रकारले हाइलाइट नगरेका चिज पनि पढ्छन् र आन्तरिक लेखापरिक्षण रिपोर्टमा कति संवेदनशील कुरा पनि हुन्छ भन्ने तथ्य पठाउनेले बिर्सेका छन् ।
उक्त रिपोर्टमा ब्रान्चका अनेक त्रुटीहरु, कर्जा प्रवाहका क्रममा भएका अनेक खालका कैफियतहरु, लेखामानका सिद्धान्त विपरित भएका कामहरु, भुक्तानीका कैफियतहरु, कर्जा प्रवाहका क्रममा हुनुपर्ने डकुमेन्ट उल्लेख नगरेका तथ्यहरु लगायत धेरै कैफियतहरु उल्लेख छन् । 
यसो त सनराइज बैंकभित्रका गोप्य कागजातहरु मिडियामा यसअघि पनि नआएका होइनन् । सीइओलाई संचालक समितिले सोधेको स्पष्टीकरण, अध्यक्षलाई संचालक समितिले पठाएको पत्र लगायतका पत्र पनि मिडियामा छरपष्ट छन् । सम्भवत: इतिहासमै पहिलो पटक यसरी वाणिज्य बैंकका निकै गोप्य डकुमेन्टहरु बाहिरिएको यो पहिलो घटना हो ।   
के भन्छन् आन्तरिक लेखापरिक्षण विभागका प्रमुख ?
यस विषयमा हामीले आन्तरिक लेखापरीक्षण विभागका प्रमुख इश्वर कार्कीलाई बैंकको धारणा के हो ? भनेर सोधेका थियौँ । उनले आन्तरिक लेखापरीक्षण टिआर उपाध्याय एण्ड कम्पनीले गरिरहेको बताउँदै सो रिपोर्ट कसरी मिडियासम्म पुग्यो भन्ने तथ्य बुझ्न आवश्यक भएको बताए । त्यसपछि हामीले उनलाई ‘तपाईं त अडिट डिपार्टमेन्टको हेड, यस्तो रिपोर्ट बहिर आउँदा तपाईंको दायित्व हुँदैन ?’ भनेर प्रश्न गर्यौँ । उनले जवाफ दिए, ‘अडिट रिपोर्टको कुरा गर्नुहुन्छ, बैंकको कस्ता कस्ता गोप्य डकुमेन्ट तपाईं अर्थ सरोकारले नै छाप्नुभयो नि होइन र ?’ केहि समय अगाडी सार्वजनिक भएको अध्यक्षले सीइओसँग सोधेको स्पष्टीकरण पत्रलाई संकेत गर्दै उनले अगाडी भने, ‘अडिट रिपोर्ट नै मिडियामा पुग्नु गलत नै हो । तर त्यसभन्दा गोप्य डकुमेन्टहरु नै मिडियामा आएका छन्, के भन्ने ?’      
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: