
कञ्चनपुर । कञ्चनपुरका होटेल व्यवसायीलाई लगानी डुब्ने चिन्ता बढ्न थालेको छ । कोभिड–१९ को महामारीपश्चात् सिर्जित समस्याका कारण पर्यटनको मूल आधारका रुपमा रहेका होटल व्यवसायको कारोवार ठप्प रहेको छ । महिनौँसम्म होटल बन्द गर्नुपर्दा होटल व्यवसायी पेशा पलायन हुन थालेका छन् । सयौँ कामदारको रोजगारी गुमेको छ । कोरोनाले सिर्जित समस्याका कारण होटल व्यवसाय घराशायी हुन थालेको होटल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष परमानन्द भण्डारीले बताउनुभयो ।
“पाँच महिनादेखि होटल व्यवसाय बन्द छ”, अध्यक्ष भण्डारीले भन्नुभयो”, “धेरै व्यवसायीले होटल सञ्चालनका लागि बैंकबाट कर्जा लिएका छन् । होटल सञ्चालनै नभएपछि कर्जा तिर्न सकिने अवस्था छैन ।” उहाँका अनुसार होटल व्यवसायीलाई बैंकको कर्जासँगै घर भाडा तिर्नसमेत निकै समस्या छ । साना खाजा नास्ताका होटल व्यवसायीले होटल खोल्ने गरे पनि थोरै मात्र ग्राहक होटलमा आउने गरेका छन् ।
निश्चित समयभित्रै होटेल बन्द गर्नुपर्ने भएकाले समेत कारोवार न्यून रहेको छ । जसबाट घरभाडासमेत तिर्ने रकम जोहो गर्न सकिएको छैन । ठूला र स्तरीय होटेल भने पाँच महिनादेखि बन्द छन् । “जिल्लामा रहेका एक हजार ३०० होटेलको दैनिक कारोवार रु एक करोडमाथि हुने गरेको थियो”, अध्यक्ष भण्डारीले भन्नुभयो, “जसबाट २० देखि ५० प्रतिशतसम्म मार्जिन आउने गरेको थियो । देशको अर्थतन्त्रको मूल आधारका रुपमा रहेको होटल व्यवसाय बन्द भएपछि निकै घाटा लागको छ ।”
बन्दाबन्दी खुलेपछि पनि अन्य व्यवसाय जस्तै गरी होटल व्यवसायलाई सञ्चालन गर्न सकिने अवस्था नभएको होटल व्यवसायीको भनाइ छ । सङ्क्रमण अवधिभरिनै व्यवसायमा ठूलो असर पर्ने भएकाले बिजुली, पानी, टेलिफोन, इन्टरनेटको महसुलमा छुटसँगै घरभाडा र बैंकको कर्जाको ब्याज मिनाहा गरिनुपर्ने होटल व्यवसायी धनञ्जय जोशीले बताउनुभयो ।
“ऋण तिर्ने समयावधि कम्तीमा दुई वर्ष थप गरी बन्दाबन्दी अवधिभरको ब्याज मिनाहासँगै कृषि उद्योगसरह सहुलियत ब्याजदर कायम गरिनु पर्दछ”, उहाँले भन्नुभयो, “शून्य ब्याजदरमा सहुलियत कर्जाको व्यवस्था गरिनुपर्छ ।” विदेशबाट फर्केर आउने नेपालीलाई क्वारेन्टिनमा उनीहरुको इच्छाअनुसार स्थानीयस्तरका होटेलमा बस्न पाउने व्यवस्थासँगै सरकारले जारी गरेको मापदण्डअनुसार सावधानी अपनाएर खोल्न पाउने व्यवस्था गरिनुपर्ने उहाँको माग छ ।
“यातायातका साधन सञ्चालन हुँदा खाना र नास्ता खानकै लागि होटेल यात्रुले भरिभराउ हुन्थ्यो”, पूर्वपश्चिम राजमार्गको झलारीस्थित खड्का होटलका सञ्चालक दलबहादुर खड्काले भन्नुभयो, “कोरोना भाइरसको सङ्क्रमण बढेसँगै यातायातका साधन बन्द हुदा होटेलको व्यवसायसमेत खस्किँदो अवस्थामा पुगेको छ ।”
जोखिम मोल्दै केही समयका लागि होटेल खोले पनि थोरै मात्र ग्राहक आउने गरेका छन् । होटल व्यवसायी सङ्घ कञ्चनपुरका अनुसार जिल्लामा रहेका एक हजार ३०० होटल व्यवसायमा निजी क्षेत्रको रु पाँच अर्ब लगानी रहेको छ । जसमा एक हजार २०० कामदारका ६० हजार परिवार आश्रित छन् । स्तरीय होटेलको सङ्ख्या भने १०० को हाराहारीमा रहेको छ । तीन वटा स्टार होटलसमेत जिल्लामा रहेका छन् । सुदूरपश्चिम प्रदेशमा भने होटेल व्यवसायमा रु २० अर्ब बढीको लगानी रहेको छ । जसमा झण्डै ४० देखि ४५ हजारले रोजगारी पाएका छन् । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्