जाजरकोट । बर्सेनि खानेपानीको समस्या भोग्दै आएको भेरी नगरपालिका-१३ कुदुमा खानेपानी आयोजना निर्माणको तयारी गरिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट रु ३० करोड लागतमा खानेपानी आयोजना निर्माणका लागि कामको थालनीसँगै यो आर्थिक वर्षबाट खानेपानीको समस्या समाधान हुने आशा पलाएको हो । तिहारलगत्तै खानेपानीको वैकल्पिकरुपमा तत्काल समाधान गर्न रु २ करोड ५० लाखको काम अन्तिम चरणमा पुगेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख नारायण काफ्लेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आयोजना एक वर्षभित्र सक्ने गरी काम भइरहेको छ ।”
भेरी करिडोरअन्तर्गत जाजरकोट र रुकुम पश्चिम चौरजहारीको बीचमा पर्ने यो ठाउँ मध्यपहाडी लोकमार्गको मुख्य भागमा पर्दछ । झण्डै ५० लाख बराबरको लागतमा डिप बोरिङ गरी निकालिएको पानीले दुई वर्षदेखि कुदुवासीलाई बिहानैदेखि बेलुकीसम्म लाइन लागेर पालो कुर्नुपर्ने बाध्यता छ । पानी नआएमा भेरी नदीमा जानुपर्ने बाध्यता छ । झण्डै ३०० घरधुरी रहेको यो ठाउँबाट भेरी नदी बग्छ । नदीको पाल्लो छेउमा नयाँ सहर बन्दै गरेको रुकुम पश्चिमको चौरजहारी छ । जाजरकोट खण्डमा भने पानी नपाएर बिहानैदेखि पालो कुरेर बस्नु पर्दा हैरान हुने स्थानीय नरबहादुर बस्नेतले बताउनुभयो । खानेपानीको अभावमा यहाँका सर्वसाधारणको जीवन कष्टकर छ । कुदुले जिल्लाभरिलाई पुग्ने खाद्यान्न उत्पादन गर्ने क्षमता राख्छ । नजिकै नदी, समथर भूभाग भए पनि सिँचाइको अभावमा खेतीयोग्य जमिनमा अपेक्षित उत्पादन हुन सकेको छैन ।
प्रत्येक दिन भेरी नदीको किनारमा धमिलो पानी ल्याएर परिवारको तिर्खा मेटाउँदै आउनुभएकी पानमती विक पानीको दुःखले दिक्क भइसकेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “फोहोर पानी पिउँदा हप्तामा एकपटक परिवारका सदस्य बिरामी हुन्छन्, जानेरै फोहोर पानी पिउन बाध्य छौँ ।” खास परिणाम आउने खालको व्यवस्थापन कतैबाट पनि नहुँदा कुरा मात्र कति सुनाउनु भन्दै दिक्क लागेको कुदुका श्याम विकले बताउनुभयो । कुदुमा पानीको समस्या नौलो नभएको बताउँछन् स्थानीय शेरबहादुर बस्नेत । बोरिङ गरेर निकालिएको एक घण्टामात्र आउने पानीले कुदुका सर्वसाधारणलाई छेउ, टुप्पो केही नपुग्ने सर्वसाधारणको प्रतिक्रिया छ । पिउने पानी नभएको ठाउँमा सिँचाइको सुविधा हुनु यहाँका लागि टाढाको कुरा हो । सयौँ बिघा जमिन आकाशेपानीको भरमा खेती गर्दा अपेक्षित मात्रामा उब्जाउ हुन नसकेको स्थानीयवासी हरि बस्नेत बताउनुहुन्छ । भेरी नदीबाट पानी निकालेर सिँचाइको व्यवस्था गर्न सकेको भए पूरै जिल्लालाई खाद्यान्न आपूर्ति गर्न सकिने कृषक बताउँछन् । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्