बलेवा । दसैँको चहलपहल बाँकी नै छ । ठूला सवारीमा भरिभराउ बागलुङ आउनेदेखि मोटर साइकलमा घुम्न बागलुङ आएका पञ्चकोट पुगेका छन् । कोरोनाको त्रास कायम रहेकाले भीडभाड नगर्न प्रशासनले आग्रह गरिरहेकै छ । तर पञ्चकोट दसँैंको रमझम सुरु भएयता भरिभराउ छ । क्रमशः विकास भइरहेको धार्मिक पर्यटकीय गन्तव्य पञ्चकोटलाई लक्षित बनाएर व्यवसाय खोल्नेक्रम पनि बढेको छ ।
बागलुङ नगरपालिका–६ को सिम, भान्सा र पञ्चकोटमा मात्रै एकै वर्षमा १५ वटा होटल तथा रेष्टुराँ खुलेका छन् । ती रेष्टुरेन्टमा स्थानीय उत्पादनका खाजा, तरकारी, चिया र खानाको प्रबन्ध हुन थालेको छ । बानपा– ७ का प्रदीप गौतमले स्नातकोत्तर उत्तीर्ण गरेर पनि वडा नं ६ स्थित पञ्चकोटमा रेष्टुराँ व्यवसाय गर्नुभएको छ । ‘‘विदेश जाने, जागिर खोज्ने भन्दा गाउँघरमै बसेर व्यवसाय गर्दा राम्रो मानेको छु’’, गौतमले भन्नुभयोे, ‘‘निषेधाज्ञा र कोरोनाले व्यवसाय चलेको छैन, तर सधैँ यस्तो नहोला ।’’ कोरोना सङ्क्रमण कम हुने वित्तिकै पञ्चकोटमा धार्मिक तथा अन्य धेरै पर्यटक आउन थालेको उहाँले बताउनुभयो ।
दसैँको समयमा थामी नसक्नुको भीड पञ्चकोटमा थियो । आएका पाहुनालाई स्थानीय परिकार खुवाउन सकियो भने रेष्टुराँ पनि चल्ने, पर्यटक पनि बढ्ने उहाँको धारणा छ । यसरी खुलेका रेष्टुराँ अधिकांश आफ्नै घरबारीमा छन् । केहीले भाडामा लिएर पनि चलाएका छन् । ती रेष्टुराँले पाहुनालाई चाहे अनुसार शाकाहारी र मांसाहारी खाना खुवाउँछन् । ‘‘शाकाहारी खानेलाई बारीकै सागपात, मुला, आलु, गौंको रोटी जस्ता खाना खुवाइन्छ’’, उहाँले भन्नुभयो, ‘‘दाल भात, तरकारी खानेले पनि अर्डर गर्छन् ।’’ शनिबार वा बिदाको समय सदुपयोग गर्ने उद्देश्यले पनि कतिपय युवा पञ्चकोट पुग्छन् । उनीहरुले भने हिमाल हेर्दै खाजा खाना रुचाउछन् ।
व्यवसाय खुल्दा धार्मिक रुपमा आएका पाहुनाले सेवा पाएका छन् भने धेरै युवाले रोजगारी समेत पाएको बागलुङ नगरपालिका–६ का वडाध्यक्ष खेमराज सापकोटाले बताउनुभयो । ‘‘एउटै रेष्टुरेन्टमा दुई तीन जना युवाले रोजगार पाए पनि एकसय बढी युवा गाउँमै अडिन्छन्’’, सापकोटाले भन्नुभयो, ‘‘सहरमा जागिर खोज्ने प्रवृत्ति अन्त्य भएर युवा गाउँमै रमाउने अवस्था पनि सिर्जना हुन्छ ।’’
पञ्चकोट धार्मिक मात्र नभइ दृश्यावलोकनको आर्कषक गन्तव्य समेत बन्दै गएको उहाँले बताउनुभयो । यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमाली शृङ्खला देख्न सकिन्छ । यहाँ बनेका आर्कषक संरचनाले पर्यटकको मन लोभ्याउँछ । पञ्चकोटमा निर्माणाधीन संसारकै अग्लो कलस, मन्दिर र हनुमानको मूर्तिमा तस्बिर खिचाउने पनि उत्तिकै छन् । उनीहरुले स्टुडियोमा फोटो धुलाउने काम पनि गर्छन् । ‘‘बजारमा भन्दा पञ्चकोटमा फोटो खिचेर लैजाने धेरै हुन्छन्, त्यसैले मैले यहाँ स्टुडियो राखेको छु’’, स्थानीय व्यवसायी कृष्ण सापकोटाले भन्नुभयो,‘‘पर्यटक भित्रदा यहाँ राम्रो व्यवसाय सञ्चालन गर्न सकिन्छ ।’’
पञ्चकोट आसपासमा पूजा सामग्रीका पसल पनि खुलेका छन् । कतिपयले हालको मन्दिरको तस्बिर पनि किनेर लैजान खोज्ने भएपछि फोटो फ्रेमका पसल खुल्नेक्रम समेत छ । आन्तरिक बसाइँसराइ रोक्नका लागि साना–साना व्यवसायले पनि साथ दिएको वडाध्यक्ष सापकोटाले बताउनुभयो । कतिपयले बसाइँ सरेर गए पनि आफ्नो जग्गा जमिन बेचेका छैनन् । बरु चितवन झरेका पनि गाउँमा आएर बस्ने प्रबन्धमा लागेको उहाँले बताउनुभयो । ‘‘योजना अनुसारको संरचना बनेर पर्यटक भित्र्याउन सकेमा जिल्लाको व्यवसायमा पञ्चकोटले मात्रै ठूलो योगदान दिनसक्ने छ’’, उहाँले भन्नुभयो, ‘‘युवा गाउँमै रमाए भने धार्मिकस्थल बनाएर पनि हामीले ठूलो सफलता पाउन सक्छौं ।’’ युवा गाउँमा बसेपछि कृषि र पशुपालन व्यवसाय पनि बढ्ने उहाँले बताउनुभयो । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्