दमौली । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा तनहुँका महत्वपूर्ण योजना समावेश गरिएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा जिल्लामा अदुवा प्रशोधन केन्द्र स्थापना गर्नेदेखि जल यातायात सञ्चालन गर्नेसम्मका योजना समेटिएको हो । त्यस्तै पर्यटकीय पदमार्ग, औद्योगिक क्षेत्र, सडकखण्डलगायतका योजना पनि सरकारको नीति तथा कार्यक्रममा समावेश भएको छ । सरकारले भीमाद नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकालाई अदुवा उत्पादन पकेट क्षेत्रको रुपमा विकास गर्दै उत्पादित अदुवाको प्रशोधन गरी निर्यात गर्न प्रशोधन केन्द्र समेत स्थापना गर्ने नीति लिएको छ ।
भीमाद, ऋषिङ र घिरिङ गाउँपालिकाबाट वर्सेनि करोडौँ मूल्य बराबरको अदुवा उत्पादन हुने गरेको छ । यहाँ उत्पादित अदुवा भारतसम्म पनि निर्यात हुँदै आएको छ । जिल्लामै प्रशोधन केन्द्र स्थापना हुने भएपछि यस भेगका किसानलाई फाइदा पुग्ने बताइएको छ । सरकारले धार्मिक पर्यटकीयस्थल व्यासगुफादेखि जिल्लाकै अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई पदमार्गले जोड्ने लक्ष्य लिएको छ । त्यसका लागि व्यासगुफा–छाब्दी–कर्लुङ–रामकोट–बन्दीपुर–हिलेखर्क हुँदै छिम्केश्वरीसम्मको पदमार्ग निर्माण गरिने उल्लेख गरिएको छ ।
तनहुँको धार्मिकस्थल देवघाटदेखि स्याङ्जाको चापाकोटसम्म कालीगण्डकी नदीमा जल यातायात सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै तनहुँको पुँडीटारमा प्रादेशिक औद्योगिक क्षेत्र स्थापना गरिनेछ । तनहुँ र नवलपुरको चुरे तथा भावर एवं आसपासका अन्य संवेदनशील क्षेत्रमा प्राकृतिक स्रोतको एकीकृत एवं दिगो व्यवस्थापनका लागि राष्ट्रपति चुरे संरक्षण समितिसँग आवश्यक समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
देवघाटको शालिग्राम करिडोरमा जोड्ने सडकका विस्तृत आयोजना प्रतिवेदन तयार गरी कार्यान्वयनमा जाने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ । प्रदेश सरकारको प्राथमिकतामा रहेको उत्तर दक्षिण दु्रतमार्ग अन्तर्गतको भीमाद–डेढगाउँ–झ्यालवास–चोरमारा–दुम्कीवास–त्रिवेणी खण्ड आयोजनालाई आगामी दुई वर्षमा सम्पन्न गरिने उल्लेख छ ।
उक्त सडकखण्डअन्तर्गत तनहुँको घिरिङ गाउँपालिकाको मानपुरदेखि डेडगाउँ–बुलिङटार सडक कालोपत्रको काम अघिल्लो वर्षबाट सुरु भइसकेको छ । घिरिङदेखि नवलपुरको बुङ्दीकालीको सीमानासम्म एघार किलोमिटर सडक कालोपत्रका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् रु. २२ करोड ८५ लाख ४१ हजार ७९३ को लागतमा काम भइरहेको छ । सडकखण्डमा आधुनिक प्रविधिको अल्फास्ट कालोपत्र गरिनेछ । उक्त सडकको चौडाइ सात मिटर रहनेछ भने साढे पाँच मिटरको कालोपत्र र सडकमा एक मिटरको नाला निर्माण हुनेछ ।
पृथ्वीराजमार्गको विकल्पमा रहेको बुद्धसिं मार्गलाई पनि सरकारले प्राथमिकतामा राखेको छ । पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह मार्गमा कालोपत्र गर्ने भनिएपछि लामो समयदेखि काम हुन सकेको छैन । सरकारले यो मार्गमा निर्माण कार्यलाई तीव्रता दिने जनाएपछि काम हुने आशा पलाएको छ । बुद्धसिं मार्ग अन्तर्गत घुमाउनेमा पक्की पुलसमेत निर्माण भइरहेको छ । उक्त पुल निर्माण पछि घुमाउनेबाट तनहँु सदरमुकाम दमौली पुग्न अहिले प्रयोग भइरहेको मुग्लिङ, आँबुखैरेनी र डुम्रे हुँदै जाने सडकभन्दा २५ किलोटिमर छोटो पर्न जान्छ ।
दमौलीबाट घुमाउने घाटसम्म नियमितरुपमा साना बसहरू तथा दुई पाङ्ग्रे सवारीसाधन आउने जाने गरे पनि दुई पाङ्ग्रे सवारीसाधन भने झोलुङ्गेपुल तरेर मुग्लिङ–नारायणगढ सडकमा निस्कन्छ भने बस तथा अन्य सवारी साधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन् । सरकारको नीति तथा कार्यक्रममा पृथ्वीराजमार्गको पोखरा मुग्लिन खण्डकोस्तरवृद्धि गर्ने, तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गरिने उल्लेख छ । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्