×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीएचडिसीमा भएको ‘मनपरी’को फलोअप : तत्कालीन अध्यक्ष रुङ्गटाले गैरकानुनी रुपमा ७० करोडको सेयर बेचेको खुलासा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलवार

PRIME CA
laxmi sunrise bank

सीएचडिसीमा भएको ‘मनपरी’को फलोअप : तत्कालीन अध्यक्ष रुङ्गटाले गैरकानुनी रुपमा ७० करोडको सेयर बेचेको खुलासा !

काठमाडौँ । राधी विद्युत कम्पनीले कम्पनीको विवरण नै लुकाएर कानुनको धज्जी उडाईरहेको र कम्पनीभित्र केहि न केहि बदमासी भएकै कारण कम्पनीले केहि न केहि बदनियत राखेर विवरण लुकाएको हुन सक्ने खबर अर्थ सरोकारले केहि समय अगाडी ब्रेक गरेको थियो । नभन्दै कम्पनीमा गैरकानुनी काम भएको खुलासा भएको छ । राधीका तत्कालीन अध्यक्ष अनिल कुमार रुङ्गटाले गैरकानुनी रुपमा सो कम्पनीको अध्यक्ष हुँदा नै राधीको सब्सिडरी कम्पनी लमजुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनीले राधीको सेयर बिक्री गरेको खुलासा भएको हो । राधीमा लमजुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनीको ४७.२६ प्रतिशत स्वामित्व रहँदा पनि राधीले ‘कन्सोलिटेटेड ब्यालेन्स सीट’ अर्थात एकतृत वासलात ननिकाली कानुनको धज्जी उडाएको खबर अर्थ सरोकारले केहि समय अगाडी ब्रेक गरेको थियो ।

नियम मिचेर यसरी बेचियो सेयर !
राधीका तत्कालीन अध्यक्ष रुङ्गटाले ७० करोडको सेयर बिक्री गरेका हुन् । अध्यक्ष रहँदा वा अध्यक्ष छोडेको १ बर्षसम्ममा सेयर बेच्न प्रचलित कानुनले बन्देज गरेको छ । तर राधीको वासलात केलाउने हो भने यो अवधिमै करिव ७० करोडको सेयर बेचबिखन भईसकेको छ । अध्यक्ष रुङ्गटाले १८ दिन लगाएर ११ वटा कारोबारमार्फत सो सेयर गैरकानुनी रुपमा बेचेको तथ्य फेला परेको हो । उनी २०७८ असार ७ गते कम्पनीको अध्यक्षबाट बाहिरिएका थिए ।

विभिन्न स्रोतले अर्थ सरोकारलाई दिएको जानकारी अनुसार रुङ्गटाले सेयर ब्रोकर नम्बर २०, ब्रोकर नम्बर ३३, र ब्रोकर नम्बर ४३ बाट सो सेयर बेचेका थिए । आफूसँग भएको सेयर सस्तोमा प्रतिकित्ता ८९० रुपैयाँदेखि महँगोमा ११५९ रुपैयाँसम्ममा बिक्री गरेका उनले बीशाख २९ गते १३ हजारभन्दा बढी कित्ता (प्रतिकित्ता ६८० देखि ६८८ रुपैयाँसम्म) २०७८ वैशाख ३० गते ४ हजार ६६० कित्ता (प्रतिकित्ता ६९४ देखि ६९९ रुपैयाँसम्म), २०७८ जेठ ५ गते ३४ हजार कित्ता (कुल तीन करोडमा) विक्री गरेका छन् ।

यस्तै उनले जेठ ६ गते साढे १२ हजार कित्ता (कुल १ करोड हाराहारीमा), जेठ ९ गते ७ हजार कित्ता (६५ लाख रुपैयाँमा), जेठ १० गते १०० कित्ता (८५ हजारमा), जेठ ११ गते ६२ हजार कित्ता (करिब ६ करोड रुपैयाँमा) , जेठ १३ गते साढे ८० हजार कित्ता (८ करोड रुपैयाँ हाहारीमा), जेठ १६ गते ५४ सय कित्ता (६२ लाख)मा, जेठ १७ गते करिब ४ लाख कित्ता (३८ करोडमा रुपैयाँमा), जेठ १८ गते ७७ हजार ५८० कित्ता (१० करोड १५ लाख रुपैयाँमा) बिक्री गरेका छन् ।

कानुनमा के छ ?
रुङ्गटाले गरेको काम पूरापूर प्रचलित कानुन विपरित छ । धितोपत्र सम्बन्धी ऐन- २०६३ मा संगठित संस्थाको पदाधिकारीले पदमा रहँदा वा छोडेको १ वर्षसम्म उक्त कम्पनीमा भएको आफ्नो सेयर बिक्री गर्न नपाउने स्पष्ट व्यवस्था छ । ‘संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्षरुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्नेछैन’ धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा भनिएको छ।

तर, राधीका तत्कालीन अध्यक्ष रुङ्गटाले यो कानुन मिचेर सो कम्पनीको सेयर बेचेर हिँडेका हुन् । यो तथ्य लुकाउन कम्पनीले प्रचलित कानुनले व्यवस्था गरे अनुसार एनएफआरएस अन्तर्गत आफ्नो वित्तीय प्रतिवेदन बनाएको थिएन ।
लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले गरेको गरेको उर्दी अनुसार कम्पनीले आफ्नो स्वामित्वमा रहेका सहायक कम्पनीको समेत विवरण आफ्नो विवरणमा उल्लेख गर्नुपर्छ । यता कम्पनी ऐनले पनि आफ्नो स्वामित्वमा रहेको सहायक कम्पनीको विवरण आफ्नो बित्तिय विवरणमा उल्लेख हुनुपर्ने स्पष्ट व्यवस्था गरेको छ ।

तर अध्यक्षको ‘गैरकानुनी काम’ लुकाउन सीइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (सीएचडिसी) ले भने आफ्नो वास्तविक विवरण नै लुकाएर सेयरधनीहरुलाई गुमराहमा राखेको थियो । यसविषयमा चौतर्फी प्रश्न उठेपछि अर्थ सरोकारले केहि समय अगाडी प्रचलित कानुन अनुसार वासलात ननिकालिएको तथ्य सार्वजनिक भएको थियो । यस विषयमा रुङ्गटासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन भने सकेन।

के भन्छ धितोपत्र बोर्ड ?
यता धितोपत्र बोर्ड भने इन्साइदर ट्रेडिङ भएको खण्डमा प्रचलित कानुन अनुसार कारवाही हुने दाबी गर्छ । धितोपत्र सम्बन्धी ऐन-२०६३को परिच्छेद ९ मा धितोपत्रको भित्री कारोबार र धितोपत्र कारोबार सम्बन्धी कसूर तथा दण्ड सजायको व्यवस्था रहेको छ । सो ऐनको दफा १०१ मा यस्तो कारोबार गर्नेलाई दण्ड सजायको व्यवस्था रहेको छ । केहि समय अगाडी बोर्डले हिमालयन डिस्टिलरीले गरेको यस्तै कामबारे छानविन गरी दोषी ठहर गरेको पाइएपछि कारवाही गरेको थियो । तर रुङ्गटा भीआइपी मान्छे भएकाले उनलाई कारवाही गर्न बोर्डले सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको छ । यद्यपी कुलमान शैलीमा भकाभक लगानीकर्ताका पक्षमा काम गरिरहेका धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले यस्तो भित्री कारोबार गर्ने कसैलाई पनि नछोडिने बताउँछन् । अर्थ सरोकारसँगको यस अघिको कुराकानीमा पनि उनले इन्साइडर ट्रेडिङ गर्ने जो कोहिलाई कारवाही गर्ने बताएका थिए । बोर्डका अन्य पदाधिकारीहरु भने रुङ्गटालाई कारवाही गर्दा रिस्क हुने हो कि भनेर सकेसम्म उनलाई कारवाही नगरिदिए हुन्थ्यो भनेर लविङमा लागिरहेको बुझिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: