काठमाडौँ । अन्नपूर्ण संरक्षण क्षेत्रमा गत कात्तिक महिनामा ३३ हजार तीन सय १० विदेशी पर्यटक भित्रिएका छन् ।
जसमध्ये दक्षिण एसियाली मुलुकका ११ हजार छ सय ७८ र अन्य मुलुकका २१ हजार छ सय ३२ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।
आयोजना प्रमुख डा रविन कडरियाका अनुसार गत साउनयता ८३ हजार ३१ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका हुन् । गत वर्ष सोही अवधिमा ६७ हजार चार सय ४२ जना पर्यटकले ‘एक्याप’को भ्रमण गरेका थिए । गत आवमा दुई लाख २२ हजार एक सय ८० पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेकामा चालु आवमा दुई लाख ५० हजारभन्दा बढी पर्यटक भित्रने अपेक्षा एक्यापको छ ।
गत असोजयता पर्यटकको आवागमन बढेको उनको भनाइ छ । असोजमा ३० हजार सात सय ३२ विदेशी पर्यटक उक्त क्षेत्र भ्रमणका लागि पुगेका थिए । जसमा एसियाली मुलुकका ११ हजार नौ सय ८५ र अन्य मुलुकका १८ हजार सात सय ४७ पर्यटक थिए । अन्नपूर्ण चक्रीय पदमार्ग आसपासका गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको सङ्ख्या गत वर्षभन्दा यसवर्ष बढेको एक्यापले जनाएको छ ।
अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरिएको छ । सडक र हवाई मार्ग भएर बर्सेनि उल्लेख्य सङ्ख्यामा आन्तरिक पर्यटक एक्यापका विभिन्न गन्तव्यस्थल पुग्ने गरेका छन् ।
हाल मुख्य पर्यटकीय याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो चहलपहल देखिएको उनको भनाइ छ । दोस्रो मुख्य पर्यटकीययाम सुरु हुँदासम्ममा यो वर्षको पर्यटक आवागमन उल्लेख्य मात्रमा बढ्ने अनुमान गरिएको आयोजना प्रमुख कडरियाले बताए ।
सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । पर्यटक पथप्रदर्शक दिवस गुरुङका अनुसार अन्नपूर्ण क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको हो । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा गर्न सकिन्छ । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट गन्तव्य मानिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्