Skip to content
LAXMI SUNRISE BANK

चालु आर्थिक वर्षमा बजेट विनियोजन: स्वदेशी पूँजी, सीप र श्रमलाई उच्चतम प्रयोग गरी खेतीबालीमा विविधता ल्याउने प्रमुख उद्देश्य

अर्थ सरोकार

विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ मोरङद्धारा आज तेस्रो त्रैमासिक (नौ महिनाको) समीक्षा गोष्ठी सम्पन्न भएको छ । स्वदेशी पूँजी, स्वदेशी सीप र श्रमलाई उच्चतम प्रयोग गर्न तथा चकलाबन्दी खेती गरी बालीमा विविधता ल्याउन प्रमुख उद्देश्य रहेको सो गोष्ठीमा प्रदेशका १४ जिल्लाका परियोजना कार्यान्वयन एकाइका प्रमुखको सहभागिता थिए । कार्यक्रममा परियोजना कार्यान्वयन एकाइ मोरङका प्रमुख रामबलमप्रसाद साहले प्रदेश भरिको नौ महिनाको प्रगति विवरण पेश गरेका थिए । परियोजना व्यवस्थापन एकाइ काठमाडौँका विज्ञ तीर्थराज श्रेष्ठ र प्रदेश नं १ कृषि मन्त्रालयका उपसचिव पशुपति पोखरेलले परियोजनाको विविध पक्षमा आ–आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए ।

वि.सं २०७३ देखि सञ्चालित परियोजनाको अवधि १० वर्षको रहने र यस वर्ष प्रदेश नं १ मा वित्तीय प्रगति ३१ दशमलव चार प्रतिशत मात्र रहेको बताइएको छ । ब्लक, जोन र सुपरजोन रहेको प्रदेशमा अहिलेसम्म परियोजनाले ३१ हजार ८९ हेक्टर जग्गामा विविध बाली लगाइएको छ । व्यवस्थापन एकाइ काठमाडौँका विज्ञ तीर्थराज श्रेष्ठले आफ्नो कार्यपत्रमार्फत परियोजना ७७ जिल्लामै सञ्चालित रहेको, बाली विशेषको जोन, सुपरजोन सङ्ख्याअन्तर्गत सुपरजोन १६, जोन १७७, आर्थिक वर्ष २०७८/७९ मा विनियोजित बजेट रु. सात अर्ब ८३ करोड, जोन/सुपरजोन सङ्घीय निकाय रु. तीन अर्ब तीन करोड १९ लाख, ब्लकतर्फ रु. दुई अर्ब दुई करोड ९० लाख, ब्लक ९९९ वटा, कृषि ब्लक ८४६ र पशु सेवाको ब्लक १५३ वटा, पकेटतर्फ रु. दुई अर्ब ७६ करोड ९१, स्थानीयतर्फ पकेटको सङ्ख्या तीन हजार २६४, कृषि पकेट दुई हजार ३०८ र पशु सेवा पकेट ९७६ रहेको जानकारी दिए ।

प्रदेश नं १ का कृषि सचिव मेघनाथ तिमिल्सेनाले दक्ष जनशक्ति नभएसम्म खोजे अनुसारको प्रगति हासिल नहुने भन्दै कृषिमा लगानी गरेर प्रशस्त रोजगारी सिर्जना गर्न सकिने बताए । उनले तीन तहकै सरकारले कृषिलाई अपनत्व बनाउनुपर्ने सुझाव दिँदै अनेक चुनौतीको बाबजुद पनि कृषि क्षेत्रमा उपलब्धि हासिल गरेको र यसमा उद्योग मन्त्रालयले पनि अग्रसरता देखाउनुपर्ने कुरामा जोड दिए । उनले भने, “किसानको आर्थिक रुपान्तरण गर्न र देशलाई समृद्ध बनाउन कृषिलाई उच्च प्राथमिकता राख्नैपर्छ ।” बीमासमेतको उपलब्धता, अनुदानको व्यवस्था भएको कृषिमा युवालाई आकर्षित गराउन सहुलियत ऋणको व्यवस्था गरिएको भन्दै सचिव तिमिल्सेनाले सबै किसिमको बाली उत्पादन गर्न सिँचाइ सुविधा हुनुपर्छ भने । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिमिल्सेनाले उत्पादनमा आत्मनिर्भर बनाउन कृषिमा युवालाई प्रवेश गराउनुपर्ने भन्दै कृषि आमनागरिकको रुचि बन्नुपर्ने सुझाव दिए । –रासस

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK