देशभर लघुवित्तविरुद्धको आन्दोलन भन्दै एउटा समूहले संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेको छ । ब्याज बढी लियो, राष्ट्र बैंकको निर्देशन पालना भएनन्, त्यसैले लघुवित्त कम्पनीहरु नै खारेज हुनुपर्छ भन्नेसमेतका माग राखेर सो समिति निरन्तर संघर्षमा छ। संघर्ष समितिले देशभरका विभिन्न ठाउँहरुमा आन्दोलन गरेको छ, लघुवित्तविरुद्ध प्रदर्शन गरेको छ, जसका कारण केहि लघुवित्तका केहि समूहहरुमा त ऋणको किस्ता र ब्याज उठाउन नै गाह्रो भएको छ । सोहि संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीसँग केहि समय अगाडि भेट भएको थियो ।
‘तपाँईहरु साँच्चै उग्र बन्दै जानुभयो, कहिलेसम्म हो यो ज्यादति ?’
मेरो प्रश्नमा उनको जवाफ थियो- ‘हाम्रो संघर्ष कहिलेसम्म लम्बिन्छ भन्ने कुरा तपाईंहरुकै हातमा छ । एनएमबिए र एमएफएनको निष्क्रियताको कारण हामी हाम्रो संघर्ष लम्ब्याउन बाध्य छौं ।’
‘वार्ताका लागि एनमबिए र एमएफएएनबाट पहल भएन भन्ने तपाईंको कुरा हो ?’ मैले प्रतिप्रश्न गरेँ ।
‘आधिकारिक संस्था भएकोले संस्थामा पक्कैपनि योग्य व्यक्ति छनोट भएका होलान् भन्ने थियो, तर त्यसको उल्टो रहेछ । संघहरु नाम मात्रका रहेछन् । वार्ता गरी समस्या समाधानमा कुनै पहल भएन ।’ उनले जवाफ दिए ।
‘त्यसो भए अव के गर्ने त ?’ उनको अघिल्लो जवाफ सुनेपछि मैले पुन: प्रश्न गरेँ ।
उनले भने- ‘आधिकारिक वार्ता टोली तयार गर्नुहोस् । छलफल गरौँ, सहमतिमा पुगौं, लघुवित्त क्षेत्र सुधारको लागि पुनः हातेमालो गरेर अगाडी बढौं ।’
————————–
अहिले लघुवित्त क्षेत्र चारैतिरवाट चुनौतिहरुले घेरिएको छ । कतिपय चुनौतिहरुको सामाना हामीले चाहेर पनि गर्न सक्देनौं । कतिपय परिस्थितिजन्य चुनौतिहरु हाम्रा माझ छन् । अहिले हामीसँग बिशेषगरी तरलताको कारण फण्ड व्यवस्थापनको चुनौती छ । हामीसंग नियामकिय चुनौति अझ बढ्दो छ । यसका साथै हाम्रो दैनिक कार्यासञ्चालनमा बाधा ब्यवधान ,हिंसा, आक्रमण लगायतका अकाल्पनिक चुनौतिहरुले हामी वर्षौदखि समस्यामा छौं । कतिपय चुनौतीहरु नयाँ छन्, कतिपय चुनौतीहरु पूराना भए पनि नयाँ तरिकाले अगाडी आएका छन् । कतिपय चुनौति पूरानै छन्, तर समाधान हुने खालका नै छैनन् ।
अनेक समस्याहरुले गिजोलिएको लघुवित्त क्षेत्रमा अहिले अर्को चुनौति थपिएको छ । विगत ७ महिनादेखि लघुवित्त विरुद्धको संघर्ष समितिले हाम्रो कार्यक्रमलाई अस्तव्यस्त बनाएको छ । हाम्रा कर्मचारीको मनोवल गिराएको छ । स्थिति दिनदिनै विकराल हुँदैछ । समूहहरुमा ऋण नतिर्ने, बरु संघर्ष समितिसँग जोडिनेहरुको संख्या बढेको छ । यति हुँदा पनि समस्या समाधानका लागि प्रयाप्त आधिकारिक पहल भएको छैन ।
संघर्ष समितिका नाममा उत्सृखल गतिविधिहरु र संजाल बढ्दो क्रममा छन् । केहि समय अगाडी वार्ताका लागि पहल भएको भन्ने सुन्नमा समेत आएको थियो । मलाई लागेको थियो – ‘चरणगत रुपमा छलफल गर्नुपर्ने भएको हुँदा ढिलाइ भएको हुनसक्छ । त्यसमा पनि आन्दोलनकारीहरुको माग जायज नभएकोले कन्भिन्स गर्न समय लागेको हुनसक्छ । आन्दोलनकारीहरु आन्दोलन गर्ने , भड्काउने, सोझासाझा दिदिवहिनीहरुलाई उक्साउने तर वार्तामा बस्न नमानेर होला समय लागेको ।’ तर भाद्र ३१ गते म र मित्र डोलेन्द्र शर्माले मनिराम ज्ञवालीलाई भेट गर्यौ । १ घण्टा विषयवस्तुमा केन्द्रीत छलफल गर्यौं । तर वहाँले कुनै क्रान्तिकारी छनक देखाउनुभएन । वार्ता गरौं , समस्या समाधान गरौं, मिलेर हिडौं भन्ने नै अभिव्यक्ति पाएँ । मनमनै सोचें , मिडियामा बडो क्रान्तिकारी कुराहरु आउँछन्, तर मान्छे फरक रहेछन् मनिराम । साँच्चै नै उनले चाहेजस्तो वार्ता बाटनै समस्याको समाधान हो भन्ने निष्कर्ष निकाली यसको लागि के गर्न सकिन्छ प्रयास गर्छौ भनेर हामी छुट्यौं ।
उनीसँगको भेटघाट पश्चात् उनले भनेजस्तै के हाम्रा संस्थाहरु एनएमबिए र एमएफएनले वार्ता प्रति कुनै चासो नदेखाएका हुन त ? भन्ने कोतुहलताले पत्र प्रेषित गरेको छु ।
श्री अध्यक्षज्यू
नेपाल लघुवित्त बैकर्स संघ
पत्रको विषयवस्तु र भुमिका सम्बन्धमा माथि प्रष्ट गरिएको छ । त्यसकारण म केहि अपेक्षा तथा केहि जिज्ञासाहरु राख्न चाहान्छु ।
सर्वप्रथम त हामी एनएमबिएमा प्रकाश राज शर्माको नेतृत्वप्रति पूर्ण आशावादी थियौं र छौं पनि । लघुवित्तलाई जरैवाट बुझेको ब्यक्ति , हामी सबैको साँच्चै नै आभिवावक ग्रहणयोग्य ब्यक्ति भनेर सायद सबै लघुवित्तकर्मीहरु खुशी नै थियौं । एनएमबिएको अध्यक्षले वा पदाधिकारीले गर्न सक्ने हैसियत ,नेपाल राष्ट बैंक लगायत अन्य नियमनकारी संस्थासँग गर्न सक्ने नीतिगत परिवर्तन , हैसियत वारेमा पनि हामी सायदै प्रष्ट छौं । केही आशालाग्दा कार्यको शुरुवात यहाँको कार्यकालमा भएका पनि छन् । केहि हुनुपर्दछ भनी एनएमबिए लागेको यथार्थ देखिन्छ । तर हाल विकाराल रुपमा रहेको लघुवित्त विरुद्धको संघर्ष समितिसँग वार्ता गरी समस्या समाधान गर्न किन जरुरी ठान्नु भएन ? के यो आवश्यक छैन ? वार्ता बाहेक समस्या समाधानको केहि विकल्प देख्नुभएको छ ? होइन भने यहाँ जिम्मेवारीमा बस्ने व्यक्ति मात्रै इच्छाले परिचालन भएर हुँदैन । यहाँलाई अध्यक्ष बनाएको २ वर्ष जे सक्नुहुन्छ गर्नुहोस् , जे चाहानुहुन्छ गर्नुहोस् भनेर मनोनित हुनुभएको पक्कै होइन । यहाँहरुले त आफ्नो चाहाना होइन लघुवित्त क्षेत्रको चाहाना बमोजिम अगाडी बढ्नुपर्दछ ।
एनएमबिएले आफ्नो निष्क्रियताको कारण कति लघुवित्त संस्थालाई संघमा आवद्ध गर्न सक्नु भएन वा चाहानु भएन । तर चाहे संघमा आवद्ध भएको संस्था होस् वा आवद्ध नभएको संस्था होस् यहाँहरुलाई कुनै बाधा अवरोध लघुवित्त संस्थाको तर्फबाट छैन । यहाँहरुले आयोजना गरेको कार्यक्रममा लघुवित्त संस्थाले आफ्नै कार्यक्रम सम्झेर सक्रिय सहभागिता जनाएका छन् । यहाँहरुले पेश गरेका एजेण्डाहरुमा संस्थाहरुको कुनै विरोधाभाष छैन । र पनि यहाँहरुलाई के कुराले अघि बढ्नलाई रोक्यो ? समस्या समाधानको पहल गर्नलाई के कुराले छेक्यो ? विगतका दिनमा एनएमबिएको काम नेपाल राष्ट बैंकले माग गरे बमोजिम सुझाव संकलन गर्ने, पेश गर्ने मात्र थियो । यहाँहरुको पनि मुख्य उपलब्धि यहि नै हो ? परिस्थितिले यहाँहरुलाई एक अवसर दिएको छ । लघुवित्त विरोधिहरुसंग वार्ता गरी लघुवित्त कार्यक्रमलाई भयरहित, सम्मानजनक बनाउने ।
एक पटक सोच्नुहोस्, यस कार्यबाट यहाँहरुको उचाई कति माथि पुग्नेछ । तसर्थ अव ढिला भइसकेको छ । बार्ता वाहेकको अर्को विकल्प छैन । अध्यक्ष महोदय वार्ताको लागि प्रतिनिधि चयन गर्नुहोस् । वार्ताटोलीमा १ जना एनएमबिएबाट, १ जना एमएफएनबाट र २ जना पदाधिकारीबाहेकहेक लघुवित्त संस्थासँग हुनेगरी ४ सदस्य टोली गठन गरौं । कि त प्रत्येक प्रदेशवाट १, १ जना रहनेगरी वार्ताटोली गठन गरौं । वा त जरुरी छैन, वा अन्य विकल्प हो भने स्पष्ट पारौं । आशा छ सुझावलाई सकारात्मक लिनुहुनेछ ।
श्री अध्यक्षज्यू
माइक्रोफाइनान्स एशोसिएशन अफ नेपाल
प्रस्तुत विषयमा माथि उल्लेख गरिएको छ । हामी खुशी र आशावादी थियौं । हाम्रा आभिवावकहरुको आधिकारिक संस्था समस्या समाधानको लागि क्रियाशिल हुनेछ । उक्त संस्थाका अध्यक्ष आदरणिय अध्यक्षज्यू म नजिकबाट चिन्दछु । मैले धेरै ठाउँमा यहाँको नेतृत्वको उदाहरण दिने गरेको छु । समस्याको समाधानबाट ब्यक्ति थप अब्बल बन्दछ भन्ने यहाँको अभिब्यक्तिले म आज पनि प्रेरित छु । तर म द्धविधामा छु, समस्याको समाधान वार्ता र छलफलबाट नै हो भन्ने ब्यक्ति , कुनै ब्यक्तिलाई परेको समस्या समाधान गर्न चिन्तित ब्यक्ति आज लघुवित्त क्षेत्र प्रतिनै यत्तिका प्रहार हुँदा किन चुप हुनुहुन्छ ? के यहाँको मोडल पविर्तन भएको हो ? मैले समस्याको समाधान एनएमबिए ले नगरे पनि एमएफएन ले गर्छ भनेर मेरो कर्मचारी टिममा भन्ने गर्थे ।
एमएफएन को अध्यक्षमा त्यो चाहाना छ , त्यो दृढता छ । तर त्यसको संकेत पाइएन किन ? वर्तमान लघुवित्त विरुद्धको संघर्ष समितिले लघुवित्त कार्यक्रमलाई पारेको प्रभाव , क्षतिको वारेमा अध्ययन गर्न फुर्सद पाउनुभएको छैन वा त्यस समूहसँग वार्ता गर्न जरुरी देख्नु भएन ? कि भनेजस्तो साथ सहयोग आफ्नै समितिका पदाधिकारीहरुवाट पाउनुभएको छैन ? वास्तवमा तपाई लघुवित्त क्षेत्रको वास्तविकता नजिकवाट फिल्डमै गएर नियाल्ने ब्यक्ति हो । तर आज प्राय: यहाँको काठमाडौं तथा स्वादेश बाहिरको गतिविधि हामीले देखेका हुन्छौं । त्यसकारणले पनि यस क्षेत्रवाट केही टाढा भएको पनि हुन सक्नुहुन्छ ।
तर अध्यक्षज्यू, परिस्थिति भयावह छ । कर्मचारीहरुको मनोवल खस्कदो छ । ग्राहक दिदिवहिनीहरु विछिप्त बनेका छन् । त्यसकारण गम्भीर भएर सोच्ने बेला आइसकेको छ । यद्यपी म यहाँसंग करिब २ वर्ष विताएको नाताले यहाँसंग रहेको क्रियाशिलताले अहिलेको समस्याको समाधान सम्भव देख्दछु । तसर्थ अध्यक्ष महोदय अब ढिला भइसकेको छ । वार्ताको लागि एकजना जिम्मेवार प्रतिनिधि तोक्नुहोस् । एउटा अभिभावको हैसियतले विगतमा जस्तै यस क्षेत्रको सुधारको लागि पुनः सक्रिय बनिदिन अनुरोध गर्दछु । आशा छ सुझावहरुलाई सकारात्मक लिनुहुनेछ ।
श्री अध्यक्षज्यू
लघुवित्त विरुद्धको संघर्ष समिति
पत्रको विषयवस्तु र भूमिका माथि स्पष्ट पारिएको छ । यहाँसँग भएको भेटमा यहाँले राख्नुभएको धारणाको कारण मैले सम्बन्धित नेपाल लघुवित्त बैकर्स संघ र माइक्रोफाइनान्स एसोसिएसन अफ नेपाल लाई पत्र प्रेषित गरेको छु । यहाँले वार्तावाट समस्याको समाधान गरौं भनेर सकारात्मक कुरा गर्नुभएको छ । तर सार्वजनिक कार्यक्रमहरुमा एक पछि अर्को विवादास्पद अभिब्यक्तिहरु दिदैं हिड्नु, जिल्ला जिल्लामा कथित संगठन विस्तार गर्दै सोझासाझा महिलाहरुलाई अनावश्यक भ्रम छर्दै हिड्नु, लघुवित्त संस्थाप्रति कपोलकल्पित लाञ्छना लगाउनु जस्ता अमर्यादित कार्यले गर्दा कहिंकतै वार्ता औचित्यहीन हुने त होइन ? तसर्थ आन्दोलन र विमतिका पनि आफ्नै सिमाहरु हुन्छन् । आन्दोलनका नाममा खराव ब्यक्तिहरुको झुण्ड बनाएर क्षणिक लोकप्रियताको लागि भएका आन्दोलनहरु स्थगित गरी वार्ताको लागि तयार रहन अनुरोध गर्दछु ।
तपाईं लघुवित्त संस्थाहरुको योगदानका बारेमा पनि प्रष्ट हुनुहुन्छ । म एउटा लघुवित्त अभियान्ताको हैसियतले स्पष्ट पार्न चाहान्छु, ‘कुनै पनि लघुवित्त संस्थाले आफ्ना ग्राहक सदस्यको उन्नति प्रगति अवश्य चाहान्छ । ग्राहकलाई सर्वोपरी ठान्दै ग्राहकको समृद्धिमा संस्थाको भविश्य देखेको हुन्छ । तथापि काम गर्ने सिललिामा कहिकतै केहि कमिकमजोरीहरु भए होलान् । केही विषयहरु हाम्रा ग्राहकहरुलाई थप स्पष्ट पार्नुपर्ने कर्तब्यवाट हामी बिमुख भए हौंला । तर यहाँले प्रचार गरे अनुरुप कुनैपनि लघुवित्त संस्थाले ग्राहकलाई विस्थापित गर्ने, ग्राहकलाई अपमान गर्ने जस्ता अमर्यादित काम कदापी गर्दैन ।’
त्यसकारण यहाँले धमिलो पानीमा माछा मार्ने प्रयास नगर्नको लागि पुन: अनुरोध गर्दै क्षणिक स्वार्थ प्राप्तिको दिशामा नलागी आफूलाई लघुवित्त संस्थाको सहयोगीको रुपमा पहिचान बनाई अगाडी बढेमा यहाँको उचाई दीर्घकालसम्म रहनेछ । अपेक्षा गरौं, केही दिनमा लघुवित्त संस्थाको तर्फबाट आधिकारिक वार्ता टोली गठन हुनेछ । तसर्थ कथित संगठन विस्तार, कपोलकल्पित भ्रम छर्ने गतिविधिलाई छोडेर साँच्चैनै हाम्रा ग्राहक दिदिवहिनीहरुको लागि लघुवित्त वित्तीय संस्थाहरुको तर्फवाट गरिनुपर्ने भूमिकाको वारेमा तयारी गरी वार्ताको लागि तत्पर रहन अनुरोध गर्दछु ।
(लेखक रेशम न्यौपाने साधना लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन्। )