बोर्डले लगानीकर्तालाई दोश्रो टिप्स दिंदै भनेको छ -धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउमा नपरी बजार तथा कम्पनीको वित्तीय विवरण लगायतका जानकारी लिई आफ्नो स्वविवेकमा जोखिम बहन गर्ने क्षमता अनुसार लगानी उपकरण छनौट गरी लगानी सम्बन्धी निर्णय गर्नुहोस् । आहा कस्तो राम्रो टिप्स । यतिमात्र बुझे सेयर लगानीकर्ता कहिल्यै फस्दैनन् । तर धितोपत्र बोर्डकै कर्मचारीले फेक एकाउन्ट बनाएर अव बजार १६०० मा पुग्छ भनेर लगानीकर्तालाई अत्याउने, वा आफ्नाले सेयर किनेपछि अव बजार ३००० फेरी पुग्दैछ भनेर अत्याउने काम बोर्डकै इन्टरनेट प्रयोग गरेर भिपिएनमार्फत गरेकोचाहिं बोर्डले देख्नुपर्दैन ? यस विषयमा बोर्डका हाकिमलाई राम्रै सूचना छ । त्यस्तालाई कारवाही गर्नुपर्दैन ? गरियोस् ।
बोर्डले तेश्रो टिप्स दिंदै भनेको छ बजारमा नवप्रवेशीले प्राथमिक बजारबाट लगानी प्रारम्भ गर्नुहोस । आहा ! कस्तो राम्रो टिप्स । तर यहि आईपीओ निष्कासनको अनुमति जथाभावी जस्तोसुकै कम्पनीलाई दिंदा बजारमा कति लगानीकर्ताको पैसा कहाँ कहाँ फसेको छ भन्ने तथ्य पनि बोर्डले राम्रैसँग मनन गरेर लगानीकर्ताका पक्षमा काम गरे, कति राम्रो हुने थियो नि, होइन र ? धितोपत्र बोर्डले कुल दिमाग लगाएर सोचोस् ।
बोर्डले टिप्स नम्बर ४ मा भनेको छ- प्राथमिक बजारमा लगानी गर्दा धितोपत्र निष्काशनकर्ता कम्पनीको आव्हानपत्र, विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति र क्रेडिट रेटिङ्गस्तर जस्ता महत्वपूर्ण पक्षहरुको विश्लेषण गर्नुहोस् । लगानीकर्ताले सबै कुरा पढे राम्रो, पढ भन्नु पनि राम्रो । तर यस्ता पक्षहरु ठिक नहुँदा नहुँदै पनि आईपीओको अनुमति दिनुचाहिं नराम्रो हो नि, होइन र ? धितोपत्र बोर्डले यो कुरा पनि एक पटक छातीमा हात राखेर, सोचोस् ।
ओहो, यस्तो टिप्स दिनुसँगसँगै त्यस्ता महत्वपूर्ण सूचना लिक गर्ने, भित्री कारोबार गर्नेलाई पनि कारोबार गरिदिए कति राम्रो हुने थियो । अजोड इन्स्योरेन्सको केस करोडौंमा मिलाएको भन्दै अख्तियारमा अहिले पनि केस विचाराधीन छ भनेर बोर्डले अलिकति लाज माने त हुने नि, होइन र ? हुन त बोर्ड अध्यक्षमा हमाल आएपछि धेरैलाई कारवाही पनि भएका छन् । तर कारवाहीबाट आजसम्म जोगिएकाहरुलाई पनि पाटा कस्न सके ग्लोबल मनि वीक भयङ्कर सफल हुने थियो नि हजुर ।
बोर्डले टिप्स नम्बर ७ मा भनेको छ- धितोपत्र बजारमा देशको समग्र आर्थिक तथा राजनितिक स्थितिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले धितोपत्रमा लगानी गर्दा यसप्रति समेत सजग रहनुहोस् । त्यसैगरी, टिप्स नम्बर ८ मा भनेको छ -धितोपत्र बजारमा मुद्रास्फिति, बैंकको तरलता तथा व्याजदरले प्रत्यक्ष असर गर्ने हुनाले लगानी गर्दा यस्ता विषयलाई मनन् गरी लगानी सम्बन्धी निर्णय लिनुहोस् । यस्तो राम्रो टिप्स दिने बोर्डले बजार भयङ्कर घटेका बेला लगानीकर्तालाई नआत्तिन पनि बेला-बेला भने कसको के जान्थ्यो र ? बजार बढेका बेला बेला-बेला तर्साउने बोर्डले घटेका बेला लगानीकर्तालाई सम्हालिन आग्रह गरे कसैको केहि बिग्रिन्नथियो नि, होइन र ?
बोर्डले टिप्स नम्बर ११ मा भनेको छ धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा कारोबार भएको दिनको दुई दिन भित्रमा कारोबारको राफसाफ हुनुपर्ने कुराको जानकारी लिनुहोस् । यो जानकारी त लगानीकर्तालाई छ नि, तर ब्रोकरले पैसा नै दिन्नन । पैसा समयमा नदिने त्यस्ता हरामी ब्रोकरहरुलाई तह त धितोपत्र बोर्डले लगाउने हो नि । हुन त पछिल्लो समय यसमाचाहिं काम गरेको छ है बोर्डले । तर पुगेको छैन ।
बोर्डले टिप्स नम्बर १८ मा भनेको छ -धितोपत्र बजार, वित्त बजार, बीमा बजार तथा सम्बन्धित नीति, नियम तथा निर्देशनहरु सम्बन्धी आधिकारीक जानकारीका लागि बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा बीमा समितिको वेबसाइट हेर्ने गर्नुहोस् । वेव साइट हेर्नुहोस् भन्ने बोर्डले आफ्नो वेवसाइटलाई अझ बढी सूचनाहरु भएको आधुनिक बनाए झन् कति राम्रो हुने थियो । अहिले बजारमा आएका, लगानीकर्ताले रुचाएका साइटजस्तै बोर्ड आफैंले त्यस्तो प्लेटफर्म बनाए झन् कति राम्रो हुने थियो नि, होइन र ?
र बोर्डले अन्तिम अर्थात २० नम्बर बुँदामा भनेको छ- बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नियमित रुपमा प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रम तथा प्रकाशन मार्फत संचालन गर्दै आएकोमा त्यस्तो कार्यक्रममा सक्रिय सहभागी भै बजार तथा लगानी सम्बन्धी आवश्यक ज्ञान हासिल गर्नुहोस् । यो टिप्स पढेरचाहिं हास्ने हो कि रुने हो, पत्तो पाइएन । लगानीकर्ताका लागि नियमित रुपमा प्रशिक्षण कार्यक्रम कहाँ भईरहेको छ, त्यो पनि जानकारी भए दुई चार कुरा बुझ्न हामी पनि आउँथ्यौं । सचेतनामूलक कार्यक्रम नियमित प्रकाशन र प्रशारण कहाँ भयो त्यो पनि थाहा भएन । त्यहि रेडियो कार्यक्रमको कुरा गरेको भए त्यहाँको सचेतना सार्है कमजोर छ, त्यो काम छैन हाकिम साप । गतिलो कार्यक्रम गरेर सूचना पाउँ है ।