काठमाडौँ । एक बैंकर हुनुको नाताले पनि लाग्छ, कि आजको दिनमा बैंकिङ क्षेत्रमा काम गर्ने हर कोहीले ‘Good Faith’ मा काम गर्छन् र निरन्तर दशकौँदेखि गर्दै आएका छन् । जसबाट देश र जनताको आर्थिक व्यवस्थापनमा प्रत्यक्ष तथा अप्रत्यक्ष टेवा पुगिरहेको कुरा छर्लङ्ग नै छ । यो देशमा कुनै संस्थामा पारदर्शिता छ र राज्यको नियम अधिकतम पालन गर्ने कुनै निकाय छ भने त्यो बैंकिङ क्षेत्र हो भन्दा अत्युक्ति नहोला । जसमाथि नेपाल राष्ट्र बैंकले प्रत्यक्ष नियमन गरिरहेकै छ, साथै यस उद्योगमा काम गर्ने हर कोही व्यक्ति बैंकिङ कसुरबारे केही न केहि रुपमा ज्ञात छ, अनि उतिकै सतर्क पनि ।
एउटा ग्राहकको चेक बाउन्स हुँदा मात्र त प्रहरी कार्यालय र अदालत धाउनुपर्ने कानुन छ र कयौं व्यक्तिहरु सोही कसुरमा सजाय (३ महिनासम्म कैद वा रु. ३००० जरिवाना वा माथिका दुवै) भोगिरहेको तत्कालीन अवस्थामा एउटा सहायक, अधिकृत वा माथिल्लो तहको कर्मचारीले ग्राहकसँग मिलोमतोमा कर्जा दिने र अपचलनमा सघाएर आफू दूधले नुहाउँछु भनेर सोच्छ भन्ने कुरा तात्त्विक र अर्थपूर्ण छ जस्तो लाग्दैन । तर, कुनै पनि कर्मचारी वा अधिकारीबाट गल्ती हुँदैन, हुनै सक्दैन भन्न खोजिएको भने हैन ।
केही मानवीय त्रुटि हुन सक्छन् भने केही ग्राहकबाटै सही सूचना छिपाइएका पनि हुन सक्छन् त केही सूचना लिने क्रममा बैंकका कर्मचारीहरु चुकेका हुन सक्छन् अनि केही अपवाद पनि हुन सक्छन, जहाँ केहीले गलत मनसायबाट प्रेरित भएर काम गरेका पनि । तर, यी सबै कुरालाई एकमुष्टमा, सतही ढंगबाट कर्मचारी वा बैंकले मिलोमतोमा कर्जा अपचलन गर्यो भनेर भन्नु, हठात् ज्यानमारालाई झैँ पक्रनु अनि मिडियाले समेत बैंकिङ प्रक्रियामा कर्जा दिन र लिन सक्ने अवस्था र अभ्यासका बारेमा अलिकति पनि ज्ञान नभएझैँ प्रचारबाजी गर्नु कति सान्दर्भिक होला र ? यसले कसलाई फाइदा होला वा नोक्सानी ? तर, गम्भीर भएर सोच्न अनि कृया-प्रतिकृया गर्न, समीक्षा गर्न जरुरी छ ।
सम्बन्धित क्षेत्रमा काम गर्ने झण्डै १ लाख कर्मचारी, यस उधोगका लगानीकर्ता, बचतकर्ता, ऋण लिएर अन्य उधोग व्यवसाय गर्ने आम व्यावसायिहरु तथा आर्थिक गतिविधिमा के असर पर्ला भन्ने कुराको लेखाजोखा अलिकति गरिएको देखिदैन जुन अत्यन्त महत्त्वपूर्ण र आधारभुत पक्ष हो जस्तो लाग्छ ।
यसको अर्थ बैंकिङ व्यवसाय सय प्रतिशत शुद्ध छ, यहाँ कुनै छलकपट हुँदैन, भएको छैन भन्न खोजिएको भने पक्कै हैन, हुन सक्छन् त्रुटी, कमजोरी अनि कसुरहरु । तर, यसका पनि सभ्य, सरल र गोप्य तवरबाट छानबिन र अनुसन्धान हुन सक्थ्यो, सक्छ र गर्नुपर्छ, जुन विगतका केही घटनाक्रमले त्यो प्रमाणित गरिसकेको पनि छ । उदाहरणका लागि तत्कालीन बैंक अफ काठमाडौंका प्रमुख कार्यकारी अधिकृत (CEO) श्रदय अजय श्रेष्ठ आफूमाथि लागेको कसुरमा सफाइ पाएर बेकसुर प्रमाणित भइसक्नुभएको छ । अर्कोतिर तत्कालीन सिभिल सहकारी तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ जेल चलान हुनुभएको छ ।
यसबाट के प्रष्ट हुन्छ भने यो देशमा बैंकिङ कसुरको लागि कानुन छ, कार्यन्वयन पनि भएको छ र गल्ती गर्ने जो कोही पनि सजायको भागिदार हुनैपर्छ तर यी सबैका लागि सूक्ष्म, सरल र सबल ढंगबाट अनुसन्धान र छानबिन हुनुपर्छ न कि सम्बद्ध सबैलाई आतंकित र हतोत्साहित बानाएर सिङ्गो उधोगमाथी राज्य र यसका निकायहरुको दादागिरी ।
बैंकिङ क्षेत्र एक विश्वसनीय र पारदर्शी क्षेत्र हो जहाँ सम्बद्ध हर कोही हरसमय यो राज्यका निम्ति आफ्ना कर्मका कहानी सुनाउन तयार छ र रहिरहन्छ त्यसका लागि हतकडी बोकेर कैदी राख्ने कारागार खाली गर्नतिर लाग्नै पर्दैन ।
यस्ता सयौँ मुद्दा होलान्, जहाँ सम्मानित अदालतको फैसलालाई समेत नजरअन्दाज गरेर, अदालतको मान हानी हुने गरि राजनीति र सौदाबाजिको नाममा अपराध वा कसुर प्रमाणित भएकामा समेत कैद मिनाहा, राजनीतिक कर्मीको बचाउ, सुन काण्ड र सरकारी सम्पत्तिको दोहनका आरोपितहरुलाई उन्मुक्ति, समान अपराध र कसुरमा असमान कानुनी व्यवहारको पर्दा निर्लज्ज ओढेको यो राज्य र मातहतका निकायहरु एकाएक बैंक तथा वित्तीय क्षेत्रमाथि जाइलाग्नु हाँस्यास्पद छ । जुन क्षेत्र आफैँमा अनुशासित, मर्यादित, अनुपालनामा अब्बल, निरन्तर निर्देशित तथा सम्बद्ध सबै पक्ष र राज्यप्रति पूर्ण जिम्मेवार र इमानदार छ ।
अर्कोतिर, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा उपभोग गरेर सम्बन्धित संस्थाहरुले सुझाए अनुरुप नियमित किस्ता तथा ब्याज भुक्तानी गर्न असमर्थ भई केही व्यक्ति तथा समूह, बैंक र बैंकका कर्मचारीमाथि खुलमखुला आरोप तथा धम्कीपूर्ण भाषणबाजी गर्दै, करोडौं नेपालीहरुले आफ्ना बाबुनानीका भविष्य, स्वास्थ्य र शिक्षाका लागि, बुढेसकालमा उपचारका लागि भनेर बैंकमा जम्मा गरेको रगत त पसिनाका थोपारुपी बचतबाट लिएको ऋण मिनाहा गर्नुपर्छ भन्दै बिना तर्क, बिना तथ्य, नियम र कानुन भन्दा माथि रहेर सिङ्गो उधोग, आम व्यावसायी र राज्यमाथि नै पटकपटक प्रहार गर्दा समेत सो शृङ्खलामा मौन समर्थन गर्ने राज्य र मातहतका निकायहरु उल्टै बैंकिङ व्यवसायमाथि खनिनु गम्भीर र अनौठो विषय बनेको छ ।
बैंक तथा वित्तीय संस्थाका पनि लगानीकर्ताहरु हुनुहुन्छ, उहाँहरुले पनि यस व्यवसायमा लगानी गरेर लाखौं युवाहरूलाई देशमै रोजगारी दिनुभएको छ, राज्यलाई करोडौं राजस्व बुझाउनु भएको छ, आम कर्मचारीहरु प्रत्यक्ष करको दायरामा हुनुहुन्छ, लाखौं व्यवसायीहरू जन्माउनु भएको छ, सानो तथा छरिएर रहेको निक्षेपलाई एकत्रित गरेर, सुरक्षाको जिम्मा लिएर ऋणको रुपमा परिचालन गरि सिङ्गो अर्थतन्त्रलाई चलायमान राख्न प्रत्यक्ष भूमिका निर्वाह गरिरहनुभएको छ । यस क्रममा केही त्रुटि र कमी कमजोरी हुन नदिन तथा भइहालेमा तत्काल सुधार गर्न नेपाल राष्ट्र बैंकले हर समय नजिकबाट नियालिरहेकै छ, विभिन्न निर्देशन र नियमन गरिरहेकै छ ।
यो सुखद परिवेश हो, जसलाई निरन्तर नियमन, निर्देशन, मार्गदर्शन र उत्प्रेरणाको जरुरत छ जसबाट मात्र देशमा बैंकिङ, उधोग कलकारखाना र सिङ्गो व्यावसायिक क्षेत्रमा उत्साह रहन्छ अनि यसको प्रत्यक्ष प्रभाव उत्पादन र औद्योगिकरणमा रहन्छ ।
त्यसैले बैंकिङ व्यवसाय अत्यन्त महत्त्वपूर्ण र संबेदनसिल छ, यसमाथि हुने नियमन, नियन्त्रण (सिमित), निर्देशन र छानबिन तथा अनुसन्धान समेत संबेदनसिल र आतंकरहित हुनुपर्छ जसबाट मात्र सम्बद्ध सबै पक्ष र राज्य अनि मातहतका निकायको समेत आर्थिक सुरक्षा र भलाई हुनेछ अन्यथा ‘भुइँको टिप्न खोज्दा पोल्टाको समेत गुमे’ राज्य नै आर्थिक संकटमा नपर्ला भन्न सकिन्न किनभने बैंकिङ क्षेत्रमाथि विगत केही वर्षदेखि नै राज्य र यसका निकायहरु नियन्त्रणमुखी बन्दै गएको तथा पछिल्लो समय केही व्यक्ति र समुहले समेत अफवाह फैलाएर निरन्तर प्रहार र राजनीति गरिरहेको विषम परिप्रेक्ष्यमा यस क्षेत्रले बडो बुद्धिमतापूर्वक सहन गरिरहेको देखिन्छ ।
अन्त्यमा नेपालमा रहेका सबै बैंक तथा वित्तीय संस्था स्वस्थ छन्, निर्धारित नियम र कानुनभित्र रहेर सञ्चालित छन्, उद्देश्य र कर्तव्यमा दृढ छन् साथै राज्य र आम ग्राहकप्रति जिम्मेवार अनि इमानदार छन् सँगै केही त्रुटि र कमिकमजोरीहरू पनि होलान् जुन सुधार गरिरहेकै छन्, गर्नेछन् र सधैँ अनुशासित भएर हिँड्न तयार पनि छन् ।
त्यसैले यस क्षेत्रमाथिको धरपकड बन्द गरेर बैंक र यसका कर्मचारीमाथि लागेका आरोप र उजुरीहरूमाथि धरपकडबिना, सरल, निष्पक्ष र सूक्ष्म रुपमा छानबिन र अनुसन्धान गरियोस्, आम बैंक र बैंकरहरु राज्यलाई हरबखत उपलब्ध छौं, रहिरहनेछौँ ।
जनताको रु. ६१ खर्बभन्दा बढीको निक्षेपबाट रु. ५० खर्बभन्दा बढी कर्जा परिचालन गरि सिङ्गो अर्थतन्त्रलाई नै चलायमान राख्न आफ्नो काँधमा जोखिमको भारी बोकेर दिनरात नभनी परिवार र आफन्तजनबाट समेत टाढा रहेर कडा मेहनत गर्ने सम्पूर्ण बैंक बित्तीय संस्था र यसमा कार्यरत सम्पूर्ण कर्मचारीहरु एकजुट हुनुको विकल्प छैन । अन्यथा मुर्खहरुको राजनीति र जालसाजीको भुङ्ग्रोमा परेर देशको बैंकिङ क्षेत्रसँगै आर्थिक अवस्था टाट पल्टिने र देश नै भड्खालोमा नजाला भन्न सकिँदैन ।
तथास्तु ।