काठमाडौँ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कुनै कर्जाको सावाँ र ब्याजको भुक्तानी अवधि तीन महिना वा सो भन्दा बढी समयले नाघेको खण्डमा निष्क्रिय कर्जा (एनपिएल) मा वर्गीकरण गर्नु पर्ने व्यवस्था रहेको छ ।
निष्क्रिय कर्जा बैंक तथा वित्तीय संस्थाहरूको कार्यसम्पादन प्रदर्शन परीक्षण गर्ने महत्वपूर्ण वित्तीय परिसुचक हो । यसले बैंकहरुको वित्तीय स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकाले लगानीकर्ता र निक्षेप कर्ताका लागि पनि यो सूचक झनै महत्त्वपूर्ण र चासोको विषय हुन जान्छ ।
निष्क्रिय कर्जालाई चार भागमा विभाजन गरी अध्ययन गर्न सकिन्छ । साँवा र ब्याजको भुक्तानी अवधि तीन महिनादेखि छ महिनासम्मले भाखा नाघेको कर्जालाई कमसल कर्जा भनिन्छ भने छ महिना देखि बाह्र महिनासम्मले भाखा नाघेको भएमा शङ्कास्पद कर्जा भनिन्छ, त्यसै गरी एक वर्षले भुक्तानी अवधि नाघेको कर्जालाई सामान्यतया खराब कर्जा भनिन्छ र पुनरतालिकिकरण वा पुनर्संरचना गरिएको कर्जाहरुलाई निष्क्रिय कर्जा अन्तर्गत राख्नु पर्ने व्यवस्था छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाले आफ्नो सम्पत्तिको गुणस्तरलाई स्वस्थ बनाउन निकै ठुलो चुनौतीको रुपमा लिनु परेको थियो । सोही अवधीमा बैंक तथा वित्तीय संस्थाहरू (विशेषगरि क, ख र ग बर्ग) को निष्क्रिय कर्जा पछिल्लो १० वर्ष यताकै उच्च बिन्दुसम्म प्रस्थान गर्न पुग्यो ।
नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित प्रतिबेदन अनुसार २०८० चैत महिनामा वाणिज्य बैंकहरुको एनपीएल ३.८९ प्रतिशत, विकास बैंकहरुको ३.६३ प्रतिशत र फाइनान्सहरुको १०.४० प्रतिशतसम्म पुगि समग्रमा क, ख र ग बर्गको निष्क्रिय कर्जा ३.९८ प्रतिशत रहन पुग्यो जुन पछिल्लो दशककै सबैभन्दा उच्च बिन्दु हो । यस भन्दा पहिला २०७१ सालमा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा ३.७६ प्रतिशत रहेको भेटिन्छ । बैंकहरुले प्रवाह गरेको कर्जा समयमै असुल नहुँदा समग्र एनपिएल बढ्न गएको हो ।
त्यसैगरी, नेपाल राष्ट्र बैंकले २०८१ भदौमा प्रकाशित गरेको असार मसान्तसम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा ३.७६ प्रतिशत, विकास बैंकहरुको ३.६२ प्रतिशत र वित्त कम्पनीहरूको ९.८७ प्रतिशत रहेको छ, समग्रमा क, ख र ग बर्गको निष्क्रिय कर्जा ३.८६ प्रतिशत रहेको देखिन्छ ।
यसरी हेर्दा चैत महिनामा प्रकाशित प्रतिवेदनको भन्दा हालको एनपिएल केही मात्रामा घटेको देखिन्छ । यद्यपि अझै पनि आफ्नो सम्पत्तिको गुणस्तर सुधार गर्नु र तरलताको आदर्शतम व्यवस्थापन गर्नु बैंकहरुको टाउको दुखाइको प्रमुख विषय बनेको अवस्था देखिन्छ । सामान्यतया बैंकिङ क्षेत्रमा ५ प्रतिशत भन्दा बढी निष्क्रिय कर्जा हुनुलाई वित्तीय अवस्था ठिक नभएको मानिन्छ ।
तथापि निष्क्रिय कर्जा धेरै वा थोरै जति नै भए पनि बैंकिङ ब्यवसायको लागि राम्रो मानिदैन किनभने यसले प्रमुखता बैंकको मुनाफालाई निष्क्रिय कर्जाको जगेडामा पुर्याई मुनाफा घटाउदछ, साथै बैंक र बैंकिङ क्षेत्रको स्थायित्वमा नै चुनौती खडा गर्दछ ।
यसरि निष्क्रिय कर्जा (एनपिएल) बढ्नुमा आन्तरिक भन्दा पनि बाह्य कारणहरू धेरै रहेको बैंकिङ ब्यबसायीहरुले भन्दै आएको छन् । हुन पनि विश्व नै आर्थिक मन्दीको चपेटामा पर्नुका साथै कोरोना महामारीबाट तंग्रिन नपाउँदै देखिएको बाह्य युद्धले पनि अर्थतन्त्रलाई थप थिलथिलो बनायो र अर्कोतर्फ बैंक तथा वित्तीय संस्था विरुद्धमा केही अभियान्ताहरुले फैलाएको ऋण तिर्न नपर्ने अराजक हल्लाका कारण कतिपय ऋण तिर्न सक्ने क्षमता भएका ऋणिहरु पनि पर्ख र हेरको अवस्थामा बसे । जसका कारण बैंक तथा वित्तीय संस्थाहरू निष्क्रिय कर्जाको चपेटामा फसेको देखिन्छ ।
यसका साथै कोरोना महामारीले प्रभावित व्यापार व्यवसायका लागि केन्द्रीय बैंकले लिएको लचक नीतिको परिणामस्वरूप पनि निष्क्रिय कर्जा बढेको मान्न सकिन्छ । विशेष गरि महामारी पछिको आर्थिक संकटको दलदलमा फसेको ब्यबसायीहरुले चाहदा चाहदै पनि कर्जा तिर्न नसक्नु एनपिएल बढ्नुको प्रमुख कारण रहेको देखिन्छ साथै केही क्रणीहरुको खराब नियतवश कर्जा प्राप्त गरी भाग्नु वा भुक्तानी नगर्नु पनि प्रमुख कारण हो ।
त्यसैगरी कोभिडको समयमा निष्क्रिय कर्जामा वर्गीकरण भई, पछि नियमित किस्ता भुक्तानि गरेता पनि छ महिना सम्म निष्क्रिय कर्जामा नै राखिनु पर्ने ब्यबस्था कार्यान्वयन हुनुले पनि धेरै कर्जाहरु एनपिएलको रुपमा गणना हुन पुगेको देखिन्छ ।
यद्यपी बैंकरहरुले आर्थिक मन्दीलाई नै प्रमुख तारो बनाए पनि उनिहरुको बैंकिङ व्यावसायिक इमान्दारिता माथी पनि प्रश्न चिन्ह खडा रहेको देखिन्छ । यसमा कोभिड महामारी आउनु अगाडी र महामारी आए पछि सम्म पनि बैंकरहरु इमान्दार नहुनु प्रमुख कारण हो । जस्तो कि कर्जा लगानी गर्दा उनिहरु संयमीत हुनु पर्ने थियो, आफुसग पर्याप्त लगानी योग्य कोष हुदा बढी नाफा कमाउन तिर ध्यान गई कम गुणस्तरीय कर्जा लगानी हुनु, कर्जा लगानिमा उचित धितो सुरक्षण प्राप्त नगरिनु, कर्मचारीहरु र ऋणि बिचमा मिलेमतो गरि कर्जा लगानी गरिनु, भित्री कारोबार हुनु, रिलेटेड पार्टिलाई कर्जा प्रबाह गरिनु, ऋणिहरुको आवस्यकता भन्दा बढी कर्जा लगानी गरिनु, बिगत देखि नै कर्जा हरितिकरण गर्दै आउनु, कर्जा प्रवाह पछि नियमित अनुगमन र प्रतिवेदनमा चुक्नु, धितो सुरक्षण मुल्यांकन त्रुटिपूर्ण रहनु, ऋणि र परियोजनाको सहि बिश्लेषणमा कमजोरी लगायतका बैंकरहरुको कमजोरीले समेत हालको निष्क्रिय कर्जा बढाएको हो । यसरी कोभिट महामारी पछिको आर्थिक मन्दीको भुमरी, बैंकहरु लक्ष्यित भएको अराजक प्रचारबाजी साथै अन्तर्राष्ट्रिय युद्धको बाछिटाको साथै बैंकरहरुको असंम्यमताले गर्दा हालको निष्क्रिय कर्जा बढेको हो ।
तथापि पछिल्लो समयमा अर्थतन्त्रको बृहत आर्थिक परिसूचकहरु सुधारोन्मुख रहनु, बैंकहरु आफ्नो सम्पत्तिको गुणस्तर सुधारका क्रियाकलापमा सक्रिय रुपले लागि पर्नु, लगातार तीन आर्थिक बर्षको कसिलो मौद्रिक नीति पस्चात हाल लचिलो नया मौद्रिक नीति आउनाले विगतको धेरै कमजोरी उचित सम्बोधन हुन गई आन्तरिक आर्थिक गतिविधिमा सकारात्मक संकेत देखिने र व्यवसायिक गतिविधिहरु बढ्दै जाने बिश्वास लिन सकिन्छ । जसले बैंकको निष्क्रिय कर्जा (एनपिएल) लाई थप वृद्धि हुन बाट रोकी सो लाई न्युनतम विन्दुमा कायम राख्न धेरै हद सम्म सहयोग हुने देखिन्छ । -खिलराज तामाङको लेख