काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्समा बीमा गरेका अंगद खड्काले पाउनुपर्ने बीमा नपाएको भन्दै बीमा प्राधिकरणमा उजुरी दिए । प्राधिकरणले सबै कागजात हेरेर उनले बीमा रकम पाउनुपर्ने भन्ने निर्णय गर्यो । तर नियामकलाई किन टेर्ने, यति सजिलै बीमा दाबी पाइन्छ र ? भन्ने शैलीमा सूर्यज्योति अदालत गयो । अदालतले पनि खड्काकै पक्षमा फैसला गर्यो । अर्थात, अदालतले पनि अंगद खड्काले बीमा दाबी रकम पाउनुपर्ने थियो, पाउनुपर्छ भन्ने आदेश दियो । तर के बीमा दाबी भुक्तानी पाउने प्रक्रिया यही हो ? पाउनुपर्ने रकम खुरुक्क दिनुपर्दैन ? दिनै पर्ने थिएन भने प्राधिकरण र अदालतले किन दिनुपर्छ भन्यो त ? यो त सरासर सूर्यज्योतिको दादागिरी भएन र ? बीमा दाबी रकम पाउन के अदालतको आदेश नै चाहिने हो ? प्राधिकरणले भनेको सूर्यज्योतिले नमाने पनि हुन्छ ? प्राधिकरण ठुलो कि सूर्यज्योति ? हो, हामीले यिनै प्रश्न र तथ्य राखेर केही दिन अगाडि समाचार प्रकाशन/प्रशारण गरेका थियौँ । तर, आफ्नो पोल खुलेपछि, सुरुमा सूर्यज्योतिले समाचार भ्रामक भन्दै प्रेस विज्ञप्ति निकाल्यो । त्यो पनि नाम के हो ? भन्ने प्रश्नमा घर काभ्रे हो भन्ने शैलीमा । हामीले उठाएको विषय यो कम्पनीमा दाबी रकम पाउन अदालत नै जानुपर्ने नियतिको अन्त्य हुनुपर्छ भन्ने थियो, तर कम्पनीले विभिन्न हामी राम्रोसँग चलिरहेका छौँ भन्ने हिसाबको विज्ञप्ति निकाल्यो । विज्ञप्तिको चिरफार केही छिनमा गरौँला अहिले मूल विषयतिर पहिला लागौँ ।
अंगद खड्काको विषय सार्वजनिक भएपछि धेरै बीमितले जिज्ञासा राख्नुभएको छ, हामीले पनि सूर्यज्योतिमा बीमा गरेका छौँ, के यस्तै दुख पाइने हो ? धेरै बीमा अभिकर्ताले सूर्यज्योतिका पूर्व कर्मचारीहरुले, सूर्यज्योतिकै भलो चाहाने वर्तमान कर्मचारीहरुले पनि हामीलाई सम्पर्क गरेर सूर्यज्योतिभित्र भएका अनेक हर्कतबारे जानकारी दिँदै गर्दा अंगद खड्काको पाएको दुख र हैरानीको विषय उनकै मुखबाट सुन्न पाए हुन्थ्यो भनेर आग्रह गर्नुभएको छ । र आज हामी स्वयम् खड्काले नै आफूलाई सूर्यज्योतिले दिएको पीडाबारे बोलेको बोली प्रस्तुत गर्दैछौँ ।
अहिले उच्च अदालतले सूर्यज्योतिका विपक्षमा अर्थात अंगद खड्काका पक्षमा फैसला गरेको छ । प्राधिकरणले समेत खड्काले बीमा दाबी भुक्तानी पाउनुपर्ने भनेको अवस्थामा अदालतले पनि सूर्यज्योतिकै विपक्षमा फैसला गरेपछि दूधको दूध, पानीको पानी छुट्टिएको छ । अझ यति हुँदा पनि बीमाको रकम दिनु त कहाँ हो कहाँ, फेरी सर्वोच्च जाने तयारी कम्पनी गर्दैछ भन्ने कुरा सुनिएको छ । हुन त सूर्यज्योतिले जानेकै त्यहि छ, कानुन विभागका कर्मचारीलाई पनि काम दिनै पर्यो । अनि पीडामा फेरी पनि उनै अंगद खड्काहरु न पर्ने हुन् ।
हाम्रो कुरा प्रष्ट छ, बीमा गरेपछि, दिनुपर्ने अवस्थामा दाबी ‘इफ’ र ‘बट’ बिना दिनुपर्छ । अझ प्राधिकरणले दिनुपर्छ भनेपछि त झनै दिनुपर्छ । उच्च अदालतले भनेपछि त झन् नदिई हुन्न । अव बाटो छ भन्दैमा फेरी अर्को तहको अदालत गएर, फेरी मुद्धा हारियो भने मात्र जित्छु भन्दा त हिसाब गरौँ त, बीमा दाबीमार्फत आउने रकम त अदालतमा नै जाने रहेछ । अनि यसरी दाबी नै नदिनुपरेपछि, कम्पनीको नाफा कति देखाए पनि के मज्जा भयो र ? बीमितलाई रुवाएर मालिक पोस्नुमात्र कम्पनीको दायित्व हो र ? बीमा भनेको यस्तै हो भनेर बुझाउन खोजिएको हो ? सूर्यज्योतिले कुल भएर सोचोस् । यो इगो साँध्ने समय र ठाउँ होइन, बीमाबारे राम्रो सन्देश दिन सूर्यज्योतिको पनि कर्तब्य हो ।
सूर्यज्योतिका हाकिमहरुलाई के लाग्छ ? अंगद खड्काको हबिगत देखेपछि, कसैले सूर्यज्योतिमा बीमा गर्छ ? सूर्यज्योतिका मालिकहरुले पनि सोच्नुपर्यो, १२ बर्ष भन्दा बढी सूर्यलाइफमै काम गरेको एउटा सिनियर कर्मचारी, सूर्यज्योति हुने बित्तिकै किन आइएमई लाइफ गयो ? सूर्यज्योतिका डेपुटी सीइओले कम्पनीमा दिएको राजिनामा, बीमा प्राधिकरण पुग्नु अगाडि मिडियासम्म कसरी पुग्यो ? बीमितसँग इगो लिएर सूर्यज्योतिले जिते नै पनि बीमा क्षेत्र हार्छ, यो कुरा कहिले बुझ्ने ? एक पटक आफ्नै फाइलहरु पल्टाएर हेर्नुहोस् त, शरीरको अंग नैफेरेकाहरुको बीमा गरिएको छ, जुन गर्नै मिल्दैन । किस्ताका किस्ता तिरिसकेपछि, मान्छे मरिसकेपछि, ए यस्तो रहेछ भनेर दाबी दिईएको छैन । सुरुमा बीमा गर्नै नहुने/नमिल्ने बीमा गरेर, किस्ता उठाएर पछि दाबी दिन मिल्दैन भन्दा बीमाप्रतिको आम धारणा कहाँ पुग्छ ? कस्तो हुन जान्छ ? दुर्घटनामा पति बितेर बीमा रकम लिन आएकीलाई यति रकमको चाहिं थप बीमा गर्नुपर्छ नत्र पैसा नै आउँदैन भनेर बीमा गरेका फाइलहरु एक पटक पल्टाएर हेर्नुहोस् त । तपाईंलाई फाइल पल्टाउने फुर्सद छैन भने, विवरण हामी दिन्छौं । तर तंग्रिदै गरेको बीमा क्षेत्रलाई यसरी सूर्यज्योतिले बदनाम गराउनु हुन्न । हामीले त सकेसम्म बीमा क्षेत्र प्रति नै गलत सन्देश जाने खबर प्रशारण गर्न नपरोस् भनेर बसेकै हो नि । नत्र सूर्यज्योतिको काण्ड यति मात्र छ होला र ?
अव कम्पनीको विज्ञप्तिको पनि चर्चा गरौँ
हामीले अंगद खड्काले बीमा रकम पाउन खेपेको हैरानीको खबर सार्वजनिक गरेपछि बीमितलाई सेवा दिनु त कहाँ को कहाँ, उल्टै हामीलाई फोन गरेर सूर्यज्योतिका जिम्मेवार अधिकारीले सो समाचार भ्रामक छ भनी कम्पनीले निकालेको विज्ञप्ति छापिदिनु र त्यसका लागि कम्पनी मागिएको पैसा दिन तयार भएको भन्दै पैसाको फुर्ति लगाए । लामो समय चलेको मिडियामा काम गरेको दाबी गर्ने ती प्रतिनिधिले मिडियामा समाचारको खण्डन सम्बन्धित मिडियामा नै पठाउनुपर्छ, र त्यसको लागि कुनै शुल्क लाग्दैन भन्नेसमेत बुझेका रहेनछन् । उनमा अर्को दम्भ पनि रहेछ, पैसाको लोभ देखाएपछि सबै कुरा मिलिहाल्छ । उनले यति सम्म भने कि अरु मिडियामा पनि हामीले पैसा नै तिरेर यो सूचना पठाएका छौं, समाचार बनाए हाले पनि हुन्छ, विज्ञप्ति नै बनाएर हाले पनि हुन्छ । तर, हाम्रो कुरा प्रष्ट थियो, आज पनि प्रष्ट छ, समाचारमा चित्त नबुझे वा आफ्नो भनाई राख्नु परे, खण्डन गर, खण्डन तिम्रो अधिकार हो, हामी त्यसको सम्मान गर्छौँ । तर समाचार प्रकाशन/प्रशारण गरेकै भरमा धम्की नदेऊ, प्रलोभन देखाऊ । अझ कानुनी उपचारमा जान्छौं भनेर धम्की दिने काम भएछ । गए हुन्छ । बीमा दाबी रकम दिनुपर्नेलाई त दिन्न भनेर कानुनको डर देखाएर सकेसम्म दाबी रकम नदिन खोज्नेले यस्तो धम्की दिनु अस्वाभाविक हुँदै होइन । त्यसमाथि अर्थसरोकार संचालकले कानुनमा स्नातकसमेत गरेका छन्, धेरै मुद्धा मामिला झेलेका छन्, कानुन के हो भन्ने कुरा प्रष्ट थाहा छ । बरु, सूर्यज्योतिलाई थाहा हुनुपर्ने हो, अहिले सूर्यज्योतिका संचालकको योग्यता नपुगेका, भारतीय विश्विद्यालयको सर्टिफिकेटको नेपालमा समक्षकता नै नलिई संचालक बनेको विषय विभिन्न मिडियाहरुमा उठिरहेको छ । हामी पनि कुरोको चुरो बुझ्न लागिरहेका छौँ । धम्की दिनेको पढाई पनि हामीलाई राम्रोसँग थाहा छ ।
अझ कानुनका कुरा गर्ने महासयलाई यतिसम्म थाहा रहेनछ, जुन संचारमाध्यममा समाचार आएको हो, खण्डन त्यहीं पठाउनुपर्छ, खण्डन नगरे, नियामक निकायमा उजुरी दिन मिल्छ । त्यहाँ पनि चित्त नबुझे अदालत जाने बाटो छ । ओके छ त, अदालतमै भेट्न मन भए त्यतै भेटौंला, हामी तिमीले दिएका प्रलोभन र मिचेका कानुनका प्रमाण पेश गरौँला, तिमी आफ्नो दाबी पेश गर्नु, फैसला शिरोधार्य हुनेछ, हुन्न र ?
कानुनकै धम्की दिने सूर्यज्यूतिलाई यो पनि हेक्का रहोस्, गर्नै नमिल्ने बीमा थुप्रै पटक गरिएको छ सूर्यज्योतिमा, सो गैरकानुनी छ, यसको हिसाब किताब हुनै बाँकी छ । संचालकको बैधतामाथि प्रश्न उठेको छ, त्यसको पनि कानुनी निक्र्योल पक्कै हुनेछ । डमी कोड प्रयोग गरेर ककसले अकुत कमाएका छन् भन्ने तथ्य एक एक गरी बाहिर आउनेछ, र कम्पनीको आडमा गैरकानुनी काम गर्नेले पक्कै सजाय पाउनुपर्छ । बैंकमा डिपोजिटको बार्गेनिङ्ग गरेर बीमा बेच्नु के कानुनी थियो ? यो प्रश्नभित्रको यथार्थ पनि बाहिर पक्कै आउनेछ । अनि विभिन्न अरु मिडियामा पनि सूर्य ज्योतिले गरेका हर्कतहरुबारे खुलासा भईरहेको छ । यसमा कम्पनीले गरेको गैरकानुनी कामको पनि पक्कै हिसाबकिताब हुनेछ । विज्ञप्तिमा जुन तथ्यांक प्रस्तुत गरिएको छ नि, इन्टरनल अडिट कसले गर्यो, एक्सटरनल अडित कसले गर्यो, र त्यहाँ अडिट गर्ने सिए सापहरुले पनि कतिको कानुनी काम गर्छन् कतिको गैरकानुनी भन्ने विषय अर्थ सरोकारमा गएर हेरे हुन्छ, नियामकको अनुशासन समितिमा गएर फाइल पल्टाई मागे हुन्छ । सधैं बीमा प्राधिकरणले भनेको सूर्यज्योतिले मान्नुपर्दैन भन्ने नहोला नि, एक दिन जरुर सबै कुराको हिसाब किताब हुनेछ ।
हाम्रो चाहाना यति हो, सूर्यज्योति बीमा क्षेत्रको पहिलो कर्णाली बिकास बैंक नहोस् । अंकको फुर्ति सूर्यज्योतिले नलगाए हुन्छ, कर्णालीले पनि हामी सबै ठिक छ भनेको केही समयभित्रै सबैकुरा बिग्रिसकेको रहेछ भनेर राष्ट्र बैंकले टेकओभर गरेको हो । आज पो बीमा प्राधिकरण सूर्यज्योतिको फेबरमा होला, उसले भनेको नमाने पनि हुन्छ होला, तर समय सधैं उही रहँदैन । आजको दिनमा सूर्यज्योति नामको एउटा कम्पनी डुब्दा मालिकहरु मात्र डुब्ने छैनन्, सँगै डुब्नेछ आम बीमा क्षेत्रप्रतिको विश्वास । आफ्नो दुहुनो मात्र सोझ्याउन छोडेर समाजको आशा र भरोसा पनि हेर्ने हो कि । किनकि, एउटा रोग लागेको मान्छेलाई दिनुपर्ने केही लाख रुपैयाँ नदिएर, र यसै गरेर थुपारेको नाफाले फाइदा गर्दैन । चेतना भया । (भिडियो)