×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नीति तथा कार्यक्रम ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्यमा केन्द्रित छ’ : नेता श्रेष्ठ

LAXMI SUNRISE BANK

‘नीति तथा कार्यक्रम ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्यमा केन्द्रित छ’ : नेता श्रेष्ठ

४ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले मुलुक र मुलुकवासीको आवश्यकता पूरा गर्न र राजनीतिकरुपले आर्थिक सामाजिक रुपान्तरण गरी ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्यलाई केन्द्रविन्दुमा राखेर नीति तथा कार्यक्रम आएको भनी स्वागत गर्दै समर्थन जनाउनुभएको छ ।
राष्ट्रियसभामा आव २०७७/७८ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा पहिलो वक्ताका रुपमा भाग लिँदै उहाँले देश र विश्वकै विशिष्ट परिस्थितिलाई ध्यान दिएर गर्नुपर्ने मुख्य काम नीति तथा कार्यक्रममा समेटिएको बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुुभएको थियो ।
नेता श्रेष्ठले भन्नुभयो, “नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितलाई केन्द्रविन्दुमा राखेर नेपाल सरकार अघि बढ्ने प्रतिबद्धतालाई जोडदाररुपमा समेटिएको छ ।” केही समयदेखि महाकाली क्षेत्रमा नेपाली भूमि अतिक्रमण भएकामा उक्त भूमि फिर्ता र प्राप्त गर्न ठोस पहलकदमी गर्ने र नेपालको नक्सामा छुट हुन गएका भूभागलाई सामेल गरेर नेपालको नक्सा प्रकाशित गर्ने ऐतिहासिक निर्णय नीति तथा कार्यक्रममा उद्घोष गरेको जनाउँदै उहाँले ‘सरकारको ऐतिहासिक कदमप्रति धन्यवाद ज्ञापन गर्नुपर्छ’ भन्नुभयो ।
समाजोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्दै अझै विकसित तुल्याउँदै कार्यान्वयनमा लैजान ठोस मार्गचित्र अघि बढाएको बताउँदै नेता श्रेष्ठलाई लोकतन्त्रलाई अझै जनमुखी र प्रभावकारी बनाउनुपर्छ भन्नेमा सरकार दत्तचित्त रहेको धारणा प्रकट गर्नुभयो । 
नेपाललाई कोभिड–१९ महामारीमुक्त देश बनाउनु सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै उहाँले सचेतना फैलाउने र सजगता अपनाउन, क्वारेन्टाइन र परीक्षणलाई व्यापक बनाउने, उपचारका लागि स्वास्थ्य सेवामा गुणस्तर वृद्धि गर्नेजस्ता विषय नीति तथा कार्यक्रम समेटिएको बताउनुभयो । 
हरेक सङ्कट राष्ट्र निर्माणका लागि अवसरमा परिणत गर्न सकिन्छ भनेर रोजगारी, उत्पादन क्षेत्र, औद्योगिक विकास र कृषि क्षेत्रको विकासलाई जोड दिइएको बताउँदै नेता श्रेष्ठले सरकारको नीति तथा कार्यक्रमलाई कार्यान्वयमा सबै शक्ति एकजुट हुन आह्वान गर्नुभयो ।
नीति तथा कार्यक्रमलाई सङ्क्षेपीकरण गर्न, तत्कालीन आवश्यकताले सिर्जना गरेको सोचअनुसारको विकास ढाँचा अघि बढाउन, समाजवादोन्मुख विकास ढाँचा बनाउन, प्राथमिकतालाई अझै मूर्त र ठोस बनाउन, विपद् व्यवस्थापनका कार्यक्रम घोषणा गर्नेजस्ता विषयमा सुधार ल्याउन सकिने सम्भावना रहेको थियो भनी उहाँले सुझाव प्रस्तुत गर्नुभयो ।
सोही पार्टीका परशुराम मेघी गुरुङले कोभिड–१९ मानवमाथिकै शताब्दीकै सबैभन्दा ठूलो सङ्कट पैदा गरेको भनी स्वीकार्दै मुलुकको अर्थतन्त्रलाई धक्का दिएकाले मानव जीवनको संरक्षणलाई प्राथमिकीकरण गरेर काम गर्नेजस्ता विषय नीति तथा कार्यक्रममा समेटिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सङ्घ, प्रदेश र स्थानीय सरकार समन्वयमा राहत कार्यक्रम संञ्चालन गरिने कुरा पनि उल्लेख भएको छ, देश बाहिर र सीमामा रहेका नेपालीलाई घर फर्काउने विषय पनि सम्बोधन गरेको छ”, बजेटमार्फत पनि ठोस कार्यक्रम आउने नै छ, राष्ट्रिय क्षमताको वृद्धि, संविधान कार्यान्वयमार्फत दायित्व पूरा गर्ने, क्षेत्रगत विकासलाई निरन्तरता दिने नीति तथा कार्यक्रमका विशेषता हुन ।
नेकपाकै बेदुराम भुसालले नीति तथा कार्यक्रम लामो र छरिएका भए पनि देश र जनताको हितमा सरकारले गर्नै पर्ने धेरै कार्यक्रम समेटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय प्रतिबद्धता, लोकतन्त्रको विकास र स्थायित्वमा जोड, जनताका लागि स्वास्थ्य र शिक्षामा केन्द्रित भएको तथा रोजगारी सिर्जना गर्ने मार्गचित्र समेटिएको नीति तथा कार्यक्रमप्रति म स्वागत र समर्थन जनाउँछु । 
सोही पार्टीका विमला घिमिरे वर्षांैदेखिको सुकुम्बासी र अव्यवस्थित बसोबास अन्त्य गर्ने ढङ्गबाट आएको नीति तथा कार्यक्रमले मुलुकको अहिलेको माग र आवश्यकतालाई सम्बोधन गर्न सक्षम हुने बताउनुभयो । नेकपाका देवेन्द्र दाहालले कोभिड–१९ को प्रभावलाई नियन्त्रण गर्दै देशको अर्थतन्त्रलाई चलाएमान गर्ने ढङ्गबाट नीति तथा कार्यक्रम आएको भनी बचाउ गर्नुभयो । 
सोही पार्टीका कोमल वलीले समस्याको पहिचान गरेको, चुनौतीलाई आँकलन गरेको र सबै पक्षलाई समेटिएर आएको नीति तथा कार्यक्रमले आमजनताको भावनालाई सम्बोधन गर्ने बताउनुभयो । नेकपाकै शेरबहादुर विश्वकर्माले सबै जातजाति र समुदायलाई समेटेर ल्याइएको नीति तथा कार्यक्रम नेपाल र नेपाली जनताको हितमा परिलक्षित रहेको धारणा व्यक्त गर्नुभयो ।
सोही पार्टीका डा विमला राईले ‘नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता भनेको कोरोनाबाट देशलाई मुक्त गराउने हो’ भन्नुभयो । नेकपाकै गोपी सार्की अच्छामीले सरकारको नीति तथा कार्यक्रम कोभिड–१९ को रोकथाम र समग्र मुलुकको हितका लागि ठीक गन्तव्य पहिचान गरेको छ भनी स्वागत र समर्थन गर्नुभयो ।
सोही पार्टीका बिना पोखरेलले कोभिडको सामना दिएर जनतालाई सुरक्षित तुल्याउने उद्देश्यले आएको नीति तथा कार्यक्रमले समाजवादको आधार तयार गरेको बताउनुभयो । नेकपाकै चक्रबहादुर स्नेहीले नेपालका छुटेका भूमिलाई समेटेर नक्सा प्रकाशित गर्ने सरकारको घोषणा गरेकामा धन्यवाद ज्ञापन गर्नुभयो ।
सोही पार्टीकै शेरबहादुर कुँवरले कठिन परिस्थितिमा स्वास्थ्य, कृषि र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएर आएको सरकारको नीति तथा कार्यक्रमले कोरोना नियन्त्रण र मानिसको जीवन रक्षालाई प्राथमिकता दिएको बताउनुभयो । नेकपाकै कविता बोगटीले आर्थिक वर्ष नीति तथा कार्यक्रम निकै महत्वपूर्ण र सान्दर्भिक रहेको र अहिलेको आवश्यकतालाई पूरा गर्ने ढङ्गबाट आएकाले सबै मिलेर कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
राष्ट्रिय जनता पार्टी (राजपा)का मृगेन्द्रकुमार सिंहले राष्ट्रिय आवश्यकता पूरा गर्ने, जनताको जीवन रक्षा गर्ने, रोग र भोकको निधान गर्नेतर्फ नभई इतिहासमै सबैभन्दा लामो र पट्यार लाग्दो दस्तावेजका रुपमा नीति तथा कार्यक्रम आएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोभिड महामारी रोकथाम र भोकभोकै हुने अवस्थामा रहेका श्रमिकको हितलाई सम्बोधन गर्ने विषय नीति तथा कार्यक्रममा परेका छैन ।” नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ । राष्ट्रियसभाको अर्को बैठक भोलि सोमबार दिनको ११ः०० बजे बस्नेछ । -रासस 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी