
मुलुकको नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार व्यवस्थापिका संसदमा निर्वाचन हुँदैछ । प्रधानमन्त्री पदका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति सुशील कोइरालाले उम्मेद्वारी दर्ता गराएका छन् ।
प्रधानमन्त्रीमा चयन हुनका लागि करिब ३०० मतको आवश्यकता पर्छ । यस्तोमा १ सय ८३ सांसद रहेको एमालेलाई थप १ सय १७ भोट आवश्यक पर्छ । यसमा एकीकृत नेकपा माओवादी ८३ र राप्रपा नेपाल २५ ले ओलीलाई सघाउने निर्णय गरिसकेका छन् । तीन पार्टीको जोड्दा कुल २ सय ९१ पुग्छ । बाँकी ९ भोटमा मालेको ५ भोट पक्कापक्कीजस्तै हो ।
यस्तै अन्य साना दलको १६ भोट पनि ओलीले पाउने अहिलेसम्म निश्चितप्राय छ । १२ सिट रहेको राप्रपा समेत ओलीप्रति सकारात्मक छ । ओलीको अबको चिन्ता भनेको एमाओवादीमा फ्लोर क्रस हुन्छ कि भन्ने नै हो ।
कांग्रेसको हत्कण्डा
ओलीलाई प्रधानमन्त्रीमा रोक्न कांग्रेसले विभिन्न हत्कण्डा अपनाईरहेको छ । विभिन्न अदृश्य शक्तिहरुको सहयोगमा आईतवारको चुनावमा ओलीको पक्षमा बहुमत हुन नदिन उसले पहिलो प्रयास राप्रपा नेपाललाई रोक्ने प्रयास गरेको छ ।
त्यसका लागी कमल थापासँग राती अवेरसम्म वार्गेनिङ गरिरहेको छ । त्यो सफल हुने सम्भावना कम छ । यस्तै आन्दोलनरत मधेसी दलहरुसँग पनि सहमती कायम गर्ने प्रयास कांग्रेसले गरिरहेको छ भने एमाओवादीका बाबुराम भटराई पक्षका सभाषदलाई भोट नहाल्ने वातावरण निर्माण गर्न प्रयासरत छ ।
केही दिन अघि पार्टी परित्याग गरेका डा. बाबुराम भट्टराईको पक्षमा करिब १५ जना सांसद रहेको बताइन्छ । यी सबैले फ्लोर क्रस गर्ने हो भने पनि राप्रपाको समर्थन पाउने अवस्थामा ओलीलाई कुनै कठिनाई हुनेछैन । फेरि भट्टराई पक्षका सबैले फ्लोर क्रस गर्ने सम्भावना देखिँदैन । प्रचण्डले ओलीलाई आफ्ना सबै सांसदले भोट हाल्ने आश्वासन दिइसकेका छन् । केही सांसदका विषयमा केही आशंका रहेपनि अन्तत उनीहरुले पनि पार्टीको संस्थागत निर्णयलाई मान्ने एमाओवादी नेतृत्वको विश्वास छ । अंक गणित हेर्दा ओलीको पक्षमा अहिलेसम्म स्पष्ट बहुमत छ । आन्दोलनरत मधेसी दलको मतसमेत पाउने हो भने पनि यो अवस्थामा कोइरालालाई बहुमत पुग्ने छैन ।
कांग्रेसको यो प्रयास सफल नभएको अवस्थामा कांग्रेसले प्रधानमन्त्री त गुमाउँछ नै राष्ट्रपति तथा प्रधानमन्त्री एवम् सभामुख सबै पदबाट काँग्रेस विमुख हुन्छ । अघिल्लो संविधानसभामा पनि यसैगरी एमाओवादी पहिलो पार्टी हुँदा राष्ट्रपति, प्रधानमन्त्री र सभामुख लगायत सबै शीर्ष पदबाट विमुख भएको इतिहास छ । तर, अन्तिम समयमा कोइराला पछि हट्न सक्ने आँकलनसमेत गरिँदैछ ।