
जब चार महिनाको नेपाल बसाईपश्चात न्युयोर्कको ज्याक्सन हाइटस्थित आफ्नो वासस्थानमा पुगे तब उनको ३ वर्षे छोराले च्याप्प समातेर अंगालो मार्दै भने, ‘ड्याडी, आई आइ मिस्ड यु ।’ छोरा विस्लेक्ससँग उनको भेट २ महिनापछि भएको थियो ।
त्यसपछि उनले आफैंलाई सम्हाल्न सकेनन् । आफुलाई छोराले यति धेरै माया गर्दो रहेछ भन्ने कुरा पहिलोपटक थाह भएको उनले सुनाए । आफ्ना १७ आफन्तलाई गुमाएका विष्णुमान प्रधानको अनुभव हो यो ।
छोराले अंगालो मारेको क्षण सम्झदैं उनी भन्छन्, ‘आफुले आफैंलाई सम्हाल्नै सकिनँ र आँखा रसाए, मैले सधैं के सोच्थें भने मेरो छोरा म तिरभन्दा आमातिर बढी नजिक छ । तर त्यो पल मैले अनुभव गरे कि उसले मलाई कति मिस गर्दाे रहेछ ।’
अमेरिकाका स्थायी वासिन्दा ३७ वर्षे विष्णुमान वैशाख ११ को भूकम्पलगतै नेपाल गएका थिए । यस भूकम्पमा उनले आफ्नो परिवारका १७ सदस्यलाई एकैदिन गुमाएका थिए । श्रीमती श्रुति र छोरा विस्लेक्सलाई लिएर उनी नेपाल गए । श्रुति र विस्लेक्स १ महिनापछि फर्किए भने प्रधान हालै झन्डै तीन महिनापछि मात्र फर्किए
११.५७ को साइत
वैशाख १२ को बिहान विष्णुमानका ६२ वर्षीया आमा सप्ताह पूजाको तयारी गर्दै थिइन् । काठमाडौं चमतीमा रहेको साढे ३ तले घरमा उक्त सप्ताह लगाइएको थियो । सबै चिनेजानेका पारिवारिक सदस्य र नातागोतालाई उक्त दिन बोलाइएको थियो र सबैजना आउने क्रम सुरु भइसकेको थियो ।
सप्ताहको लागि पण्डितले ११.५७ बजेको साइत निकालेका थिए । त्यही भएर धेरै आफन्तजनहरु त्यहाँ पुगिसकेका थिए । अचानक ११.५६ बजे, ७.८ रेक्टर स्केलको महाप्रलय आयो जसले विष्णुमानका १७ पारिवारिक सदस्यलाई सदाका लागि यस धर्तीबाट चुंडेर लग्यो ।
१२ वर्ष अगाडी बनेको उक्त घर तासको महलझैं गल्र्यामगूर्लम ढल्यो । जसबाट २१ जना मात्रै जीवितै उद्धार गर्न सकियो । विष्णुमानले आफ्नी आमा, दाई, दिदी, आमाकी माता–पिता, आमाकी तीन बहिनी, बाबुकी बहिनी, आफ्नी बहिनीकी ४ वर्षीया छोरी लगायत १७ जनालाई एकै दिन त्यही घरमा गुमाउन पुगेका थिए ।
सात वर्षदेखि न्युयोर्कमै बसिरहेका विष्णुमानले पनि त्यस दिन भूकम्पको खबर सामाजिक सञ्जाल फेसबुकबाटै थाह रहेछन् । उनले तुरुन्त आफ्नो आफन्तको फोन लगाए तर कसैको नि फोन लागेन । केही घण्टाको प्रयासपश्चात बल्लबल्ल आफ्नो ससुराको फोन लाग्यो ।
उनले जुन अनिष्टको आशंका गरेका थिए त्यही कुरा फोनमा सुने, ‘तिम्रो घर ढल्यो, आमाको पनि मृत्यु भयो ।’
विष्णुमान सम्झन्छन्, ‘आमाले हामीलाई पनि पूजामा बोलाउनुभएको थियो तर मैले दसैंमा आउँछु भन्दै टारेको थिएँ । त्यस्तै, श्रुतिको पनि भखैरै नयाँ काम मिलेको थियो त्यसैले हामी घर गएका थिएनौं ।’
नेपालका दिनहरु
विष्णुमान आमाको मृत्युको खबर पाउने बित्तिकै वैशाख १६ गते नेपाल पुगे । ‘जब म आफ्नो घर पुगें तब यसले गरेका क्षति देखेर म विक्षिप्त भए,’ विष्णुमान आँखाभरि आँसु पारेर त्यो क्षण संझिरहेका थिए ।
विष्णुमानका बुवा, भाउजु र बहिनी उनलाई कुरिरहेका थिए । आफ्नी आमालाई दागबत्ती दिए । उनी भन्छन्, ‘नाति विस्लेक्सलाई भेट्न आमा निकै नै आतुर हुनुहुन्थ्यो तर उनको यो इच्छा अधुरै रह्यो ।’
विस्लेक्स सन् २०१२ मा अमेरिकामै जन्मिएका थिए । यसअघि विस्लेक्ससँग हजुरआमाको कुरा फोन र स्काइपमा मात्रै हुन्थ्यो ।
यता विस्लेक्सलाई नेपालमा बस्न निकै नै गाह्रो भइरहेका थियो । मामाघरमा बसिरहेका विस्लेक्सका लागि सबै चिज नयाँ थियो । त्यसमाथि १३ दिने कामको दौरान उनी बाबुआमाको छेउमा पर्ने कुरै भएन ।
धेरै समयपछि नेपाल फर्किएको, त्यसमाथि पनि यस्तो बेलामा । विस्लेक्सलाई निकै नै सकस भएको थियो रे । त्यतिखेर उनी झाडापखालाबाट ग्रसित भएका थिए उता श्रुति पनि फुड पोइजनिङ भएर अस्पताल भर्ना भएकी थिइन् ।
बारम्बार धक्का आइरहेको र पालको बसाईको कारण विष्णुमान प्रधानको परिवारले पनि दुःख झेले । यस्तो अवस्थामा छोरा र श्रीमतीको स्वास्थ्य अझ बिग्रने देखेर उनीहरुलाई न्युयोर्क पठाएको विष्णुमानले सुनाए । श्रुती र विस्लेक्स जेठ १९ गते न्युयोर्क आइपुगे ।
आमाछोरालाई सुरक्षित ठाउँ पठाएपछि उनले घरको भग्नावशेष हटाउनेदेखि सम्पूर्ण काममा समय खर्चे । भग्नावशेष हटाउन साढे २ महिना लागेको उनले सुनाए । त्यस्तै, १ महिना पालको बसाईपछि उनीहरु आफनो काकाको घर सरेका थिए ।
उता न्युयोर्कमा, विस्लेक्स आफ्ना बुवालाई धेरै नै मिस गरिरहेका थिए ।
श्रुतीलाई आफ्नो काममा फर्कन हतारो थियो । त्यसैले, उनले विस्लेक्सलाई नजिकैको क्राइस्ट चर्च र चाइल्ड केयर सेन्टरमा भर्ना गरिदिइन् र आफु भने न्यु रोचेलेमा रहेको मुन्रो कलेजमा काम गर्न थालिन् ।
‘विस्लेक्सको मनमा नेपालको याद ताजै थियो होला । सायद उनी आफ्ना शिक्षकहरुलाई भुकम्पबारे र आफ्नी हजुरआमाको बारे बताइरहन्थें,’ श्रुतिले भनिन् । त्यस्तै, उनले फादर्स डे (अमेरिकीहरुले जुन महिनाको तेस्रो आइतबार बुवाको मुख हेर्न दिन मनाउंछन्) को घटना कहिले पनि बिर्सिनन् ।
श्रुतिले भावुक हुंदै उक्त दिनबारे बयान गरिन् ,’आफ्नो प्रस्तुति सकिएपछि बाबु स्टेजबाट आफैं तल ओर्लन पथ्र्यो, तर विस्लेक्स ओर्लिएनन् । उनका आँखाले आफ्नो बुबा खोजिरहेको थियो । त्यस दिन उनलाई स्टेजबाट तल ओलार्न निकै नै गाह्रो भएको थियो ।’
त्यस दिनदेखि विस्लेक्सले हरेक दिन आफुले स्कुलमा बनाएको चित्रहरु घर ल्याउन थालें । कोठाको भित्तामा टाँसिएका ती चित्रहरु उनलाई आफ्नो बुवा न्युयोर्क फर्किएपछि देखाउनु थियो ।
सहयोग खाता खोलियो
वैशाख १६ गते विष्णुमानका पुराना साथीले उनको परिवारमा आएको विपत्तिमा केही भएपनि सहयोग गर्न खाता खोलिन् जहां मानिसहरुले सहयोग गर्न सक्थें । न्युयोर्क निवासी एमी हउसम्यानले भनिन्, ‘हामी साथीहरु सबै मिलेर विष्णुमानको परिवारको लागि केही गर्न चाहन्थ्यौं त्यसैले यो सहयोग खाता खोलेका थियौं ।’
उक्त खातामा १० लाख रुपैयाँ उठाउने लक्ष्य राखिएको थियो । अहिलेसम्म त्यहाँ १५ लाखभन्दा बढी रकम उठिसकेको छ । विष्णुमानलाई आफ्नो परिवारको सदस्य जस्तै ठान्ने एमिले भनिन्,, ‘हामी केही समय अझैं यो खाता सञ्चालन गरिरहन्छौं । हामी चाहन्छौं उनको परिवारलाई अझ मद्दत गर्न सकियोस् ।’
अबको बाटो
विष्णुमान साउन २९ गते न्युयोर्क फर्किएका छन् ।
भूकम्प अघिसम्म प्रत्यक्ष रुपमा नेपालको परिवारको जिम्मेवारी विष्णुमान प्रधानको काँधमा थिएन तर अहिले भने परिस्थिती फेरिएको छ । न्युयोर्कमा आफ्नी श्रीमती र छोराको जिम्मेवारी त छदैंछ, अब उनले नेपालमा आफ्नो बुवा, भाउजु र भउजुका ५ वर्षीया र ११ वर्षिया छोरीलाई पनि सम्हाल्नु पर्नेछ । न्युयोर्क फर्कन केही समयअघि उनले काठमाडौंमै एउटा फ्ल्याटमा उनीहरुको व्यवस्थापन गरेका थिए ।
‘म यो परिस्थितीलाई कसरी सम्हाल्ने भनेर घोत्लिरहेको छु ,’ विष्णुमानले भने ।
न्युयोर्कको ज्याक्सन हाइट्समा रहेको ट्राभल हाउस नेपालमा काम गरिरहेका विष्णुमानले पछिल्लो समय न्युयोर्कमा रहेका नेपाली समुदायबाट केही सहयोग पनि प्राप्त गरेको जानकारी दिए । त्यस्तै, गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाबाट पनि उनलाई केही सहयोग प्रदान गरिएको थियो ।
‘आफुमाथि विपत्ति पर्नुअघि धेरै पटक प्राकृतिक प्रकोपमा परी मानिसहरुको मृत्युहरुको समाचारहरु सुनिन्थ्यो । ती परिवारहरुमा के बित्छ भन्ने कुरा मैले कहिले सोचेको थिइन तर अहिले महसुस भयो कत्तिसम्म पीडा हुंदो रहेछ भनेर ,’ भावुक हुदै विष्णुमानले भने ।
उता श्रुती भन्दै थिइन्, ‘यस भूकम्पले के धनी के गरिब सबैलाई छोयो । मेरो विचारमा यसले सबैलाई मिलेर अघि बढ्नुपर्छ भनेर एउटा पाठ पनि सिकाएको छ ।