×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘दुबईमा ‘घरेलु कामदार’ बनाइन्छ नेपाली नर्सलाई’, यसरी यातना दिईन्छ (नर्सको बयान)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘दुबईमा ‘घरेलु कामदार’ बनाइन्छ नेपाली नर्सलाई’, यसरी यातना दिईन्छ (नर्सको बयान)

Artha Sarokar

१४ भाद्र २०७२, सोमबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

काठमाडौँ, १४ भदौ ।
फ्रि टिकट, फ्रि भिषा ! नर्सका लागि प्रति महिनाको कमाइ नेपाली ८४ हजारसम्म ।
एकदिन पत्रिका हेर्दै गर्दा यही बिज्ञापनमा आँखा गयो । नर्सका लागि दुबईमा रहेको अवसर थियो यो । राम्रै अवसर र राम्रै कमाइ रहेछ भन्ने लाग्यो । त्यहाँ उल्लेखित क्राइटएरिया मिट गर्न पनि सक्ने भएकाले विज्ञापन गर्ने म्यानपावर एनसिएफ इम्प्लोइमेन्टको अफिसमा पुगेँ । माग रोचेस्टर वेलनेस दुबईका लागि रहेछ । मैले अप्लाइ गरेँ ।
पहिलो अन्तर्वार्ता भारतीय नागरिकले लियो । मैले कामबारे सोध्दा उसले अस्पतालको आइसियु र अपरेटिभ वार्डमा काम गर्नुपर्छ भनेको थियो । दोस्रो अन्तर्वार्ता स्काइपमा दुबईबाट रोचेस्टर वेलनेसकी हेड नर्स बताउनेले लिएकी थिइन् । कामको समयअवधि सुविधा बारे सोध्दा उनले ८ घण्टा काम र ओभरटाइम गर्नुपर्दा भत्ता पाउने बताइन् ।
तेस्रो अन्तर्वार्ता काठमाडौं आएर करिम भन्ने अरबियनले लिएका थिए । छनोटका लागि त्यो अन्तिम चरणको अन्तवार्ता थियो । मैले नेपाली दिदिबहिनी खाडी मुलुकमा विभिन्न समस्या भोगिरहेको सुनेकी थिएँ । नर्समाथि त्यस्तो नहोला भन्ने मनमा त थियो तर नसोधी रहन सकिनँ । ‘दुबईमा महिलामाथि विभिन्न प्रकारका दुव्र्यवहार हुन्छन् भन्ने सुनेकी छु । हामीमाथि त्यस्तो त हुँदैन नि,’ मैले सोधेँ । उनको उत्तर थियो, ‘कुनै दुव्र्यवहार हुँदैन, भयो भने दुबईमा नेपाली नर्सले नै मावनसंसाधन हेर्ने भएकाले उनीहरुलाई भने भैहाल्छ ।’
हामीभन्दा अघि ८ जना नेपाली नर्स दुबइ गइसकेका रहेछन् । दोस्रो लटमा हामी ६ जना थियौं । निःशुल्क भिषा भनेपनि हामीसँग मेनपावर कम्पनीले १ लाख २५ हजार लिएको थियो । हामीलाई ४० हजार मात्र तिरेको भन्न लगायो । हामीले ४० हजार मात्र दिएको भन्न लगाएर भिडियो पनि सुट गरेको थियो । सुरुको अन्तर्वार्तामा ५० हजार लियो र भिषा आएपछि ७५ हजार लियो । रोचेस्टर वेलनेस र मेनपावर कम्पनी मिलेर पैसा खाँदा रहेछन् । कमाइ राम्रै हुने आशाले यस्ता कुरामा धेरै सोधखोज गरेनौं ।
त्यहाँ पुगेपछि रोचेस्टर वेलनेस रिह्यावमा दुई दिन प्रशिक्षण भयो र एक हप्ता त्यहीँ काम गर्न भन्यो । दुबईका अस्पतालमा काम गर्ने सपना त्यतिखेर तुहियो जब त्यहाँ काम गर्न दुबई हेल्थ अथोरिटी र स्वास्थ्य मन्त्रालयबाट लाइसेन्स लिनुपर्ने रहेछ । जुन हामीलाई पहिले भनिएकै थिएन । लाइसेन्स नभएकाहरुले अस्पतालमा काम गर्न नपाइने रहेछ ।
मलाई रोचेस्टर वेलनेसले एक हप्तापछि केयर टेकरको काम गर्न बिरामीको घरमा पठायो । दुबईमा आइसियुसम्मका बिरामीलाई पनि घरमै राख्दा रहेछन् । हामीलाई यहाँबाट जाने बेला यस्तो कामको बारेमा केही बताइएको थिएन । रोचेस्टर वेलनेसमा १५ जना नेपाली नर्स थियौं । त्यहाँ म गएको १५ दिन पनि भएको थिएन तर एक वर्ष भयो आएको भन्न लगाए ।
उनीहरुले हामीलाई नर्स होइन, नोकर ठान्दा रहेछन् । उनीहरुले बिरामी हेर्नुका साथै खाना पकाउने, लुगा धुने र घर सफा गर्ने जस्ता काम पनि लगाउने रहेछन् । जुन काम नर्सको होइन । घरमा रहेको बिरामी हेरेपनि अस्पतालमा हेरेपनि जानेको काम गर्ने नै हो भनेर काम थालियो । जब बिरामीको घरमा गइयो । बल्ल थाहा पाइयो । त्यसैले यसको बिरोध गरिने नै भइयो । पराइको देशमा एउटी चेलीको विरोध कसले सुन्छ ? बरु सेवा गर्न पुगेको नर्सलाई उनीहरुले किनेको ठान्दा रहेछन् । उनीहरुले भनेको काम गर्दिनँ भन्यो भने पिट्ने, मुखमा थुकिदिनेसम्म गर्छन् ।
कम्पनीले भनेको ८ घन्टा होइन, काम त २४सै घन्टा रहेछ । खाना पनि पेट भरी खान दिइन्न । २० औं दिनसम्म घर बाहिर निस्किन दिइन्न । भित्रको भित्रै रहेर काम गर्नुपर्छ । यस्तो काम पहिल्यै भनिएको भए गइन्नथ्यो होला । त्यही भएर मैले काम दिलाउने संस्था रोचेस्टर वेलनेसमा कम्प्लेन गरें । तर, उनीहरु मेरो कुरा सुन्न तयार नै भएनन् । उनीहरुले त लालचको जाल फ्याँकेर हामीलाई आफ्नो कब्जामा लिएका रहेछन् । उनीहरुलाई यस्तो हुन्छ भन्ने त पहिल्यै थाहा थियो ।
नपर्नु जालमा फसिसकियो र नपाउनु दुःख पाइसकियो केही समय सहेरै काम गरौं भन्दा पनि नसकिने भयो । किनभने मेडिकल उपकरण बिग्रिएपनि त्यसको दोष हामीलाई नै लगाइन्थ्यो । अरु मानसिक तनाव झेल्नुपथ्र्यो । २४ सै घण्टा बिरामीको सेवामा रहेपनि पैसा भने ८ घण्टाको मात्र दिन्थे ।
कति घरमा त यौन दुव्र्यवहार पनि हुन्थ्यो । बिरामीको टेककेयर गर्न गएको घरका पुरुषले मौका मिल्यो कि संवेदनशील अंग छुन खोजिहाल्थे । जब मैले यी कुराको अफिसमा कम्प्लेन गरे । मलाई त कामबाट हटाउने भएछन् । मैले अस्पतालमा काम गर्न आएकाले घरमा यस्ता नानाथरी झेलेर काम गर्न सकिदैन पनि भनिसकेकी थिएँ । नेपाली नर्सलाई यसरी फसाउनमा विदेशीको मात्रै हात हुँदैन । नेपालीहरु नै नेपालीलाई फसाउछन् र ठग्छन् । जुन नेपाली नर्स ती कम्पनीका लागि एचआरका रुपमा काम गरिरहेका हुन्छन् । तीनीहरु पैसामा बिकेर हाम्रा कुरा होइन, कम्पनीको कुरा सुन्छन् ।
नेपालमा नर्सहरु बेरोजगार छन् । रोजगारमा रहेकालाई पनि राम्रो सुविधा छैन । त्यसैले अहिले नर्सहरुलाई दुबईमा राम्रो अवसर छ भनेर फसाउन थालिएको छ । मलाई त ‘घरेलु कामदार र नर्स’ दुईटैको काम एउटै गर्ने गरी कम्पनीले आफ्ना सेवाग्राहीसँग ‘डिल’ गर्छन् जस्तो लाग्छ । म्यानपावरले ग्राण्डी अस्पतालका नर्सलाई प्राथमिकता दिने रहेछन् । सोही अस्पतालमा काम गर्ने नर्सलाई ल्याएर अन्तर्वार्ता लिन लगाउँछन् । नेपाली नर्सले नै कन्भिन्स्ड गरेर राम्रो हुन्छ भनेपछि विश्वास नगर्ने कुरै भएन ।
म दुई महिना दुबई बसेँ । डेढ महिना त रोएरै बिताएँ । धेरै तनाव भएपछि नेपाल फर्किएँ । म यसकारण मेरा अनुभव सुनाइरहेकी छु कि मेनपावर र तिनीहरुको एजेण्टका चिल्ला कुरामा अल्झिएर कुनै नर्सले दुःख नपाउन् । राम्रो कमाउने आशामा त्यहाँ पुग्दा झण्डै सर्वस्व गुमाइएन । आफूलाई चित्त नबुझेका कुरा बोल्न सक्ने, धेरै कुरा बुझ्न सक्ने ठान्ने म त यसरी फसेँ भने सोझा नेपाली दिदिबहिनीहरुको हालत के होला ?
‘आफूले पाएका दुःख अरुसँग भनिस् भने जेल हाल्दिन्छु’ भन्नेसम्मका धम्कि आएका छन् । अहिले जति नेपाली नर्स दुबईमा छन्, उनीहरुको अवस्थामा मैले भोगेको भन्दा फरक नहोला जस्तो लाग्छ ।
(दुबईबाट फर्किएकी यी नर्सको आग्रहमा नाम गोप्य राखिएको, स्रोत:स्वास्थ्य खबरपत्रिका)

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी