×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संविधानको ढोका खोलें तर बाहिरै परे

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

संविधानको ढोका खोलें तर बाहिरै परे

Artha Sarokar

२ आश्विन २०७२, शनिबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

सहमति बिथोलिएपछि तीन दलका शीर्ष नेताहरूसँग फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले शुक्रबार बिहान भावुक हुँदै एउटा प्रश्न गरेका थिए, ‘१६ बुँदे गरेर मैले संविधान लेखनको ढोका खोलिदिएँ तर तपाईंहरूले त्यो ढोका म पनि भित्र पस्न नसक्ने गरी बन्द गरिदिनुभयो । यसको परिणाम सुखद हुँदैन ।’

१६ बुँदेको वातावरण बनाएर संविधान निर्माणमा कांग्रेस, एमाले र एमाओवादीलाई एकै ठाउँ ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका गच्छदारलाई संविधान जारी गर्ने अन्तिम क्षणसम्म पनि प्रक्रियाबाट बाहिर जाने इच्छा थिएन । तीन दलको संकीर्णताका कारण इच्छा नहुँदानहुँदै पनि प्रक्रियाबाट बाहिरिनुपर्‍यो, गच्छदारले भने, ‘अनेक आरोप र आशंका सहेर पनि संविधान ल्याउनुपर्छ भनेर सुरुदेखि लाग्ने मानिस म हुँ तर आज संविधान निर्माणमा बाहिर बस्नुपर्दा दुःख लागेको छ, बाहिर बस्न बाध्य पार्ने काम तीन दलले गरेका छन् ।’

गच्छदारले भावुक हुँदै भने, ‘मैले १६ बुँदे गराएर जग हालें तर घर बन्ने भएपछि तीन दलले मलाई पनि बाहिर पठाएर ढोका बन्द गरे ।’ तराई–मधेस शब्द राख्न तीन दलले नमानेपछि भइसकेको सहमति बिथोलिएको गच्छदारले बताए ।

तीन दलसँगको वार्तामा तराई(मधेसलगायत देशका विभिन्न भूभागमा सीमांकनलगायतका सन्दर्भमा भइरहेको अन्दोलनलाई सम्बोधन गर्न संसद्बाट संविधान संशोधन गर्ने सहमति लगभग भइसकेको थियो । ‘तर अन्तिम क्षणमा आएर कांग्रेस(एमालेका केही नेताहरूले तराई–मधेस भन्ने शब्द राख्नै नहुने अडान लिएपछि सहमति भाँडियो, तराई–मधेस शब्द राख्दा देश नै टुक्रिन्छ जस्तो गर्नुभयो उहाँहरूले,’ गच्छदारले भने ।
बिहीबार रातिसम्मको प्रयास निष्कर्षमा नपुगेपछि शुक्रबार बिहान पनि गच्छदारलाई मनाउन प्रयास भएका थिए । संविधानसभा भवन नयाँबानेश्वरमा नयाँ संविधानमा हस्ताक्षर गर्ने क्रम सकिएपछि पनि गच्छदार आउने आसमा प्रमाणीकरण केही ढिलो गरिएको थियो ।

गच्छदारसँग सहमति भए उनीहरूको पनि हस्ताक्षर समेट्ने चाहना सभामुख सुवास नेम्बाङको थियो । ‘मैले बिहान पनि नेताहरूसँग भेटेर वा टेलिफोनमा वार्ता गरें तर अन्तिम क्षणमा पनि संविधानसभा जाने वातावरण उहाँहरूले गर्नुभएन’ गच्छदारले भने ।

गच्छदारका अनुसार तीन दलसँगको वार्तामा सुरुमा सुनसरी, झापा र कैलाली, कञ्चनपुर पनि सम्झौतामा उल्लेख गर्नेबारे छलफल भएको थियो । तर सहमतिका लागि लचिलो भएर आफूले जिल्लाको अडान छोडेर अन्तिममा ‘तराई–मधेस’ शब्द राखौं भन्दा तीन दलले नमानेको उनले बताए । गच्छदारले तीनतिर फर्केका तीन पार्टी र नेताहरूलाई आफूले एक ठाउँमा ल्याएर १६ बुँदे गराएको स्मरण गराउँदै भने, ‘मैले धेरै जोखिम मोलेर १६ बुँदे गराएको थिएँ । मेरो पार्टी झन्डै विभाजित भएको थियो । कतिले पार्टी नै छोड्न लागेका थिए । मैले विभिन्न आक्षेप र अपमान पनि सहनुपर्‍यो ।

म सबै सहन तयार भएर संविधानको यात्रामा होमिएँ, तर मलाई आज तीन दलले त्यो यात्रामा टिक्ने स्पेस दिएनन् ।’ सिंगो तराई–मधेसलाई बाहिर राखेर संविधान जारी गर्ने अवस्था सुखद नरहेको उल्लेख गर्दै उनले भने, ‘जसरी पनि पेलेर जानुपर्छ भन्ने तीन दलका नेताहरूको खराब नियतका कारण यस्तो अवस्था आएको छ । तराई–मधेसलाई बाहिर राखेर संविधान जारी गर्दा त्यसको परिणाम सुखद हुँदैन ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी