×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टोपबहादुर रायमाझी उपप्रधानमन्त्री नबनाए प्रचण्डलाई महासंकट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

टोपबहादुर रायमाझी उपप्रधानमन्त्री नबनाए प्रचण्डलाई महासंकट

Artha Sarokar

३० भाद्र २०७२, बुधबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान निर्माणका पक्षमा साहसिक निर्णय लिएसँगै पार्टीबाहिर उनको जति हाइहाइ छ, पार्टीभित्र भने स्थिति त्यति सहज बनिरहेको छैन । संविधान निर्माण प्रक्रिया रोकेर आन्दोलनरत मधेसीसँग वार्ता गर्नुपर्छ भन्ने मत राखेकाहरू प्रचण्डको चट्टानी अडानसामु लतारिएका त छन्, तर आगामी सरकारमा मन्त्रीका लागि बार्गेनिङ सुरु भइसकेको छ ।

लाजिम्पाटनिकट स्रोतका अनुसार आगामी सरकारमा टोपबहादुर रायमाझीलाई उपप्रधानमन्त्री र प्रभु साहलाई मन्त्री नदिने हो भने मिलाउन गाह्रो हुने जनाउ दिइएको छ । सोमबार बिहान प्रचण्डले संविधानसभा भवनमै भेटेर प्रभु साहलाई सम्झाए पनि उनले मधेसलाई नेपालबाट अलगिने अधिकार नभएसम्म आफू संविधान निर्माणमा सहभागी बन्न नसक्ने बताएका थिए ।

यस्तो भनाइबाट आश्चर्यमा परेका प्रचण्डले राष्ट्र विखण्डनमा पार्ने कुरा नगर्नुस्, मतदानमा सहभागी हुनुस् भने पनि प्रभु साह मतदान बहिष्कार गर्ने भन्दै केहीछिन प्रमुख प्रतिपक्षी दलको कार्यालयमा बसेर श्रम तथा अन्तर्राष्ट्रिय समितिको सभापतिका हैसियतमा प्राप्त सरकारी गाडी चढी बाहिरिएका थिए । बाबुराम भट्टराई नेतृत्वको सरकारमा कानुनमन्त्री रहेका प्रभुलाई ज्यानमुद्दामा नाम जोडिएपछि पदबाट हटाइएको थियो ।

‘अब म झुक्दिनँ’
संविधान निर्माण प्रक्रिया अघि बढाउन राष्ट्रपति रामवरण यादवको तीव्र दबाब, प्रधानमन्त्री सुशील कोइरालाको अनिच्छा, भारतीय राजदूत र अन्य दूतको चेतावनी, मधेसी र जनजाति नेताको विरोध एवं आफ्नै पार्टीका नेताको धम्कीको पर्वाह नगरेका प्रचण्डले अव आफू कसैसँग झुक्न आवश्यक नभएको बताएका छन् । सोमबार बिहान लाजिम्पाटमा आफूनिकट नेता कृष्णबहादुर महरा, वर्षमान पुन, हरिबोल गजुरेल, अग्नि सापकोटा, शक्ति बस्नेत, जनार्दन शर्मालगायतसँग कुरा गर्दै उनले आफू जति झुक्नु झुकिसकिएको भन्दै अब पार्टीबाहिर वा भित्र नझुक्ने बताएका थिए ।

उनले भारतीय शक्तिकेन्द्रले अझै माओवादीलाई कमजोर बनाउन चाहेको बताउँदै जब–जब स्वतन्त्रढंगले निर्णय लिइयो हामी सफल भयौँ, जब दबाबमा परियो असफलता नै असफलता भोगियो भन्ने विश्लेषण सुनाएका थिए । प्रचण्डले अहिले पार्टी भित्रैबाट र फुटेर जान्छौँ भन्ने धम्की आइरहेको भन्दै त्यसबाट नडराउने बताए ।

पार्टी फुटाउन ४० प्रतिशत पुग्दैन
मधेसी दललाई सहमतिमा नल्याई संविधान निर्माण प्रक्रिया अघि बढाए २४ घन्टाभित्रै देश अखण्ड नरहने आशंका व्यक्त गरेका बाबुराम भट्टराई आइतबारदेखि मतदान प्रक्रियामा भने सक्रिय सहभागी हुँदै आएका छन् । उनले सोमबार बिहान सुमार्गीले चलाएको रेडियो थाहा सञ्चारमा अन्तर्वार्ता दिँदै आफूलाई भविष्यवेत्ता र दूरदर्शी नेताको संज्ञा दिएका छन् । उनले यो संविधानले समाधान नदिने ठोकुवासमेत गरिदिएका छन् ।

बाबुराम भट्टराई पक्षले लगातार पार्टीमा निहुँ मात्रै खोज्ने र संगठन अस्तव्यस्त बनाउने काम गरेको भन्दै संस्थापन पक्षका नेताले अब यो समूहलाई धेरै भाउ नदिन आग्रह गरेका छन् । ‘बाबुरामको अहिले पार्टीबाहिर पनि राम्रो छवि छैन, नयाँ शक्ति बनाएर बाहिरिन्छन् भने बाटो खुला गरिदिनुपर्छ’ प्रचण्ड पक्षका शक्ति बस्नेतले भनेका थिए । अग्नि सापकोटाले भने बाबुराम सधँै पदका लागि मात्रै बार्गेनिङ गर्ने गरेको भन्दै अब उनको धम्कीसामु नझुक्न आग्रह गरे । पार्टी फुटाउन सांसद वा केन्द्रीय समितिमा ४० प्रतिशत नपुग्ने भएकाले बाबुरामले यी सबै छाडेर त्यति ठूलो त्याग गर्न नसक्ने टिप्पणी थियो ।
शेरबहादुर बस्नेत

शेरबहादुर बस्नेत

छाड्नु चुनौती
‘अहिले साझसम्म आउँदा संविधान बन्न नदिन धेरैतिरबाट ठूलो चलखेल देखियो । आन्दोलनको लगाम कसको हातमा छ भन्ने नै भएन । माग पनि विचित्र विचित्रका आउन थाले । भारतीय राजदूत सिधै आएर प्रक्रिया अझै केही दिन रोक्नुस् भन्छन् । राष्ट्रपति जी पनि रोक्नुस् भन्ने, प्रधानमन्त्री सुशीलजीले त महेश आचार्य र शेखरको मधेसी दलसित कुरा भइराखेको छ, केही दिन रोक्नुप¥यो, भोलि बिहान तीन दलको बैठक गरौँ भन्नुभयो । म र बाबुरामजीले मधेसका साथीहरूसित कुरा गर्दा उहाँहरू वार्तामै आउने देखिँदैन ।

यस अवस्थामा हामीले पहल नलिँदा संविधान नै धरापमा पर्ने देखियो । जे–जति छन्, संविधान बनाएर संस्थागत गरिहालौं, बाँकी कुरा पछि लिउँला ।’ शनिबार साँझ संसदीय दलको बैठकमा प्रचण्डले यसो भनिरहँदा सभासदहरूलाई गम्भीर बनायो । प्रचण्डले प्रक्रिया अघि बढाएर छिटोभन्दा छिटो संविधान बनाउने र यसबीचमा वार्ता र छलफलको ढोका पनि खुला राख्ने भन्दै पार्टीका सभासदले व्यक्तिगत रूपमा दर्ता गरेका सबै संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिँदा धेरै सभासद्ले अर्को दिन मतदान प्रक्रिया सुरु होला भन्ने सोचेकासम्म थिएनन् । बैठकमा प्रभु साहसहितका केहीले विरोध गर्दा प्रचण्डले आदेश नमान्नेहरूलाई पार्टी छाडेर जान चुनौती दिएका थिए ।

भारतको भर
प्रमुख तीन र राप्रपासहितका अन्य दल सहभागी भएर बनाइएको संविधान नै नेपालको आधिकारिक र बैधानिक हुने भएकाले यसको संयुक्त राष्ट्रसंघसहित विश्वका सबै मुलुक र दुई छिमेकी भारत र चीनले समेत स्वागत गर्ने प्रचण्डले आफ्ना नेतालाई बताएका छन् ।

उनले मंगलबार बिहान संविधानसभा भवनस्थित कार्यकक्षमा केही सभासद्को जिज्ञासाको जवाफ दिने क्रममा नेपालमा ८ वर्ष लामो संघर्षपछि प्राप्त हुने संविधानले नेपाली जनतासँगै छिमेकी देशलाई पनि खुसी तुल्याउने बताएका हुन् । आफूले भारतीय र चिनियाँ नेतासँग समेत यस विषयमा कुरा गरेको र उनीहरूले आफूहरूले नेपालले बनाउने संविधानको स्वागत गर्ने बताइसकेको जानकारी गराएका थिए । नेप्लिज डट ओआरजीबाट

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी