
नेपालको कम्युनिष्ट आन्दोलन र क्रान्तिकारी आन्दोलनमा १९९७ सालदेखि नै विद्यार्थीहरुको अत्यन्त महत्वपूर्ण भूमिका रहँदै आएको छ । इतिहासमा जहाँसुकै पनि ठूला क्रान्तिकारी परिवर्तन २०/३० वर्षको उमेरका युवा विद्यार्थीहरुले नै नेतृत्वदायी भूमिका खेलेर हुने हो ।
राजनीतिक नेताहरुले चाहिँ विचार दिने हो । तर मुख्य रुपमा आन्दोलनको रुपमा शक्ति निर्माण गर्ने भनेको युवा विद्यार्थीले नै हो । संसारभरीको नियम यही हो र भोलि पनि यही हुनेवाला छ । त्यसैले युवाहरुले जुन भूमिका विगतमा निर्वाह गर्नुभयो अब आगामी दिनमा कसरी जाने भन्ने विषयमा मन्थन गर्न जरुरी छ ।
पूँजीवादी क्रान्ति मूलरुपमा अब पूरा भयो । अब पूँजीवादी क्रान्तिका उपलब्धीलाई संस्थागत गरेर केही वर्ष सडक, सदन र सरकारका मोर्चाहरुमार्फत संघर्ष गर्दै उत्पादक शक्तिहरुको एक हदसम्म विकास गर्दै अधिकतम समाजवाद उन्मुख क्रान्तिकारी सुधार गर्दै समाजवादी क्रान्तिमा जाने जुन हाम्रो कार्यदिशा हुन्छ त्यसमा युवाहरुले आफ्नो भूमिका कसरी निर्वाह गर्ने ?
त्यतापट्टि अब युवाहरुले सोच्नुपर्छ । हाम्रो गल्ती कहाँनेर भइराखेको छ भने हिजो युद्धमा हामीले युवा विद्यार्थीहरुलाई कलेज–स्कुल छोड्नुस् बन्दुक बोक्नुस हामीले भनेकै हो किनकि त्यतिबेला संघर्ष प्रधान थियो, हतियारवद्ध युद्ध नै प्रधान थियो । त्यसैले त्यतिबेला तपाईं–हामीले चाहेर पनि खुला रुपमा बसेर कलेज र विश्वविद्यालय जान सक्ने सम्भावना थिएन । त्यसैले बन्दुक उठाउने कुरा नै प्रमुख भएको बेलामा कापि र कलम छोड्नु अनिवार्य थियो र हामीले पनि तपाईंहरुजस्तो युवालाई आह्वान गरेकै हो । युवाहरुले छोड्नुभयो र ठूलो भूमिका निर्वाह गर्नुभयो, त्यसैले युवाहरुप्रति इतिहास आभारी रहनेछ ।
तर अब परिस्थिति बदलिएको छ, कार्यदिशा फेरिएको छ, युग बदलिएको छ, अबको सन्दर्भमा हिजोको जस्तो युद्धको तरिकाले संघर्ष गरेर हुँदैन । यहीँनेर हामीले सायद पार्टीको तर्फबाट बेलैमा ठीक ‘ओरियन्टेसन’ दिन भ्याएनौं । सायद अब केन्द्रीय समितिले नयाँ रुपान्तरणको कार्ययोजना अगाडि ल्याएपछि आउँला । तैपनि म के मात्रै पूर्वसंकेत गर्छु भने आफ्नो ठाउँबाट नयाँ युगको नयाँ क्रान्ति, नयाँ परिवर्तनको निम्ति नयाँ भूमिका कसरी निर्वाह गर्ने ? त्यसको निम्ति युवा तथा विद्यार्थीहरुले आफूलाई तयार गर्नुपर्छ । त्यसको निम्ति स्कुल, कलेज छोडेर बन्दुक उठाउने होइन । अब कापि, कलम बोक्ने, किताब पढ्ने र विचारको निम्ति योगदान दिने, आवश्यकता अनुसार युवा विद्यार्थीका समस्या, किसान मजदुरका, उत्पीडित जनताको समस्या समाधानको निम्ति दबाब सिर्जना गर्ने ढंगले आफूलाई अभ्यस्त पार्नुपर्छ । केही समय, केही दशक मूलतः शान्तिपूर्ण (वर्गविभाजित समाजमा पूर्ण रुपले शान्तिपूर्ण त हुँदैन) जनसंघर्ष नै संघर्षको प्रधान स्वरुप हुन्छ ।
सडक, सदन, सरकार र चुनाव पनि संघर्षको मोर्चा हुन्छ । सरकारमा गएर क्रान्तिकारी सुधार गर्ने काम पनि संघर्षको एउटा मोर्चा हुन्छ । युवा विद्यार्थीले सडकबाट दिने दबाब पनि संघर्षको अर्को रुप हुन्छ । यस्तो तालमेल मिलाएर जानको निम्ति सबै स्कुल कलेजहरु छोडेर युद्धमा जाने ढंगले होइन केही समय कलेजमा रहँदै केही समय संगठनको कामको निम्ति दिने ढंगले आफूलाई अभ्यस्त गर्नुपर्छ । हिजो ‘होलटाइमर’ हुँदा पूरै व्यवस्थापन पार्टीले ग¥थ्यो, छायाँ सत्ताले ग¥थ्यो अब त्यो सम्भव हुँदैन ।
अब हामीसँग केही थोरै मात्रै ‘होलटाइमर’ कार्यकर्ता हुन्छन् । अधिकतम हामीलाई ‘पार्टटाइमर’ कार्यकर्ता अथवा ‘भोलेन्टिएर’हरुको आवश्यकता हुन्छ । आफ्नो व्यवस्थापनको निम्ति पार्टीको नीतिअनुसार, संगठनको नीतिअनुसार के–कति जना ‘होलटाइमर’ आवश्यक पर्ने हो, चुनाव क्षेत्रमा, जिल्लामा त्यसको हिसाब गर्ने, सीमित ‘होलटाइमर’को व्यवस्थापन पार्टी र संगठनले गरिदिने र अन्य साथीहरु चाहिँ ‘पार्टटाइमर, भोलेन्टियर’ बन्ने ढंगले विभिन्न पेशा, व्यवसाय र अध्ययनमा जोडिएर अगाडि बढ्ने गर्नुपर्छ ।
यो ढंगले गरिएन भने मान्छे पलायन हुन जाने, पाखण्डी हुने खतरा हुन्छ । ‘होलटाइमर’ भनेको छ, बेरोजगार भएर बसेको छ, आम्दानीको कुनै उपाय छैन अनि आम्दानी नभएपछि, श्रमबाट आर्जन नगरेपछि कि चोर्नुपर्छ, कि ठग्नुपर्छ, कि लुट्नुपर्छ अरु उपाय नै हुँदैन । कि त पलायन भएर भाग्नुपर्छ, भोकै बस्नुपर्छ । यसको पछाडि युवा विद्यार्थीको दोष होइन, हामीले नै बेलैमा नीति बनाउन नसक्दा कमीकमजोरी देखिएका छन् त्यसमा तपाईंहरुले ध्यान दिनुहोस् । म तपाईंहरुलाई आग्रह गर्न चाहन्छु ।
हामीले विद्यार्थीहरुको नेतृत्व प्रणाली पनि बदल्नुपर्ने भएको छ । अहिलेको सन्दर्भमा जुन नयाँ युवा विद्यार्थी पिँढी निर्माण भइराखेको छ, २०६२/०६३ पछि ऊ राजनीतिबाट बिल्कुल विमुख भइराखेको छ । खासगरी माक्र्सवाद, माओवाद भन्ने शब्द नै ऊ सुन्न चाहँदैन, क्रान्ति भन्ने शब्ददेखि नै ऊ डराउँछ । त्यस्तो युवा विद्यार्थीलाई कसरी आन्दोलनमा ल्याउने ? त्यो ल्याउनको निम्ति तपाईंहरु आफैं क्याम्पसमा भर्ना नभइकन, आफैं स्कुलमा, प्लस टु मा भर्ना नभइकन तपाईंले ती विद्यार्थीको चेतना बढाउनै सक्नुहुन्न । त्यसैले अबका युवा विद्यार्थी नेताहरुले कलेज, विश्वविद्यालय र विद्यालय छोडेर होइन त्यहाँभित्र प्रवेश गरेर, तपाईं आफैं विद्यार्थी बनेर उनीहरुसँग घुलमिल गरेर संगठन गर्नुपर्छ । त्यसो गर्न सकिएन विद्यार्थीको ठूलो पंक्ति बाहिर हुने र हामी सीमित मान्छेहरु मात्रै शास्त्रीय कुरा गरेर बस्ने खतरा रहन्छ ।
२०३६ सालमा जतिबेला यहाँ पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन उठिसकेपछि जनमतसंग्रहको घोषणा गरियो, ठूलो आन्दोलन भयो । त्यतिबेला म भारतमा अखिल भारत नेपाली विद्यार्थी संघको अध्यक्ष थिएँ । मेरो स्कुल अफ प्लानिङ एण्ड आर्किटेक्चर (दिल्ली)मा मास्टर्सको अन्तिम वर्ष थियो । जेठमा नै मैले अन्तिम परीक्षा दिनु थियो । इञ्जिनियरिङमा प्रोजेक्ट रिपोर्ट, थेसिस बुझाउनुपर्छ, रातारात बसेर नक्सा कोर्नुपर्छ । त्यस्तो अवस्थामा दिनभरी जुलुस निकाल्नुपथ्र्याे । किनकि बैशाख–जेठमा २०३६ सालमा आन्दोलनको रापताप उत्कर्षमा थियो । दिनभरी हामी जुलुसमा र प्रदर्शनमा जान्थ्यौं ।
भारतका विभिन्न विश्वविद्यालयहरुमा गएर नेपालको पक्षमा ऐक्यवद्धता जाहेर गर्न भन्थ्यौं, विभिन्न नेताहरुलाई भेट्दै हिँड्थ्यौं । हामीलाई रातदिन फुर्सद हुँदैनथ्यो । मलाई के याद छ भने दिनभरी जुलुस-प्रदर्शन गर्ने तर जेठको महिना हो मेरो अन्तिम परीक्षा थियो अन्तिम रिपोर्ट बुझाउनु थियो । हाम्रो चाहिँ के थियो भने स्कुल अफ प्लानिङ एण्ड आर्किटेक्चरमा होस्टेल पनि कलेज पनि एकै ठाउँमा थियो त्यसैले गर्दा होस्टेलमा गएर खाना खाने र कलेजमा आएर चाहिँ थेसिस लेख्ने र डिजाइन बनाउने । यसरी मैले शुक्रबार बेलुकादेखि काम सुरु गरेको बुधबार बिहान बुझाएको छु । ४ दिन ५ रात नसुतिकन लगातार ११० घण्टा काम गरेको छु ।
म त्यतिबेला २५ वर्षको थिएँ । मैले उदाहरण किन दिएको भने दृढ इच्छाशक्ति, स्पष्ट ‘भिजन’ र ‘कमिटमेन्ट’ भयो भने सकिन्छ, सम्भव हुन्छ । तपाईंहरुले पनि त्यो विधि अपनाउनुपर्छ । सबैका उही प्रकारका रुची हुँदैनन्, क्षमता हुँदैनन् तर मूल रुपमा सकिन्छ । त्यसैले तपाईंहरुले आफ्नो अध्ययनसँग जोडेर, स्कुल कलेज र विश्वविद्यालयमा गएर त्यहाँका विद्यार्थीहरुलाई प्रभाव पार्ने गरी निश्चित समय चाहिँ क्रान्तिको निम्ति दिने गर्नुपर्छ ।
हामीले समयको उचित विभाजन गरियो भने नसक्ने भन्ने हुँदैन । माक्र्स र एंगेल्सले कम्युनिष्ट व्यवस्था कस्तो होला भनेर परिकल्पना गर्दा उहाँहरुले के भन्नुभएको थियो भने जम्मा २४ घण्टाको दिनमा ६ घण्टा त सुत्नै प¥यो, ६ घण्टा श्रम गर्नुप¥यो, ६ घण्टा नित्य कर्म र मनोरञ्जन गर्ने र बाँकी ६ घण्टा चाहिँ सिर्जनशील काम गर्ने, लेखपढ/कला लगायतको आफ्नो रुची भएको काम गर्ने ।
यसरी उन्नत खालको मान्छेले ६ घण्टा त सुत्छ, ६ घण्टा श्रम गर्छ, ६ घण्टा नित्य कर्म र मनोरञ्जन गर्छ र ६ घण्टा चाहिँ सिर्जनशील काम गर्छ र त्यो नै उन्नत मान्छे हुन्छ भन्नुभएको थियो । त्यसैले तपाईंहरुले पनि त्यही ६ घण्टामा बाँड्नु परेन तर आफ्नो प्रत्येक दिनलाई विभाजन गरेर हामी अगाडि बढौं । त्यसो हुन सक्यो भने आफ्नो भूमिका निर्वाह गर्न सक्छौं । तपाईं युवा विद्यार्थीहरु जोश, उमंग र जिम्मेवारी बोधका साथ अगाडि बढ्नुहोस् । भविष्य फेरि पनि उज्ज्वल छ ।
(डा. बाबुराम भट्टराईको लेख बेलाबखतको कुरा)