- बादल बस्नेत
हाम्रो इतिहास अनि हाम्रो गौरवको रुपमा सम्पूर्ण राष्ट्रले गर्व गर्नुपर्ने नाम हो पृथ्वीनारायण शाह । देशमा तन्त्र परिवर्तित छ, नेता परिवर्तित छन् तर कुनै राजनेताले गरेको स्मरणीय काम हामीले बिर्सिन्छौँ भनेर हुँदैन । केहि दिन अगाडी अन्तरास्ट्रिय ढाका टोपी दिवश मनाउँदा हामीले नेपालीको सान भन्दै ढोल पिटिरहेका थियौं, अब हामीले यो कुरा कसरि बिर्सिन सक्छौं कि आज हामी यसरी नेपाल र नेपाली भन्दै ढाका टोपी ढल्काएर छाती चौडा पारेर यो धर्तिको माटोमा उभिंदा यो धर्तिलाई नेपाल बनाउनुमा अनि हामीलाई नेपाली बनाउनुमा त्यो ढलाइएको सालिक मानवको कस्तो र कत्रो भूमिका थियो भनेर । धरहरा त भुकम्पले ढलायो तर रास्ट्र निर्माता को सालिक नेपाली जनता को उद्दण्डताले ढलायो ।
तत्कालिन राजा ज्ञानेन्द्र शाहको आक्रोश नेपाली जनताले त्यो एक सालिक माथि पोख्यो जुन सालिकले नेपालीलाई नेपालको पहिचान दिलायो । जीवन को ३०/३५ साल राज दरवारको सुख भोग गरि विलाशी जीवन बिताउन छोडेर छरिएर रहेका मोति दानालाई संगालेर एउटा माला बनाएका थिए उनले । तत्कालिन बाइसे- चौबिसे राज्यलाई एकीकरण गरि एउटा सिंगो नेपाल बनाउने राष्ट्र पितालाई आज आफ्नो देश मा राज्य गर्न पनि बिदेशी प्रभुको पाउ मोल्न धाउने नपुङ्ग्सक नेताहरुले इतिहासको पाना च्यातेर मिलकाउदैमा इतिहास बाट मेटाउन सक्दैन ।
जब पृथ्बी नारायण शाह गोर्खाका राजा बनेका थिए त्यो समयमा पुरै दक्षिण एशिया राजनैतिक संक्रमण संग जुधिरहेको थियो, नेपालमा मात्र होइन तत्कालिन हिन्दुस्तानमा पनि मुगल , मराठा र ब्रिटेन आफ्नो आफ्नो अधिपत्य जमाउन प्रयत्नरत थिए भने नेपाल मा कर्णाली र गण्डक क्षत्रमा बाइसे- चौबिसे राज्यहरु थिए अनि काठमाण्डौ र अन्य क्षत्रमा मल्ल, किराँत, सेन राजाहरुको बाहुल्यता थियो । हुन त धेरै इतिहासकारहरुका आफ्नै आफ्नै विचारहरु छन् तर पनि त्यस समय र परिवेश नियाल्ने हो भने दक्षिण बाट नेपालका विभिन्न राज्यहरुमा हमला हुने वा हुनसक्ने निश्चित थियो । नेपालका साना-साना राज्यहरु संग दक्षिणको प्रतिकार गर्न सक्ने क्षमता थिएन । तसर्थ त्यो बेला को परिवेश नियाल्ने हो भने पृथ्वी नारायण शाह को राज्य एकीकरणको अभियान निकै नै दुरदर्शी र ठोस कदम थियो ।
इतिहास नियाल्ने हो भने एउटा कुरा प्रस्ट देख्न सकिन्छ कि पृथ्वीनारायण शाह ले तत्काल मकवानपुर् , सिन्धुली र पूर्वी तराई एकीकरण न गरेको भए यी क्षत्रहरुमा बंगालका नवाब र इस्ट इंडिया कम्पनीले कब्जा गर्ने लगभग पक्का थियो, जसलाई पृथ्वीनारायणशाहले सम्भव हुन दिएनन् । तर पनि सन् १७६२ र १७६७ गरि पटक पटक बंगालका नवाब र इस्ट इंडिया कम्पनीले गोर्खा सैनिक माथि धावा बोलिरहेका थिए । यसको प्रमुख कारण थियो नेपालका प्राकृतिक सम्पदा र गोर्खा अनि मकवानपुर हुदै तिब्बत संग को ब्यापारिक नाका ।
यसरी हेर्दा विभिन्न बाह्य शक्ति र आन्तरिक शक्तिहरु संग लड्दै र जुझ्दै एकीकरण गरिएको हालको नेपालका प्रमुख नायक पृथ्वीनारायणशाह नै थिए र उनको राजनैतिक क्षमता माथि पनि प्रस्न चिन्न खडा गर्न सकिंदैन । उनका दिव्योपदेशहरु आजको समयमा पनि उतिनै सार्थक र सान्दर्भिक लाग्छन । उनले छिमेकि राज्यहरु संग राख्ने राजनैतिक र कुटनैतिक सम्बन्ध हेर्ने हो भने पनि उनको कुशलता देख्न सकिन्छ । तत्कालिन अंग्रेज ब्यापारीहरुलाई राष्ट्र मा प्रवेस न दिनु र तिब्बतमा पनि अंग्रेज ब्यापारीहरुलाई प्रवेश नदिन तिब्बती अधिकारीहरुलाई सचेत गराउनु ले उनको राजनीतिक दुरदर्सिता र कुसलता ठहराउन सकिन्छ ।
आजको समयमा प्रजातन्त्रको नाममा राष्ट्र लुटिरहेका नेताहरु आफ्ना व्यक्तिगत स्वार्थ लुकाउनका लागि कहिले राजतन्त्र त कहिले पंचायति व्यवस्थालाई दोष लगाउने गर्छन र तेस्तै प्रक्रिया मा २०६२/६३ मा देशको यस्तो इतिहास मेटाउने प्रयास पनि गरियो । तर इतिहास मेटेर मेटिदैन, सालिक ढालेर इतिहास ढल्दैन । नेपालको आर्थिक बिकाश , सेना सुद्रिढिकरण, पारदर्शी न्याय प्रणाली देखि असल राजनेता र कुशल कुट्नितिज्ञ राजा पृथ्वी नारायण शाह नेपालको इतिहासमा सधैव याद रहने छन् ।