
ताप्लेजुङ । हरेक दिन कोभिड–१९ अर्थात् कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गईरहेको छ । बुधबारसम्म मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार नाघेको छ भने सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ४३६ पुगेको छ । यसरी सङ्क्रमितको सङ्ख्या बृद्धि हुँदै गए अझ खराब अवस्था आउन सक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।
हालसम्म सुरक्षित मानिएको पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा केही दिनयता ह्वात्तै चहलपहल बढेको छ भने कोभिड १९ का सन्दर्भमा पालना गर्नुपर्ने जनस्वास्थ्यका अत्यावश्यक मापदण्ड पालना गरेको देखिँदैन । सदरमुकाम फुङलिङमा लामो तथा छोटो दूरीका यातायात खुलेसँगै चहलपहल बढेको छ भने बजार क्षेत्रमा हिडडुल गर्ने अधिकांश मानिसले मास्कको प्रयोग गर्न छाडेका छन् । यस्तै सामाजिक दूरीसमेत कार्यान्वयन हुन सकेको छैन । “यातायात खुलेसँगै बजार क्षेत्रमा चहलपहल बढेको छ, अधिकांशले मास्क नलगाई हिड्न थाले, यसले थप जोखिम बढ्ने देखिन्छ”, –स्थानीय बिबिहाङ वनेमले भन्नुभयो ।
दैनिक ताप्लेजुङबाट बाहिरिनेभन्दा अन्य जिल्लाबाट भित्रनेको सङ्ख्या बढिरहेका बेला जोखिम बढ्दै गएको भन्दै केहीले चिन्ता व्यक्त गरेका तर अधिकांश मानिस स्वास्थ्य सतर्कता विना नै हिडडुल गरिरहेका छन् । “अब अहिले सबैतिर खुलमखुल्ला छ, गाडी चलिरहेका छन्, स्कुल खुल्न थाले अब कति डराएर बस्नु, मास्क लगाउँदा उल्टै समस्या होला जस्तो हुन थाल्यो”, –मास्क विना नै बजार क्षेत्रमा हिँडिरहेका एक जना सर्वसाधरणले भन्नुभयो । “कोरोनाले खासै मरिदैन, लागि हाले दुई चार दिनमा निको भईहालिने रहेछ, यो भ्रम मात्रै हो”, उहाँले भन्नुभयो । यी सर्वसाधरणले मात्रै होईन केही सामाजिक दायित्व र जिम्मेवारीमा रहेका मानिसले समेत कोरोना केही होईन, के को मास्क र नो स्यानिटाईजर भन्ने गरेका छन् । यता केही दिन अघिसम्म सरकारी तथा गैरसकारी कार्यालयले कार्यालय परिसरमा साबुन पानी राख्ने गरे पनि अहिले छाडिएको छ ।
चाडबाड नजिकिएकाले र स्कुल कलेजसमेत बन्द नै रहेकाले राजधानीसहित तराईका क्षेत्रमा रहेका युवा विद्यार्थी घर फर्किन थालेका छन् । सङ्क्रमण फैलिएका क्षेत्रबाट फटाफट मानिसहरु आउन थालेपछि थप जोखिम बढेको तर जोखिम व्यवस्थापनमा स्थानीय सरोकारवालाले समेत गम्भीरता नदेखाएको स्थानीयको आरोप समेत छ । स्वास्थ्य मन्त्रालयले दुई मिटरसम्म दूरी कायम गर्ने, भीडभाडमा जाँदा मास्कको प्रयोग गर्ने, साबुन पानीले बेलाबेलामा हात धुने भनेर सुझाई रहेका बेला झनझन अटेर गर्नेको सङ्ख्या बढ्दै गएकोमा कतिपयले चिन्ता व्यक्त गर्न थालेका हुन् । सर्वसाधरणले मात्रै नभई राजनीतिक दलका नेता कार्यकर्ताले समेत अटेर गरेको पाईएको छ ।
सङ्क्रमणका बेला स्वास्थ्य सुरक्षा अपनाउनुपर्नेमा उल्टै गाउँगाउँमा राजनीतिक भेला र सङ्गठनका कार्यक्रमहरु चलिरहेका छन् । ती कार्यक्रममा सामाजिक दूरी कायम भएको पाईँदैन भने मास्कको समेत प्रयोग भएको देखिँदैन । विशेषगरी ठूला राजनीतिक दलका जिल्लास्तरीय नेता गाउँगाउँमा पसेर सङ्गठन गर्न र पार्टी प्रवेश गराउनमा होडबाजी नै गरिरहेका छन् । कार्यक्रम पछि तुरुन्तै फेसबुकमा अपलोड हुने तस्बीर हेर्दा जनस्वास्थ्यका अत्यावस्यक मापदण्ड पूरा भएको देखिँदैन । बजारमा चहलपहल बढ्दै जाँदा जोखिम बढेको भन्दै जोखिम व्यवस्थापनमा ध्यान दिन जरुरी रहेकोमा स्थानीयवासीको जोड छ ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्